पल शाह प्रकरणमा युट्युबरले फैलाए भ्रम

पललाई हिरासतमा राखिएको प्रहरी कार्यालय अगाडि युट्युबरको मेला नै लागेको छ। समर्थकहरूको भीड थामिनसक्नुको छ । ती युटुबरहरुले घन्टैपिच्छे ‘नयाँ खुलासा’ भन्दै भ्रामक भिडियोहरू पोस्ट गरिरहेका छन्।

पल शाह प्रकरणमा युट्युबरले फैलाए भ्रम

काठमाडौं। “पाँच दिनपछि बल्ल छुटे पल, दुई करोडमा कुरा मिल्यो, समीक्षाले बयान फेर्दा पल भए निर्दोष”– यस्तो थमनेलको भिडिओ युट्युबमा भेटिन्छ।

यस्तो शीर्षक युट्युबमा पढ्दा धेरैलाई लाग्नसक्छ, “अहो, कति छिटो अनुसन्धान भएको ! पल छुटिसकेछन् ।”

उक्त थमनेलबाटै अनुमान लगाएर धेरैले भिडिओ हेरेका पनि छन्। जसका कारण ‘भ्यूज’ लाखौँ पुगेको छ।

‘अर्घाखाँची मिडिया’ नामक युट्युब च्यानलमा रहेको यो भिडिओमा यस्तो थमनेल राखिनुको उद्देश्य नै धेरैभन्दा धेरैलाई हेराउनु हो।

जबरजस्ती करणी आरोपमा प्रहरी हिरासतमा छन्, अभिनेता पल शाह। उनी १४ फागुनदेखि तनहुँ सदरमुकाम, दमौलीस्थित प्रहरीचौकीमा छन्। अनुसन्धान जारी छ। तर, भिडिओ शेयरिङ सञ्जाल– युट्युब हेर्ने हो भने उनका बारेमा फैसला भइसकेको भान हुन्छ।

पललाई हिरासतमा राखिएको प्रहरी कार्यालयअगाडि युट्युबरको मेला नै लागेको छ। समर्थकहरूको भीड उस्तै छ । ती युटुबरहरुले घण्टैपिच्छे ‘नयाँ खुलासा’ भन्दै भिडिओ पोस्ट गरिरहेका छन्।

तथ्यलाई तोडमरोड गरेर भ्यूज बढाउने सस्तो होड चलेको एउटा उदारहण बनेको छ, पल साह प्रकारण। ‘युट्यूवकारिता’ ले जनताको सूचना पाउने हक सुनिश्चित गर्न सकेको छैन। बरु थप भ्रमित बनाउदै गएको देखिन्छ।

युट्युबको भिडिओमा जति धेरै ‘भ्यूअर्स’ आउँछन्, त्यति धेरै डलर आम्दानी हुन्छ। त्यसैले धेरैभन्दा धेरैलाई भिडिओ हेराएर डलर कमाउन त्यस्तो थमनेल राखिएको हो अहिले पल प्रकरणमा धेरै भिडिओ युट्युबको ट्रेन्डिङमा छन्। शुक्रबार अपरान्हसम्म एक दर्जनभन्दा बढी भिडिओ ट्रेन्डिङमा देखिएको छ।

ट्रेन्डिङमा तीन, चार, पाँच, १३, १८, १९, २१, २३, ३५, ४५, ४९, ४८ नम्बरमा यही विषयमा नयाँ–नयाँ खुलासा गरिएको भिडिओ देख्न सकिन्छ। यीमध्ये अधिकांश भिडिओको कन्टेन्ट, शीर्षक र थमनेल मेल खाँदैनन्। अर्थात्, शीर्षक र थमनेलले दर्शकलाई गुमराहमा राखिरहेका छन्।

‘युट्युबमा ट्रेन्डिङ’मा परेर बाहिरिइसकेका वा ‘ट्रेन्डिङ’मा नपरेका भिडिओमा समेत त्यस्तै भ्रमपूर्ण सामग्री देख्न सकिन्छ। यसरी सबैभन्दा बढी भ्रम फैलाउने युट्युब च्यानलमा ‘अनलाइन नेपाल एचडी’ अगाडि देखिन्छ। सोही युट्युब च्यानलमा शुक्रबार अपलोड गरिएको भिडिओमा भनिएको छ, ‘हे भगवान् । समीक्षाले के गरिन् यस्तो? अदालतको अन्तिम फैसला तीन जना जेल।’

सोही च्यानलमै बिहीबार राखिएको अर्को भिडिओले पनि दर्शकलाई झुक्यानमा पार्छ। ‘पल शाहलाई भेट्न चौकी पुगिन् समीक्षा, एक्कासी पूजाले यस्तोभन्दा रोइन समीक्षा, रवि लामिछानेले भेटेर यस्तो भने’ शीर्षक छ। तर समीक्षा र सञ्चारकर्मी रवि लामिछाने आजसम्म पललाई भेट्न गएका छैनन्।

जहाँ राखिएको अरू भिडिओमा ‘धरौटीमा दुई जना जेल, एक्कासी समीक्षाले यस्तो गर्ने गरिन् निर्णय’, रवि लामिछाने पुगेपछि पूरै पर्दाफास, भोलि पल छुट्दै’ लगायतका थमनेलसहित भिडिओ छ।

युट्युब च्यानल– ‘नेपाल खबर’ मा बिहीबार राखिएको एक सामग्रीले दर्शकलाई दिग्भ्रमित बनाउँछन्। ‘पलबारे आयो खुशीको खबर, पल शाह भोलि रिहाइ हुने, समीक्षाको कालो कर्तुत सार्वजनिक’ शीर्षकमा राखिएको भिडिओ र थमनेलको मेल खाँदैनन्।

न त पल शुक्रबार नै रिहाइ भए, न समीक्षाको कुनै कर्तुत नै सार्वजनिक भयो। युट्युबरले गरेको भ्रामक समाचारले धेरै दर्शक झुक्किए र सो भिडिओ हेरे ।

सोही च्यानलमा अर्को भिडिओ पनि उस्तै छ। धेरै दर्शकहरू झुक्किएको भिडिओको थमनेलमा भनिएको छ, “अदालतले दियो यस्तो आदेश– दुर्गेश र समीक्षाको कालो कर्तुत सार्वजनिक, पललाई मार्नेसम्मको प्लान भएको खुलासा, अन्ततः पल शाह हुने भयो रिहाइ।”

‘रातोपर्दा टिभी’ युट्युब च्यानलमा ‘हिरासतभित्र पललाई बिहेको दबाब’ थमनेलमा भिडिओ छ तर सो थमनेलको भिडिओमा ती विषयसमेत समावेश छैन।

हिरासतबाट पललाई छुटाउनु त सामान्य हो तर ‘अनलाइन नेपालन्यूज’ले पीडितको हत्या नै गरिदिएको छ। पीडित किशोरीले आत्महत्या गरेको संकेत गर्दै डोरीसहितको थमनेलमा ‘मध्यरातमा समीक्षाले यो के गरिन् यस्तो? एकाबिहानै दुखद् खबर, फेरि १० प्रमाण पेश’ लेखिएको थमनेलले धेरैलाई चकित पारेको छ।

उक्त थमनेलकै कारण धेरैले सो भिडिओ खोलेर हेरेका छन्।
‘इन्फो खबर नेपाल’ च्यानलमा फेरि उस्तै अफबाह देख्न सकिन्छ। जहाँ अपलोड भएको पछिल्लो भिडिओमा भनिएको छ, “एकाबिहानै समीक्षा रुँदै लाइभमा, केश फिर्ता लिने, पल रिहाइ हुने– दुर्गेश थापा।”

यो प्रकरणमा अभिनेता पललाई फसाउने योजनाकार भनेर आरोपित गायक दुर्गेश थापाका सन्दर्भमासमेत धेरै प्रचार गरिएको भेटिन्छ। युट्युबरले दुर्गेशबारे ज्योतिषीसँग समेत कुराकानी गरेका छन्।

‘मज्जाको टिभी’ च्यानलमा गायक दुर्गेशको भविष्यवाणी गरिएको छ। “दुर्गेश थापालाई चैत ९ सम्म खतरा” रहेको भन्दै युट्युबमा भिडिओ अपलोड भएको छ।

सबै युट्युब च्यानलले भ्रम छरेका छैनन्। कतिपय च्यानलहरूले भेरिफाइड र तथ्यसहितका सामाग्री अपलोड गरेर प्रशंसा कमाएका छन्। तर, पल प्रकरणमा भ्रम छर्ने च्यानलहरूका केही भिडिओ हेर्दैमा व्यावसायिक र मर्यादित लाग्दैनन्।

अनुसन्धानलाई असर

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार युट्युबरबाट यस्ता कार्यले आममानिस भ्रममा मात्र पर्दैनन्, यसले अनुसन्धानलाईसमेत असर पर्छ।

भ्रामक सूचनाले सर्वसाधारणको धारणामा असर गर्ने र समाजमा राम्रो सन्देश पनि नजाने उनी बताउँछन्। मल्लले भने, ‘‘निष्पक्ष ढङ्गले अनुसन्धान हुन दिनुपर्छ। यस्ता विषयले आरोपित र पीडितको पक्षमा आम जनताले बनाउने धारणामा असर पार्छ। सूचना तोडमरोड हुँदा अनुसन्धानलाई नै प्रभाव पार्छ।’’

यूट्युबरका यी गम्भीर अपराध रहेको मल्लको तर्क छ। उनले भने, ‘‘प्रहरीले नै अनुसन्धान सकेको छैन, प्रमाणहरू जुटाइरहेको छ। एउटा क्यामेरा बोकेर ‘फुटेज’ अपलोड गर्दैमा यूट्युबरले भ्रम फैलाउन पाउँछ र ? यो झन् डरलाग्दो अपराध हो।’’

चुनौती मूलधारका मिडियामाथि

जुन ‘प्लेटफर्म’ बाट मिथ्या सूचना फैलिरहेको छ, त्यही माध्यममार्फत सही सूचना र तथ्यपरक सामग्री प्रस्तुत नगरेसम्म यस्ता कन्टेन्टले भ्रम फैलाइरहने ‘साउथ एसिया चेक’ का सम्पादक दीपक अधिकारी बताउँछन्। सोसल मिडियामा आएका सूचना तथा सामग्री तथा मिडियामा आएका समाचारको तथ्य जाँच गर्दैआएको ‘साउथ एसिया चेक’ का सम्पादक अधिकारीले भने, ‘‘यस विषयमा मिडियाले युटुबरले यस्तो गरिरहेका छन् भन्ने होइन। पल शाह प्रकरणमा घटना भएदेखि अहिलेसम्म यस्ता–यस्ता घटना भए। यस्तो प्रक्रिया भए भन्दै समाचार बनाउनुपर्छ। घटनाको सत्यतथ्य सामग्री दिनुपर्छ।’’

आममानिसले चासो दिएको विषयलाई मूलधारका मिडियाले रिर्पोटिङ गरेर भ्रामक कुरालाई काट्नुपर्ने अधिकारी बताउँछन्। उनले भने, ‘‘जुन विषयमा भ्रम फैलिएको छ, त्यो विषयमा सही सूचना दिनुपर्छ। त्यसका लागि टीभी, पत्रिका, अनलाइन न्यूजपोर्टलभन्दा जहाँ जुन प्लेटफर्ममार्फत भ्रम फैलिएको छ, त्यही प्लेटफर्ममा पोस्ट गर्नुपर्छ किनकि त्यहाँकै ‘युजर’हरू बढी भ्रममा रहेका हुन्छन्। अर्को माध्यमबाट ‘ट्याकल’ गर्दा सबैमाझ पुग्न नसक्ला।’’

यो दीर्घकालीन समस्या भएकाले मिडियाको मात्र चासोको विषय नभएको सरकार पनि अग्रसर हुनुपर्ने उनको तर्क छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved