नाटक ‘डिग्री माइला’ निर्देशन गरेका दयाहाङले फिल्ममा किन गरेनन् ?

नेपालभ्युज

नाटक ‘डिग्री माइला’ निर्देशन गरेका दयाहाङले फिल्ममा किन गरेनन् ?

काठमाडौं । अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रूपमा पनि परिचित छन्। उनले निर्देशन गरेको चर्चित नाटक हो ‘डिग्री माइला’ ।

त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रूपमा प्रदर्शनरत छ । नाटक निर्देशनकै बेला उनले शैक्षिक बेरोजगारीको कथालाई रोजेका थिए ।

डिग्री माइलामार्फत पनि सामाजिक, शैक्षिक र राजनीतिक विषयमा व्यङ्ग्य गरिएको उनले बताए ।

“हामीले तयार गरेको डिग्री माइला गाउँमा देखेको पात्रकै प्रतिनिधित्व हो किनकि उनीहरू आफूभन्दा अघिल्लो पुस्तासँग घुलमिल हुन सक्दैनन् र नयाँसँग विचार मिल्दैन”, उनले भने, “त्यसैकारण माइलामार्फत कथा भन्न मन लागेको हो । नाटक बन्दा नै यसलाई ठूलो पर्दामा ल्याएर धेरै दर्शकलाई देखाउनुपर्छ भन्ने लागेको थियो ।”

डिग्री माइला शीर्षकमा चलचित्र बन्ने चर्चा चल्दा धेरैले अभिनेता राईले निर्देशन गर्छन् भन्ने अनुमान गरेका थिए । तर, उनले नाटक निर्देशन गरेयता पनि चलचित्र निर्देशन गरेनन् । यद्यपि उनलाई चलचित्र निर्देशन गर्ने चाहना भने छ ।

“यो निर्देशन गरौँ भन्ने सोच आएको थिएन । अहिले म अभिनयमै व्यस्त छु, त्यसैले समय पनि व्यवस्थापन गर्न सहज हुँदैन । यद्यपि मैले केही फरक र भन्नै पर्ने कथा भेटेँ भने दुई चलचित्र निर्देशन गर्छु”, अभिनेता राईले भने ।

उनले चलचित्र निर्देशन गरे भने आफूले जानेको कुरा प्रयोग गर्ने योजनामा छन् । रङ्गमञ्चमार्फत चलचित्रमा प्राप्त गरेको सफलताले उनको चलचित्रमा व्यावसायिक र कलात्मकमध्ये कुन पाटो हाबी हुन्छ भन्ने कौतुहलता स्वाभाविक छ ।

उनले भने, “मैले चयन गर्ने विषयले मलाई कलात्मक वा व्यावसायिक के बनाउँछ भन्ने निर्धारण गर्छ । किनकि कथालाई कसरी देखाउँदा प्रभाकारी हुन्छ भन्ने विषयले नै निर्देश गर्छ । त्यसकारण अहिले त्यस विषयमा धेरै सोचेको छुइन, मप्रति अपेक्षा छ भन्नेमा ज्ञात छु ।”

उनले डिग्री माइलाजस्तो व्यावसायिक चलचित्रसँगै ‘गाउँ आएको बाटो’ र ‘राजागञ्ज’ जस्ता कलात्मक चलचित्रमा अभिनय गरेका छन् ।

उल्लिखित चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता पाउनाका साथै केहीमा पुरस्कार समेत जितिरहेका छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved