रामहरि हत्याकाण्ड : कुट्दाकुट्दै मरेपछि नारायणीमा फ्याँकिएको थियो शव, १५ वर्षसम्म कानूनबाट यसरी बचे कालीबहादुर

श्रेष्ठलाई काठमाडौंबाट रातारात अपहरण गरेर चितवन पुर्‍याइएको थियो । मरणासन्न हुनेगरी कुटपिट गरेपछि उनी बेहोश भएका थिए । उनको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो ।

नेपालभ्युज

रामहरि हत्याकाण्ड : कुट्दाकुट्दै मरेपछि नारायणीमा फ्याँकिएको थियो शव, १५ वर्षसम्म कानूनबाट यसरी बचे कालीबहादुर

काठमाडौं । अपहरण र हत्या घटनाको १५ वर्षपछि माओवादीका पूर्वलडाकु कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन् । हतियार र नगद चोरी गरेको भन्दै खाम नेतृत्वको समूहले व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ ।

सोही मुद्दामा केहीले सजाय काटेर जेलमुक्त भइसक्दा खाम पक्राउ परेका थिएनन् । घटनालगत्तै उनी फरार रहेका थिए । राजनीतिक संरक्षणका कारण खाम कसरी बचिरहेका थिए र घटना के थियो ?

माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा जनमुक्ति सेनाको तेस्रो डिभिजन थियो । कोटेश्वरमा तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो ।

जुन घर व्यापारी रामहरि श्रेष्ठ (ramahari shrestha)को थियो । सम्पर्क कार्यालय कोटेश्वरबाट ०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल हरायो । घटना छानबिनका लागि भन्दै तेस्रो डिभिजन कमान्डर कालीबहादुर खाम (kalibahadur kham)ले एक टोली बनाए ।

चितवनको शक्तिखोरमा रहेका थिए, खाम । उनले तत्कालीन ब्रिगेड कमान्डर गोविन्दबहादुर बटालाको नेतृत्वमा छानबिन टोली गठन गरे ।

त्यो टोलीलाई काठमाडौंबाट केही मान्छे ‘उठाएर ल्याउन’ भन्दै पठाए । वैशाख १५ गते राति बटालासहितको टोली काठमाडौं आएर व्यापारी रामहरि श्रेष्ठसहितलाई अपहरण गरेर चितवन लगे  । अपहरण गर्ने टोलीमा केशव अधिकारी र गङ्गाराम थापा पनि थिए ।

अपहरण गरेर चितवन लगिएकाहरूलाई अपहरण गरेर लैजाने समूहका डिभिजनका ब्रिगेड कमान्डर बटालाले सोधपुछ गरे । व्यापारी रामहरि श्रेष्ठले आफूले पैसा र पेस्तोल नलिएको बताए ।

तर, खामको निर्देशनमा ब्रिगेड कमान्डर बटालाले व्यापारी रामहरि श्रेष्ठमाथि कुटपिट गरे । ‘पैसा कहाँ छ ? पेस्तोल कहाँ छ ?’ भन्दै कुटपिट गर्दै सोधिरहे । मरणासन्न अवस्थामा पुगेपछि व्यापारी रामहरि श्रेष्ठ बेहोश भए ।

त्यसपछि उपचारका लागि गाडीमा हालेर अस्पताल लैजान लाग्दा रामहरि श्रेष्ठको बाटोमै ज्यान गयो । उपचारका लागि काठमाडौं ल्याइँदै थियो । नारायणगढ-मुग्लिङ सडकको भालुढुंगामा मृत्यु भयो ।

त्यसपछि उनको शव ब्रिगेड कमान्डर बटालाले नारायणी नदीमा फालिदिए । शव तन्नामा राखेर झोलुङ्गे पुलको बीचबाट नारायण नदीमा फालेको बेहोराको विवरण बटालाले प्रहरी र अदालतमा बयानका क्रममा दिएका थिए । यही विवरण घटनालगत्तै जनमुक्ति सेना नेपाल तेस्रो डिभिजनले प्रहरीमा पठाएको थियो ।

०००

घटनापछि रामहरि श्रेष्ठकी पत्नी रमिलाले बानेश्वर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । शक्तिखोरमै रामहरि बन्धक रहेको समयमा सम्पर्क कार्यालय रहेको काठमाडौंको घरमा खोजी भएको थियो । श्रेष्ठको घरको शौचालयमा टिसर्टमा पोको पारेको अवस्थामा १७ लाख भेटिएको थियो । र भर्‍याङमुनि पेस्तोल फेला परेको थियो ।

तत्कालीन पत्रपत्रिकामा प्रकाशित समाचारका अनुसार भने रामहरि श्रेष्ठको मृत्यु वैशाख २६ गते बिहान ११ बजे चितवनस्थित शिक्षण अस्पतालको आईसीयुमा भएको थियो ।

घटनापछि प्रहरीको खामसहित अरू फरार भए । रामहरि श्रेष्ठसँगै काठमाडौंबाट लगिएका केशव अधिकारी, गङ्गाराम थापा अनि अर्जुन कार्की पनि फरार भए । थापा खामकै अङ्गरक्षक थिए ।

रामहरि श्रेष्ठको ज्यान गएपछि अपहरण गर्ने र कुटपिट गर्ने बटालाले कुटपिटको दोष केशव अधिकारी र गङ्गाराम थापामाथि थपेर आफू निर्दोष रहेको बयान दिए । फरार रहेका सवारी चालकपछि अदालतमा उपस्थित भए । उनले गाडी चलाउनेबाहेक काम आफूले नगरेको बताए ।

फरार रहेका सबैको फाइल मुल्तबीमा राखेर जिल्ला अदालत चितवनले दुईपटक मुद्दाको फैसला गर्‍यो । ०६८ जेठ १७ गते बटालालाई ३ वर्ष कैद फैसला भयो ।

६ महिनापछि मङ्सिर २० गते सवारी चालकलाई घटनामा संलग्न नभएको तर, घटना भएको देख्दादेख्दै मौन बसेको भन्दै केही रकम जरिवानाको फैसला सुनायो । उनी पुनरावेदन अदालत गएनन् ।

बटाला पुनरावेदनमा गए । चालक र बटाला दुवैलाई कम सजाय भयो भनी सरकारी वकिल कार्यालयले पनि पुनरावेदन हाल्यो ।

शव गाडीमा राखी गायब गर्ने काममा मतियार भएकाले चालकमाथि पनि सजाय हुनुपर्ने माग सरकारी वकिलको थियो । तर, पुनरावेदनमा पनि त्यही फैसला भयो । त्यो बेलादेखिनै खामलाई भने ‘फरार’ बनाइएको थियो ।

०००

व्यापारी रामहरि श्रेष्ठलाई कोटेश्वरको घरबाट अपहरण गर्दादेखि शक्तिखोर पुर्‍याउँदा, कुटपिट गर्दा र मरेपछि उनको शव त्रिशूलीमा फाल्दा विभिन्न कसुर आकर्षित हुन्थ्यो ।

तर, मुद्दाको अभियोजन गर्ने प्रहरी र सरकारी वकिलले अपहरण तथा शरीर बन्धक, कुटपिट र ज्यान मारेको मुद्दा नचलाई ‘कर्तव्य ज्यान’को अभियोगमा मात्रै मागदाबी गरेको थियो ।

यसरी अपराधलाई सङ्कुचित बनाउँदा अपहरणमा संलग्नहरूले उन्मुक्ति पाएका थिए । जसले गर्दा केशव अधिकारी र गङ्गाराम थापा मात्रै कुटपिटमा संलग्न भएको अर्थ लगाइयो । अरू ठूला नेताहरु बचेका थिए ।

त्यहीबापत् पनि खाम अहिलेसम्म बच्न सफल भएका थिए । उनी खुल्मखुल्ला हिँडे पनि सत्ता र शक्तिको आडमा कानूनबाट बचिरहेका थिए । राजनीतिक संरक्षणका कारण प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

शिविरमा बसेका माओवादी कमान्डरहरूले घरमा बसेको व्यक्तिलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको घटनालाई प्रहरीले अपहरणका रूपमा विषयवस्तु नउठाएकोले मुद्दा कमजोर बनेको थियो । जसकारण फैसलामा ‘अपहरण’ शब्द भएन ।

जिल्लाबाट फैसला भइसकेपछि भने प्रहरीले कालीबहादुर खाम, बटालालगायतमाथि अपहरणको मुद्दासमेत चलायो । अपहरण तथा शरीर बन्धकको अभियोगको मुद्दा हाल पनि विचाराधीन छ ।

त्यही मुद्दामा अहिले खाम पक्राउ परेका छन् । खामविरुद्ध चिनियाँ व्यापारीसँग यार्सागुम्बा व्यापारको ५ करोड रुपैयाँ लुटेको आरोपमा पनि प्रहरीले खोजिरहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved