ख्याल गर्नुस्, यस्ता सात कुराले दुख्छ मान्छेको मन ! कतै तपाईंले पनि दुखाउनुभयो कि ?

तर, अक्सर हामी यो थाहा नै पाउँदैनौँ कि कस्ता कुराले अर्कालाई चोट पर्छ, मन दुख्छ र दिल टुट्छ । (न)जानी, प्रत्यक्ष-परोक्ष हामीले धेरैको मन दुखाएका हुन सक्दछौँ । याद गर्नुस्, यस्ता कुराले दुख्छ मान्छेको मन !

नेपालभ्युज

ख्याल गर्नुस्, यस्ता सात कुराले दुख्छ मान्छेको मन ! कतै तपाईंले पनि दुखाउनुभयो कि ?

काठमाडौं । भनिन्छ— अर्काको मन दुखाउनु जिन्दगीभरलाई शत्रु कमाउनु हो । अर्कालाई पीडा वा चोट पुर्‍याउनेले क्षणभरमा बिर्सिसकेको हुन्छ । तर, मनमा चोट पुगेको मान्छेले जीवनभर सम्झिरहन्छ ।

अचानोको चोट खुकुरीलाई के थाहा ? यदि तपाईंले कसैलाई चोट पुर्‍याउनुभएको छ भने कुनै न कुनै दिन सके उसले मौका पर्दा बदला लिन्छ, नसके बदनाम गर्दछ ।

होसियार हौँ कि कसैले कसैलाई चोट नपुर्‍यायोस् । कसैले कसैको मन नदुखाओस् । कसैले कसैको दिल नटुटाओस् ।

तर, अक्सर हामी यो थाहा नै पाउँदैनौँ कि कस्ता कुराले अर्कालाई चोट पर्छ, मन दुख्छ र दिल टुट्छ । (न)जानी, प्रत्यक्ष-परोक्ष हामीले धेरैको मन दुखाएका हुन सक्दछौँ ।

याद गर्नुस्, यस्ता कुराले दुख्छ मान्छेको मन !

१. शरीर वा अङ्गप्रतिको टिप्पणी 

यदि हामी शारीरिक बनोट वा अङ्गप्रति कुनै नकारात्मक टिप्पणी गर्दछौँ भने मान्छेको मन दुख्न सक्छ । किनकि हरेक मान्छेलाई ‘म राम्रो छु’, यदि धेरै राम्रो छैन भने पनि ‘जे छु ठीकै छु’ भन्ने सोच वा अभिमान हुन्छ ।

शरीर वा अङ्ग मान्छेले आफूले बनाएको हैन, त्यो त भगवान् वा प्रकृतिको देन हो । मान्छेले चाहेर पनि शरीर र अङ्गलाई बदल्न वा आफूले सोचेजस्तो बनाउन सक्दैन । तसर्थ, मान्छेको शरीरप्रति कुनै नकारात्मक टिप्पणी कहिल्यै गर्नु हुँदैन ।

हामी होचोलाई बामपुड्के, अग्लोलाई लङ्गुरे वा टिङ्गुरे भन्दिन्छौँ । छालाको रङ्गको आधारमा पनि विभिन्न नाम दिएर बोलाउँछौँ । नाकको आधारमा नेप्टे, थेप्चे, चुच्चे, बुच्चे भन्दिन्छौँ । आँखाको आधारमा टेडे भन्दिन्छौँ । मुखको आधारमा बाङ्गे भन्दिन्छौँ ।

अझ शारीरिक अपाङ्गता भएका व्यक्तिको बारेमा त झनै यस्तो टिप्पणी गर्नै हुँदैन । त्यसो गर्दा दु:खर हीनतालाई सम्झाइदिएजस्तो भान उनीहरूमा पर्दछ । ख्याल गर्नुस्, कसैको शारीरिक स्थितिबारे कुनै नकारात्मक टिप्पणी कहिल्यै नगर्नुस् । गर्नु छ भने सकारात्मक टिप्पणी गर्नुस् । मन छैन भने मौन रहनुस्, यो विषय नै नउठाउनुस् ।

२. हेप्नु वा अपमान गर्नु 

यदि हामी कसैलाई हेपेर, सार्वजनिक स्थलमा अरुको अगाडि आत्मसम्मानमा ठेस पुग्नेगरी बोल्छौँ, गाली बेइज्जत गर्छौँ भने मान्छेको मन दुख्न सक्छ । अपमानको पीडा सहन मान्छेलाई गाह्रो हुन्छ । अपमान मान्छेको मनमा घाउको खिलजस्तो बनेर बसिरहन्छ ।

धेरै समयपछि किन नहोस्, तपाईंंलाई देख्नेबित्तिकै उसले पहिले गरेको अपमान सम्झिन्छ । अपमान बिर्सन गाह्रो हुन्छ । कतिपय मान्छेको जीवनमा त यस्तो हुन्छ कि कसैले गरेको अपमानले उसको जीवनको दिशा र उद्देश्य नै बदलिन्छ ।

अपमानको बदला लिनकै लागि मान्छे विरोधी खेमा, दल, आन्दोलन वा क्रान्तिमा लाग्न सक्दछन् । कतिपयले गुण्डा, डाँका वा बदमास समूह बनाएर अपमानको बदला लिन खोज्छन् । मान्छेलाई हेप्ने, गाली गर्ने र सार्वजनिक स्थलमा व्यक्तिगत बेइज्जत कहिले गर्नु हुँदैन ।

यदाकदा व्यक्तिगतरूपमा गल्ती भइहाल्यो भने तुरुन्तै क्षमा माग्न सकिन्छ ।

३. ढाँट्नु वा वचन तोड्नु

कसैले ढाँट्दा वा दिएको वचन तोड्दा मान्छेले मन दुखाउन सक्छन् । धोकाको अनुभूति गर्दछ । मान्छेले पूरा गर्न नसक्ने वचन बोल्न हुँदैन । बोलेपछि सकेसम्म पूरा गर्नुपर्दछ । यदि वचन पूरा गर्न नसकिने अवस्था आयो भने के कारणले सकिएन, स्थिति बताउनुपर्छ ।

तर, पूरा गर्न नसकेका वचनको प्रतिरक्षा गर्नु हुँदैन । अर्कालाई ढाँट्नु भनेको आफ्नै विश्वासनीयता समाप्त गर्नु हो । जब कसैको तपाईंमाथिको विश्वास उठ्छ, त्यसलाई पुनर्प्राप्ति गर्न निकै गाह्रो हुन्छ । जीवनभर ढाँट र अविश्वासी मान्छेको छवि बन्न पुग्दछ ।

४. किनबेच र लेनदेनमा ठगी गर्नु 

मान्छेको मन दुख्ने अर्को कुरा कुनै भौतिक तथा आर्थिक लेनदेनमा ठगी गर्नु हो । बजारमा किनबेच गर्ने आफ्नै प्रकारको नियम र मूल्य सन्तुलन हुन्छ । आफ्ना कुरा प्रष्ट भन्नु र दुवैको सहमतिमा कुनै लेनदेन वा कारोबार गर्नुलाई ठगी भनिँदैन ।

तर, विवरण लुकाइएको, गुणस्तर झुक्याइएको, नक्कली तथा कृत्रिम वस्तु सक्कली भनेर बेचेको वा तिर्छु भनेको ऋण सापटी समयमा नतिरेको, बिर्सेजस्तो गरेको छ भने मान्छेको मन दुख्न सक्छ । ऋण सापटी समयमै तिर्न सम्भव नहुन सक्दछ । तर, त्यसका लागि माफी माग्न, वा म्याद बढाइ माग्न वा कुनै न कुनै प्रकारले पुनर्संवाद गर्न सकिन्छ ।

ख्याल गर्नुस्, लेनदेन, किनबेच र ऋण-सापटीमा प्रष्ट हुनुपर्दछ । जे गर्नुछ भनेर अर्को पक्षलाई विश्वासमा लिएर गर्नुस्, ढाँटेर वा छलेर नगर्नुस् ।

५. धार्मिक आस्था, जातीय वा सांस्कृतिक पहिचानमा ठेस पुर्‍याउनु 

धार्मिक आस्था निकै गम्भीर वा संवेदनशील कुरा हो । त्यसैगरी जातीय तथा सांस्कृतिक पहिचान उत्तिकै गम्भीर विषय हो । यदि हामी कसैलाई कुनै धर्म, जाति र सांस्कृतिक तथा सामुदायिक पहिचानको आधारमा कुनै अपमानजनक संज्ञा दिन्छौँ, उसको धर्म, संस्कृति र प्रचलन नराम्रो र आफ्नो राम्रो भन्छौँ भने मान्छेको मन दुख्न सक्छ ।

सकेसम्म मान्छेको धार्मिक, जातीय र सांस्कृतिक भावना वा पहिचानमा ठेस पुर्‍याउनु हुँदैन । यसको अर्थ यो हैन कि कुरीति, अन्धविश्वास र गलत सांस्कृतिक प्रचलनको विरोध वा आलोचना गर्नु हुँदैन । त्यसो गर्दा पनि निकै होसियार र विज्ञानसम्मत ढङ्गले गर्नु पर्दछ ।

तपाईंंले उसको धर्म संस्कृतिको अपमान हैन, विवेक र विज्ञानसम्मत बहस गर्दै हुनुहुन्छ भन्ने आभास हुनेगरी गर्नुपर्दछ ।

६. षड्यन्त्र गर्नु

कसैले कसैविरुद्ध भित्रभित्रै कुनै प्रायोजित घटनाक्रम वा आरोप सिर्जना गर्दैछ भने मान्छेको मन दुख्न सक्छ । कसैसँग प्रतिस्पर्धा नै गर्नुछ भने पनि सत्य-तथ्यमा आधारित भएर गर्नु पर्दछ ।

आरोप लगाउँदा प्रवृत्तिगत हिसाबले लगाउनु पर्दछ । आलोचना गर्दा दृष्टिकोणको भिन्नतालाई प्रष्ट्याउनु पर्दछ । षड्यन्त्र गर्ने हैन ।

अक्सर व्यावसायिक तथा राजनीतिक प्रतिस्पर्धामा मान्छे षड्यन्त्र गर्दछन् । प्रतिस्पर्धा गर्न पाइन्छ । तर, षड्यन्त्र हैन । षड्यन्त्र एक प्रकारको कायरता हो । प्रतिस्पर्धामा अनैतिक र नाजायज तरिकाले टिक्ने वा जित्ने चालबाजी हो । प्रतिस्पर्धा पारदर्शी र नियमसङ्गत हुन्छ । षड्यन्त्र अपारदर्शी र निर्धारित नियमविपरीत हुन्छ ।

राजनीतिमा प्रतिस्पर्धी वा शत्रुविरुद्ध मात्र हैन, आफ्नै मित्र वा सहकर्मीविरुद्ध पनि अनेक षड्यन्त्र भइरहेका हुन्छन् । जसप्रति मान्छेमा विश्वास, सहकार्य र रचनात्मक प्रतिस्पर्धाको अपेक्षा हुन्छ, उसैले षड्यन्त्र वा प्रायोजित घटना गरे, गराएको थाहा भएपछि मान्छेको दिल टुट्छ ।

७. यौनिक अपमान वा प्रेममा धोका

कतिपय मान्छे आक्रामक र आपत्तिजनक यौन व्यवहारमा उत्रिन्छन्; ती त अपराध भइहाले, अपराधमा गणना गर्न नमिल्ने प्रकृतिका पनि यौनिक टिप्पणी वा व्यवहार हामी गरिरहेका हुन सक्दछौँ, जो आपत्तिजनक र मान्छेको मन दुखाउने प्रकृतिका हुन्छन् ।

लैङ्गिक पहिचानमा आधारित हामी कुनै नकारात्मक टिप्पणी गर्दछौँ भने ती सबै यौन अपराध र दण्डनीय नहुन सक्दछन् । तर, आपत्तिजनक भने हुन्छन् । यस्ता कतिपय व्यवहार छद्‌‌म वा परोक्ष हुन्छन् ।

जस्तो कि कुनै कार्यालयमा कुनै हाकिमले कुनै महिला कर्मचारीलाई कमजोर जिम्मेवारी वा चलनचल्तीको भाषामा सधैँ दर्ता चलानी फाँट मात्र दिन्छ भने त्यो हाकिमको दृष्टिकोणमा शङ्का गर्न र मन दुखाउन सकिन्छ ।

प्रेममा धोकाको अनुभूतिले मान्छेको जीवनमा पार्ने असर हामीलाई थाहा नै छ, कतिपयले त आत्महत्यासमेत गर्दछन् । यद्यपि यो राम्रो होइन । सफल मानव जीवनका लागि कुनै पनि धोका, असहमति वा जीवनमा आउने आरोह-अवरोहलाई त्यति गम्भीर र संवेदनशीलरूपमा लिन जरुरी हुँदैन कि अर्काको गल्ती वा अपराधको दण्ड आफूलाई दिइयोस् ।

युवा उमेरका सबै प्रेम सफल हुन्छन् नै भन्ने छैन । समाजले त्यसलाई आपत्तिजनकरूपमा लिन पनि हुँदैन । तर, वयस्क र परिपक्क उमेरमा तपाईं प्रेम, विवाह, निजी तथा पारिवारिक सम्बन्ध र पारपाचुकेबारे कसैसँग बेइमानी गर्नुहुन्छ भने मान्छेको मन दुख्छ । यस्तो मान्छेले तपाईंलाई क्षमा गर्नेभन्दा बदलाको भावना राख्ने सम्भावना धेरै हुन्छ ।

जस्तो कि तपाईं ‘लिभिङ टुगेदर’ मा हुनुहुन्छ भने त्यो कुरा भनेरै गर्नुस् । तर, विवाह गर्ने आश्वासन दिएर लामो र अनैतिक यौन सम्बन्ध नबनाउनुस् । जे हो, त्यो भनेर सहमतिमा गरेको कुराले मान्छेको मन दुख्दैन । त्यसलाई मान्छेले जीवनको अनुभवका रूपमा ग्रहण गर्दछ र त्यस्ता सम्बन्धबाट गौरवान्वित हुन्छ ।

तपाईंंको कारणले कसैको मन दुख्नु तपाईंका लागि पनि निकै ठूलो क्षति हो । यदि उसले कुनै मोडमा बदला नै लियो भने त झनै ठूलो क्षति हुन सक्दछ ।

कतिपय घटना यस्ता हुन्छन्, जसमा तपाईंंको कुनै दोष हुँदैन । तर, मान्छेले आफ्नै बुझाइ वा अपेक्षाको कारणले मन दुखाउँछन, त्योभिन्नै कुरा हो । एकबारको छोटो जुनीमा सबैका अपेक्षा कसैले पूरा गर्न सक्दैन । कोही कसैका अपेक्षा पूरा गर्न जन्मिएको पनि हैन । मान्छे आ-आफ्नो जिन्दगी बाँच्न मात्र स्वतन्त्र छ, सबैका अपेक्षा पूरा गर्न सक्षम छैन ।

कसैप्रति नाजायज अपेक्षा राख्नु निरर्थक हो । यदि तपाईंंले कसैसँग कुनै अपेक्षा राख्नु हुन्छ र उसले त्यो पूरा गर्ने क्षमता राख्छ भने त्यो त ठीक छ । तर, उसँग अपेक्षा पूरा गर्ने क्षमता वा इच्छा छैन, तपाईं एकहोरो अपेक्षा मात्र गर्नुहुन्छ भने त्यस्तो मन दुखाइ जायज हैन ।

ख्याल गरौँ, सकेसम्म कसैले कसैको मन नदुखाउँ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved