अग्रपङ्तीमा छन् कथित अभियन्ता पुण्य गौतम, जयकिशन बस्नेत, शर्मिला वाइबालगायतका समूह पनि। उनीहरूलाई आफ्नो अनुहारलाई जसरी पनि सामाजिक सञ्जालमा देखाउनु छ भने युट्युबरलाई ‘डलर’ कमाउनु। युट्युबहरूले घण्टैपिच्छे ‘नयाँ खुलासा’ पोस्ट गरिरहेका छन्। सायद तपाई पनि झुक्किनु भयो कि?
काठमाडौं। सामाजिक सञ्जाल चलाउनुहुन्छ भने तपाईँलाई भन्नै नपर्ला कि दुई साता यताको ‘ट्रेन्डिङमा के छ ?’ भनेर। दुई साताअघि २१ भदौमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी कसुरमा जाहेरी परेपछि सञ्जालका भित्ता यही विषयले भरिएका छन्।
युट्युबरहरूले घण्टैपिच्छे ‘नयाँ खुलासा’ भन्दै पोस्ट गरेको भिडिओ सञ्जालमा देख्नुभएकै होला। ‘सन्दीप लामिछाने पक्राउ’, ‘सन्दीपलाई फसाउने नाबालिकालाई जेल सजाय’ यस्ता थमनेल र क्याप्सनसहित युट्युबमा भेटिने भिडिओबाट धेरै झुक्किइरहेका छन्। सायद तपाई पनि झुक्किनु भएको थियो कि ? सायद शीर्षक र थमनेलबाट कतिपयले यस प्रकरणमा गलत धारणा बनाइरहेका होलान्।
नेपाली राष्ट्रिय क्रिकेट टीमका क्याप्टेन सन्दीपविरुद्ध एक नाबालिगले जाहेरी दिएको घटनामा सबैको चासो छ। केही समय अगाडि ठ्याक्कै यस्तै मुद्दामा अभिनेता पल शाहबारे बुझाई र फैसला सुनाएजस्तै यस प्रकरणमा पनि उसै गरी सुनाउन व्यस्त छन्, सञ्जाल प्रयोगकर्ता।
‘सन्दीप लामिछाने पक्राउ’, ‘सन्दीपलाई फसाउने नाबालिकालाई जेल सजाय’ यस्ता थमनेल र क्याप्सनसहित युट्युबमा भेटिने भिडिओबाट धेरै झुक्किइरहेका छन्। सायद तपाई पनि झुक्किनु भएको थियो कि?
चिया पसल होस् वा जमघट हुने कुनै वातावरणमा यो विषयले स्थान पाइरहेको देखिन्छ। जब सन्दीपविरुद्ध जाहेरी पर्यो, त्यसपछि षड्यन्त्र भएको भन्दै समर्थकलाई युट्युबमा अन्तरवार्ता दिन भ्याइन भ्याइ छ। कतिपयले सन्दीप दोषी भन्दै ‘झुन्डाएर मार्नुपर्ने’ सम्मका अभिव्यक्ति दिइरहेका छन्। यसरी युट्युबलगायत सामाजिक सञ्जालमा यस्ता विषयमा बहस छेडिनुको कारण हो, भ्यूज र त्यसले जेनरेट गर्ने डलर।
आउँदो मंसिरमा हुने चुनावी चर्चालाई समेत यो प्रकरणले छायाँमा पारेको छ। सन्दीप विदेशमै छन्। अनुसन्धान पुरा हुन पाएको छैन। यद्यपि नेपालमा फेसबुक र टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा ‘न्यायाधीश’ बन्नेको कमी छैन। जसले पलपलमा अनेक फैसला सुनाइरहेका छन्।
भ्यूज र आम्दानीको लोभमा युट्युबरले फैलाइरहेका छन् छिनछिनमा भ्रम। त्यसको सिकारमा परेका छन्, पुरा भिडिओ हेर्न समय नहुनेहरू र अरू विश्वसनीय समाचार माध्यमको बारेमा थाहा नहुने वर्ग। समाचार तथा सूचना भेरिफाइ गर्न नभ्याउने कतिपयहरू यस्ता गलत सूचनालाई साँच्चिकै भन्दै पत्याइरहेका पनि होलान्।
अनुहार जसरी पनि देखाउनुपर्ने र ‘डलर’ जसरी पनि कमाउनुपर्नेको स्वार्थ
युट्युब र फेसबुक तथा टिकटक स्क्रोल गर्ने हो भने सन्दीप प्रकरणका भिडिओ लगातार आइरहन्छन्। यस्ता भिडियोहरू ट्रेन्डिङमा समेत छन्। घटनाबारे टिप्पणी गर्ने, आरोपित वा आरोपीप्रति भद्दा प्रतिक्रिया जनाउनेको कमी देखिँदैन।
‘नेपाली मिडिया’ नामको युट्युबले त फैसला नै सुनाइसकेको छ। यसले ‘सन्दीप लामिछानेबारे अदालतमा यस्तो फैसला’ भन्दै बिहीबार एमाले प्रवेश गरेका पूर्वआइजीपी सर्वेन्द्र खनालको फोटो राखेको छ। कतिसम्म भने अहिले आइजीपी धीरजप्रताप सिंह हुने भन्ने सामान्य ज्ञान समेत नभएका युट्युबरले भ्रम बाँडिरहेको छ ।
‘डीएमजी नेपाल’ नामको युट्युब च्यानलमा पनि केही भिडिओ भेटिएका छन् जसको शीर्षक र थमलेनसँग कन्टेन्ट मेल खाँदैनन्। जहाँ ‘नाटकीय बालिकाको कर्तुत भेटियो, सन्दीपको वकिल यसो भन्छन्’ भन्दै लेखिएको छ। तर, कन्टेन्ट खोलेर हेर्दा अर्को विषयवस्तु देखिन्छ। जुन भिडिओलाई आरोप लगाउने नाबालिकाको कर्तुत नै हो की भन्ने लागेर झुक्किँदै धेरैले हेरेका छन्।
यस्तै भीडमा अग्रपङ्तीमा छ युट्युब च्यानल ‘सत्य आवाज’। त्यहाँ कन्टेन्ट भने नाम जस्तो ‘सत्य’ भेट्न गाह्रो छ। ‘सन्दीप र नाबालिकाबीच रेटमा यत्रो बार्गेनिङ, त्यो नाबालिका होइन प्रमाण देखाए’, ‘नाबालिका बस्ने होटेलको यत्रो षड्यन्त्र’ भन्दै भिडिओ पोस्ट गरिएको छ। तर, भिडिओ खोलेर हेर्दा थमनेल र शीर्षक अनुसारको कुनै सामग्री भेटिँदैन।
यस्तै भीडमा अग्रपङ्तीमा छन् कथित अभियन्ता तथा भाइरल म्यानका रूपमा चिनिएका पुण्य गौतम, जयकिशन बस्नेत, शर्मिला वाइबालगायतका समूह पनि।
उनीहरूलाई आफ्नो अनुहारलाई जसरी पनि सामाजिक सञ्जालमा देखाउनु छ भने युट्युबरलाई ‘डलर’ कमाउनु। त्यसैले होला ‘सन्दीप लुकाउने व्यक्ती पक्राउ भन्दै’ जयकिशन बस्नेतले बोलेको भिडिओको थमनेल राखिएको छ। हुँदै नभएको शीर्षक र थमनेल राख्ने यो युट्युब च्यानलहरू नभएर ‘सत्य आवाज’ नै हो।
‘सन्दीप र उजुरीकर्ताबीच भएको गोप्य म्यासेज भेटियो’ भन्दै अर्की कथित सामाजिक अभियन्ता शर्मिला वाइबाले अन्तरवार्ता दिएकी छिन् ‘इन्द्रेणी नेपाल’ नामको युट्युबमा। साँच्चिकै ठानेर हजारौँ भ्यूअर्सले भुक्किएर हेरेको सो भिडिओमा शीर्षक र थमनेल अनुसारको केही कुरै छैन।
एउटी नाबालिकाले हिम्मत गरेर आफूविरुद्ध भएको अन्यायको निन्दा गर्दै न्यायका लागि कानुनी बाटो अपनाउँदा उनले सामाजिक सञ्जालमा अपराध गरेझैँ फैसला सुन्नु परिरहेको छ। उनीझैँ पीडित रहेकी तर दबिएर रहेको आवाजलाई बाहिर ल्याउने सोच बनाएका नारीहरूको के हालत होला ?’
यो भीडमा भाइरलम्यान पुण्य गौतम त झन् चुक्ने कुरै भएन। सन्दीपबारे अन्तरवार्ता दिन भ्याईनभ्याई छ अचेल उनलाई। उनले जे जस्ता विषयवस्तु बोलेपनि युट्युबरले शीर्षक र थमनेल भने आफ्नै स्टाइलमा राखेका छन्।
‘सन्दीपलाई फसाउन १५ करोडको चलखेल’, तारे होटलमा बियर खाँदै गरेका गिरोहहरू पक्राउ, उजुरीकर्ता नाबालिका सन्दीपकै बहिनी रहेको प्रमाण सार्वजनिक’ यस्ता शीर्षक र थमनेलमा पुण्य गौतमलाई युट्युबमा भेटिन्छ।
अझ युट्युबमा धेरै भिडिओ यस्ता शीर्षकमा र थमनेल भेटिन्छन् ‘सन्दीपलाई फसाउने नाबालिकाको पर्दाफास’,‘उजुरीकर्तालाई १० वर्षको जेल सजाय’, १५ करोड बार्गेनिङमा कुरा नमिल्दा सन्दीपविरुद्ध उजुरी’ यस्तै यस्तै।
एउटी नाबालिकाले हिम्मत गरेर आफूविरुद्ध भएको अन्यायको निन्दा गर्दै न्यायका लागि कानुनी बाटो अपनाउँदा उनले सामाजिक सञ्जालमा अपराध गरेझैँ फैसला सुन्नु परिरहेको छ। ‘‘यस्ता घटनामा ती नाबालिका मात्र पीडित हुँदिनन्। उनीझैँ पीडित रहेकी तर दबिएर रहेको आवाजलाई बाहिर ल्याउने सोच बनाएका नारीहरूको के हालत होला ?’’ सामाजिक सञ्जालमा यस्ता अफवाह फैलिरहँदा कतिपयले चिन्ता गरिरहेका पाइन्छ।
यसअघि अभिनेता पल शाह प्रकरणमा पनि यस्तै गरी भ्रम फैलाउने १० वेब पोर्टलमाथि प्रेस काउन्सिलले प्रतिबन्ध लगाएको थियो। साथै १६ वटा युट्युब च्यानलका सञ्चालकमाथि अनुसन्धान गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा सिफारिस गरिएको थियो।
सँगसँगै २२ अनलाइन मिडियालाई यही आरोपमा सचेत गराइएको थियो। तर यस प्रकरणमा भने प्रेस काउन्सिले नत यस्ता सामग्रीलाई निरुत्साहित गर्न कसैलाई कारबाही गरेको छ न त मिडिया अनुगमन गरेको छ।
भ्रम फैलाउन रोक्ने दायित्व कसको ?
भ्रामक सूचना नियन्त्रणको दायित्व सरकार, सम्बन्धित सोसल मिडिया र मूलधारको मिडियाको रहेको बताउँछन् फ्याक्टचेकर दीपक अधिकारी।
सामाजिक सञ्जाल तथा मिडियामा आएका सूचनाको फ्याक्ट चेक गर्दै आएको नेपाल चेकका सम्पादक अधिकारी भन्छन्, ‘‘नभएको कुरालाई सोसल मिडियामा हो भनेर भ्रम फैलाउनु भनेको मनिटाइज गर्ने, डलर आर्जन गर्नेलगायतका कारण हुन्छन्।
लाइक फलोअर्स र भ्यूअर्स बढाउने उनीहरूको चाहना हुन्छ। यसको लागि धेरै बिक्ने, धेरैले हेर्ने खालको ‘भाइरल’ कन्टेन्ट बनाउनुपर्छ। नियम कानुन तथा सर्त तथा पत्रकारिताको सिद्धान्त मानेर बन्ने कन्टेन्ट चाही भाइरल कन्टेन्टको ठिक विपरीत हुन्छ।
आफ्नो स्वार्थ पुरा गर्नको लागि पाठक, दर्शकलाई भ्रम नपर्ने गरी, सम्बन्धित मानिसलाई असर नपर्ने गरी कन्टेन्ट दिनुपर्छ भन्ने उनीहरूले सोच्दैनन्। किनकि यी मापदण्ड पुरा गर्दा कन्टेन्ट भाइरल हुँदैन। यसैले सञ्जालमा भ्रम फैलाइरहेका छन्।’’
यसको लागि सम्बन्धित सामाजिक सञ्जाल चलाउने कम्पनी र सरकारले पनि नियमन गर्नुपर्ने नेपाल चेकका सम्पादक अधिकारीको भनाइ छ।
‘‘आफ्नो प्लेटफर्ममा नचाहिने भ्रमहरू फैलिरहेको छ वा छैन भन्ने सामाजिक सञ्जाल आफैले नियमन गरेर हटाउनुपर्छ। निरुत्साहित गर्नुपर्छ। सोसल मिडियामा फैलने भ्रमको चिरफार गर्ने काम मूलधारका मिडियाको पनि हो।
जुन प्लेटफर्ममा फेक कन्टेन्ट भाइरल भयो त्यही प्लेटफर्ममार्फत सही कन्टेन्ट दिनुपर्छ,’’ उनी भन्छन्, ‘‘सरकारले पनि हात बाँधेर बस्नु भएन। प्लेटफर्मले जिम्मा लिएन भन्दैमा सरकार चुप लाग्नुभएन। आम मानिसलाई असर गर्ने गरी भ्रम फैलिएपछि नियमन गर्नुपर्छ। कारबाही गर्नुपर्छ। नियमनकर्ता राख्नको लागि सरकारले सम्बन्धित सामाजिक सञ्जाल कम्पनीलाई ध्यानाकर्षण गराउनुपर्यो।’’
पीडित, उनका परिवार र पीडक भनिएका परिवार र आफन्तहरूले युट्युब र टिकटकमा आउने भिडियोहरूसँगै सामाजिक सञ्जालमा हुने भद्दा टिप्पणीका कारण के–कस्ता समस्या भोगिरहेका छन् ? यसतर्फ सामाजिक सञ्जालमा लेख्ने, भिडिओ अपलोड गर्नेहरूले नसोचेको समाजशास्त्री मधुसूदन सुवेदी बताउँछन्।
उनी भन्छन्, ‘‘अहिले सञ्जालमा आरोपित वा आरोपी दुवैलाई गाली गर्ने प्रवृत्ति देखिन्छ । प्रमाण जुटाउने भन्दा पनि आरोपितलाई अपराधीकरण गर्ने वा पीडित भनिएकालाई झुटो मुद्दामा फसायो भन्दै टिप्पणी गरिरहेका छन्।
यो ‘साइबर बुलिङ’ देख्दै लाग्छ कुनै महिलाले आफूविरुद्ध भएका यस्ता गम्भीर प्रकृतिका अपराधको बारेमा बोल्दै न्यायका लागि कसरी अगाडि आउला? दोषी ठहर नहुँदै कसैलाई सामाजिक सञ्जालले दोषी भन्दै फैसला सुनाउँदा आरोपी वा उनका परिवारमा कस्तो प्रभाव परिरहेको होला? यसतर्फ सोच्नुपर्छ। किनकि वाक स्वतन्त्रताको नाममा ‘साइबर बुलिङ’ नगरौँ।’’
भ्रम सृजना गर्नेलाई खोजीखोजी पक्राउ गर्छौ – प्रहरी
प्रहरीले अनुसन्धान गरिरहेको विषयमा आममानिसलाई भ्रम सृजना गर्ने, अनुसन्धानलाई प्रभावित पार्ने भिडियो सार्वजनिक गर्ने, सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई खोजीनिती गरी कानुनी दायरामा ल्याउने नेपाल प्रहरीको साइबर ब्युरोको चेतावनी छ।
भ्रम फैलाउने खालका भिडिओ तथा सामाजिक सञ्जालमा पोस्ट देखिएमा पक्राउ गरेर साइबर अपराधअन्तर्गत कारबाही गरिने महाशाखाका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपति कुमार राय बताउँछन्।
उनी भन्छन्, ‘‘प्रहरीले अनुसन्धान गरिरहेको विषयमा सम्मानित संस्था, र अनुसन्धान नै प्रभावित हुने गरी भिडियो अपलोड गर्ने, सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई जहाँ भए पनि खोजेर पक्राउ गर्छौँ। हुँदै नभएका विषयमा बोल्ने लेख्ने र भ्रम फैलाउने काम गैरकानुनी हो।’’
Facebook Comment
Comment
One thought on “सन्दीप लामिछाने प्रकरणमा जेल जान रहर गर्नेहरू”