सीकेले रविलाई भने : ०८४ मा केही हुनेवाला छैन, इलाममा जमानत जफत भयो, विचार गर्नुहोला

नेपालभ्युज

सीकेले रविलाई भने : ०८४ मा केही हुनेवाला छैन, इलाममा जमानत जफत भयो, विचार गर्नुहोला

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सबैलाई हाल आफू उभिएको धरातल देखाइदिएको टिप्पणी गरेका छन् ।

इलामको उपनिर्वाचनको परिणामपछि राउतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाप्रति यस्तो टिप्पणी गरेका हुन् ।

यही व्यवस्थाले विसं २०८४ मा पनि नयाँ कुरा नहुने संकेत उनको भनाई छ । झन् पुराना पार्टी र पात्रहरूकै बिगबिगी रहने राउतले बताए ।

सामाजिक सञ्जालमार्फत् राउतले इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् ।

‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ होइन । इलामको मतपरिणामले धेरैको लागि धेरै अर्थ राख्ला तर एउटा कुरा निश्चित् के छ भने यही व्यवस्था रहने हो र नौलो गणतन्त्र नआउने हो भने २०८४ मा पनि कुनै नयाँ कुरा हुनेवाला छैन । झन् पुराना पार्टी र पात्रहरूकै बिगबिगी रहनेछ, फेरि गठबन्धनकै सरकार बनिरहनेछन्, प्रदेश सरकारहरू फेरि हरेक महिना दुई महिनामा ढलिरहनेछन्, गठबन्धनको बैठकमा भागबंडाको विषयले मात्रै प्रवेश पाइराख्नेछ, देशको अर्थतन्त्र र देश डुबिरहनेछ, युवाहरू विदेश पलायन भइराख्नेछन्, र चेतना फैलाउने वा विरोध गर्नेहरू पक्राउ परिराख्नेछन् ।’ राउतले भने ।

जनताले पनि राजनीतिक दलको विचारधाराप्रति पुनर्विचार गर्नु जरूरी उनको भनाई छ ।

‘हो, हाम्रो धरातल देखिएको छ । र जनताले पनि पुनर्विचार गर्नु जरूरी छ ।’ राउतले भने, ‘मत नयाँलाई नदिने, अनि सारा आकाशपातल उथलपुथल गरिदिने अपेक्षा अझै हामीबाटै गर्ने अलि उचित भयो त ?’

विसं २०८४ को निर्वाचनमा दुईतिहाइ ल्याउने बताइरहेको रास्वपाको इलाममा जमानत जफत भएपछि यसबारे सोच्न आग्रह गरे ।

‘रास्वपाको नेत्तृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो- मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई-तिहाई एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो। बारा र इलाममा जमानत जफ्त भएको भोग्नु भयो, विचार गर्नुहोला। शुभचिन्तकको नाताले मात्रै खुल्लेआम भन्दैछु।’ राउतले भने ।

मंगलबार बिहान सम्पन्न मतगणनामा इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।

नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८ सय ३० भोटले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।

सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाए ।

रास्वपाका मिलन लिम्बूले ५ हजार ५० भोट प्राप्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved