विभेदका बीच फक्रिएको समलिङ्गी प्रेम, ‘असभ्य’ समाजको ज्यादतीले प्रताडित दुई बालिका, कसले देला सुरक्षा ? (भिडिओ)

‘युट्युबे’का असंवेदनशिल प्रश्नले थपियो पीडा

दुई किशोरी आपसमा प्रेम गर्छन् । पहिचान खुलाएर उनीहरूले बिहे गरेपछि समाज क्रुद्ध भयो । लैङ्गिक अल्पसङ्ख्यक भएकै कारण उनीहरूमाथि भौतिक आक्रमण नै भयो । ‘असभ्य’ समाजले उनीहरूको प्रेम छुटाउन गरेको हर्कत र पीडित किशोरीका कथा ।

विभेदका बीच फक्रिएको समलिङ्गी प्रेम, ‘असभ्य’ समाजको ज्यादतीले प्रताडित दुई बालिका, कसले देला सुरक्षा ? (भिडिओ)

काठमाडौं । दुईजना किशोरीलाई गाउँ समाजले घेरेर लछारपछार पारेको भिडिओ भाइरल छ । फेसबुक, टिकटक र युट्युब स्क्रोल गर्दा यी भिडिओ देख्नुभएकै होला ।

‘केटीकेटी बिहे गर्ने ? लाज लाग्दैन ?’, ‘ कसरी बच्चा जन्माउँछौँ ? ‘यस्तो उपद्रो गर्ने, समाज भाँड्ने ?’ यस्तै यस्तै प्रश्नले घेरा हाल्दै उनीहरूलाई लखेटीलखेटी कुटिरहेका देखिन्छन् ।

किशोरीहरू हात जोड्दै आफूहरूलाई केही नगर्न अनुनय गरिरहेका छन् । उनीहरु आफूहरू छुट्न नसक्ने बताउँछन् । तर, के गर्नु संवेदनाहीन मानिस जाइलागिरहेका छन्, एकोहोरो गालीलगौज गर्दै ।

यही घटना युट्युब, फेसबुक र टिकटकलगायत सञ्जालमा भाइरल छ ।

000

‘कैलालीमा अच्चमको घटना केटीले केटी भगाए । स्कुल पढ्दा खेरि बसेको माया….’ ‘सहारा अनलाइन टीभी’ नामको युट्युब च्यानलमा यो शीर्षकमा अपलोड भिडिओ झन्डै २ लाख पटक हेरिएको छ । अर्को च्यानलको उही भिडिओमा २५ हजार नजिक दर्शक छन् ।

त्यही घटनाका ३ वटा भिडिओ ‘बीएस डिजिटल’ युट्युब च्यानलमा छन् । झन्डै ५० हजार, ६० हजार र ३० नजिक दर्शक छन् ।

यी भिडिओका छोटा क्लिप फेसबुकको रिल्स, टिकटकलगायत सञ्जालमा भाइरल छन् । जहाँ २ जना किशोरीलाई ‘असभ्य’ समाजले घेरेर लछारपछार पारेको देख्न सकिन्छ । विवेकशुन्य भीडको सामु निरीह बालिका हिंसाको सिकार बन्न विवश छन् ।

यत्तिकैमा माइक तेर्साउँदै युट्युबरको प्रवेश हुन्छ । उनीहरूलाई छुट्ट्याएर राख्ने गाउँले र आफन्तले प्रयास जारी राख्दा युट्युबरले बुम तेर्साउँदै प्रश्न बर्साउँछन्, ‘तिमीहरूको बच्चा हुन्छ ? तिमीहरू बुबा आमाबाटै जन्मेका होइनौ र ?’ ‘कसरी बस्छौँ ?’

युट्युबर प्रश्न मात्रै गर्दैनन्, न्यायाधीशझैँ ‘फैसला’ पनि गर्छन् । तिमीहरू केटा की केटी ?’ ‘केटी-केटी भए कसरी बिहे सम्भव छ ?’ परिवार र गाउँलेबाट कुटाइ र पिटाइ सहन विवश उनीहरूमाथि युट्युबरले भीडलाई निर्देशित गर्न खोज्छन्, ‘यिनीहरूलाई अब के गर्ने ? यत्तिकै छाड्ने हो ?’

न्यूनतम मानवीय संवेदना गुमाएका युट्युबरले १६ र १७ वर्षे किशोरीमाथि प्रश्नबाटै हिंसा गरिरहन्छन् । अवहेलना, उपहास र विभेद सहँदै आएका किशोरीमाथि कुटपिट भइरहँदा रोक्नुको साटो अशिक्षित समाजमा उत्तेजित प्रश्न सोधेर हैरान बनाउँछन् ।

गाउँलेहरू तीनै किशोरीलाई लछारपछार गरिरहेका हुन्छन् । गाउँलेकै कुरामा युट्युबर ‘हो मा हो’ मिलाउँदै प्रश्नले थप हिंसा गर्छन् ।

व्यक्तिको लैङ्गिकता र यौनिकताबारे अनावश्यक प्रश्न सोधेर हैरानी दिइन्छ, जुन उनीहरूको नितान्त व्यक्तिगत विषय हो । कम उमेरका उनीहरूको नाम, फोटो भिडिओ सार्वजनिक गरिएको छ, जुन गैर कानुनी हो ।

यो घटना कैलालीको मोहन्याल गाउँपालिकाको विकट गाउँ सोल्टाको हो । भिडिओमा २ जना किशोरी चरम हिंसामा परिरहेमा देखिन्छन् ।

यसरी भयो प्रेम

कैलाली मोहन्याल ६ मगरटोल सोल्टाकी हुन्, निकी सुनार (नाम परिवर्तन) । उनी उमेरले १७ वर्ष पुगिन् । जन्मँदा स्त्रीलिंगी निकीको हाउभाउ पुरुष प्रकृतिको छ । एउटै स्कुल र एउटै कक्षामा पढ्दै आएकी १६ वर्षीया बिकी सुनार (नाम परिवर्तन)सँग निकीले प्रेम गरिन् ।

जसले जन्माउँछन् ‘भावनाको पाठेघर’मार्फत् सन्तान !

एकै टोलका उनीहरु कक्षा ८ मा पढ्छन् । एउटै स्कुलमा पढ्ने र घाँसदाउरा सँगै गर्छन् । सँगै हिडडुल गर्दा दुवैबीच माया प्रेम घनिष्ठ हुँदै गयो । उनीहरु छुट्टै बस्न सकेनन् । गत शुक्रबार मात्रै दुवैले भागी विवाह गरे ।

निकीले भगाएर बिकीलाई आफ्नो घरमा भित्र्याइन । निकीको परिवारले स्वीकार गर्यो‍ । तर, बिकीको परिवारले भने केटी भएर केटीसँग विवाह गर्ने भन्दै कुटपिट नै गर्यो ।

त्यही घटनामा युट्युबरको प्रवेश भयो । केटीकेटीको विवाह भन्दै मोहन्यालको सोल्टामा शनिबार दिनभर हल्लीखल्ली भयो । कुटाई पिटाई खाएका दुवैलाई स्थानीयले उद्धार गरेर इलाका प्रहरी कार्यालय सुगरखालमा पुर्‍याए । त्यसैलै उनीहरूको ज्यान बच्यो ।

गाउँलेले यस्तो प्रेम र विवाहमा अवरोध गरे पनि मोहन्याल गाउँपालिकाका केही अगुवाले भने समलिङ्गीको अधिकार हनन गर्न नमिल्ने बताएका छन् ।

नाम नलेख्ने शर्ता एक अगुवा भन्छन्, ‘उनीहरूको इच्छा हो । भावना कदर गर्नुपर्छ । उनीहरूले विवाह गरेर बस्दा केही बिग्रँदैन, तर उमेर नपुगेकाले कानुनी रूपमा विवाह सम्भव छैन । तर, समलिङ्गीको पनि अधिकार समान छ भनेर परिवार र गाउँलेलाई सम्झाउन प्रयास गर्दैछौँ ।’

निकी र बिकीले आफूहरू सँगै बस्ने गरी विवाह गरे पनि परिवारले स्वीकार नगरी कुटपिट गरेको दुखेसो गरेका छन् । निकी भन्छिन्, ‘हामी सँगै बस्न चाहन्छौँ । बिकीलाई कहिल्यै पीडा दिन्न । जसले जे भने पनि जुनीजुनीसम्म छुट्टिँदैनौँ ।’

नेपालको कानुनमा २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था छ । १७ वर्षकी निकी र १६ वर्षकी बिकीलाई इलाका प्रहरी कार्यालय सुगरखालले उमेर नपुगेकाले सम्झाइबुझाई आफन्तको जिम्मा लगाएको बताएको छ ।

एक प्रहरी अधिकारीले भने, ‘सँगै बस्नु, हिँडडुल गर्न कुनै रोकावट नभए पनि विवाह गर्न भने उमेर नपुगेको भनेर पठाएका छौँ । २० वर्ष पुगेपछि मात्रै बिहे गर्न सक्नुहुन्छ भनेर सम्झाई बुझाई गरेर आफन्तको जिम्मा लगाएका छौँ ।’

सुरक्षाको चिन्ता, परामर्शको खाँचो

प्रहरी प्रशासनबाट फर्किएपछि पनि निकी र बिकीको जोडीलाई हैरानी छ । बाबाआमा कामका लागि भारतमा रहेका उनीहरूलाई छिमेकी र आफन्तले अनेक प्रश्न गर्दै हैरानी दिइरहेका छन् ।

यस्ता हिंसाबाट कलिलो उमेरका उनीहरू आत्तिएका मात्रै छैनन्, सुरक्षित समेत छैनन् । उनीहरूले आफूहरू नछुट्टिने बताएपछि ठूलोबुबा पर्नेले बुबा आएपछि थाहा पाउने चेतावनी दिएको भिडिओमै देख्न सकिन्छ । उनीहरूलाई सुरक्षासँगै परामर्श र परिवार तथा छिमेकीलाई चेतना आवश्यक भएको जानकार बताउँछन् ।

एक जनाको परिवारले स्वीकारेको र अर्को परिवार आक्रोशित बनेको अवस्थामा उनीहरूमाथि जे पनि हुन सक्ने भन्दै सुरक्षाको जिम्मा लिन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले सरकारसँग माग गरेका छन् ।

हिंसामा परेका उनीहरूमाथि टीआरपी कमाउन युट्युब च्यानलले अरूको मानव अधिकारमा खतरा हुने काम गरेको संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्त बताउँछन् ।

हिमाल चढ्न गएका श्रीमान् उतै अस्ताए, काखमा छोरी लिएर गीत गाउँदै मन भुलाउँछिन् सपना (भिडिओ)

उनी भन्छन्, ‘सञ्जालमा जुन ढङ्गले प्रश्न सोधेर हिंसा गरिएको छ । बच्चा हुँदैन, केटीकेटी बिहे अचम्म भयो भन्ने हिंसा गर्ने कुरा नाम ठेगाना अनुहारसहित देखाइएको छ । असंवेदनशिल रुपमा प्रसारण गरिएको छ । त्यो निन्दनीय छ । भिडिओ अपलोड गर्नेले आफैँले हटाएनन् भने कानुनी बाटो खोज्छौं ।’ लैङ्गिकता र यौनिकताबारे अनावश्यक प्रश्न सोधेर हैरानी दिने र नाम, तस्वीर सार्वजनिक गरिनु चिन्ताको विषय भएको उनको भनाइ छ ।

असंवेदशिल समाजमा ‘युट्युबे’को भ्रमको खेती

नेपालको संविधानअन्तर्गत नागरिकले लैङ्गिक पहिचानसहितको नागरिकता पाउने छन् । हरेक नागरिकलाई समान वंशीय हक हुने, लैङ्गिक पहिचानको आधारमा विभेद गर्न नपाइनेजस्ता हक र अधिकारको व्यवस्था गरेको छ ।

यसरी संविधानले सम्मान, समानता र स्वतन्त्रताको हक तथा लिङ्ग एवं वैवाहिक स्थितिको आधारमा भेदभाव गरिनेछैन भनी उद्घोष गरे पनि व्यवहारमा पूर्ण रूपमा यो देख्न बाँकी नै छ  ।

समलिङ्गी बिहे गर्न सर्वोच्च अदालतबाट आदेश भएको र नजिर नै स्थापित भइसकेको अवस्थामा यो समुदायले संविधान प्रदत्त हक प्रयोग गर्न पाएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved