जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकतामा हस्ताक्षर गर्ने अधिकारीले हस्ताक्षर आफ्नै भएको पुष्टि गरेका छन् । तत्कालीन प्रशासकीय अधिकृत काशीराज दाहालले नागरिकतामा भएको हस्ताक्षर आफ्नै भएको बयान प्रहरीलाई दिएका हुन् ।
उनी गृह मन्त्रालयको सचिवबाट भर्खरै अवकाश पाएका व्यक्ति हुन् । सिरोहियाको नागरिकता प्रकरणमा पूर्वसहसचिव दाहाललाई धनुषा प्रहरीले बोलाएको थियो ।
२०५७ सालमा सिरोहियालाई नागरिकता प्रतिलिपि दिँदा दाहाल प्रशासकीय अधिकृत थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मधेश प्रदेश कार्यसमिति सदस्य इन्द्रजितप्रसाद महतोले सिरोहियाको नागरिकता प्रकरणमा उजुरी दिएका थिए ।
नागरिकताका विषयमा एकपटक पनि सोधपुछ नगरी सिधै कान्तिपुर मिडिया ग्रुपको कार्यकक्षबाटै पक्राउ गरिएको भन्दै सिरोहियाले आपत्ति जनाएका छन् । उनलाई मंगलबार पक्राउ गरी धनुषा ल्याइएको थियो ।
विसं २०१९ मंसिर २९ मा जन्मिएका सिरोहियाले २०३६ भदौ २५ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नं. को नागरिकता प्राप्त गरेका थिए । सोही नागरिकताको विवरणका आधारमा जिल्ला प्रशासन कार्यालय धनुषाले २०५७ भदौ २९ मा प्रतिलिपि दिएको दाहाले बताएका छन् ।
Facebook Comment
Comment