रोचक इतिहास : मार्को पोलो, कुब्लाई खाँ र सिल्क रोड

मार्को पोलोले कतिपय अनौठा प्रचलनको चर्चा गरेका थिए । जस्तो कि तिब्बतको बहुपति प्रथा । त्यसबेला तिब्बतमा जसका धेरै वटा पति छन्, ती महिला श्रेष्ठ र सम्पन्न मानिन्थ्यो । उनले एक यस्तो भारतीय टापुबारे चर्चा गरे, जहाँ जवान पुरुष वर्षमा ३ महिना मात्र प्रवेश गर्न र बस्न पाउँथे ।

नेपालभ्युज

रोचक इतिहास : मार्को पोलो, कुब्लाई खाँ र सिल्क रोड

काठमाडौं । विश्व इतिहासको कुरा गर्दा मार्को पोलो, कुब्लाई खाँ र सिल्क रोड एकअर्कासँग जोडिएर आउँछन् । यिनको चर्चाबिना चौधौं शताब्दीको विश्व इतिहास अधुरो रहन्छ ।

मार्को पोलो सिल्क रोड हुँदै एशियाको भ्रमण गर्ने पहिलो युरोपेली त थिएनन् । तर, त्यस्ता पहिलो युरोपेली थिए, जसको भ्रमण इतिहासमा दर्ज भयो ।

चौधौं शताब्दीमा प्रकाशित उनको यात्रा वृत्तान्त ‘द ट्राभल्स अफ मार्को पोलो’ त्यो बेलाको इतिहास बताउने एक महत्त्वपूर्ण सन्दर्भ ग्रन्थ हो ।

मार्को पोलोको यात्रा जति रोमाञ्चक लाग्दछ, उनले गरेको त्यो बेलाको विश्व वर्णन उत्तिकै जिज्ञासा, रहस्य र आश्चर्यले भरिएको छ । उनले तत्कालीन युरोप र पूर्वीय सभ्यताका संस्कृति र प्रचलनको तुलना गरेका थिए ।

उनले सन् १२७१ देखि १२९५ सम्म सिल्क रोड हुँदै पूर्वको यात्रा गरेका थिए । त्यो बेला चीनमा मङ्गोल साम्राज्य कमजोर हुँदै थियो । कुब्लाई खाँ मङ्गोल साम्राज्य टुक्रिएर बनेको बेइजिङ केन्द्रित युवान चीनको शक्तिशाली शासक थिए ।

चीन मात्र हैन, मार्को पोलो भारत, पर्सिया, जापानलगायत प्रायः सम्पूर्ण एशिया घुमेका थिए । उनले बर्मा, श्रीलंका, भियतनाम र इन्डोनेसियाको सुमात्रा द्विपको पनि वर्णन गरेका थिए ।

पहिलोपटक चीन पुग्दा मार्को पोलो १७ वर्षका थिए भने फर्किएर भेनिस पुग्दा ४० वर्षका भइसकेका थिए । अर्थात् करिब २४ वर्ष उनले पूर्वको भ्रमण गरे ।

मार्को पोलो सन १२५४ मा भेनिसमा जन्मेका थिए । उनी भेनिसको एक शक्तिशाली व्यापारिक परिवारका सदस्य थिए । कतिपय इतिहासकार भन्छन् कि त्यो बेलाको भेनिस विश्वका लागि आजको न्यूओर्कजस्तो थियो । महान नाटककार शेक्सपियरले ‘मर्चेन्ट अफ भेनिस’ लेख्नुका पक्कै केही कारण थिए होलान् ।

भेनिस पूर्व र पश्चिम युरोपको व्यापारिक मिलन केन्द्र थियो । मार्को पोलोका पिता निकोलो र काका माफियोको भेनिसमा दरबारजस्तो घर थियो ।

निकोलो र माफियो बढो मिल्तीका दाजुभाइ थिए । उनीहरू लामा सामुद्रिक यात्रा गरिरहन्थे । पोलो दाजुभाइको भेनिस प्रशासनसँग राम्रो सम्बन्ध थिएन । उनीहरू इस्तानाबुल नयाँ केन्द्र बनाएर विश्व व्यापारमा रजगज गर्न चाहन्थे।

विश्व व्यापारको नयाँ मार्ग र सम्भावना खोज्न उनीहरू युवा मार्को पोलोलाई लिएर पूर्वतिर हान्निएका थिए । इस्तानाबुललाई त्यो बेला कस्टान्टिनिपोल भनिन्थ्यो ।

पोलो दाजुलाईले सम्पत्ति र व्यापार भेनिसबाट इस्तानाबुल सारेको केही समयमा फेरि बैजाइन्टिन साम्राज्य पुनर्स्थापित भयो । तर, पोलो दाजुभाइ एशियातर्फ लागिसकेका थिए । उनीहरूले १७ वर्षीय मार्को पोलोलाई पनि सँगै लिएर गए ।

मार्को पोलोको वर्णन अनुसार उनीहरूले हाल इजरायलको एक्रीबाट बेइजिङको यात्रा सुरू गरेका थिए । चीनका बादशाह कुब्लाई खाँसँग पोलोहरूको राम्रो सम्बन्ध बन्यो ।

चीनको रेशम, खरायोको भुत्ला, भेडाको उन, मसला, र महङ्गा पत्थर तथा हिरा मोती सिल्क रोड हुँदै युरोप पठाउने व्यापारमा उनीहरूले ठूलो भूमिका गरे । कुब्लाई खाँ यस कारण उनीहरूसँग सन्तुष्ट थिए ।

मार्को पोलो भारतको अन्दमान र इन्डोनेसियाको सुमात्रा हुँदै इस्तानाबुल र भेनिस फर्किएका थिए । घर पुग्दा उनले गर्भवती बनाएर छोडेकी श्रीमतीबाट जन्मेका छोरा जवान भइसकेका थिए । घरमा पस्न खोज्दा उनलाई नोकरले रोक्यो, ‘तिमी को हौ किन आएको यहाँ ?’ उनले शानले उत्तर दिए– म तिम्रो मालिक हुँ ।

नोकर, श्रीमती र छोरा छक्क परे ।

त्यसको एक वर्षपछि मार्को पोलो भेनिस र जेनोवाको युद्धमा पक्राउ परे । उनलाई जेल हालियो । जेल पर्नु उनका लागि सौभाग्यको विषय भयो । जेलमा उनले त्यो समयका प्रसिद्ध इटालियन लेखक रुस्टिचेलो दा पिसालाई भेटे । मार्को पोलोले सुनाएको यात्रा वृत्तान्त र एशियाको वर्णनका आधारमा यिनै लेखकले ‘द ट्राभल्स अफ मार्को पोलो’ लेखेका थिए ।

मार्काे पोलोको जीवन र यात्रा वृत्तान्तको सम्मिश्रित विधा

युरोपको बजारमा यो किताब केही शताब्दीसम्म सुपर हिट भयो । दर्जनौं भाषामा अनुवाद गरियो, हजारौं कपी बिक्यो । किताब प्रकारान्तले विश्व इतिहासकै महत्त्वपूर्ण स्रोत बन्न पुग्यो ।

किताबको पान्डुलिपी पोलो परिवारको घरमा सुरक्षित राखिएको थियो । १६ औं शताब्दीमा भएको आगलागीमा जलेको विश्वास गरिन्छ ।

मार्को पोलोले कतिपय अनौठा प्रचलनको चर्चा गरेका थिए । जस्तो कि तिब्बतको बहुपति प्रथा । त्यसबेला तिब्बतमा जसका धेरै वटा पति छन्, ती महिला श्रेष्ठ र सम्पन्न मानिन्थ्यो ।

मार्को पोलोले एक यस्तो भारतीय टापुको चर्चा गरेका थिए, जहाँ जवान पुरुष वर्षमा ३ महिना मात्र प्रवेश गर्न र बस्न पाउँथे । मार्च, अप्रिल र मेको तीन महिना टापुमा पुग्ने पुरुषले त्यहाँका महिलासँग यौन सम्पर्क गर्दथे र बाहिर धपाइन्थे । मध्य-एशियाका तातार महिला घोडचडीमा पुरुषभन्दा अब्बल रहेको चर्चा उनले गरेका थिए ।

मान्छेका यौन व्यवहारको अतिरिक्त उनले वनस्पति, फलफूल र खानाका परिकारको वर्णनलाई महत्त्व दिएका थिए । उनले सुमात्रा टापुमा एक सिङ्गे घोडा (युनिकर्न ) देखेको चर्चा गरेका थिए । उनले भनेका थिए कि त्यो कालो ठूलो सुँगुरजस्तो हुन्छ ।

‘युनिकर्न’ आजसम्म विश्वमा भेटिएको छैन । यो मान्छेले सपनामा देख्ने सगुनको जनावर हो । मार्को पोलोको वर्णनबाट पछि इतिहासकारले यो अनुमान गरे कि उनले युनिकर्न हैन, एक सिंगे गैँडा देखेका थिए ।

मार्को पोलोले कुब्लाई खाँको चीनलाई एक असल र बलियो साम्राज्यका रूपमा चर्चा गरे । चिनियाँ प्रशासनमा योग्यतातन्त्रको महत्त्व र मुद्रा प्रणालीको सवलताको प्रशंसा गरेका थिए । कुब्लाई खाँले उनलाई दक्षिण तथा पूर्वी एशियाको कूटनीतिक मिसनमा उपयोग गर्थे ।

यो कुनै प्रष्ट तथ्य त हैन तर, हुन सक्दछ कुब्लाई खाँको मृत्युपछि मार्को पोलोलाई चीनमा बस्न मन लागेन । कुब्लाई खाँको मृत्यु सन् १२९४ मा भएको थियो । अर्को वर्ष सन् १२९५ मा मार्को पोलो युरोप फर्किए । कुब्लाई खाँ मङ्गोल साम्राज्यका संस्थापक चंगेज खाँका नाती थिए।

चंगेज खाँको मङ्गोल साम्राज्य मङ्गोलियादेखि मध्यएशियासम्म फैलिएको थियो । संसारमा यति ठूलो साम्राज्य त्यसपछि कहिल्यै कुनै बनेन । तर, चंगेज खाँको मङ्गोल साम्राज्य कुब्लाई खाँको पालामा विभाजित भइसकेको थियो । कुब्लाई खाँको साम्राज्यलाई युवान चीन भन्न थालिएको थियो । चंगेज खानका ४ भाइ नाती बीचको शक्ति सङ्घर्षले मङ्गोल साम्राज्य टुक्रिएको थियो ।

तीमध्ये एक थिए हुलेगु खाँ, जसले आब्बासिद खलिफातको राजधानी बग्दाद जितेका थिए । यो विश्वास गरिन्छ कि मङ्गोल मूलका मानिसले इस्लाम धर्म ग्रहण गर्ने प्रक्रिया यहीबाट सुरु भयो । पछि यो हाँगोलाई मुगल भन्न थालियो । भारतमा मुगल साम्राज्यका संस्थापक बाबर यही हाँगाको एक सन्तान थिए ।

कुब्लाई खाँ र मार्को पोलोको सम्बन्ध चौधौं शताब्दीको विश्व इतिहासमा बेइजिङ र युरोपलाई जोड्ने महत्त्वपूर्ण कडी थियो । र, यही कडीमा जोडिएर आउँछ सिल्क रोड अर्थात् रेशम मार्गको कुरा । सिल्क रोड युरेसियन व्यापारिक माग हो । यसको प्रचलन इसापूर्व दोस्रो शताब्दीदेखि सुरु भएको थियो । पन्ध्रौं शताब्दीसम्म यसको व्यापक प्रयोग हुन्थ्यो । मार्को पोलो र कुब्लाई खाँको समयमा सिल्क रोडको प्रयोग व्यापक थियो ।

चीन इतिहासका सबै कालखण्डमा रेशमको उत्पादनमा विशिष्ठ थियो । र, रेशमका कपडाको राम्रो बजार युरोपमा हुन्थ्यो । चीनको रेशम युरोपको बजार पुर्‍याउन करिब ६ हजार ४०० किमी लामो युरेसियन रुट प्रयोग हुन्थ्यो ।

तर, यसलाई त्यो बेला सिल्क रोड भन्ने प्रचलन भने थिएन । १९ औं शताब्दीमा इतिहासकारले यो मार्गको महत्त्वलाई खोजी गरेर सिल्क रोड नाम दिए । यसको नाम सिल्क रोड राख्नुको मुख्य कारण त्यो बेलाको चीनको सबैभन्दा ठूलो उत्पादन र निर्यात रेशम र रेशमबाट निर्मित कपडा हुन्थ्यो ।

आज चीनको पश्चिमतिरको अधिकांश व्यापार सामुद्रिक मार्गबाट हुन्छ । सिल्क रोड करिब १७०० वर्ष चीन र पश्चिम बीचको मुख्य मार्ग थियो । सिल्क रोडलाई बिर्साउने गरी चीनले सन् २०१२ मा रोड एण्ड बेल्ट इनिसिएटिभ (बीआरआई ) नामक एक विश्व परियोजना सुरु गरेको छ ।

तसर्थ, कतिपयले बीआरआईलाई एक्काइशौं शताब्दीको सिल्क रोड पनि भन्ने गर्दछन् । मार्को पोलो सन् १३२४ मा ६९ वर्षको उमेरमा भेनिसमा बितेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved