भाइरलको अँध्यारो पाटो

‘भेलुबाजे’को नियति : लाखौं कमाएर युट्यूबर लाखापाखा, रोगले थलिँदा छैन सुका

भेलुबाजे विस्तारै दर्शकको खोजाइबाट ओझेलमा पर्दै गए । युट्युबरको नजरमा अरू ‘भाइरल म्यान’ पर्न थाले । अन्तत: बिरामी पर्दा उपचारको लागि भेलुबाजेले एकसुको खर्च पाएनन् । थोर बहुत सहयोग माग्न केही युट्युबरलाई फोन गरे । तर, युट्युबरहरूले भेलु बाजेको फोनसमेत उठाएनन् ।

‘भेलुबाजे’को नियति : लाखौं कमाएर युट्यूबर लाखापाखा, रोगले थलिँदा छैन सुका

काठमाडौं । प्युठान जुम्रिकाँडाका मेनबहादुर बुढा अर्थात् ‘भेलु बाजे’ । ६३ वर्षीय उनी निम्न पारिवारिक अवस्थाका हुन् । सामान्यतया: ज्याला मजदुरी गरेर आफ्नो जीविकोपार्जन गरिरहेका उनी तीन वर्षअघि एक दिन गाउँमा बिहे भोज खान गएका थिए ।

उनीसँग कुरा गरिएको भिडिओ कसैले युट्यूब र टिकटकमा कसैले अपलोड गरिदियो । उनले बोल्ने टोन, तोडिलो जवाफलाई धेरैले मन पराए । कुराकानीको क्रममा उनले बोलेको थेगो ‘ठट्टेरिका माटोक्ने’ थेगो धेरैलाई अनौठो लाग्यो ।

कुरा गर्दै जाँदा अरुको कुरा काटेर बीचमा बोल्दा ‘पख्नोस् ट, पख्नोस् ट’लाई पनि धेरैले रुचाए । टिकटमा अपलोड गरेको एकैरातमा १० लाखले हेरे । भ्युजको ग्राफ बढ्दै गयो । सामाजिक सञ्जालमा एकाएक भाइरल भए ।

भाइरल भएपछि युट्यूबरहरू उनको घर खोज्दै पुगे । अन्तरवार्ता फेसबूक, टिकटक र युट्यूबमा भाइरल भयो । त्यसपछि युट्यूब र टिकटकर उनको पछाडि दौडन थाले । युट्यूब, फेसबुक र टिकटक प्रयोगकर्ताले उनको बोल्ने शैली र भाषालाई एकदमै रुचाए ।

गाउँमै आइपुगेका युट्यूबरलाई अन्तर्वार्ता दिने क्रममा भेलुबाजे, अन्तर्वार्ताकै बीचमा कसैसँग फोनमा कुराकानी गर्न लगाइँदै

भेलुबाजेको मगर जिब्रोले ‘बिगारेर’ बोलेको खस नेपाली भाषाका थेगोहरू चर्चित बन्यो । ‘बेल्कुल, बेल्कुल’, जस्ता थेगो र शब्दहरूका कारण ‘भाइरल’ बने । जे बोले पनि बिक्ने भयो । उनको बोली र हाउभाउ मानिसहरूलाई ‘मनोरञ्जनको खुराक’बन्यो, सामाजिक सञ्जालमा रमाउनेहरूका लागि ।

जति धेरै भ्यूज गयो, उति धेरै डलर आउने युट्यूबको विशेषता हो । धेरैको खोजीमा उनी परे । यसैले कैयौँ युट्यूबर उनको घर खोज्दैखोज्दै अन्तरवार्ता लिन पुगे

मानिसहरू भेलुबाजेको बोल्ने शैली, भाषा र हाउभाउमा यसरी रमाउन थाले कि उनलाई आफ्नो ढङ्गले बाँच्ने फुर्सद नै मिलेन । आफ्नो बोलीचाली र हाउभाउमा मान्छे किन यसरी तानिएका भएका हुन् ? उनी आफैँलाई थाहा थिएन । त्यसको फाइदा उठाएर युट्यूबमा कन्टेन्ट बेच्ने सयौं युट्यूबरले लाखौं कमाए ।

उनको भाइरल यात्रा यत्तिमै रोकिएन । त्यसलाई ‘क्यास’ गर्न कोहीले उनलाई काठमाडौं ल्याएर टेलिफिल्ममा अभिनय गराए । कोहीले गीत समेत रेकर्ड गराए । केही म्यूजिक भिडिओमा पनि उनलाई देखाइयो ।

यतिसम्मकी उनी गत वर्षको चुनावी माहौलमा समेत दलहरूको तानातानमा परे । प्युठानमा एमाले उम्मेदवार सूर्य थापाले उनलाई पार्टी प्रवेश गराए । अर्को दिन विपक्षीले आफ्नो समूहको प्रचारमा लग्यो ।

000

भेलुको आम्दानीको केही स्रोत केही थिएन । तर, उनलाई काम गराउनेहरू चिया खाजा खर्चमा टारिदिन्थे । उनी लोकल मदिराको पारखी थिए । युट्यूबरदेखि टेलिफिल्म बनाउनेहरूलेसम्म उनलाई लोकल मदिरा र खाजा खुवाएकै भरमा काम गराए । उनीहरूले लाखौं रुपैयाँ कमाए । तर, सोझा भेलु बाजेले आफू अरूको लागि प्रयोग भएको थाहै भएनन् ।

चुनावको क्रममा भेलुबाजेलाई प्रयोग गर्दै एमाले उम्मेदवार सूर्य थापा

टिकटकमार्फत युट्यूबका बाहिरिएका अन्तर्वार्ता सुन्दा भेलु बाजेलाई केवल मजाक र हाँस्यको विषय बनाएर उडाइएको पाइन्थ्यो । हुन त उनी न ज्ञानगुणका कुरा बाँड्थे, न प्रवचन दिन्थे ।

न समसामयिक घटनाक्रमका विषयमा आफ्ना धारणा राख्न सक्थे । केबल जथाभाबी बोल्थे । फोहोरी र गालीगलौजपूर्ण कुराहरू सुन्न लायक पटक्कै हुँदैनथ्यो । तर, उनको लवज र शैलीले धेरैले मनोरञ्जनको लागि मात्रै सुन्थे

मान्छेका दु:ख – युट्यूब र टिकटक हेर्ने, पत्रकारलाई गाली गर्ने

उनमा रक्सीको लत बढ्ता भइसकेको थियो । सम्भवतः यसले उनको शारीरिक, मानसिक स्वास्थ्यमा क्षति गरेको थियो । यसैले के बोल्दैछु केही भेउ पाउँदैनथे । सभ्य, असभ्य हुने नहुने बोल्थे । जे बोले पनि उनको प्रस्तुतिलाई मानिसहरूले रुचाइरहेकै थिए । यसैले धेरैले उनलाई सुनिरहे, हेरिरहे । हेरुन्जेलसम्म उनी सबैतिरबाट खोजीको पात्र बन्दै गए ।

यसरी उनी झन्डै तीन वर्ष अरूको लागी प्रयोग भए । घरमा उनकी श्रीमती विष्णु बुढा र उनी मात्र थिए । गत भदौ २५ गते भेलुबाजेकी पत्नी बितिन् । त्यसपछि उनी एक्लै परे।

भाइरल भएपछि भेलुबाजेको स्वरका गीत रेकर्ड गराइँदै

000

झन्डै तीन वर्ष सामाजिक सञ्जालमा भाइरल भएका उनी समयसँगै विस्तारै छायाँमा पर्दै गए । सामाजिक सञ्जालमा अरू पनि धेरै भाइरल भए । भेलु बाजे विस्तारै दर्शको खोजाइबाट हट्दै गए । उनको अन्तर्वार्तामा भ्यूज कम हुँदै गयो ।

युट्यूबरको नजरमा अरू भाइरल म्यानहरू पर्न थाले, भेलुबाजे ओझेलमा परे । फलस्वरूप भेलुबाजे आफ्नो पुरानै जीवनमा फर्किए । ऊनी मानसिकरूपमा कति विक्षिप्त बने त्यो पीडा उनैलाई बाहेक अरुलाई के थाहा !

पहिला खोज्दैखोज्दै गाउँसम्म जाने युट्यूबर, टेलिफिल्म निर्माता अहिले अरू भाइरललाई खोज्न थाले । उता श्रीमती बितेपछि भेलुबाजे एक्लिए । खाने बस्ने टुङ्गो नहुँदा बिरामी परे । विस्तारै थलिँदै गए । तर, उपचार गराउने पैसा भएन ।


विभिन्न टेलिशृङ्खलाहरूमा खेलाइँदै भेलु बाजेलाई ।

आर्थिक अवस्था कमजोर भएका उनलाई अभाव र पीडाको खात लाग्यो । उपचार खर्चको लागि थोर बहुत सहयोग माग्न केही युट्यूबरलाई फोन गरे । तर, अर्कै भाइरल कन्टेन्ट पाइसकेका युट्यूबहरूले भेलु बाजेको फोनसमेत उठाएनन् ।

उनैले युट्यूबमा बोलिदिएर, टेलिसिरियल खेलिदिएर लाखौं कमाएकाहरूले वास्ता गरेनन् । दिनप्रतिदिन उनको स्वास्थ्य अवस्था बिग्रँदै गयो । हातखुट्टा सुन्नियो । बोल्नसमेत राम्रोसँग सक्दैनन् । तैपनि उपचार खर्च नपाएर भेलु गाउँमै थलिएर बसिरहे ।

000

अन्ततः एक युट्यूबरको सहायतामा शनिवार मात्रै उनी काठमाडौंसम्म आइपुगेका छन् । भोजराज थापा नामका युट्यूबरले उनलाई गाउँदेखि काठमाडौं ल्याए ।

अहिले भेलुबाजेको उपचार ग्रीनसीटी अस्पतालमा सुरू भएको छ । उनको उपचारको लागि अहिले विभिन्न ठाउँबाट सहयोग सङ्लनसमेत हुँदैछ । तर, यसअघि जो धाएर उनको अन्तर्वार्ता लिन घरसम्म जान्थे, उनीहरू सहयोग गर्न आएका छैनन् ।

उनी चर्चित रहेको बेलामा उनलाई धेरैले प्रयोग गरे । भ्यूज कमाए । पैसा कमाए । तर, अहँ अहिले उनी उनको उपचारको लागि सहयोग याचना भइरहेको बेलामा उनलाई सहयोग गर्न कोही छैन ।

अझ विडम्बना उनलाई जसले उपचार गर्छु भनेर अस्पतालमा भर्ना गरिदिएको छ, उनीहरूले पनि अस्पतालको बेडमै बुम तेर्साइरहेका छन् । यसको अर्थ उनीहरूले मृत्युसँग जुधिरहेका बिरामी भेलुबाजेमा पनि हरिया डलर देखिरहेका छन् ।

अस्पतालको शैयामा रहेका भेलुबाजे भन्छन्, “बाँचे भने फेरि फर्केर गाउँमै गएर बस्छु । २ दिनको भाइरलको रमझमले केही भएन । पर्दाखेरी कोही आफ्नो हुँदो रहेनछ ।”

रोगले थलिएपछि अहिले अस्पतालको शैयामा भेलुबाजे

दुर्गम गाउँमा आफ्नै जीवन बाँचिरहेका भेलुबाजेलाई धेरैले आफ्नो निजी स्वार्थको लागि प्रयोग गरेको समाजशास्त्रीहरू बताउँछन् ।

उनीहरू भन्छन्, “योबीचमा युट्यूबरदेखि टेलिफिल्म निर्मातासम्मले भेलुबाजेलाई कतिसम्म दुरुपयोग गरे भन्ने लेखाजोखा छैन । गाउँका एक सझोमान्छेलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले कसरी जीवन बर्बाद गरिदिन्छन् भन्ने कुरा यही देखिन्छ । भाइरल कन्टेन्ट खोजिहिँड्ने युट्यूबरहरूले अर्कै कन्टेन्ट पाए र भेलुबाजेलाई बिर्सिए ।’’

कलाभन्दा चर्तिकलाको व्यापार: महोत्सवमा पनि भेल्लुबाजेहरूको जगजगी, राष्ट्रिय कलाकार ट्वाँ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved