काठमाडौं । कोसीमा नयाँ सरकार बनाउन प्रदेश प्रमुखले आव्हान गरेका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेश सभाका कुनै सदस्यलाई २०८१ वैशाख २८ गते शुक्रबार अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
अहिलेका मुख्यमन्त्री केदार कार्की पनि संविधानको सोही धारा अनुसार नियुक्त भएका थिए । कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि २०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए।
कोसी प्रदेश सभा सचिवालयले २०८१ वैशाख १० गते प्रदेश सभाबाट बहुमतले संकल्प प्रस्ताव पारित गरेको र वैशाख २६ गतेको पत्रमार्फत संवैधानिक व्यवस्थाबमोजिम समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव दर्ता हुन नआएकोलाई प्रदेश प्रमुखले नयाँ सरकार गठनको कारणका रुपमा उल्लेख गरेका छन् ।
बुधबार नै एमाले र माओवादीले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए । त्यसलगत्तै प्रदेश प्रमुख खापुङले संघीय सरकारका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलसँग कानुनी परामर्श लिएर नयाँ सरकार गठनको आव्हान गरेका हुन् ।

Facebook Comment
Comment