एमाले-माओवादीबीचको सहकार्य एकतामा बदलिएला ?

एमाले-माओवादी केन्द्र भने विगत केही समययता नजिक हुँदै गएका छन् । यो सम्बन्ध पार्टी एकतासम्म पुग्न सक्ला कि नपुग्ला भनेर अहिल्लै अनुमान गर्न गाह्रो छ । यसका लागि मुख्यत: एमाले अध्यक्ष ओलीको भूमिका निर्णायक हुने देखिन्छ । 

एमाले-माओवादीबीचको सहकार्य एकतामा बदलिएला ?

काठमाडौं । २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भयो र बन्यो—नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।

यसपछि मुलुकमा झन्डै दुईतिहाइको कम्युनिष्ट सरकारले शासन गर्‍यो । यसबाट कम्युनिष्ट नेताहरू मात्रै होइन, जनता पनि हौसिएका थिए । तर, प्रकारान्तरले त्यो सरकार लामो समयसम्म टिक्न सकेन, नेकपा नै सग्लो रहेन । यसपछि नेकपा एमाले र माओवादी केन्द्रकै रूपमा पूर्ववत् अवस्थामा फर्कियो ।

यसपश्चात एमाले अध्यक्ष केपी शर्मा ओली (Kp oli) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ (Prachanda) आपसमा सत्तोसराप र गालीगलौजकै तहमा ओर्लिए । त्यो क्रम वर्तमान सरकार गठन नहुँदासम्म अर्थात् २०७९ पुस १० गतेसम्म रह्यो ।

त्यसपछि एमाले-माओवादी केन्द्रबीच झन्डै २ महिनाको सत्ता-सहकार्य भयो । दुई महिना पुग्दानपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन नेपाली कांग्रेसतिर सारे, जोसँग उनले निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धन भनेर चुनावी सहकार्य गरेका थिए ।

कांग्रेससँग उनले १३ महिना सत्ता-सहकार्य गरे । त्यसपछि पुन: सत्ता गठबन्धन एमालेतिरै सारे । गत फागुन २१ गतेसम्म कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन अहिले एमालेकै नेतृत्वमा आइपुगेको छ । फागुन २१ यता ओली-प्रचण्डबीच सम्बन्ध हार्दिक नै छ ।

त्यसो त नेकपा फुटेयता नै सुरू भएको हो— एमाले-माओवादी केन्द्रबीचको पुनर्मिलनको बहस । एमाले-माओवादी केन्द्रकै खासगरी दोस्रो तहका नेताहरूले यसबारे निरन्तर कुरा उठाइरहेका छन् । र, उनीहरू पछिल्लो एमाले-माओवादी केन्द्र सहकार्यबाट हौसिएका छन् ।

यसअघि एकतालाई मुख्य विषय बनाएर एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र माओवादी केन्द्र उपमहासचिव वर्षमान पुन नेतृत्वको टोलीबीच आवासीय छलफल नै भएको थियो । तर, त्यसबारे थप प्रगति भने भएन । दुवै टोलीले आ-आफ्नो पार्टी अध्यक्षलाई छलफलका विषय समेटेर प्रतिवेदन नै बुझाए थिए । तर, त्यसबेला ओलीबाट ‘ग्रीन सिग्नल’ आएन ।

उनले सार्वजनिक कार्यक्रमकै बीच ‘दुई अध्यक्ष राखेर एकता गरिँदैन’ भनेर बोले । त्यसपछि उक्त ‘च्याप्टर क्लोज’ भएको थियो । तर, फागुन २१ यता एकताको बहस पुन: उधिनिँदै छ र यसमा दुवै पार्टी अध्यक्षको ध्यानाकर्षण भएको नेताहरू बताउँछन् ।

जसै उनीहरू पहिलेजस्तो हौसिएर एकता गरिहाल्ने पक्षमा देखिँदैनन् । दुवैको निष्कर्ष छ कि ‘२०७५ मा हौसिएर एकता गरियो’ । अब उनीहरू चाहन्छन् कि ‘सख्त बहस गरेर स्पष्ट मोडालिटी तयार पारी सम्भव भएसम्म एकताका पूरै काम एकैपटक गर्नेगरी’ एकता गर्नुपर्छ ।  स्मरणीय छ कि २०७५ सालको मिलन एकताको पूरै काम नसकिँदै तुहिएको थियो ।

यो निष्कर्षबारे उनीहरूले आपसलाई सार्वजनिक स्थानबाटै थाहा दिएका छन् । सोमबार नेकपा स्थापनाको हीरक जयन्तीमा एमालेद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले आपसमा मन माझामाझ गरे । उनीहरूको संयुक्त सार थियो— एकता गर्ने तर, परिपक्वतासहित ।

प्रचण्डले भने, “हामी त्यो बेला (२०७५ साल) अलि बढी हौसिएछौँ कि, समयभन्दा अगाडि नै दौडिइएछ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले। त्यसकारण अहिले हामी सहकार्य सुरू गरेका छौँ, राम्रो सहकार्य गरौँ । यसबाट जनतालाई र देशलाई राम्रो सेवा दिऊँ ।”

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अपिल नै गरेर ‘ओलीजी म तपाईंलाई विश्वास गर्छु, अब नयाँ प्रक्रियाबाट अघि बढौँ’ भने । एकपटक मात्रै होइन, तीन/तीन पटक दोहोर्‍याए उनले यो कथन ।

त्यसमा ओलीको निष्कर्ष पनि त्यस्तै थियो । प्रधानमन्त्री प्रचण्डकै भनाइ उद्धृत गर्दै ओलीले आफू पार्टी एकीकरण गरिहालौँ भन्ने पक्षमा नरहेको बताए ।

“पार्टी एकता भइहाल्छ, यो अर्को व्यक्तिगत आकाङ्क्षा, तुष्टिको कुरा मात्रै हुनसक्छ । यसले आन्दोलनमा अरू प्रकारका समस्या पैदा गर्न सक्छ । अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ, अगाडि बढ्छौँ । क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौँ । अहिले नै एकता गरौँ, दशभरका सबै मिलौँ भन्ने हो भने हामी फुट्या किन थियौँ ? के भएर फुटेका थियौँ ? यस्ता प्रश्नहरू उठ्छन् । अहिले सहमति सहकार्य, सहकार्यका निम्ति सहमतिको बाटोबाट जाऔँ,” उनले भने ।

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पनि तत्कालै वाम एकता हुनेबारे बोलेको छैन । विश्लेषकहरूले यसलाई माओवादी केन्द्रलाई ‘साईज’मा राख्ने अध्यक्ष ओलीको रणनीतिका रूपमा लिन्छन् । नयाँ गठबन्धन कुन रूपमा अघि बढ्छ भनेर उनी अझै केही समय हेर्ने पक्षमा छन् ।

त्यसैले बैठकबाट ओलीले वाम एकताभन्दा पनि भविष्यको विकल्प खुला राख्न खोजेका छन् । प्रचण्ड भने एमालेसँग एकता गर्ने पक्षमा देखिन्छन् । जसमा ओली आश्वस्त हुन सकेका छैनन् । उनी अझै लामो समय एमालेको नेतृत्वमा रहन चाहन्छन् । पार्टी एकता गर्नासाथ नेतृत्वमा शक्ति बाँडफाँट गर्नुपर्ने हुन्छ । जसका लागि ओली तयार देखिँदैनन् ।

अर्कातिर एमाले र नेकपा (एकीकृत समाजवादी) बीच पनि सम्बन्ध सहजरूपमा अघि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका विषयमा त झन् तिक्तता बढेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त यो गठबन्धन लामो समय टिक्न नसक्ने चेतावनी नै दिइसकेका छन् ।

यस्तो अवस्थामा वाम एकताको सम्भावना पछि धकेलिएको छ । तर, एमाले-माओवादी केन्द्र भने विगत केही समययता नजिक हुँदै गएका छन् । यो सम्बन्ध पार्टी एकतासम्म पुग्न सक्ला कि नपुग्ला भनेर अहिल्लै अनुमान गर्न गाह्रो छ । यसका लागि मुख्यत: एमाले अध्यक्ष ओलीको भूमिका निर्णायक हुने देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved