‘गालिब’ जीन्दगीभरि यो गल्ती गर्दै रह्यो
धुलो अनुहारमा थियो ऐना पुछ्दै रह्यो
गालिबको यो शेर नेपालमा भाषण तथा प्रवचनका क्रममा धेरैले उद्धृत गर्नेमध्येको एक शेर हो । तर, कमैलाई थाहा होला कि गालिब को थिए ? कुन देश, कुन समय र कुन परिवेशका थिए ? गालिबका कविताशंको शक्ति जति बलियो छ, गालिबको जीवन र कर्म उत्तिकै लोकप्रिय नहुन सक्दछ ।
विशेषतः आफ्नो समयमा एक महान् शायर गालिबबारे नेपाली पाठकले कमै पढेका, सुनेका र बुझेका हुन सक्दछन् । आज हामीले गालिबको जीवन, समय, परिवेश र रचनाकर्मलाई संक्षिप्तमा खोतल्ने प्रयास गरेका छौँ ।
गालिबको पूरा नाम मिर्जा बेग असद उल्लाह खान थियो । गालिब उनको साहित्यिक नाम थियो । धेरैले उनलाई मिर्जा गालिबका नामले चिन्दछन् । ‘गालिब’ शब्द हिन्दी, उर्दू, अरबी, फारसीआदि भाषामा प्रयोग हुन्छ ।
यसको अर्थमा समानता पनि छ र भिन्नता पनि । गालिबको बढी प्रचलित अर्थ हो— सबैतिर व्याप्त, प्रभावी, विजित, श्रेष्ठ । नभन्दै गालिबका ‘शेर’हरू अमर, विजित र श्रेष्ठ नै छन् ।
गालिब सन् १७९७ मा मुगलकालिन भारतको आग्रामा जन्मिएका थिए । भारतमा मुगल साम्राज्यको प्रभाव बलियो हुँदै गर्दा उनका हजुरबा समरकन्दबाट भारत आएका थिए । गालिबको वंश तुर्क मुसलमान थियो । उनका पिता भने ईस्ट-ईन्डिया कम्पनीका सिपाही थिए । गालिब ५ वर्षको हुँदा एक युद्धमा पिताको निधन भयो । पिताको पेन्सन गालिब परिवारको मुख्य जीवन स्रोत थियो ।
गालिबको बाल्यकालमा एक इरानी फिरन्ते केही दिन आग्रामा उनीहरूको घरमा बास बसेका थिए । उनैबाट गालिबले फारसी सिकेका थिए । गालिबले कसबाट कसरी शिक्षा पाए, त्यसको कुनै टुङ्गो छैन । तर, उनमा विभिन्न भाषाको ज्ञान थियो ।
गालिबको १३ वर्षको हुँदा ११ वर्षकी उमराब बेगमसँग निकाह (विवाह) भएको थियो । किशोर हुँदा आग्रा छोडेर गालिब दिल्ली आए । त्यो बेला दिल्लीका मुगल बादशाह बहादुर शाह जफ्फर आफ्ना पुत्र मिर्जा फखारुका लागि एक शायर शिक्षकको खोजीमा थिए । त्यसका लागि मिर्जा गालिबलाई उचित ठानियो ।
यसरी गालिबले मुगल साम्राज्यको दिल्ली दरबारमा प्रवेश पाए । बादशाह बहादुर शाह जफ्फर आफैँ उर्दू भाषाका एक ठूला शायर थिए । गालिबले दरबारिया कविले पाउने सेवासुविधा, मानसम्मान र उपाधि पर्याप्त पाए । राजकुमारको शिक्षकका रूपमा उनको पहुँच दरबारमा बलियो थियो ।
तर, गालिबको समयमा मुगल साम्राज्य दिन प्रतिदिन कमजोर हुँदै गइरहेको थियो । भारतमा ईस्ट-ईन्डिया कम्पनीको प्रभाव बढ्दै गइरहेको थियो । सन् १८५७ को सैनिक विद्रोहमा पराजयपछि दिल्लीको सत्ता अंग्रेजहरूको हातमा गयो । बादशाह जफ्फरलाई म्यानमार धपाइयो ।
अब गालिबका दूरदिन सुरू भए । उनीसँग अरु कुनै काम, पेशा, व्यवसाय वा सीप थिएन । दरबारले दिने आयबाट बञ्चित भएपछि उनी दिल्लीका गल्लीमा मान्छेलाई शायरी सुनाउँदै हिँड्न थाले । मान्छेले दया-मायाले दिने दानले खाने र बाँच्ने गर्न थाले ।
गालिबका अधिकांश लोकप्रिय तथा अमर ‘शेर’ यसै अवधिमा लेखिएका हुन् भनिन्छ । जहाँ गहिरो पीडा र अवसाद हुन्छ । जीवनका दुर्भाग्यलाई उनले नजिकबाट नियालेका हुन्छन् । उनी अक्सर आफैसँग व्यङ्ग्य गर्दछन् । जस्तो कि उनको एक शेर छ—
के अनौठो छ त्यस्तो मेरो अनुहारमा
मलाई देखेर ऐना हैरान हुन्छ
गालिबका शायरीले मान्छेका अनेक अनुभव र नियतिका कथा भन्छन् । त्यस्तै एक अर्को शायरीमा उनी भन्छन्—
जसले प्रेम बुझ्न सकेन राम्ररी
उसले पीडा बुझ्छ कसरी
गालिबका कवितांशमा यस्ता अनेक गहिरा कुरा मात्र हुँदैन, उस्तै गतिला रोमान्टिक भाव पनि हुन्छन । उनी एक ठाउँ भन्छन्—
खुब सुन्दर ती रात हुन्छन्
जब सपनामा तिमीसँग बात हुन्छन्
गलिब मान्छेको जीवनका अनेक आयाम खोतल्दछन् । घतलाग्दा क्षणलाई काव्यात्मक अभिव्यक्ति दिन्छन् । औसत मान्छेलाई लाग्छ कि जीन्दगी भारी छ । तर, उनी जीवनको भारलाई मान्छेको सपना र आकांक्षासँग जोड्दछन् । उनको अर्को एक टुक्रा कवितांश यस्तो छ—
जीन्दगी त एक बढो हलुको चिज हो
बोझ त तिम्रा आफ्नै चाहनाहरूको हो
अभिलाषा र आकांक्षाका लागि पीडा सहन सक्ने मान्छेको क्षमतालाई उनी यसरी व्यक्त गर्दछन्—
गजबको हृदय हुन्छ कतिको
पीडा खुब सहन्छन्, तर ऐया भन्दैनन्
जसको यो घोषणा छ कि उ मज्जामा छ
कि त्यो जोगी हो कि नशामा छ
गालिबको मृत्यु सन १८६९ फेब्रुअरी १५ मा भयो । उनको चिहान दिल्लीमै बन्यो । मृत्युबारे उनले यस्तो शायरी लेखेका थिए—
म मरे भने मेरो चिहानमा लेख्दिनु
मृत्यु धेरै राम्रो हुन्छ मन लगाएर मर्दा
गालिबमा दरबारमा बस्दाबस्दै मदिरा र जुवाको कुलत लागेको थियो । यो कुलतबाट उनी कहिल्यै मुक्त नभइकन मरे । गालिबले कम्तिमा ४२०० शेर लेखेको अनुमान छ । फरक-फरक अनुसन्धानकर्ताले उनका शायरी फरक-फरक सङ्ख्यामा सङ्कलन गरेका छन् ।
गालिबका शायरी भारत र पाकिस्तानमा सबैभन्दा बढी लोकप्रिय छन् । भारतमा सन् १९८४ मा एक लामो टिभी श्रृङ्खला बनेको थियो मिर्जा गालिबको जीवनमा आधारित । त्यसमा गालिबको भूमिका प्रतिष्ठित सिने कलाकार नसरुदिन शाहले गरेका छन् ।
समग्र दक्षिण एशिया र अरब जगत्मा पनि गालिबका शायरी खुबै प्रचलित छन् । भारत र पाकिस्तान दुवै देशमा गालिब उत्तिकै सम्मानित कवि मानिन्छन् । गालिबको शायरी र गजल लेख्ने शैली संसारकै दुर्लभमध्ये एक मानिन्छ । हिन्दू र उर्दूमा फारसी शब्दलाई प्रचलित गर्ने श्रेय पनि गालिबलाई दिइन्छ ।
गालिबका कतिपय शायरी सरल र सहज बोधगम्यमा हुन्नन् । तिनलाई बुझ्न अलिक दिमाग लगाउनु पर्दछ । निधार खुम्च्याउनु पर्दछ । सायद यो कुरा उनको जीवनकालमै भनिन्थ्यो । तसर्थ, उनले लेखे होलान्—
मेरा शायरीमा अर्थ भेटिएन भने हराउन देऊ
अर्थ नभेटिएको हैन, हुँदै नभएको हुन सक्दछ
यथार्थमा गालिबका शायरी गहिरा हुन्, अप्ठ्यारा हैनन् । हिन्दी, उर्दू, फारसी र अरबी मात्र हैन, समीक्षक भन्छन् कि उनले यदाकदा त्यसभित्र संस्कृत शब्दसमेत मिसाइदिएका हुन्छन् । उनी फरक-फरक भाषाको समुद्रबाट शब्द शिकार गर्दछन् ।
जे होस्, गालिबका शायरीले दक्षिण एशिया र अरब जगत्लाई आज पनि अनुगृहित बनाइराखेको छ । नेपालका सार्वजनिक विमर्शमा बारम्बार गालिबका शायरीका टुक्रा प्रयोग भइरहेका हुन्छन् ।
कुनै शङ्का छैन— गालिब आफ्नो समयका एक महान् शायर थिए । बेजोड काव्य शक्ति भएका स्रष्टा थिए । मानवीय जीवन मूल्य र सौन्दर्यलाई अनेक आयाम वा कोणप्रतिकोणबाट शब्दमा उतार्ने शब्दका कालिगढ थिए । जस्तो कि उनले एक शेर मा भनेका छन्—
ढुङ्गाको पनि भाग्य बदलिन सक्दछ
यो शर्तमा कि त्यसलाई मन लगाएर तासियोस्
गालिबका शायरीमा शब्दलाई तिनको भाग्य बदलिनेगरी मन लगाएर तासिएको हुन्छ ।
Facebook Comment
Comment