एकडारा गाउँपालिकाका इञ्जिनियर र ओभरसियर भ्रष्टाचार मुद्दामा दोषी ठहर

एकडारा गाउँपालिकाका इञ्जिनियर र ओभरसियर भ्रष्टाचार मुद्दामा दोषी ठहर

जनकपुरधाम । विशेष अदालत काठमाडौंले महोत्तरीको एकडारा गाउँपालिकाका इञ्जिनियर सुभाष पाण्डेय र असिस्टेन्ट सबइञ्जिनियर सञ्जयकुमार मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

आइतबार विशेष अदालतले गैरकानुनी लाभ लिएको एक मुद्दामा उनीहरूका साथै व्यवसायी राकेशकुमार रायमाथि पनि कसुर ठहर गरेको हो । आर्थिक वर्ष ०७९/८० मा गाउँपालिकाको वडा नं १ अन्तरगतका स–साना सडक ढलान गर्नका लागि विनियोजित रकमबाट गुणस्तरहीन काम भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । अख्तियारले वैशाख १४ गते ६ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर भएकोमा आंशिक ठहरको फैसला सुनाएको हो ।

गुणस्तर चेकजाँच नै नगरी सम्झौताबमोजिमको कार्य सम्पन्न भएको भनी गलत नापी किताब र प्रतिवेदनका आधारमा ८ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । उक्त रकमको दामासाहिले हुन आउने रकम दुई लाख ८८ हजार रुपैयाँभन्दा बढी पाण्डेय र मण्डललाई तिराउने फैसलामा उल्लेख छ। विशेषले उनीहरूलाई तीन महिना कैद सजाय हुने भनेको छ ।

अदालतले अर्का प्रतिवादी तथा मनरा सिसवाका ठेक्का व्यवसायी राकेश कुमार रायमाथि पनि सजाय निर्धारण गरेको छ । उनीबाट बिगो रकम अर्थात् दुई लाख ८८ हजार रुपैयाँ असुलउपर हुने  फैसलामा उल्लेख छ ।

विशेषका न्यायाधिशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तीन जनालाई भने सफाइ दिएको हो । गाउँपालिका उपाध्यक्ष महजबी खातुन र प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह र अर्का प्रतिवादी महेन्द्र कुमार मण्डलले सफाइ पाएका हुन् ।   मण्डल गाउँपालिकामा योजना शाखा प्रमुखका रूपमा कार्यरत थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved