पोखरा–१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले ‘मेरो रुख म काट्छु’ अभियान चलाउँदै वडाका बासिन्दालाई आफ्नो घर वरपरको रुख काट्न उर्दी जारी गरेपछि विरोध सुरू भएको छ । विरोध थेग्न नसकेपछि महानगरले नै सो निर्णयमा रोक लगाइसकेको छ ।
तर, वडाध्यक्ष पाण्डे भने निर्णय कार्यान्वयन गराइछाड्ने र गाउँघर नाङ्गो डाँडा बनाएरै छाड्ने अभियानमा छन् । बाँदर नियन्त्रणका लागि अरू थुप्रै उपाय हुँदाहुँदै किन रुख नै काट्नपर्यो ? यीलगायत विषयमा उनै वडाध्यक्ष पाण्डेसँग नेपालभ्यूजले गरेको छोटो कुराकानी:—
‘मेरो रुख म काट्छु’ भन्ने अभियान नै किन चलाउनुपर्यो ?
बाँदरले बालीनाली सबै खाइदिने गर्यो । जति धपाए पनि नहुने आइहाल्ने खाइहाल्ने भयो । बरु हामीलाई बाटो चाहिँदैन । बिजुली चाहिँदैन । खानेपानी चाहिँदैन । रुख चाहिँदैन । तर, बाँदर चाहिँ नियन्त्रण गरिदेऊ भनेका छन् ।
बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुन्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने गरेको छ । बढ्दो बाँदर आतङ्कका कारण स्थानीयले रोकथामको माग गरिरहेका छन् । बाँदर नियन्त्रणका अनेक उपाय लगाइयो । तर, सकिएन । अनन्त रुख काट्ने अभियान सुरू गरेका हौँ ।
बाँदर नियन्त्रणका अरू धेरै उपाय हुँदाहुँदै किन रुख नै काट्नुपर्यो ? यसले त झन् अरू समस्या ल्याउँदैन र ?
दिनप्रतिदिन बजार झर्नेको सङ्ख्या बढ्दै गएपछि गाउँमा बस्नेलाई बाँदरले सास्ती दिन थालेको छ । बाँदरकै कारण गाउँबाट मानिसहरू सहरमा बसाइँ सरेका छन् । गाउँमा जनसङ्ख्या घट्दो छ । गाउँमै बसेका मान्छेले पनि खेतीपाती गर्नै छाडे । गाउँमा बस्ने बूढापाका काम गर्न नसक्ने भएपछि घरै छेउका खेतबारी झाडीमा परिणत हुँदै गएका छन् ।
बाँदर मार्न पाइँदैन । तर, उनीहरू खानाको खोजीमा बस्ती पस्न थाले । खेतीपाती खाइदिन थाले । धपाउन जाँदा मान्छेलाई टोकेर हैरान घाइते बनाउन थाल्यो । महिलाहरूलाई धेरै हेप्न थाल्यो । यसैले आफ्नो करेसाबारीका ठूला रुख र बाँसको झ्याङहरू काट्ने अभियान चलाएका हौँ । स्थानीयहरू पहिल्यै यही चाहन्थे । अहिले मैले नेतृत्व मात्र लिएको हुँ । पूरै वन काट्ने होइन । फेरि नयाँ विरुवा राेप्ने हाे । काफल, लप्सीलगायतका फलफूल रोप्ने हो ।
बाँदर नियन्त्रणको लागि अहिलेसम्मका प्रयास के-के गरिए त ? जुन असफल भयो ।
२२ सदस्यीय बाँदर नियन्त्रण सीमित बनाएको छौँ । वडासदस्यको नेतृत्वको समितिले विभिन्न काम गरिरहेको छ । जहाँ धेरै अप्ठेरो छ, त्यहाँ टोलस्तरीय समिति पनि बनेका छन् । सबै समितिले काम गरिरहेको छ । अब गाउँमा बाँदरको प्रवेशलाई रोक्न उनीहरूका लागि वनमै प्राकृतिक वातावरण सिर्जना गर्नु र आहाराको व्यवस्थाका लागि जङ्गलमा फलफूलका बिरुवाहरू रोप्नेछौँ ।
बाँदर नियन्त्रणका लागि भन्दै वडाध्यक्षले जारी गरे रुख काट्ने उर्दी !
खासगरी कुन-कुन क्षेत्रमा बाँदरको बढी आतङ्क छ ?
सहरी भूभागमा समस्या छैन । गाउँमा समस्या छ । तल्लो घार्मी, माथिल्लो घार्मी, काउलेकोट, तल्लाकोटलगायतका वस्तीहरू चरम चपेटामा छन् । फलफूल तथा बालीहरू सबै नष्ट गर्दै आइरहेको छ ।
बाँदर धपाउन रुख नै काट्नु भन्ने उर्दी जारी गर्नु भनेको रोग लागेको मानिस लाई मारिहाल्नु भनेको जस्तो भएन र ? फेरि । यो निर्णयको त चौतर्फी विरोध भएको छ नि ?
यो विरोध सहरमा बस्ने र बाँदर नदेख्नेले गरेका हुन् । भोग्नेलाई थाहा छ पीडा के हो ? म केही भन्न चाहन्नँ ।
तपाईंले भनेजस्तो निजी खेतको रुख काटिएला रे, अब जङ्गलबाट त बाँदर गाउँमा आइहाल्छ नि ?
जङ्गल अलि पर छ । बाँदर लुक्ने खेतनजिकको रुख काटेपछि केही कम हुन्छ ।
रुख काटेपछि बाँदर नआउला र ? अनि त्यसको अर्को असर पर्छ नि त ?
हामी फेरि वृक्षारोपण गर्छौँ । बजेट आइरहेको छ । सबै रुख काट्ने भनिएको पनि होइन ।
फेरि रुख रोप्ने भए फेरि अहिले भएका रुख किन काट्नुपर्यो त ?
यो त अहिलेको लागि बाँदर नियन्त्रणको लागि हो ।
अनि फेरि रुख ठूलो भएपछि रुख बढेपछि बाँदर आउँदैन त ?
त्यो बेला अर्को उपाय सोचौँला । अहिलेलाई ‘मेरो रुख म काट्छु’ अभियान नै चलाउने हो ।
भनेपछि रुख रोप्न भनेर आएको बजेट सक्नकै लागि अहिले भएका रुख काट्ने अभियान त होइन ?
होइन होइन, बाँदर नियन्त्रणका लागि हो ।
अन्तर्वार्ता अडिओ –
बाँदर नियन्त्रणका लागि भन्दै रुख काट्ने वडा कार्यालयको अभियानमा महानगरको रोक
Facebook Comment
Comment