विश्वमा कुन भाषाको वर्चस्व कति ?

नेपालभ्युज

विश्वमा कुन भाषाको वर्चस्व कति ?

काठमाडौं । भनिन्छ— विश्वभर करिब ७ हजार भाषा, भाषिका र बोली छन् । तर, तीमध्ये १० ठूला मुख्य भाषाको वर्चस्व करिब ७५ प्रतिशत छ । १० करोडभन्दा बढी मानिसले बोल्ने भाषा १५ वटा मात्र छन् ।

हजारौं भाषा लोपोन्मुख छन् । कतिपय भाषा बोल्ने मान्छेको अभावमा अभिलेखमा सीमित भइसकेका छन् । भाषा, साहित्य समृद्ध हुँदाहुँदै पनि जीवन्त बन्न नसकेर ‘मृतभाषा’ को सङ्ख्या बढ्दो छ ।

जस्तो कि संस्कृत, विश्वभर मातृभाषाका रूपमा संस्कृत लेखाउनेको सङ्ख्या करिब २८ हजार मात्र छ । तीमध्ये करिब २५ हजार भारत र करिब २ हजार नेपालमा छन् ।

संस्कृत एक समृद्ध भाषा हो । यस भाषामा लाखौं ग्रन्थ र साहित्य छन् । तर, पनि मानवीय व्यवहार र अभ्यासमा यो जीवन्त भइरहन सकेन ।

सबैभन्दा धेरै १ अर्ब ४५ करोड मानिसले अङ्ग्रेजी बोल्दछन् । तर, यी सबै अङ्ग्रेजी मातृभाषी भने होइनन् । अङ्ग्रेज साम्राज्यको विस्तारसँगै अङ्ग्रेजी भाषा विश्वभर फैलियो । यसले विश्व भाषाको मान्यता पनि पायो । संसारका अधिकांश देशमा औपचारिक शिक्षामा समावेश गरेर अङ्ग्रेजी पठाइन्छ ।

तर, अङ्ग्रेजी मातृभाषी भने करिब ४० करोड मात्र छन् । १ अर्बभन्दा बढी अङ्ग्रेज भाषीको मातृभाषा अङ्ग्रेजी थिएन । तर, आज तिनलाई अङ्ग्रेजी भाषी समूहभित्र राखिन्छ ।

विश्व जनसङ्ख्यामा करिब १८.८ प्रतिशत अङ्ग्रेजी भाषी छन् । बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, आयरलैण्ड, ग्रिनेडा, बेलिज, जमैका, घाना, दक्षिण अफ्रिका, बोत्सवाना, बार्बाडोस, गुयनालगायत मुख्य अङ्ग्रेजी भाषी देश हुन् ।

विश्व जनसङ्ख्यामा दोस्रो ठूलो अनुपात चिनियाँ म्यान्डरिनको छ । करिब १ अर्ब ११ करोड मानिसले म्यान्डरिन बोल्दछन् । तर, ध्यान दिनयोग्य कुरा यो चीनको जनसङ्ख्याभन्दा कम हो । किनकि सबै चिनियाँको मातृभाषा म्यान्डरिन हैन । तर, चीनका अतिरिक्त ताइवान, मंगोलिया, सिंगापुर, भियतनाम, लाओसलगायतका देशमा म्यान्डरिनभाषीको ठूलो जनसङ्ख्या छ । म्यान्डरिनले विश्व जनसङ्ख्यमा करिब १३.८ प्रतिशत ओगट्दछ ।

तेस्रो स्थानमा भने हिन्दी छ । विश्वभर ६० करोडभन्दा बढी मानिसले हिन्दी बोल्दछन् । तर, म्यान्डरिन जस्तै यो भारतीय कूल जनसङ्ख्याको आधाभन्दा कम हो । किनकि भारतमा अन्य क्षेत्रीय भाषाको बलियो प्रभाव छ । तर, हिन्दीभाषी भारतमा मात्र छैनन्, विश्वभर छरिएका छन् । विश्व जनसङ्ख्याको ७.५ प्रतिशतमा हिन्दी भाषाको वर्चस्व छ ।

चौथो स्थानमा स्पेनिस पर्दछ । विश्वका २१ देशमा स्पेनिसले औपचारिक भाषाको मान्यता पाएको छ । स्पेन मूल देश भइहाल्यो । स्पेनी साम्राज्यको युगमा मुख्यतः ल्याटिन अमेरिकी देशमा स्पेनिस भाषा फैलियो । करिब ५६ करोड मानिसले स्पेनिस बोल्दछन् ।

मेक्सिको, पारागुवे, भेनेजुयला, अर्जेन्टिना, एलसाल्भाडोर, पानामा, क्युवा, बोलिभिया, कोलम्बिया आदि देशमा स्पेनिस भाषाको वर्चस्व छ । स्पेनिसले विश्व जनसङ्ख्याको ६.९ प्रतिशतमा वर्चस्व राख्दछ ।

पाँचौँ स्थानमा फ्रान्सेली भाषा पर्दछ । करिब ३१ करोड मानिसले फ्रान्सेली भाषा बोल्दछन् । तर, तीमध्ये मातृभाषी ८ करोड मात्र छन् । २९ देशमा फ्रान्सेली भाषाले औपचारिक मान्यता पाएको छ । कङ्गो, सेनेगल, अल्जेरिया, बेल्जियम, बेनिन्, स्वीट्जरल्याण्ड तीमध्ये केही मुख्य देश हुन् । फ्रान्सेली भाषाले विश्व जनसङ्ख्याको करिब ३.४ प्रतिशत ओगट्दछ ।

छैठौँ स्थानमा अरबी भाषा छ । करिब २७ करोड ४० लाख मानिसले अरबी बोल्दछन् । मध्यपूर्व र उत्तर अफ्रिकाका देशमा यो भाषा लोकप्रिय छ । अरब, यमन, ओमान, ट्युनिसिया, इजिप्ट, जिबुटी, कोमोरस, बहराइन, लिविया, लेबनान, मोरक्को, प्यालेस्टाइन, साउदी अरेबिया, बहराइन आदि ती देश हुन् । विश्व जनसङ्ख्यामा यसको अनुपात पनि करिब ३.४ प्रतिशत नै हुन्छ ।

सातौँ स्थानमा रहेको बङ्गाली भाषीको सङ्ख्या अरबीको भन्दा थोरै मात्र कम छ । २७ करोड ३० लाख । अन्य भाषाको स्थान करोड बढी जनसङ्ख्याबाट निर्मित छ भने अरबी र बङ्गालीको स्थानमा भने लाखको मात्र भिन्नता छ ।

बङ्गाली भाषाको अनुपात धेरै हुनुको कारण बङ्गलादेशको ठूलो जनसङ्ख्या र भारतको पश्चिम बङ्गाल प्रदेश मुख्य हुन् । करिब १८ करोड बङ्गलादेशीमध्ये ९८ प्रतिशतले बङ्गाली बोल्दछन् । भारतको पश्चिम बङ्गालका अतिरिक्त असम, बिहार र झारखण्डमा पनि बङ्गला भाषी जनसङ्ख्या छ । बङ्गाली भाषाले पनि विश्व जनसङ्ख्याको ३.४ प्रतिशत अनुपात ओगट्दछ ।

आठौँ रुसी भाषा करिब २५ करोडले बोल्दछन् । रुसी भाषा रुसी साम्राज्य र सोभियत सङ्घको शासनकालमा बाल्टिक, युरेसियन, मध्य तथा पूर्वी यूरोपका देशमा फैलियो । बेलारुस, यूक्रेन, किर्किस्तान, काजकिस्तान, मोल्दोभा, जर्जिया, लात्भिया, उज्बेकिस्तानआदि मुख्य रुसी भाषी देश हुन् ।

रुसको जनसङ्ख्या करिब १४ करोड ५० लाख छ । तीमध्ये ७५ प्रतिशतले रुसी बोल्दछन् । थप १० करोड रुसी भाषी अन्य देशमा छन् । विश्व जनसङ्ख्या अनुपातमा रुसी भाषाको वर्चस्व ३.२ प्रतिशत छ ।

पोर्चुगिज नवौँ ठूलो भाषा हो । करिब २४ करोड ५० लाखले पोर्चुगिज बोल्दछन् । यसको अनुपात पनि झन्डै रुसी भाषाकै जति ३.२ प्रतिशत हुन्छ । अङ्गोला, ब्राजिल, केप भर्डे, मोजाम्बिक, मकाओ, इक्वेडर, इष्ट टिमोर आदि देशमा यो भाषा फैलिएको छ । यो भाषा पोर्चुगाली साम्राज्य विस्तारको क्रममा फैलिएको हो ।

दशौँ स्थानमा उर्दू भाषा, जुन करिब २३ करोडले बोल्दछन् । यसको वर्चस्व अनुपात करिब २.९ प्रतिशत हुन्छ । पाकिस्तान र भारत उर्दू भाषाका मुख्य दुई देश हुन् भने दक्षिण एशिया र मध्यपूर्वका अन्य केही देशमा यो फैलिएको छ ।

उपरोक्त १० का अतिरिक्त थप ५ भाषीको जनसङ्ख्या १० करोडभन्दा बढी छ । ती हुन्, इन्डोनेसियाली, जर्मन, जापानी, नाइजेरियाली र मराठी । एघारौँ स्थानमा इन्डोनेसियाली करिब २० करोड, बाह्रौँ स्थानमा जर्मन करिब १४ करोड, तेह्रौँ स्थानमा जापानी करिब १३ करोड, चौधौँ  स्थानमा नाइजेरियन १२ करोड र पन्ध्रौँ स्थानमा मराठी १० करोडले बोल्दछन् । यीमध्ये मराठी भारतको महाराष्ट्र प्रदेशको प्रादेशिक भाषा हो ।

नेपालमा बोलिने भोजपुरी, मैथिली र नेपाली पनि विश्वको शीर्ष १०० भित्र पर्ने भाषा हुन् । विश्वको भाषिक श्रेणीकरणमा भोजपुरी ३७ औं, मैथिली ४० औं र नेपाली ५९ औं स्थानमा छन् । भोजपुरी करिब २७ लाख, मैथिली करिब २५ लाख र नेपाली करिब १७ लाख मानिसको मातृभाषा हो ।

यी तीनवटै भाषाको मुख्य स्थान नेपाल र उत्तर भारत हो । तर, दोस्रो भाषाका रूपमा करिब ५ करोडले नेपाली तथा ३/३ करोडले भोजपुरी र मैथिली प्रयोग गर्दछन् । नेपालका अन्य जनजाति तथा मातृभाषी, उत्तरपूर्वी भारतका पहाडी जनजाति र भुटानीले नेपाली भाषा दोस्रो भाषाका रूपमा प्रयोग गर्दछन् ।

भारतका कन्नड, मलायालम, तेलुगु, तमिलजस्ता भाषाको पनि विश्व जनसङ्ख्या अनुपातमा उल्लेखनीय हिस्सा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved