सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्ने काम सम्पन्न, ‘ब्रेक थ्रू’को तयारी

नेपालभ्युज

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्ने काम सम्पन्न, ‘ब्रेक थ्रू’को तयारी

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरूङ निर्माण कार्य सम्पन्न भएको छ ।

आयोजनाको सुरूङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर मात्रै बाँकी रहेको छ ।

तराई–मधेसका विभिन्न जिल्लामा बाहै्र महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरू गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको हो ।

यही वैशाख २६ गते विशेष समारोहबीच सुरूङ छिचोलिने छ । सुरूङ ब्रेक थ्रू गर्ने अन्तिम तयारी भइरहेको सम्बन्धित आयोजनाले जनाएको छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरूङमध्ये एकाध सेन्टिमिटर मात्रै खन्न बाँकी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख २६ गते सुरूङको ब्रेक थ्रू गर्नेछन् । ब्रेक थ्रूको आवश्यक तयारी भइरहेको छ ।

“प्रधानमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत विशिष्ट व्यक्तिहरू कार्यक्रममा सहभागी हुनुहुनेछ”, उनले भने ।

रामेछाप र सिन्धुलीका सङ्घीय तथा प्रदेश सांसद, राजनीतिक दलका नेताहरू, सरोकार भएका सबै व्यक्तिलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजनाले जनाएको छ ।

सुरूङ निर्माणको कूल अवधि दुई वर्षको भए पनि त्यसभन्दा धेरै अगाडि झन्डै १९ महिनामा सम्पन्न भएको हो । भौगोलिक जटिलताका कारण केही समय मेसिन नरोकिएको भए अझै चाँडो सुरूङ छिचोलिने थियो ।

सुरूङ छिचोलिए पनि अन्य आवश्यक काम पूरा गर्न थप एक वर्ष लाग्ने आयोजना प्रमुख बरालले जानकारी दिए ।

सुरूङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भएपछि त्यसलाई समाधान गरेर अगाडि बढेको जानकारी दिँदै आयोजना प्रमुख बरालले भने, “ग्राउटिङलगायत विधि प्रयोग गरेर समस्याको समाधान गरिएको छ । सुरूङ निर्माण निरन्तररूपमा अगाडि बढिरहेको छ ।”

सुरूङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टीबीएम मेसिन प्रयोग गरिएको हो ।

उपकरण प्रयोग गरी सुरूङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको र अन्य आयोजना पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ ।

नेपाल विद्युत् प्राधिकरणले दूधकोसी र माथिल्लो अरूणमा समेत टिबिएम प्रयोग गर्ने तयारी गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved