हिमाल चढ्न गएका श्रीमान् उतै अस्ताए, काखमा छोरी लिएर गीत गाउँदै मन भुलाउँछिन् सपना (भिडिओ)

सुन्नुहोस्

सपनाको संघर्ष कुनै वियोगान्त फिल्मभन्दा कम छैन । घटनाको डरलाग्दो शृङ्खला नै छ । मुटु नै छुने मार्मिक घटना छन् । जिन्दगीमा खुसीको घामले कहिल्यै नचियाएपछि संघर्षको मैदान छाडिनन् । मन बहलाउन गीत गाउन थालिन् । त्यसपछि दिन फेरियो । सपनाले बिपनामा भोगेको पिडा, लगातारको संघर्षपछिको सफलता र सम्भावनाको कथा ।

हिमाल चढ्न गएका श्रीमान् उतै अस्ताए, काखमा छोरी लिएर गीत गाउँदै मन भुलाउँछिन् सपना (भिडिओ)

इलाम । नाम सपना । तर, नाम र जिन्दगीको अर्थबीच गहिरो खाँडल छ । न सपनाले सजाएका कुनै सपना पूरा भए, न कुनै अर्काे सपना सजाउने आँट नै गर्न सकेकी छन् । त्यसो त यसअघिका सबै सपनाहरू तासको घरझैँ भताभुङ्ग भइसकेका छन् । २५ वर्षमै सपनाका सपनाहरू तहसनहस भएका छन् ।

छोटो उमेरमै उनले भोगेका कैयन् घटना सपनाजस्तै छन् । ब्युँझदाँ विपनाको यथार्थमा फर्कनु पर्ने थियो तर दुर्भाग्य ती सबै विपनाका परिदृश्य थिए ।

जीवन भोगाइका क्रममा उनले आफूले भोगेको र मनमा गढेर बसेका अनेकौ पीडा हुबहु भन्न सक्दिनन् । उनले जति भन्न सक्छिन्, त्यतिमै अरूले जसरी अनुभूत गर्न सक्छन्, त्यति मात्र हो ।

“जिन्दगीको ठूलो पछुतो त्यही छ । सायद एकपटक उहाँलाई देख्न पाएको भए पनि हुन्थ्यो भन्ने लागिरहन्छ । त्यसपछि उहाँको मुख कहिल्यै देख्न पाइनँ,” बोल्दाबोल्दै टक्क अडिइन् सपना । उहाँको याद एक्कासी गलामा आएर अड्कियो ।

बोल्न चाहन्थिन् तर, सकिनन् । आँखाको डिलबाट केही थोपा आँसु अगाडि टेबलमा रहेको ‘ग्रीन टी’मा चुहियो । हुन त त्यो ‘ग्रीन टी’भन्दा धेरै नै तीतो जीवन बाँचिरहेकी रहेकी छन्, सपना ।

०००

सूर्योदयका लागि प्रख्यात छ- इलामको श्रीअन्तु । सूर्यका किरणले कञ्चनजङ्घा हिमाललाई प्रेमिल स्पर्श गरेसँगै नेपालमा उज्यालो हुन्छ । सूर्योदयको प्रेमिल स्पर्शले कञ्चनजङ्घा लजाएर रातै भएको छर्लङ्गै देखिन्छ ।

त्यसको काखैमा रहेको श्रीअन्तु डाँडाबाट दुई, तीन किलोमिटर तल सानो रमाइलो बजार छ । बजारबाट अलि पर्तिर माथि डाँडामा गएपछि आइपुग्छ, श्रीअन्तु पोखरी ।

पोखरीका वरिपरि होटेल र होमस्टेहरू छन् । चिटिक्क परेका चिया बगान, बगानभित्रका कटेज र होमस्टे, लस्करै मिलेका धुपीसल्लाका रुख निकै आकर्षक देखिन्छन् ।

प्रकृतिले बेहुली नै बनाएको छ श्रीअन्तु पोखरीलाई । माथि श्रीअन्तु डाँडामा चिसो हुन्छ । माथि बास बस्ने ठाउँ पनि छैन । यसैले माथि डाँडामा सूर्योदय हेर्न जाने आउनेहरू बस्नको तल बजार र श्रीअन्तु पोखरी वरपरकै होटेल र होमस्टेमा आइपुग्छन् । पोखरीको छेउबाट दायाँतिर अलि तल झरेपछि ‘श्रीअन्तु होमस्टे’ पुगिन्छ ।

अहो ! चिटिक्क परेको होमस्टेको सुन्दरता आँखाको बाटो हुँदै हृदयमै घर गरेर बस्छ । त्यही होमस्टेको आँगनमा भेटिन्छन्, उनै सपना । उनको पुरा नाम भने सपना थापामगर । तर, चिनिन्छन् सपनाबाटै ।

सपना थापा (मगर) को माइती अलि पर मगर गाउँ हो । मगर गाउँले घेरिएको त्यो ठाउँमा बीचमा ढकाल, पोखरेललगायतका समुदायको वस्ती छ । सपनाले श्रीअन्तु पोखरीका धरणी घिमेरेसँग बिहे गरेकी थिइन्, २०७४ मा ।

धरणी शिक्षक थिए । उनी स्थानीय मेची माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए । होमस्टे पनि चलाउँथे । सपना र धरणी पाँच वर्षदेखि प्रेममा थिए । तर, समुदाय फरक भएपछि मागी बिहे चलेन, अन्ततः भागेर बिहे गरे ।

बिहेको वर्ष दिनपछि २०७५ मा छोरी (सम्पदा) जन्मिइन् । धरणी स्कूल पढाउँथे, सपना छोरी हुर्काउँदै थिइन् । सँगै होमस्टे पनि चलाउँथिन् । सानो परिवार हाँसी-खुसी चलिरहेको थियो । जिन्दगी ठीकठाकै चल्दै थियो ।

२०७८ को दशैं उनीहरूले मनाएनन् । कारण थियो, अघिल्लो सालको हजुरबुवाको निधन । त्यो बेलामा सपनाका पति धरणीले मकालु हिमाल चढ्न जाने योजना बनाए । धरणीले उनका माइला दाजु रुद्र र केही साथीहरू मिलेर ७ जनाको टिम बनाए, मकालु हिमाल सङ्खुवासभा गए ।

मध्य दशैंले छोपिसकेको थियो । उनीहरू ट्रेकिङको लागि असोजको २५ गते हिँडे । श्रीअन्तुबाट धरान हुँदै २७ गते सङ्खुवासभाको नुम बजार पुगे ।

८ हजार ४ सय ८५ मिटर अग्लो हिमालको बेसक्याम्प (याङ्माले) ४ हजार २ सय मिटर उचाइमा छ । उनीहरू गएको केही दिनसम्म परिवारसँग सम्पर्कमै थिए ।

माथि पुगेपछि फोन लागेन । असोज ३१ गतेको दिन धरणीको टोली बेसक्याम्पभन्दा केही माथि ४ हजार ६ सय १० मिटर उचाइमा रहेको टाडोसा भन्ने ठाउँमा पुगेको थियो ।

तलै मकालु बेसक्याम्पमै धरणीको अक्सिजन लेभल घटेको थियो । तर, माथि टाडोसा पुगेपछि धरणी बेहोश भएर ढले ।

बिरामी उनलाई त्यहाँबाट फर्काएर टाडोसा हुँदै याङ्माले बेसक्याम्प ल्याइँदै थियो । बेसक्याम्प पुर्‍याउनुअघि नै उपचार गर्न लैजानका लागि काठमाडौंबाट हेलिकप्टर मगाइयो ।

बिरामी धरणी हेलिकोप्टर आउला र अस्पताल पुगेर निको हुँला भन्ने प्रतीक्षामा थिए । एक दिन बित्यो, दुईदिन बित्यो हेलिकप्टर आएन । खराब मौसमका कारण ४२ घण्टासम्म पर्खिँदा पनि हेलिकप्टर बस्न सकेन ।

अन्ततः धरणीले हिमालकै काखमा अन्तिम सास फेरे । त्यो दिन कात्तिक १ गते दिउँसो करिब साढे १२ बजे थियो । विडम्बना हिमाल चढ्न भनेर गएका उनी त्योभन्दा माथि परलोक पो पुगे !

उता घरमा परिवार उनलाई पर्खिरहेको थियो । यता धरणीको ज्यान गएपछि उनका दाइ रुद्ध र साथीहरू बिलौनामा थिए । तर, कुनै पनि माध्यमबाट पनि परिवारसँग सम्पर्क हुन सकेन । सङ्खुवासभाको नुम बजार आइपुगेपछि मात्र मोबाइलले नेटवर्क टिप्यो ।

बल्ल घटनाबारे सबैतिर खबर गरे । उनीहरू पनि बिरामी थिए । शव भने माथि नै छाडेर आएका थिए । केही तलसम्म बोकेर त झारे, त्यसपछि थप गाह्रो भएपछि छाडे ।

बिरामी लिन आउन नसकेको हेलिकोप्टर फेरि बोलाए, शव बोकाउन । मौसमका कारण हेलिकप्टर फेरि पनि बस्न सकेन । स्थानीयले नुम बजार माथिसम्म शव ल्याइदिए ।

वरुण नदीसम्म शव आएपछि त्यही धरणीको सद्गत भयो । यता परिवारले भने धरणीको मुखसमेत देख्न पाएनन् ।

०००

यो पङ्क्तिकारलाई आफ्नो कथा सुनाइरहेकी थिइन्, सपना । त्यतिबेलासम्म दुःखको कहानी सकिएको थिएन । उनले जीवन भोगाइका पत्र पत्रहरू नेपालभ्युजसँग उप्काइरहिन् । एक अपेक्षित जीवन अनि एक अनपेक्षित र दुर्भाग्यले भरिपूर्ण उनका कथा ।

श्रीमान्‌लाई बिदा गरेको त्यो समय उनलाई अझै याद छ । पतिको लाससमेत आएन । पतिको लास उता जल्दै थियो, यता सपनाको सिउँदो पुछिँदै थियो । उता लास डढेर अङ्गार भइसक्दा यता सपना खरानी भइसकेर सेतो सारीमा पोको परिसकेकी थिइन् ।

“पाँच/सात दिन जति मोबाइलको नेटवर्क आउने ठाउँमा हुँदैनौँ भन्नुभएको थियो । उहाँ गएको ९ दिन भइसक्यो फोन लागेन । उहाँको फोन कुर्दाकुर्दै ९ दिन बित्यो । फोन गर्न मोबाइल झिकेर हेरेँ, फेसबूकमा श्रद्धाञ्जली आइसकेको रहेछ,” सपनाले सुनाइरहिन् सपना जस्तै लाग्ने आफ्नो कहानी ।

त्यो घटना हुँदा उनको बिहे भएको ४ वर्ष पनि पूरा भइसकेको थिएन । विवाहको अर्थ नै बुझ्न नपाइ सपनालाई विधवाको उपमासहित सेतो वस्त्र पहिर्‍याइयो ।

उनको हातको रातो चुरामात्र खोसिएन, जीवनका सारा रङ्गहरू खोसिए । हराभरा धर्ती उजाड मरुभूमिझैँ पारियो । सामाजिक रीतिरिवाजको साङ्लोले जकडिएकी अवस्थामा पुगिन् सपना ।

सपनाको लागि पति मात्र अस्ताएनन्, अढाइ वर्षे छोरी (सम्पदाको) ले बाबु गुमाइन् । उनीहरूको लागि संसार मर्‍यो । उनलाई लाग्यो, मरेर जाने त गए, बाँच्नेलाई पनि जिउँदै मारेर जाँदा रहेछन् ।

सपनाको संघर्ष–कथा बल्ल सुरु भयो । खुसीको घामले अझै चियाएन उनको जिन्दगीमा । भोक र शोकको आगोमा जल्नुपर्दा सपनालाई अथाह पीडा थियो ।

सपनाले आफ्नो मात्र चित्त बुझाउनुपर्ने थिएन, टुहुरी छोरी पनि थिइन् । सर्वस्व सकिँदा पनि आफू ज्यूँदै रहन सक्नु सपनाको लागि सानो चमत्कार थिएन ।

पीडा ओकल्दै सपना भन्छिन्, “आमा हुनुको अर्थ र ठूलो जिम्मेवारीको कथा रहेछ । म जन्मदाता मात्रै थिइनँ । आमा पनि थिएँ, त्यसैले म चाहेर पनि मर्न सकिनँ ।”

पति वियोगमा रहेकी एकल महिलाले समाजमा झेल्नुपर्ने दुःखका चाङ सुनाउँछिन् उनी । “आफू मानसिकरूपमा बलियो भन्न गर्नुपर्ने सङ्घर्ष एकतातिर थियो, अर्कातिर छोरी हुर्काउने चुनौती थियो । ती सबै चुनौतीका पहाड पार गरेर यहाँसम्म आइपुगेकी छु,” उनले सुनाइन् ।

०००

जिन्दगीको यात्रा कहिल्यै एकनासले बग्दैन । कहिले भयङ्कर आँधी-हुरीको सामना गर्नुपर्छ त कहिले दुःख र सन्तापका अग्ला-अग्ला पहाडहरू छिचोल्नुपर्छ ।

त्यसै भयो सपनाको जीवनमा पनि । तर, आँधी-हुरी छिचोलेर आफ्नो यात्रामा अडिग रहने आँट भने सीमितले मात्र गर्न सक्छन् ।

सबैमा समस्या-सङ्कटलाई पार लगाउने धैर्यता र आँट नहुन पनि सक्छ । सपना एउटी त्यस्ता पात्र बनिन्, जसले जीवनका गोरेटामा तेर्सिएका अनगिन्ती सङ्कटहरूलाई छिचोल्ने साहस गरिन् ।

आँखा रसाउने निकै दुखद् समय गुजारेकी सपना एक उदाहरण नै बन्दैछिन् । उनमा यति धैर्य र साहस छ, त्यो उनको जीवनका घटनाक्रम र त्यसपछिका सफलताले देखाउँछ ।

सपना अहिले होमस्टे चलाउँछिन् । सङ्गीत सिक्छिन् । स्थानीय स्तरका साङ्गीतिक कार्यक्रम हुँदा उनको नाम पहिलो नम्बरमै आउँछ । किनकि उनले मीठो गाउँछिन् ।

सबैले उनलाई बोलाउँछन् । आफ्नो जीवन भोगाइको गीत त उनले रेकर्ड नै गराइसकेकी छिन् । उनी अहिले सङ्गीतकै सहारामा विगतको तीतो घटनाक्रम भुल्ने प्रयासमा छिन् ।

काखमा छोरी लिएर वियोगका गीत गाउँछिन्, उनी । त्यही गीत गाएर मन भुलाउँछिन् । अब सपनाको सपना छ, सपना पूरा गर्ने । त्यो सपना हो, राम्रो गायिका बनेर धेरैका विभिन्न स्टेजमा उभिने । सपना सङ्गीतबाटै ‘नेम र फेम’ आर्जन गर्न चाहिन्छन् ।

पतिले छाडेर गए पनि उनको मतिस्कमा पतिसँगको प्रेमिल सम्बन्ध–रेखामा बितेर गएका दिन यादगार छन् । रमाइला दिनका रोचक कथा मन मस्तिष्कबाट मेटिएका छैनन् ।

जस्तो सपना अहिले श्रीअन्तुको पर्यटन क्षेत्रमा उचाइको जुन विन्दुमा छिन्, त्यसमा पति धरणिको प्रेरणा छ । धरणि होमस्टे व्यवसायी संघ कोशीका उपाध्यक्ष थिए । ‘‘उहाँको माया र प्रेरणा बिर्सिने हो भने मेरो यो सफलता–कथा अपूरो रहनेछ ’’ गम्भीर भावमा बोलिन् सपना ।

“जीवनदेखि हार्नुहुन्न, जीवनलाई पुनर्निर्माण गर्न सकिन्छ भन्ने पाठ पनि सपनाबाट सिक्न सकिन्छ,” स्थानीयसमेत उनको प्रशंसा गर्छन् ।

एकल महिला सधैँ शोकमा बस्ने हैन, शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने सन्देश दिनको लागि व्यवसाय र सङ्गीत दुवै क्षेत्रमा अघि बढको सपना सुनाउँछिन् ।

उनी भन्छिन्, “आफन्त वियोगले कोठामै दिन कटाइरहेका एकल महिलालाई विभिन्न सीप र योजना दिएर सङ्घर्षको मैदानमा उतार्ने लक्ष्य छ ।”

अहिले उनकी छोरी सम्पदा एलकेजी पढ्ने भइसकेकी छिन् । छोरी उनकी साथी भएकी छिन् । सपनाले छोरीको लक्ष्य निर्धारण गर्दिसकेकी छिन् । उनी सुनाउँछिन्, “छोरी ठूलो हुनेछिन्, उसको बाबाले पूरा गर्न बाँकी सपना पूरा गर्नेछिन् ।”

बुबा बित्दा छोरी सम्पदा आढाइ वर्षकी मात्रै थिइन् । बाबुको अनुहार कस्तो थियो ? टुहुरी उनलाई के थाहा । अहिले हुर्किँदै जाँदा माला लगाएर भित्तामा टाँगिएको फोटो–फ्रेममा एक फोटो देखिन् ।

त्यसपछि सम्पदाले भेउ पाइन्– त्यो बुबाको रहेछ । मृत्यु के हो भन्ने थाहा नभएकी अवोध सम्पदाको बाल मस्तिष्कले सोच्दो हो ‘‘एक दिन मेरो बाबा आउनेछन्, मलाई काखमा लिनेछन् ।’’

०००

सपनाले आफूलाई यो अवस्थासम्म ल्याउन गरेको संघर्षको कथा सिनेमाभन्दा कम छैन । उनको संघर्षको फेहरिस्त छोटो छैन । उनी कतै चुकिनन्, सधैँ एक्लै संघर्ष गरिरहिन् ।

‘‘त्यही वियोग र पीडाले मलाई पनि मिहिनेती र सङ्घर्षशील बन्न सिकाएको हो,’’ पुराना दिन स्मरण गर्छिन् सपना ।

कलिलो उमेरमै दुःखको सुमेरु पर्वत बोकेर होला सपनालाई सानातिना दुःखले छुँदैन अब । जीवनप्रति कुनै गुनासो पनि छैन । दुःख देखाउने बानी पनि छैन । विगत सम्झेर रुने, निराश हुने फुर्सद छैन ।

मन बहलाउन गीत गाउन थालेपछि सपनाको दिन फेरियो । सायद, सकारात्मक परिवर्तन आफैँसँग हुन्छ । त्यसैगरी उनी काँडाबाट फूल बनिन् ।

सपनाको जीवनको डरलाग्दो शृङ्खला नै छ, मार्मिक मुटु नै छुने घटना छन् । आँखा रसाउने दुखद् समय गुजारेकी सपना काँडाको जीवन बिताएर आज फूलमा रमाउने प्रयासमा छिन् इलामको चिया बगानमा ।

उनी सुनाउँछिन्, “सङ्घर्षको मैदानमा सदैव डटिरहने यो साहस, हिम्मत र आँट मलाई अरू केहीले दिएको होइन, सङ्गीतले दिएको हो ।”

विभिन्न रङ-रसले भरिएको अपेक्षित जीवन जसको भाग्यमा हुँदैन, उसको लागि जीवन केवल एक सङ्घर्ष बन्न पुग्छ । यसैले होला, सपनाको मनले हरपल विरह गाइरहेको छ ।

तर उनी आफ्नो मुखारविन्दबाट गाउँछिन्— एक दिन उज्यालो छाउला, मेरो पनि दिन आउला… ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved