जून रोइरहेको बेला धर्तीमा फुले शीतहरू
अँध्यारो पोखिएको सन्त्रस्तको कालो रातमा
गरिबीको रेखा मुनी म जन्मिएँ
पहिलो पटक म जूनसँगै रोएँ ।
घुमिरहेको क्यामेराका लेन्स निर्णायकहरू विप्लव प्रतीक, उपेन्द्र सुब्बा, इन्दिरा जोशी र केकी अधिकारीमा पुगेर अडिन्छ, उनीहरू भावुक भएर सुनिरहेको स्पष्टै देखिन्छ । स्टेजमा अभिनय गर्दै अनुलाई साथ दिँदै थिइन् रुविना तामाङ । अनु सयौँसँग मिल्दाजुल्दा आफ्नै कथा सुनाइरहन्छिन् ।
अरूले संसार चिनिरहेको बेलामा
मैले आफूलाई चिनेँ
मेरो शरीरभन्दा फरक छ मेरो आत्मा
शरीर आत्मा हुन सक्दैन
आत्मा शरीरसँग सन्तुष्ट छैन
हावी हुन लडिरहेछन् मस्तिष्कको कुरुक्षेत्रमा
नियतिको दोष लाग्यो आमा तिम्रो गर्भमा
म बाँच्न चाहन्छु त्यही जीवन
जो मेरो आत्मा चाहन्छ ।
यी पङ्क्ति रियालिटी शो ‘द पोएट आइडल’ (The Poet Idol) मा वाचन गरिएको एक कविताको हो । यो कविता र कविको चर्चा केहीबेरमा गर्छु । त्यसअघि रियालिटी शोकै बारेमा केही कुरा गरौँ । प्रत्येक सोमबार र मङ्गलबार हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्यूब च्यानलमा राति ९ बजे प्रशारण हुँदै आएको छ, ‘द पोएट आइडल सीजन टू’ ।
कहीँ आँसु त कहीँ हाँसो, कहीा उल्लास त कहीँ गाम्भीर्यता; यसकै बीच ‘द पोएट आइडल’को दर्जन एपिसोड सकिएको छ । ३२ एपिसोड प्रशारण हुने नेपालीभाषी कवि र कवितामा आधारित रियालिटी टिभी शोको कार्यक्रमको अझै २० एपिसोड बाँकी नै छ । आयोजकले शोको विजेतालाई नगद १० लाख रुपैयाँसहित एक पुस्तक सार्वजनिक गरिदिनेछ ।
प्रतियोगितामा छनोट भएका १४ जनामध्ये ३ जना बाहिरिइसकेका छन् । अब ११ जना प्रतियोगी बाँकी छन् । हरेक साता एक-एक जना बाहिरिनेछन् । सयौँ प्रतियोगीबाट छानिएका १४ र त्यहाँबाट घट्दै ११ सम्म आइपुग्दा दर्शकमाझ कौतुहल पनि बढेको छ, ‘को-को प्रतिस्पर्धी कुन-कुन राउन्डसम्म पुग्लान् ? कसले जित्ला यसपटकको टाइटल ।’
नेपालमा एउटा वर्गका दर्शकले सर्वाधिक रुचाइएको रियालिटी शो हो, ‘द पोएट आइडल’ । प्रतियोगीहरू आफ्ना सिर्जना कविताको भावअनुसारको गेटअप, सुमधुर साङ्गीतिक धुनसहित मञ्चमा प्रस्तुत भइरहेका छन् । बाँकी ११ प्रतियोगीहरू कोहीभन्दा कोही कम छैनन् । फेरि चर्चा गरौँ, अघिकै कविताको । ११औं एपिसोडको अन्तिम कविता यसरी अघि बढ्छ ।
आँखै अगाडिको ऐनाले
आफ्नै प्रतिविम्ब चिन्न नसक्दा
प्रश्न उठ्यो मेरो अस्तित्वमाथि
म को हुँ
म को बन्न चाहन्छु
तर, मेरो बोलीमा निषेधाज्ञा लगाएका तिम्रा कानले कहिले सुनेनन्
म आमा बन्न चाहन्छु
मलाई आमा बन्न देऊ
मेरो मातृत्व अरू कसैको मातहतमा छ
किनकि—
छैन म सँग गुलाबी महक
फुल्दैनन् फूल मेरो छातीमा
मेरो ओछ्यानमा छैन कोही मातृगामी
मभित्र छैन पाठेघरको बास
के आमा हुनलाई रगतले भिज्नैपर्छ पेटीकोट ?
के आमा हुनलाई गर्नैपर्छ कुनै पुरुषको गर्भधारण ?
म यस्तो हुनमा मेरो के दोष ?
मलाई त बस् आमा बन्नुछ
कोख गुमाएका सन्तानको
मलाई बन्न देऊ न आमा सडकका हजारौं गुहारको ।
मातृत्व भावना हुने आम मनिसका कथा बोल्दै थिइन्, अनु । जो आमा हुन चाहेर पनि सन्तान उत्पादन गर्ने शारीरिक क्षमता भएका थिएनन् ।
विषेशगरी ‘ट्रान्सउमन महिला’को पीडा, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पीडा किताबमा थियो । जो आमा बन्न सक्दिनन्, उनको पीडा कवितामा सरर बग्दै थियो ।
खचाखच भरिएको दर्शक दीर्घातिर क्यामेरा घुमिरहन्छ । उनीहरूले एकटकले अगाडि अभिनय सँगैको कविता सुनिरहेका देखिन्छन् ।
सबैका अनुहार उस्तै मलिन, उस्तै निन्याउरो । जो मातृत्वको भावनामा डुबेकी अनुको कवितामा समाहित भइरहेका थिए । फेरि कविता यसरी अगाडि बढ्यो ।
म एउटा नाम खोजिरहेछु
मलाई अनेक उपनाम नदेऊ
तिम्रो अधिनमा रहेको मेरो पराधीन मातृत्वलाई
अब छाडिदेऊ
बेफीकर उड्न देऊ
म चाहन्छु भोलि तिम्रा आँगनमा फुलेका फूलहरूले
तिम्रो जस्तो सस्तो सोच बोकेको दृष्टिले
मलाई नहेरुन्
कसले भनिदियो तिमीलाई
तिमी आमा बन्न सक्दिनौ ?
कसले भन्यो, तिमी आमा होइनौ ?
फिँजाई आफ्ना पखेटा आउनेछन् ममता ताप्न तिम्रो काखमा
हुरीले गुँड उडाएका चिसा बचेराहरू
त्यति नै बेला ओढाइदिनु तिमीले
मातृत्व बोकेको पहिचानको न्यायो पछ्यौरी
नस्वीकारिँदा तिम्रो अस्तित्व, किन बगाउँछौ बलिन्द्र धारा-आँसु
पानीमाथि फुलिरहेको कमल देख्ने आँखाहरूले
देख्दैनन् पानी रङ्गाउने लेउ
हो, तिमी त्यही लेउ हौ
जसले—
पोखरीलाई जीवन्त बनाउँछ ।
छोटो कविता ‘भावनाको पाठेघर’ कवितामार्फत अनुले समाजको यथार्थ कहानी सुनाइन् । मातृत्वको विषयमा हजार शब्दले पनि व्याख्या गर्न नसक्ने शब्द उनको साढे २ सय शब्दमा साढे २ मिनेटमै सकिन् ।
दर्शकदीर्घामा बसेका अधिकांश भावुक देखिए । धेरैका आँसु टिलपिल थियो । अगाडि केही यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट केही दर्शक आएका थिए ।
आफ्नै कथा कवितामार्फत सुन्दा सायद खाटा बसिसकेको उनीहरूको घाउ एकपटक चसक्क दुख्यो । जुन उनीहरूले भोग्दैआएका तीतो कथा थियो ।
०००
सुदूर कर्णाली पहाड कालिकोटको विकट गाउँमा १८ वर्षअघि छोरीको रूपमा जन्मिएकी थिइन्, अनुशाही ठकुरी । पछि उनको परिवार नेपालगन्ज बाँके झरेको थियो । उनका पाँचजना दिदीबहिनी र २ भाइ छन् ।
परम्परागत रुढीवादी मनोभावनाले गाँजेको समाजमा उनले आफ्नो पहिचान खुलाउन सजिलो थिएन ।
किनकि उनी बाँचेको समाजले उनको समूहलाई अप्राकृतिक ठान्छ । अपराधी ठान्छ । पश्चिमा छाडा संस्कृतिको पक्षधरका रूपमा बुझ्छ । अनि उनीहरूको भावना, पहिचान नबुझी घृणा र अपहेलनाको भाषा प्रयोग गरी जिउँदै मार्छ । त्यो बुझेकी अनुले समाजमा आफूलाई खुलाउन सकेकी थिइनन्, चाहेर पनि ।
लाग्थ्यो, प्रत्येक पाइलामा अमानवीय तिक्त व्यवहार, भनाइ र नमिठो अनुभूति लिएर जिउँदै मर्नु र अपहेलित हुनुभन्दा बरु केही नभन्नु जाति । केही सुन्नै परेन । अपमानको विष पिउनै परेन । तर, कतिन्जेलसम्म सहेर बस्ने ? एक दिन भन्नैपर्ने थियो ।
जिन्दगीको यात्रा बक्ररेखा हुँदै सरल रेखामा ल्याउन आफूले गरेको त्यो सङ्घर्ष उनले त्यही मञ्चबाट खोलिनन् मात्र, सार्वजनिकरूपमा उनले आफू ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्र पर्ने’ खुलासा गरिन् ।
जुन कुरा उनका घरपरिवार र सीमित साथीभाइले बाहेक अरूले थाहा पाएका थिएनन् । कविता सकेपछि उनी आफ्नो विगततर्फ फर्किइन् । आफ्नो भावना बन्न हिम्मत गरेको कहानी सुनाइन्, “पहिला गाउँमा हुँदा थाहा पाइनँ । जब मैले थाहा पाएँ, म मोबाइल र इन्टरनेटको पहुँचमा पुगेँ । त्यसपछि मलाई आफ्नो पहिचान खुलाउन कुनै अप्ठेरो लागेन ।”
“सुरूमा मैले आफ्नो कुरा माइली दिज्यूलाई भनेँ । उहाँले मेरो कुरा परिवारलाई भन्न मध्यस्तता गर्नुभयो । यति भन्न पनि डराउनुपर्छ त ? उहाँले भन्नुभयो, यो त नर्मल हो नि …,” उनी भावुक भइन् । एकछिन सन्नाटा छायो ।
क्यामेराको लेन्स फेरि एकपटक निर्णायक र दर्शकतर्फ अडिन्छ । उनीहरू पनि एकटकले मञ्चतिर हेरिरहेको देखिन्छ । केहीका आँखा आँसुले भरिला देखिए । अनुको रसिला आँखा टिलपिलाइरहेको थियो ।
भावुक उनले अवरुद्ध गला तिर्खार्ने प्रयास गर्दै भनिन्, “वर्षौँदेखि काँधमा रहेको गह्रुँगो ठूलो खसेको फिल भयो । मेरो परिवारले सजिलै लियो । मलाई पछुतो भयो कि मैलै आजसम्म यो कुरा किन लुकाएर राखेको रहेछ भने । त्यो दिनबाट मेरो मन हल्का भयो । त्यो दिन म रातभर रोएँ, किन मैले यो कुरा पहिलै भनिनँ ।”
फेरि दर्दले चिरा-चिरा पारेर पार लगाएको समयतिर फर्किन्छन् अनु । भनिन्, “मलाई परिवारले कहिल्यै भनेनन् । किन कपाल काटेको ? किन लुगा लगाएको ? सधैँ यस्तै गर तर, नराम्रो बाटो कहिल्यै हिँड्नुभएन । भन्नुभयो । अहिले मेरो सर्कलको साथीले पनि मलाई एसेप्ट गर्नुहुन्छ । मैले आफ्नो सर्कलमा मात्र भनेको थिएँ । सार्वजनिक रुपमा आज मैले सबैसामु भनेँ ।”
‘सबैभन्दा ठूलो लडाइँ अस्तित्व कै हुन्छ’ भन्दै निर्णायक मण्डलबाट केकी अधिकारीले थपिन् ।
उनले अगाडि भनिन्, “हामी कसको कोखमा जन्मियौँ ? कोबाट जन्मिने भन्ने हाम्रो हातको कुरा होइन । माथिकै आदेश हो । त्यहीअनुसार यही आइन्छ र आफूले स्वीकार्नुपर्छ । तपाईंले आफ्नो व्यक्तिगत कुरा पनि यहाँ राख्नुभएको छ ।”
उठान भइरहेको तर, कसैले नउठाइरहेको विषयमा कविता कोर्नु अनुको चिनारी हो । कार्यक्रममा कविता सुनाउनुअघि उनले भनेकी छिन् ।
‘मातृत्व भनेको भावना हो । यसैले महिलामै मात्र हुन्छ भन्ने हुँदैन । महिला मात्र मात्र हुँदैन पुरुषमा पनि हुन्छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिमा पनि यो भावना हुन्छ,” उनले भनिन् ।
०००
पाँच वर्षअघि पत्रकार बन्छु भनेर काठमाडौं आउँदा अनुलाई सङ्घर्षको यात्रा लामो र कठिन होला भन्ने लागेकै थिएन । कालीकोट तिलगुफ ६ जुबिथा घर भएकी उनी नेपालगञ्ज हुँदै काठमाडौं आइपुगिन् । १४ वर्षको उमेरमा एसएलसी दिएकी उनी ‘प्लस टु’ गर्न काठमाडौं छिरेकी थिइन् ।
केही समय पढेर मान्छेको नजरमा परिहालिन्छ भन्ने उनको सोचाइ थियो । तर, सपना र यथार्थबीच आकाश पातालको फरक हुन्छ भन्ने कुरा उनले काठमाडौं आएपछि सङ्घर्षको मैदानमा उत्रिँदा चाल पाइन् ।
तर, उनी भन्छिन्, “म दुःखमा रुन्नँ, सफलतामा रुन्छु । सपना र यथार्थबीच गहिरो खाँडल हुँदोरहेछ भन्ने बल्ल थाहा पाएँ ।”
आठ महिनाअघि काम गर्न भर्खरै खुलेको नयाँ च्यानल नारी टीभीमा गएकी थिइन् अनु । अहिले उनी पोयट आइडलमा आएपछि जागिर छाडेकी छिन् । उनको टर्निङ प्वाइन्ट अहिले यही प्रतियोगिता भएको छ ।
अनुका कवितामा विषेशगरी समाजमा धेरैको भोगेका तर, कसैले नउठाएका विषयहरू समेटिएका हुन्छन् । अनुको पोयट आइडल यात्राको अन्तर्य खोल्दै उनका पूर्वसहकर्मीहरू भन्छन्,”खासमा पोयट आइडलमा जाने उनको सोच थिएन । उनी पहिलैदेखि राम्रो राम्रो कविता सुनाउँथिन् । हामीले अडिन दिन भनेका थियौँ । उनको पनि डिजिटलरूपमा अडिसन दिइन् । छनोट हुन्छु भन्ने सोचेकै थिइनन् । तर, छनोट भइन् ।”
अनुको कविता मन परेमा उनलाई भोट दिन सकिने छ । भोटमार्फत उनी रियालिटी शोमा अझ अघि बढ्नेछिन् ।
सार्वजनिक मञ्चहरूमा देखिने मौका नपाएका प्रतिभालाई सतहमा ल्याइदिन्छन्— यस्ता रियालिटी शोहरूले । धेरै प्रतिभालाई बजारमा स्थापित गराइदिएका छन् । कतिपयले साङ्गीतिक दुनियाँ र कमेडी क्षेत्रमा राज गरिरहेका छन्, जो रियालिटी शोका उत्पादन थिए ।
उनीहरू आमदर्शकको आँखैअगाडि प्रतिस्पर्धा गरेर, दर्शकको भोटबाटै चयन भएर आएका थिए । रियालिटी शोबाट आएका सबै सफल नै हुन्छन् भन्ने चाहिँ छैन । हेरौँ, अनुको साहित्य सिर्जनाको यात्रा कहाँसम्म पुग्छ ।
Facebook Comment
Comment