काठमाडौं । बझाङ्मा हिजो सम्पन्न निर्वाचनको मतपेटिकाहरु बिहान १० बजेसम्ममा मतगणना स्थलमा ल्याउने बताइएको छ ।
निर्वाचन आयोगले दुर्गममा रहेका मतदान केन्द्रबाट मतपेटिका हवाइमार्गबाट ल्याउने तयारी भइरहेको जनाएको छ ।
जिल्लाको साइपाल गाँउपालिकाका तीन स्थानका मतपेटिका हेलिकोप्टर मार्फत सदरमुकाम चैनपुर ल्याइने आयोगले बताएको छ ।
९३ मतदान केन्द्रमध्ये ९० मतदान केन्द्रको मत पेटिका सदरमुकाम चैनपुर ल्याइसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अब विकट साइपाल क्षेत्रको काडा, धुली र यारङकुरीको मतपेटिका ल्याउनका लागि हेलिकप्टर तयारी अवस्थामा छ।
सबै मतपेटिका ल्याइसकेपछि आजै सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी गरिएको छ । सबै ठाउँका मत पेटिका ल्याइसकेपछि आज दिउँसोदेखि मतगणना शुरू हुने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताए ।
बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ जनाले मतदान गरेका छन् ।
Facebook Comment
Comment