मान्छेका दु:ख – युट्युब र टिकटक हेर्ने, पत्रकारलाई गाली गर्ने
हामीमध्ये धेरैलाई ‘पत्रकारले के गरेका छन्, फोटोग्राफरले के गरेका छन्’ भन्ने कहिल्यै खोजेनौँ, बुझेनौँ। यी कुरा बुझ्नभन्दा चटपटे मसलामा मात्रै हाम्राे रुचि तानिएको छ। ती विषयभन्दा युट्युब र टिकटकमा भेलु बाजेको ‘हेट्टेरीका माटोक्ने’ र त्यसैमा मिश्रित छाडा वाक्य सुन्ने हेर्ने आदत परेको छ। भाइरलम्यानका हावादारी गफमा मज्जा लिन्छौँ।
‘‘एउटा पत्रकार अमेरिकाबाट नेपाल आउँछ। दुर्लभ हिउँ चितुवाको फोटो खिचेर संसारलाई देखाउँछ। नेपालका पत्रकारचैँ कसको बुढी पोइला गई, भेलुबाजेले के खायो ? भन्ने गहन खोजमै सीमित छन्।’
केही दिनयता फेसबुकका टाइमलाइनमा यो पोस्ट डढेलोसरी फैलियो। हिमचितुवाको चारवटा फोटो राख्दै यी क्याप्सन लेखिएका देखिन्छन्।
नेपालस्थित अमेरिकी दूतावासले पोस्ट गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले थाहा पाएका रहेछन्, विदेशीले नेपालमा आएर फोटो खिचेछन् भन्ने। दूतावासको पोस्टमा फोटो खिच्दाको कथासहित आफ्नो नागरिकले खिचेको फोटो भनेर लेखिएको थियो । त्यही पोस्टबाट फोटो लिएर नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ता खनिन थाले आफ्ना देशका पत्रकार फोटोग्राफरप्रति। र लेख्न थाले ‘‘एउटा पत्रकार अमेरिकाबाट नेपाल आउँछ . . . नेपालका पत्रकार चैँ . . . ’’
नेपाली पत्रकारितालाई हदैसम्म उडाइएको यो पोस्टलाई अधिकांशले फेसबुक, ट्विटर, टिकटकलगायतका सञ्जालमा सेयर गरे। कपी पेस्ट गर्दै थपघट गर्दै यही आशयले लेखिरहे। नेपालका पत्रकारको लास्टै बिल्ला उडाइयो। सामाजिक सञ्जाल स्क्रोल गर्दा धेरै पटक यही कन्टेन्ट आइरहेपछि धेरैले नेपालका पत्रकार, फोटोग्राफरप्रति त्यही हिसाबले धारणा बनाए। सञ्जालमा उटपट्याङ पोस्टलाई देखेर कतिपयलाई लाग्यो होला – ‘‘नेपालका पत्रकार तथा फोटो पत्रकारहरू पात नै रहेछन्, केही गर्ने हुती रैनछ।’’
हुन पनि हो, अहिले सामाजिक सञ्जाल हेर्दा ‘भेलुबाजे’ले के खाए ? ‘चाउमिन वाला’ के गर्दैछन्? ‘कस्की बुढी कोसँग पोइला गई ?’ यस्तै विषयमा भिडिओहरू धेरै भेटिन्छन्।
नेपाली पत्रकार तथा फोटोग्राफरलाई गाली गर्दै उछितो काट्नेहरू ती हुन् सायद जसले सामाजिक सञ्जालबाहेक अरू हेर्दैनन्। पत्रपत्रिका, म्यागेजिन तथा अनलाइन न्युज पोर्टलहरू पढ्दैनन्। फेसबुक, टिकटकलगायतका सोसलमिडिया स्क्रोल गर्दा भेटिने रमाइला रमाइला भिडिओहरूमा मात्रै बढी रुचि राख्छन्। बरा ! उनीहरूलाई के थाहा, पत्रकारिताका कन्टेन्ट कुन, युट्युबकारिताका कन्टेन्ट कुन ?
सोसल मिडियाको विशेषता भनेको प्रयोगकर्ताले जुन खालको सामग्री तथा भिडिओ बढी हेरेका हुन्छन्। त्यस्तै, खालका सामग्री भिडिओहरू उसको टाइमलाइनमा पठाउने गर्छ।
सामाजिक सञ्जालका ती पोस्टले अपमानित बने जो उत्कृष्ट काम गरिरहेका पत्रकार थिए। जसमा समाचार सामग्रीले भ्रष्टाचार अनियमितता, बेथिति उदाङ्गो पार्दै आएको छ। जसले जोखिम मोलेर कर्पोरेट हाउसहरूको बदमासी छरपस्ट गर्दै आएका छन्। जसले सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक चलनप्रति मानिसको ध्यानाकर्षण गराउँदै खबरदारी गर्दै आएका छन्।
हुन त, पोस्टकर्ताका पनि के गल्ती थियो र। जबकि, पत्रकार भनेको को हुन् र के गर्छन् ? भन्ने उनीहरूलाई थाहै थिएन। पत्रकारले के कति काम गरिरहेका छन् त्यसको प्रभाव कति परेको छ कसरी थाहा होस्। जसले फेसबुक र टिकटक मात्रै हेरेर दिनरात बिताउँछन्।
त्यो पोस्ट कपिपेस्ट गर्ने, सेयर गर्नेले नेपाली वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पालाई त अझ चिन्ने कुरै भएन। उनले मनाङमा ४ हजार ६०० मिटर उचाइमा १६ दिनको यात्रा गरेर पहिले नै हिमचितुवाको फोटो खिचेका थिए। नेपालकै जङ्गली याकको फोटो पनि खिचेर विश्वभर चर्चा बटुल्ने पनि उनै थिए।
जंगल र खुला प्रकृतिमा रहने जीवजन्तुको जीवनका विविध पक्षलाई फोटोमा उतार्दै नेपाली र विश्वका विभिन्न मिडियामा छाएका नाम हुन् चुङ्बासहित विशाल गौतम, ओम यादव, सागर गिरी, दशरथ श्रेष्ठ बिजुक्छे, उत्सवजंग थापा, सुदीप केसी, अगस्टसिंह लामा, पुरुषोत्तम पोखरेल।
यी नाम चलेका वाइल्डलाइफ फोटोग्राफरको फोटो सञ्जाल प्रयोगकर्ताले सायद देखे होलान्। तर, नाम याद नगरेको हुनुपर्छ। नेपालीले खिचेको फोटो हेर्न अन्त कतै जानुपर्दैन। हामीले खल्ती भित्रै बोकेर हिँडिरहेका छौँ। नपत्याए हामीले आफ्नो गोजी वा पर्सभित्रको पैसा (रुपैयाँ) निकालेर हेरौँ। त्यहाँ विभिन्न वन्यजन्तुका तस्वीर छन्।
ती अधिकांश वन्यजन्तुका फोटो नेपाली फेटोग्राफरलेनै खिचेका हुन्। वा हाम्रै भित्तामा झुड्याइको क्यालेन्डरमा पनि फोटो देख्न सक्नुहुन्छ। अझ पत्रिका, म्यागेजिन र अनलाइन पोर्टलहरूमा त दैनिक आइरहन्छन्।
पत्रकारको खोजमूलक सामग्री प्रकाशन प्रशारणपछि के कस्ता प्रभाव परेको छ। फोटो पत्रकार वा फोटोग्राफरले क्यामरामा कैद गरेको फोटोले कहाँसम्म भएको छ भन्ने धेरैलाई चासो छैन। नेपाली फोटोग्राफरले खिचेको फेटो विश्वभर देखाइएकै कारण लाखौँ पर्यटक स्वदेश आएका छन्। मुलुकको अर्थतन्त्रले ठूलो योगदान पाएको छ। सामाजिक आर्थिक सांस्कृतिक क्षेत्रका अरू थुप्रै फोटोले चर्चा मात्र बटुलेन थुप्रै योगदानसमेत पुर्याए।
तर, हामीमध्ये धेरैलाई ‘पत्रकारले के गरेका छन्, फोटोग्राफरले के गरेका छन्’ भन्ने कहिल्यै खोजेनौँ, बुझेनौँ। यी कुरा बुझ्नभन्दा चटपटे मसलामा मात्रै हाम्राे रुचि तानिएको छ। ती विषयभन्दा युट्युब र टिकटकमा भेलु बाजेको ‘हेट्टेरीका माटोक्ने’ र त्यसैमा मिश्रित छाडा वाक्य सुन्ने हेर्ने आदत परेको छ। भाइरलम्यानका हावादारी गफमा मज्जा लिन्छौँ।
सञ्चार माध्यममा समाचार तथा जानकारीमूलक कार्यक्रम हेर्न खासै चासो नराख्ने हामी अर्थ, राजनीति, समाजका धेरै विषयमा अनभिज्ञ नै छौँ। प्रखर राजनीतिक विश्लेषक, इतिहासविद्, सबै थोक उनै उनै ‘भेल्लुबाजे’, ‘चाउमिनवाला’, ‘अघोरी बाबा’लाई ठान्छौँ। अझ युट्युब र टिकटकमा अरूको बुढाबुढीको झगडा लाइभ हेर्न पाए मज्जा आउँछ।
को पत्रकार ? को युटयुबर ?
युट्युब हेर्नेहरू धेरैलाई थाहा होला, भारतीय युवा ध्रुव राठीको को हुन् भनेर। लामो समययता युट्युबमा वातावरण, अर्थशास्त्र, समाज, इतिहास र समकालीन राजनीति जस्ता विभिन्न खालका भिडिओहरू अपलोड गर्दै आएका उनी चर्चित युट्युबर हुन्। मूलधारका समाचार माध्यमका सामग्री फ्याक्टचेक समेत गर्दै आएका उनको अलि पुरानो एउटा अन्तरवार्ता भारतीय टेलिभिजन च्यानल एनडीटीभीमा हेर्न पाइन्छ।
भारतकै वरिष्ठ पत्रकार एवम् म्यागसेसे पुरस्कार विजेता रवीश कुमारले ९ नोभेम्बर २०१८ मा युट्युबमा सराहनीय काम गर्दै आएका ध्रुवसँग अन्तरवार्ता लिएका थिए। अन्तर्वार्तामा रवीश कुमारले सोधेका छन्, ‘‘तपाईं आफूलाई पत्रकार, मिडिया–पर्सन वा केका रूपमा चिनाउनुहुन्छ ?’’
ध्रुव राठीको जवाफ दिए ‘‘‘म आफूलाई युट्युबरको रूपमा चिनाउँछु। अनि एक आर्टिस्ट मान्छु आफूलाई। किनभने म भिडिओ बनाउँछु। मेरा भिडियो त्यो क्षेत्रका बारेमा हुन्छन् जुन पत्रकारिता वा एक्टिभिजमसँग सम्बन्धित छन्। तर, यत्तिको भरमा म आफूलाई पत्रकार भन्न सक्दिनँ, मेरो योग्यता नै छैन ।’’
भारत मात्र नभई विश्वका धेरै देशमा हेरिने ध्रुवले आफूलाई पत्रकार भन्दैनन्। उनी आफू कन्टेन्ट क्रियटर (आर्टिस्ट) भन्छन्। अर्को कुरा उनी दर्शक स्रोतालाई नढाँटी सगर्व आफूलाई ‘युट्युबर’ भनेर चिनाउँछन्। ‘ध्रुव राठी’ नामको उनको च्यानलको सब्क्राइबर झन्डै एक करोड नजिक छन्। विश्वभरबाट हेरिने उनले आफूलाई पेसाप्रति कति इमानदार छन् भन्ने देखाउँदै युट्युबर भन्छन्।
नेपालमा भने अधिकांश युट्युबर आफूलाई पत्रकार भने चिनाउँछन्। एउटा क्यामेरा लिएर भिडिओ खिचेको भरमा आफूलाई पत्रकार वा मिडियाकर्मी भनिरहेका छन्। सार्वजनिक यातायातदेखि बजार र कार्यक्रममा पनि प्रेस लेखेको ज्याकेट भिरेका मानिस छ्यालब्याल देखिन्छन्। उनीहरू सबैले पत्रकार दाबी गर्दै आएका छन्।
वेबसाइट तथा इन्टरनेटका सामग्री विश्लेषण गर्ने साइट ‘ट्युबिक्स’का अनुसार युट्युबमा अहिलेसम्म जम्मा ५१ मिलियनभन्दा बढी वटा (५ करोड १० लाख) च्यानल रहेछन् । के ती सबै च्यानलका सञ्चालक र काम गर्नेहरू पत्रकार नै होलान् त?
कतिपय युट्युबरले त के विषयलाई प्रशारण गर्ने वा गर्न नहुने हो भन्ने हेक्कासमेत राख्दैनन्। समाजलाई भड्काएको, विषयवस्तुलाई अतिरञ्जित गरेको भन्नेबारेमा टिप्पणी भइरहेको सुनिन्छ। सामान्य घटनालाई अतिरञ्जना गर्दै ठूलो बनाएको, न्यायालयमा विचाराधीन मुद्दामा न्यायाधीश बनेको जस्ता आरोप युट्युबरले खेपिरहेका छन्। बुम लिएर सडकमा प्रश्न गर्दै हिँड्ने जो कोहीलाई पाठक श्रोता र दर्शकले पत्रकार हो भन्ने बुझिहाल्छन्।
अनि ती बुम बोकेर हिँड्ने कोही कसैले गरेको गल्तीको प्रभाव सिङ्गो पत्रकारिता जगतमाथि पर्ने गरेको छ। सायद यसकै प्रभावले होला उनै युट्युबरलाई नै पत्रकारदेखिफोटोग्राफर र वाइल्डलाइफ फोटोग्राफर’ मान्ने समाज देखियो।
त्यही समाजले युट्युबरको गल्तीमा पत्रकारलाई गाली बर्षाइरहन्छन्। सञ्जालमा पछिल्लोपटक पत्रकार र फोटोग्राफरमाथि बर्सिएको गाली र अपमान पनि त्यसैको उपज देखिन्छ। जसले पत्रकार फोटोग्राफर र युट्युबरबीचको भिन्नता छुट्टाउन नसक्दा सञ्जालमा अन्टसन्ट लेखेर गाली गरिरहे।
के सबै युट्युबर एकै हुन् ?
यहाँ सबै युट्युबलाई खराब भन्न खोजिएको होइन। मूलधारका सञ्चार माध्यमले उठाउन नसकेको नदेखेको विषय उठाएर समाजको ऐना बन्न सक्छन्। कतिपय युट्युबर र कन्टेन्ट क्रियटरले समाजमा राम्रा काम गरेका उदाहरण पनि छन्।
केहीले सरकार तथा सार्वजनिक निकायबाट भएका लापरबाही, कमजोरी औँल्याउँदै भण्डाफोर गरेका छन्। कतिपयले समाजमा भएका विकृति र विभेदविरुद्ध आवाज उठाउँदै आएका छन्।
गरिब र बेसहाराहरूका आवाज युट्युबमा देखाएर युट्युबहरू वरदान बनेका छन्। उनीहरूले पाएको दुःखी पीडित जीवनहरूको भिडिओ देखेर धेरैले सहयोग गरेपछि पुनर्जीवन पाएका छन्।
नयाँ प्रतिभाहरूले आफ्नो प्रतिभा बाहिर ल्याउने अवसर पाउँदा कला क्षेत्रमा अवसर पाएर अघि बढिरहेका छन्।
One thought on “मान्छेका दु:ख – युट्युब र टिकटक हेर्ने, पत्रकारलाई गाली गर्ने”
यो चाहिँ सत्यको नजिक विश्लेषण हो । अनलाइन र वेबपेजले यस्ता थप विश्लेषण माग गरिरहेको छ । श्यामसुन्दरजीलाई धन्यवाद । मेरो प्रकाशोन्मुख पुस्तकमा यो कुरा पनि समावेश छ । तर, त्यसले मात्र पुग्दैन । तपाईहरु अझ लाग्नुपर्छ ।
यो चाहिँ सत्यको नजिक विश्लेषण हो । अनलाइन र वेबपेजले यस्ता थप विश्लेषण माग गरिरहेको छ । श्यामसुन्दरजीलाई धन्यवाद । मेरो प्रकाशोन्मुख पुस्तकमा यो कुरा पनि समावेश छ । तर, त्यसले मात्र पुग्दैन । तपाईहरु अझ लाग्नुपर्छ ।