१३ वर्षपछि पुनर्मिलन भएका बाबु-छोराको ‘फिल्म’ जस्तै कथा, एकअर्कालाई खोज्दाखोज्दै थाकिसकेपछि यसरी भेटिए (भिडिओ)

१० वर्षको उमेरमा परिवारसँग सम्पर्कविहीन भएका थिए, विशाल । घर ठेगाना जानकारी दिन नसक्दा उनी १३ वर्षसम्म बाबुबाट टाढिए । उता बुवाले छोरा खोज्दै कैयन् दुःख भोगे । यता छोरा पनि बाबुको खोजीमा कैयन् जीवित मानिस भेट्नेदेखि बेवारिसे लास हेर्नसम्म गए । अन्ततः १३ वर्षपछि दुईबीच पुनर्मिलन भएको छ । परिस्थितिले छुटाउँदादेखि डेढ दशकपछि भाग्यले भेटाउँदासम्मका कथा ।

१३ वर्षपछि पुनर्मिलन भएका बाबु-छोराको ‘फिल्म’ जस्तै कथा, एकअर्कालाई खोज्दाखोज्दै थाकिसकेपछि यसरी भेटिए (भिडिओ)
१३ वर्षपछि भेट भएपछि कुमार मगर (बुबा) र विशाल मगर (छोरा)

काठमाडौं । कलिलैमा बिछोडिएका विशाल मगर १३ वर्षपछि परिवारको सान्निध्यमा आए । १० वर्षको कलिलो उमेरमा नै परिवारबाट बिछोडिएका उनले परिवार र आफन्तका साथ कष्टकर जीवन बिताए । अहिले २३ वर्ष पुग्नै लागे । तर, अब उनीसँग परिवार छ, बाबु छन् ।

घर ठेगाना र अभिभावकका बारेमा जानकारी दिन नसक्दा १३ वर्षसम्म बाबुबाट बिछोडिए । उता बाबुले पनि छोरालाई खोज्दै कैयन् दुःख भोगे । भगवान्‌को इच्छा पनि अकल्पनीय; बिछोडको १३ वर्षपछि अन्ततः बाबु-छोराबीच पुनर्मिलन भएरै छाड्यो ।

दुई बाबुछोरोको अहिलेसम्मको जीवन यसरी बित्यो कि हर्ष, सुख वा सम्झने मीठा कुरा त्यस्तो केही पनि छैन । यो डेढ दशकमा बाबु (कुमार मगर)-छोरा (विशाल मगर) ले भोगेका कथा कुनै ‘ट्रेजेटीकल फिल्म’को कहानीभन्दा कम छैन ।

त्यो कठिन १३ वर्ष

‘अङ्कल चाउचाउ किन्दिनुस् न,’ गाडीबाट भर्खरै ओर्लिएको एकजना मान्छेलाई आठ/दश वर्षको जस्तो देखिने एक सडक बालकले अनुरोध गर्‍यो । बूढानीलकण्ठको मन्दिरमुनिको मुख्य सडक, बाक्लो चहलपहल थियो । त्यहीबीच झुत्रो कपडामा थिए, ती बालक ।

अनजान बालकले मीठो स्वरमा चाउचाउ किनिदिन भन्दै आग्रह गरेपछि ती मानिस टक्क अडिए । उनलाई हेर्दै मुसुक्क हाँसे । बालक विशालले पनि मन्द मुस्कानमा नै जवाफ फर्काए । विशालको हुलियाले सडकमा हुर्किएको भन्दा बेवारिसे बनेको बुझ्न ती व्यक्तिलाई समय लागेन ।

कोठामा बाबु नआएको धेरै लामो समय भइसकेको थियो । छिमेकीले कहिलेकाहीँ खान दिन्थे । तर, सधैँ पाएनन् वा उनलाई दिन पुगेन । उनी दश वर्षका मात्र थिए । बुबा नआएपछि कोठामा बस्न मन भएन । अरूले दिए खान्थे, नदिए भोकै बस्थे । यसरी उनले कति दिनरात भोकै कटाए, उनमा लेखाजोखा नै छैन ।

अब आफ्नो बाबु पनि फर्केर आउँदैनन् भन्ने उनलाई लाग्यो । आमाले पनि छाडेर गइसकेकी थिइन् । अब मागेरै भए पनि पेट पाल्नुपर्छ भन्ने उनलाई लाग्यो । अनि सडकमा निस्किए । सडकमै मागेर गुजारा गर्ने र त्यही सुत्ने गर्थे ।

एकदिन भोक लागेपछि चाउचाउ किन्न अनुरोध गरेका मान्छे थिए, समाजसेवी विमल पन्त । विमलले सोधे, ‘तिम्रो घर कहाँ हो ? घरमा को-को छन् ?’

बालकले आफ्नो नाम विशाल भएको बताए । अरू ठेगाना बताउन सकेनन् । परिवारको कहानी भने विशालले बेलिविस्तार लगाए । सबै सुनेपछि विमललाई दया जाग्यो ।

विशाललाई घर लगेर अभिभावकत्व प्रदान गर्दै आएका विमल पन्त, बीचमा कुमार मगर (बुबा) र छेउमा विशाल मगर (छोरा)

विमलले विशाललाई गाडीमा हालेर घर लगे । स्कूल हालिदिए । केही समय पढेपछि उनी स्कूल जान मानेनन् । विशालले अब विमलबाट सुरक्षा र संरक्षकत्व पाइसकेका थिए । यति मात्रै होइन, छोरासरह व्यवहारसमेत पाए ।

एक हिसाबले भन्ने हो भने दुखी कर्म भोग्दै आएका विशालका लागि विमल भाग्य बनेर आएका थिए । उनलाई कर्म दिने बाबु त मिल्यो । तर, सन्तोष भएन, किनकि आफूलाई जन्माउने बाबु उनीसँग थिएनन् । विमलको अभिभावकत्व त उनले पाए । तर, मन-मुटु भने बाबुको छायाले घेरिएकै थियो । उनको खोजीमा विशाल भौँतारिन थाले ।

०००

खोटाङ खार्पाका कुमार मगर २०५६/०५७ तिर काठमाडौं आए । मुलुकमा माओवादीको सशस्त्र द्वन्द्वले उग्ररूप लिँदै थियो । गाउँमा बस्दा माओवादी कार्यकर्ता आएर ‘पार्टीमा लागौँ’ भन्दै दबाब दिन्थे । उता सेनाहरू पनि गाउँमा आएर अनेकन प्रश्न सोधेर हैरान बनाउँथे ।

विद्रोही र सरकारी पक्षको दोहोरो मारमा थिए, गाउँमा युवा । केही माओवादीमा होमिए । कोही भागेर काठमाडौं आए । गाउँ छाड्नेमध्येका एक थिए, कुमार । काठमाडौं आएपछि बालाजु बस्न थालेका उनले २०५६ सालमा बिहे गरे ।

२ वर्षपछि २०५८ सालमा जन्मिएका हुन् विशाल । २०६२ मा विशालका भाइ जन्मिए । त्यसको २ वर्षपछि २०६४ मा अर्का भाइ पनि भए । कुमार मजदुरी गर्थे । ढुङ्गा, इँटा, बालुवा बोक्ने काम गर्न जान्थे । घर मुस्किलले चलेको थियो ।

२०६८ सालतिर कुमारकी पत्नीले पारिवारिक बन्धन तोडेर अर्को बिहे गरेर गइन् । गरिबीकै बहानामा पति र कलिला छोराहरूसँगको सम्बन्धको डोरीलाई चटक्क चुँडालिन् । पत्नीले आफूभित्रको मातृत्वलाई मारेर अर्को बिहे गरेपछि कुमारकै जिम्मेवारी भयो, बालबच्चाको रेखदेख गर्ने दायित्व पनि ।

बालबच्चालाई हेरचार गर्ने मान्छे भएन । मजदुरीमा जानुपर्थ्यो कुमार । उनैले बाहिर कमाउँथे र गर्जो टरेको थियो । अब कुमार एक्लैले घरमा केटाकेटीको हेरचाहदेखि बाहिर ज्याला मजदुरीसम्मका काम भ्याउनुपर्ने भयो । थप यस्तै पीडाका अरू घुम्तीहरू आउन अझै बाँकी थिए ।

काममा नगए चुलो बल्थेन । यसैले बिहानै बालबच्चा छाडेर कुमारलाई काममा जानुपर्ने बाध्यता आइलाग्यो । विशाल भाइहरूसँग खेल्थे । कुमारले आफ्नो आर्थिक अवस्थाले बच्चाहरूलाई स्कूल पढाउन सकेका थिएनन् । छोराहरू कोठामै हुन्थे । केटाकेटीको छिमेकीले रेखदेख हेरचाह गर्थे ।

श्रीमतीले छाडेको पीडा उनमा थियो । मदिराको लत बस्यो । पारिवारिक तनावको कारण विक्षिप्त उनी एकसुरमा कतै हिँडेको-हिँड्यै गर्ने भएका थिए ।

बाबुछोरा पुनर्मिलन भएपछि बुवा कुमारको उपचारको सिलसिलामा पूर्वसचिव भीम उपाध्यायसँग

सय ठाउँमा हन्डर र ठक्कर खाएका उनको जीवनको लय बिग्रियो । सुर बिग्रियो । पीडाले बिरक्तिएका उनैमा कहिलेकाहीँ सुर हराउन थाल्यो । कहिलेकाहीँ मजदुरी गर्न गएकै ठाउँबाट फर्केर कोठामा नआउने अवस्थाका भए ।

एकदिन उनी काम गर्न गएकै ठाउँमा बिरामी परे । यता कोठामा केटाकेटी मात्रै थिए । दिन होइन, महिना बित्यो । तर, कुमार फर्किएनन् । अरूको भरमा छाडिएका केटाकेटीको बिजोक भयो । केही हप्तापछि कुमार कोठामा फर्कँदा जेठा छोरा विशाल थिएनन् ।

छोरालाई सबैतिर खोजे, कतै भेटेनन् । सुरुआतका दिनमा विशालले पनि बाबुलाई काठमाडौं उपत्यकाका धेरै ठाउँमा खोजे । काठमाडौं, ललितपुर भक्तपुरको कुनै ठाउँ बाँकी राखेनन् ।

उता कुमार भने पारिवारिक बिछोडमा बिरक्तिएका थिए । कामको सिलसिलामा ठेकेदारले सिन्धुपाल्चोक लग्यो । केही वर्षपछि काठमाडौं फर्किए । फेरि छोरालाई खोजे । अझै फेला पार्न सकेनन् । अनन्त: कुमार यही तनावले झनै बिरामी परे । निकै थलिए ।

उता छोरा विशाल भने बाबुको खोजीका भौँतारिरहे । उनलाई लाग्यो ‘बाबु मजदुर थिए, अझै त्यही काम गर्दै होलान्’ । यसैले घर बनाइरहेको ठाउँ कतै देखेमा गएर सोधखोज गर्ने गरिहाल्थे । तर, सोधखोजको यो प्रयासले बाबु भेट्ने उनको चाहना पूरा हुन सकेन । एवंरितले दशक नाघ्यो । तर, अत्तोपत्तो लागेन ।

छोरालाई नै चिनेनन्

केही दिनअघि विशाल काठमाडौंको अनामनगरमा हिँड्दै थिए । परबाट एकजना बटुवा आइरहेको देखे । झट्ट हेर्दा चिने-चिनेको मान्छे जस्तो लाग्यो । तर, ठम्याउन सकेनन् । बटुवा आफ्नै सुरमा पैदल आउँदै थिए । यता विशाल पनि उतैतिर अघि बढ्दै थिए ।

यसअघि कतै देखे/चिनेको तर, ठ्याक्कै यही मान्छे भन्ने भेउ भएन उनलाई । दिमागमा झट्ट याद आयो, ‘मेरो बुबा जस्तै रहेछन्, कतै मेरै बाबु त होइनन् ?’

लामा-लामा दाह्रीजुँगा भएका बटुवाले मैलो र झुत्रो लुगा लगाएका थिए । आफ्नो बाबुको अनुहार सम्झिए । उस्तै उस्तै लाग्यो । ती बटुवा आफ्नो बाबु भए/नभएको पहिचान गर्ने सोच आयो । उनले यति सोच्दै गर्दा ती मानिस आफूलाई क्रस गरेर पनि पर पुगिसकेका थिए ।

‘कसरी सोध्ने ? के भनेर सोध्ने ? फेरि होइन रहेछ भने गाली पो गर्ने हो कि ?’ यस्तै-यस्तै कुरा विशालको मनमा खेलिरहेको थियो । तैपनि ‘कन्फर्म’ त गर्नैपर्‍यो भनेर उनी पछाडि फर्किए ती बटुवा देखिएनन् । सायद धेरै अघि बढिसकेका थिए ।

विशाल दौडेर कोठामा गए । मोटरसाइकल लिएर फेरि अघिकै ठाउँमा आए । बटुवा अघि बढेकै बाटोतिर लागे । अलिअघि अनामनगर पुगेपछि ती बटुवा भेटिए । भेट्न त भेटे तर, कतै अल्मलिएजस्तो भए विशाल ।

कुमार मगर (बुबा) र विशाल मगर (छोरा)

‘नमस्ते !’, बटुवाको छेउमा पुग्नेबित्तिकै विशालले बाइक रोकेर हात जोडे । बटुवाले हात उठाए, बोलेनन् ।

कुराकानीको सुरुआतमा विशालले सोधे– हजुरको नाम के हो ?

‘किन र बाबु ?’ अपरिचितले बाटोमा नाम सोधेपछि उनी अल्मलिए ।

‘होइन, भन्नुस् न भन्नुस्’ विशालले आग्रह गरे ।

‘कुमार’, जवाफ आयो ।

‘थर के हो ?’ विशालले प्रतिप्रश्न गरे ।

‘किन र सबै सोध्यौ त ?’, उनले भने ।

‘पहिला भन्नुस् अनि म पछि भनौँला’ विशालले भने ।

उनले भने, ‘मगर हुँ बाबु म !’

‘घर कहाँ हो ?’ विशाल फेरि सोध्छन् ।

‘मेरो घर खोटाङ, धेरै भयो यतै छु,’ उनले भने ।

विशाललाई कन्फर्म भयो, उनी त्यही मानिस थिए; जसको खोजीमा १३ वर्षदेखि भौँतारिरहेका थिए । खोज्दा-खोज्दै बाल्यकालबाट हुर्किएर युवावस्थामा लागिसकेका थिए विशाल ।

बोल्दा हल्का भक्भकाउने बानी भएका विशालले सोधे, ‘तततपाईंलाई यत्तिका वर्षसम्म मेरो याद आएन है ?’

बटुवा बोलेनन् । विशालको अनुहारमा गहिरो तरिकाले हेरिरहे । उनको जवाफबाट ती मानिस आफ्नो बाबु हुन् भन्ने विशाललाई पहिचान भयो । ती मानिसले पनि चिनिहाले ।

विशाल सानैदेखि बोल्दा हल्का भक्भकाउँथे । “तततपाईंलाई यत्तिका वर्षसम्म मेरो याद आएन है ?’ भन्ने विशालले बोलेको वाक्यबाट ती मानिसले पनि प्रश्नकर्ता आफ्नो छोरा भएको पत्तो पाए ।

छोरालाई अँगाली हालौँ र माया साटौँझैँ भयो । ‘मेरो बाबु’ भन्दै विशाललाई अँगाले । वर्षौं बेखबर भएका बाबु-छोरा भेटिएपछि हर्षाश्रु गहबाट पोखिए ।

दुवैका आँखाले पनि खुसीका आँसु लुकाउन सकेनन् । गहभरि आँसु लिएर निकैबेर अँगालोमा बेरिरहे । धेरै बेरसम्म एकअर्कालाई हेरिरहे । विशालले आमाबारे पनि बाबुलाई सोधे । तर, उतिबेलै छाडेर गएदेखि कुनै खबर नभएको सुनाए ।

हातले आँसु पुछिसकेपछि विशालले आफूलाई आश्रय दिँदै आएका विमल पन्तलाई फोन गरे, “अङ्कल मैले बुबालाई भेट्टाएँ । यहाँ आउनुहोस् ।”

विशालले बुबा कुमारलाई सैलुन लगेर दाह्री जुँगा कटाए । कोठामा लगेर कपडा फेरिदिए । विशाल १० वर्षको बालाखा छँदा नै उनीसँग बिछोडिएका थिए, कुमार ।

विशाल अहिले २२ वर्ष पूरा भइसकेका छन् । कुमार ५० लागेका छन् । वर्षौँसम्म बाबुलाई फेला पार्ने आसमा उनले दोबाटोमा आँखा बिच्छ्याइरहे । ठाउँ-ठाउँमा खोजिरहे ।

१३ वर्षपछि बल्ल उनले बिछोडमा भोगेको पीडा र आँसुको कथा बाबुलाई सुनाउन पाएका छन् । उनीहरूको पुनर्मिलनसँगै आफन्तजन र साथीसङ्गीबीच पनि खुसीयाली छाएको छ ।

कैयन् वर्षपछि छोरालाई भेटेपछि कुमारमा खुसीको सीमा नै छैन । छोरा पनि डेढ दशकपछि बुबासँग भेट्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सकिरहेका छैनन् ।

बाबु कुमार भन्छन्, “जताततै खोज्दा-खोज्दा फेला नपारेपछि आस मारिसकेको थिएँ । अब मैले भेट्दिनँ कि जस्तो लाग्थ्यो । दैवले भेटायो !”

यसबीचमा बुबालाई धेरै ठाउँमा खोज्दा पनि नभेटेपछि बेवारिसे लास राखिएको ठाउँमा समेत पटक-पटक हेर्न गएको विशाल सुनाउँछन् ।

“कतै घर बनाइरहेको ठाउँ देख्दा गएर हेर्थेँ, सोध्थेँ । आजसम्म सयौँ ठाउँमा गएर सोधेँ, खोजेँ । तर, भेट्न सकेको थिइनँ । जीवित नभेटेपछि टिचिङ अस्पताललगायत धेरै अस्पतालमा बेवारिसे लाससमेत हेरेको थिएँ,” उनी सम्झन्छन् ।

अब विशाल एकपटक आफ्नै गाउँ खोटाङ जान आतुर छन् । जहाँ उनका बुबाको पुरानो घर छ । “केही दिनमा उहाँहरूको गृहजिल्ला जाँदै हुनुुहन्छ । विशालको नागरिकता र पासपोर्ट बनाउनुपर्ने छ,” विशाललाई संरक्षण दिँदै आएका विमल भन्छन् ।

अहिले विशालसँग गाडी चलाउने सीप छ । नागरिकता नभएकाले लाइसेन्स निकाल्न नपाएका मात्र हुन् । उनले पानी बोक्ने गाडी चलाउँदै आएका छन् ।

“अब भने उसको नागरिकता बन्ने भयो । उसले यही काम गर्छु भन्छ भने पनि गर्छ । नत्र विदेश जान्छ भने पनि म विदेश पठाइदिन्छु । लामो समयपछि उसको पारिवारिक पुनर्मिलन भएको छ । म पनि ज्यादै खुसी छु,” विमल सुनाउँछन् ।

विशाल मगर, जसले १३ वर्षपछि बाबुलाई भेटे 

त्यो अचम्मको संयोग !

विमल व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि क्रियाशील छन् । किनेर लगाउन नसक्नेका लागि कपडा वितरण गर्ने ‘हाम्रो कपडा बैंक’ उनले चलाउँदै आएका छन् । खाना खान नसक्ने असहायको लागि खाना वितरण गर्छन् ।

किसान मजदुरहरूको आन्दोलनमा निःशुल्क खानादेखि पानीसम्म वितरण गर्दै आएका छन् । समाजसेवाका यी काममा विमलले विशाललाई पनि सँगै लैजान्थे ।

भिडिओ –

कोरोना महामारीपछिको लकडाउनमा विमलको समूहले खाना पकाएर खुलामञ्चमा लगेर बाँड्थ्यो । लकडाउनमा खाना खान नपाएका मजदुरहरू खुलामञ्चमा खान खान लाइन लाग्थे । त्यो बेलामा खान बाँड्नेमा विमलसँगै विशाल पनि थिए ।

अहिले उनका बुबा कुमारले बताएअनुसार त्यो बेलामा खुलामञ्चमा खाना खान उनी पनि आएका थिए । सायद बाबुछोराको त्यो बेलामा भेट भएको थियो । कुमारले छोरा विशाललाई देखे पनि होलान् । सायद उनलाई खाना दिने विशाल नै थिए कि !

कुमार भन्छन्, “लकडाउनमा सधैँ खाना खान म खुलामञ्चमा जान्थेँ । अहिले थाहा भयो, मेरै छोरा पनि त्यहीँ रहेछ । त्यहाँ मैले पनि चिनिनँ, उसले पनि चिनेन ।”

त्यतिबेला बाबु-छोराले पुर्नमिलनको अचम्मको संयोग गुमाएका रहेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved