यूएई हत्या प्रकरण :

बेरोजगार पति नेत्रलाई राधिकाले नै लगेकी थिइन् यूएई, हत्यापछि भारतीय पासपोर्ट प्रयोग गरी भागेको आशंका

नेत्रप्रसादको अन्तिम लोकेसन नजिकैको बन्दरगाह देखिएको छ । तर, त्यसपछि उनी कहाँ गए भन्ने पत्ता लागेको छैन । उनीसँग भारतको समेत राहदानी थियो । त्यही प्रयोग गरेर सामुन्द्रिक बाटोमार्फत भागेको हुनसक्ने यूएई प्रहरीले आशंका गरेको छ ।

बेरोजगार पति नेत्रलाई राधिकाले नै लगेकी थिइन् यूएई, हत्यापछि भारतीय पासपोर्ट प्रयोग गरी भागेको आशंका

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा पतिले अग्लो भवनबाट धकेलेपछि मृत्यु भएकी अर्घाखाँचीकी राधीका घिमिरे (राधा) को शव परिवारले तत्काल नपाउने भएका छन् ।

अजमानस्थित चाइना मलको भवनबाट पति नेत्रप्रसाद न्यौपाने (नवीन)ले खसालेर क्षतविक्षत भएको शव अहिले नै नेपाल पठाउन नमिल्ने त्यहाँको प्रहरीले बताएको हो ।

पाणिनी–५ मैदान अर्घाखाँचीका २९ वर्षीय राधिका र पति कैलालीका नेत्रप्रसाद यूएईकै ‘रेसिडेन्ट कार्ड होल्डर’ थिए ।

पत्नी राधिकालाई खसालेर पति नेत्रप्रसाद भागेका हुन् । उनी पक्राउ नपरेसम्म र शव नदिने र पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्न नमिल्ने प्रहरीले बताएको मृतक राधिकाको परिवारले बताएको छ ।

विवादकै क्रममा नेत्र प्रसादले राधिकाको टाउकोमा बोतल प्रहार गरेका र उचालेर तल फालेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।

परिस्थितिजन्य प्रमाण हेर्दै यूएई प्रहरीले पनि नेत्रप्रसादले नै हत्या गरेको बताएको छ । यद्यपि, पोस्टमार्टम रिर्पाेट सार्वजनिक गरेको छैन ।

मृतक राधिकाका आफन्त भन्छन्— “नेत्रप्रसाद पक्राउ नपरीकन शवसमेत नदिने भनेको छ । अनुसन्धान भइरहेकोले पोस्टमार्टम रिर्पाेट पनि दिन नमिल्ने भनिएको छ ।”

एनआरएनए यूएईका सदस्यहरू भने हालसम्म प्राप्त प्रमाण, प्रत्यक्षदर्शी तथा नजिक रहेकाहरूको भनाइलगायतका विषय अनुसन्धान गरेर प्रारम्भिकरूपमा नेत्रप्रसादलाई दोषी देखाएको बताउँछन् ।

अर्घाखाँचीकी राधिकाको दुखान्त : नेत्रप्रसादले भारतमा बिहे गरे, यूएई लगेर ज्यान लिए ! (भिडिओ)

उनीहरू भन्छन्— “राधिकालाई टाउकोमा बोतल प्रहार गरेर उनलाई छतबाट फालेर नेत्रप्रसाद भागेको भन्ने प्रहरीको भनाइ छ । विभिन्न आधार र प्रमाणलगायतका आधारमा प्रहरीले उनलाई दोषी मानेको छ ।”

राधिकालाई तल खसालेपछि नेत्रप्रसाद हतारिँदै भागेका थिए ।

राधिकाका भाइ थानेश्वर भन्छन्—” भिनाजू बाहिर हतारिँदै आए । अब फसिन्छ भन्दै मलाईसमेत भाग्न लगाए । यसैले डराएर म पनि भागेँ । तर, भोलिपल्ट प्रहरीकहाँ गएर सबै कुरा बताएँ । मलाई २ दिन हिरासतमा राख्यो । त्यसपछि मलाई छाड्यो ।”

यूएई प्रहरीका अनुसार नेत्रप्रसादको अन्तिम लोकेसन नजिकैको बन्दरगाह देखिएको छ ।

उनी घटनाको केही घण्टापछि त्यहाँ पुगेको देखिएको प्रहरीले जनाएको छ ।

तर, त्यसपछि उनी कहाँ गए भन्ने पत्ता लागेको छैन ।

मृतक राधिकाका आफन्तका अनुसार नेत्रप्रसादसँग भारतको समेत राहदानी थियो ।

उनीहरू भन्छन्— “भारतीय राहदानी प्रयोग गरेर सामुन्द्रिक बाटोमार्फत पानी जहाज चढेर ऊ भागेको हुनसक्ने यूएई प्रहरीले आशंका गरेको छ । वा उतै कतै लुकेको पनि हुनसक्ने आकलन छ ।”

राधिकाको परिवारका अनुसार पहिले उनी कपिलवस्तु बौरिया चार नम्बरमा ब्यूटीपार्लर चलाउँथिन् ।

उनको व्यावसायिक जीवन सफलताको सिँढी चढ्दै थियो ।

पछि राम्रो अफर आएपछि उनी स्किल भिसामा यूएई गएकी हुन् । आफू उता गएपछि पति नेत्रप्रसादलाई बोलाएकी हुन् ।

नेत्रप्रसाद वर्कसपमा काम गर्थे । यूएई जानुअघि उनी बेरोजगार जस्तै थिए । केही समय भारतमा रोजगारी गरेर फर्किएका थिए ।

नेत्रप्रसादसँग राधिकाले २ वर्षअघि दोस्रो बिहे गरेकी हुन् । अघिल्लो पतिबाट राधिकाकी ९ वर्षीया छोरी छिन् ।

छोरी नेपालमै बस्छिन् । छोरी बिरामी रहेकाले उनी आउँदो महिना नेपाल आउने तयारीमा थिइन् ।

सम्बन्धित समाचार-

यूएईमा राधिका मृत्यु प्रकरण : पक्राउ परेका भाइ रिहा, पति अझै फरार

यूएईको अग्लो भवनमा नेपाली दम्पतीको झगडा, श्रीमतीलाई धकेलेर खसाएपछि श्रीमान् फरार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved