युट्युबरको अत्याचार : मानसिक समस्या भएकी युवतीलाई समेत छाडेनन्

युट्युबर भन्छन्– परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले अन्तर्वार्ता लिएका हौं

बढी भ्यूज आओस् र डलर कमाउँला भन्दै युट्युबर कुन हदसम्म जान तयार छन् भन्ने स्पष्ट देखिन्छ। मानसिक रूपमा अस्वस्थ मानिसलाई पनि युट्युबरले छाडेका छैनन्।

युट्युबरको अत्याचार : मानसिक समस्या भएकी युवतीलाई समेत छाडेनन्

काठमाडौं। प्रश्न– तपाईंको नाम के हो?

जवाफ– थाहा छैन। घर कहाँ हो?

जवाफ– नेपालको राष्ट्रिय जिल्लामा।

गीत गाउँदै (काली तिम्रो नजरले गोली मार्‍यो ढिच्याउँ ढिच्याउँ)।

यो प्रश्नोत्तरसहित भिडिओ एक सातायता सामाजिक सञ्जालमा भाइरल छ। पहिलो पटक उनलाई बिरामीबाट चटकीमा परिणत गरायो त्यही भिडिओले। जुन क्लिप युट्युब, टिकटक र फेसबुक स्क्रोल गर्दा आइरहन्छ। एक महिलाको असामान्य र अस्वाभाविक गतिविधि ‘सस्तो मजाक’ बन्दै बिक्दै गएपछि युट्युबपछि लाग्न थाले।

उनी कुनै सेलिब्रेटी होइनन्। मानसिक अवस्था ठिक नभएकी भनिएकी युवती हुन्। उनी कुनै चर्चित पात्र नभएर पनि युट्युब, टिकटिकलगायत सामाजिक सञ्जालमा खुब छाइरहेकी छन्। तिनको नाम पुष्पा भनिएको छ। उनलाई सँगै राखेर अन्तर्वार्ता दिन भ्याइनभ्याई छ, ललितपुरस्थित कुसुन्तीस्थित एक आश्रय गृहकी सञ्चालिका श्रीनेहा पोखरेललाई।

ललितपुरको सातदोबाटो आसपास निर्वस्त्र अवस्थामा हिँडिरहेको अवस्थामा पुष्पालाई फेला पारिएको बताइएको छ। महेन्द्रनगर घर भनिएकी ती युवतीको उद्धार गर्ने क्रममा धेरै युट्युबरले उनको अगाडी माइक तेर्‍स्याए। अनि ती युवतीले झिँजो मान्दै भनिन्, ‘‘तपाईँहरूले यो लाइनचाहिँ किन राख्नुभएको। यो नराख्नुस् है। मलाई भिडिओ क्यामरा केही मन पर्दैन।’’ तर युट्युबरले किन छाड्थे र।

उद्धारपछि पुष्पाले सडकको बेवारिसे जीवनबाट त मुक्ति पाइन्। तर, युट्युबरको झन्झट भने झनै थपिएको छ। उनको अन्तर्वार्ताका लागि र उनको क्रियाकलाप खिच्न भन्दै युट्युबरको लाइन लाग्दै आएको छ।

मानसिक समस्यामाथि मजाकका केही उदाहरण

भोबीओम टीभी नाम रहेको युट्युब च्यानलमा सात दिनअघि राखिएको भिडिओमा शुरुमै पुष्पालाई नाच्न लगाइएको छ। उनी ‘मबिना कसैकसैलाई मुस्किल छ काठमाडौ‌ंमा’ भन्दै नाच्छिन्। यत्तिमै अन्तर्वार्ताकार रोकिँदैनन्। अनेक प्रश्न सोध्छन्। पुष्पा भन्छिन्, ‘‘म उहाँसँग जान लागेको छु उहाँचाहिँ मेरो ब्याइफ्रेण्ड है।’’

उनलाई फेरि सोधिन्छ, ‘कहाँबाट पढ्न सिकेको छ?

पुष्पा भन्छिन्, ‘‘टिकटबाटै बिहे पास गरेँ।’’

फेरि सोधिन्छ, ‘‘पञ्चेबाजा बिहे पास कि ब्यान्ड बाजा बिहे पास?’’

उनलाई मजाक बनाउनेहरू थाक्दैनन्। टिकटक एप्स खोलेर गीत बजाउँदै नाच्न लगाइन्छ।

पुष्पा जानी नजानी प्रयास गर्छिन्। सोही गतिविधि अरूका लागि खुबै ठूलो मनोरञ्जनको कन्टेन्ट बन्छ। उनी नाच्दै, हाँस्दै, अनियन्त्रित रूपमा बोलेको दृश्य विभिन्न एंगलबाट खिचेर देखाइएको छ।

‘नौलो आवाज’ नामको युट्युब च्यानलमा समेत पुष्पाको भिडिओ छ। ६ दिनअघि अपलोड गरिएको सो भिडिओ झन्डै ७५  हजार पटक हेरिएकाे छ। ‘‘जति छन् नि नेपालको जिल्ला सबै मेरो आमा हो। बहिनीहरू होइन। मेरो आमाको आमा गीता हो। तर म भन्छु मेरो अगाडि कोही नरोओस्,” भिडिओमा पुष्पाले भनेकी छिन्,‘‘नेपालको झन्डा मेरो बुढो हो। म ममीको पेटमा हुँदा मेरो बुवाले अर्को बुढी लगेर छाडेर गएको। उसलाई मैले भेटेको भए मारिदिन्थें।’’

लालीगुराँस मिडिया नेटवर्कमा ६ दिनअघि अपलोड भएको भिडिओ अहिले ट्रेनिङमा  ३७ नम्बरमा छ। भिडिओ १ लाख ५१ हजार बढी पटक हेरिएको छ। अन्तर्वार्तामा पुष्पाले गीत गाउँछिन् ‘झिमझिम सानु नझिम्काऊ परेली भुतुक्कै हुन्छु म।’ पुष्पालाई नाच्न पनि लगाइएको छ। ३५ मिनेट लामो भिडिओ अन्तर्वार्तामा स्नेहाले पुष्पालाई साथै राखेकी छन्। बीचबीचमा पुष्पाको समेत कुराकानी छ।

पुष्पाले भनेकी छिन्,‘‘म नेताको छोरी हुँ। आज बुलेट बाइकमा हिँड्न खुब रमाइलो हुन्छ। म हिरोलाई धेरै सपोर्ट गर्छु। नेपालको पढाइ पनि कडा हुने रहेछ। पाँच रुपैयाँमा पनि पढाइ हुने रहेछ। मलाई पढ्न कहाँ आउँछ र।’’

अझ उनलाई प्रश्नमाथि प्रश्न सोधिन्छ। उनी जवाफ दिँदै भन्छिन्, ‘‘सबै रानी मै हो। दोहोरीको रानी मै हो। राजाको रानी पनि मै हो। तपाईं मेरो हुनेवालो हो। म ब्याइफ्रेण्डले छाड्दा धेरै रोएँ।’’

यत्तिमै युट्युबरको हर्कत रोकिँदैन। पुष्पालाई अभिनय गर्न लगाइन्छ। एबीसीडी पढ्न लगाइन्छ। घरी ‘क देखि ज्ञ सम्म’ भन्न लगाइन्छ। अन्तर्वार्तामा पुष्पाले बेसोहीमै बालेका कुराहरूले न जानकारीमूलक छ। न त सिर्जनात्मक नै। तैपनि उनको अन्तर्वार्ताका लागि युट्युबरको ताँती लागेको छ।

यता ‘नयाँ नयाँ न्यूज नेपाल’ च्यानलमा रहेको पुष्पाको भिडिओ २ लाख ४० हजार पटक हेरिएको छ। सो भिडिओ ट्रडिङको २४ नम्बरमा छ।

यस्तै ‘जुम टीभी नेपाल’ नामको युट्युब च्यानलमा पनि पुष्पाको उस्तै खालको अन्तर्वार्ता भेटिन्छ। ‘‘भाइरल बिरामी पुष्पाको रुवाउने कथा, आमाको काखमा मर्न मन छ, श्रीमानले दिएको पीडा सम्झँदै बनिन् भावुक’ क्याप्सनमा ४३ मिनेट लामो अन्तर्वार्ता छ। जहाँ पुष्पाले भनेकी छिन्, ‘‘मेरो बिहे भएको हो, म कन्या केटी होइन। उसको र मेरो लभ परेर बिहे भएको हो। तर उनको आमाले कुरा बुझिनन्। पैसा दिएर मेरो छोरालाई फसाएको भनिन्। उसको नाम मनिस हो। अब हाम्रो टाढा हुँदा मन दुख्छ नि छ।’’

लगत्तै उनलाई गीत गाउन र नाच्न लगाइन्छ। मानसिक रोगले पीडित भएकी उनको स्वाभावबाट भरपूर मनोरञ्जन लिन्छन्। जबकि रमिते बनेका युट्युबर ती मानसिक अवस्था अस्वाभाविक रहेकी किशोरीसँग कुनै सरोकार राख्दैनन्।

‘लालीगुराँस डेल्ली’ नामको युट्युब च्यानलमा तीन दिनअघि पुष्पाकै भिडिओ पोस्ट भएको छ। ९ लाख सब्क्राइबर भएको सो च्यानलको पुष्पाको भिडिओ ३ लाख पटकभन्दा बढी हेरिएको छ। जहाँ यस्तै मजाक उडाइएको हेर्न सकिन्छ। पुष्पाको निर्दोषपनको प्रयोग गर्दै बनाइएको भिडिओमा अनेक अन्टसन्ट प्रश्न सोधिएको छ रमाइलैका लागि।

बढी भ्यूज आओस् र डलर कमाउला भन्दै युट्युब कुन हदसम्म जान तयार छन् भन्ने कुरा स्पष्ट देखिन्छ। अर्थात्, मानसिक रूपमा अस्वस्थ मानिसलाई पनि युट्युबरले छाड्दैनन् भन्ने योभन्दा गतिलो उदाहरण के होला? रोगको पीडित भएकाहरूलाई समेत प्रयोग गर्दै आफ्नो आम्दानीको स्रोत बनाइरहेको देखिन्छ।

ती युट्युब च्यानलबाट प्रसारित अन्तर्वार्ताका साना अंशहरू जोडेर बनाइएका ‘रोस्ट’ भिडिओ चर्चामा छन्। अक्सर यी भिडिओहरूमा पुष्पाको अस्वस्थतामाथि गिज्याउँदै हुर्मत लिने खालका छन्।

‘भाइरल बिरामी पुष्पा’ भन्दै युट्युबरले नाम दिएका छन्। उनको असामान्य व्यवहार मनोरञ्जनको कन्टेन्ट बनाइएको छ। उनलाई अस्पताल पुर्‍याउनुभन्दा युट्युबरको लाइन लगाइएको छ। उनको उद्धार हुनु प्रशंसाको विषय भए पनि उद्धारकर्तामाथि सोझिएको प्रश्नचाहिँ ‘असामान्य अवस्थाको मानिसलाई भाइरल बनाउन मिल्छ?’

टिकटकमा लाइभमा समेत रोगीको दुरुपयोग

समाजसेवालाई संसारभर नै पवित्र कार्यका रूपमा लिइन्छ। बेवारिसे बेसहारा मानिसलाई आफ्नो आश्रममा राखेर सहायता दिने स्नेहा केयरको कामको जति नै प्रशंसा गरे पनि कम हुन्छ। तर संस्था सञ्चालिका श्रीनेहा पोखरेल आफैँले टिकटकमा ती अस्वस्थ युवतीको भिडिओ टिकटकमा पोस्ट गरेकी छन्।

उनकै एकाउन्टबाट ती युवतीले असामान्य रूपमा बोलेको र गरेका कृयाकपलापहरु टिकटमा भाइरल बनिरहेका छन्। ‘‘सहयोग जुटाएर समाजसेवा गर्नु खराब काम अवश्य होइन। तर, बिरामी मानिसको अस्वाभाविक क्रियाकलाप पोस्ट गर्दा साेच्नैपर्ने भन्दै कमेन्टहरू आइरहेका छन्,’’ ती भिडिओ हेर्नेहरू भन्छन्, ‘दुखद् त के भने उत्साही भएर त्यो कन्टेन्टको तारिफ गर्नेहरूले एउटा असामान्य मानिसको संवेदनशीलताको बारेमा सोचेको देखिँदैन।’

टिकटक भ्यूज बढाउनकै लागि कतिपयले आश्रममै गएर पुष्पाको भिडिओ खिचेका छन्। कतिपयले युट्युबको अन्तर्वार्ताको टुक्राहरू राखेका छन्। धेरैले आफ्नो रमाइलोका लागि उनको अनुहार र बोली उस्तै बनाउँदै टिकट भिडिओ बनाइरहेका छन्।

यति मात्र होइन स्नेहाले उनलाई टिकटक लाइभमा समेत जबरजस्ती राख्दै आएको समेत देखिन्छन्। ‘भीओभीआई ओएमनाम’को युट्युब च्यानलमा टिकटक लाइभ गर्दाका सबै गतिविधि अपलोड गरिएको छ। पुष्पाको गतिविधिलाई टिकटक लाइभबाट मजाकको रूपमा देखाइन्छ।

युवतीलाई के भएको हो?

आश्रम सञ्चालिका श्रीनेहा पोखरेलका अनुसार ती पुष्पामा ‘सिजोफ्रेनिया’ रोग पुष्टि भएको छ। ‘सिजोफ्रेनिया’ यो गम्भीर प्रकृतिको मानसिक रोग हो। चिकित्सकका अनुसार यो रोग लागिसकेपछि बिरामीले वास्तविकतामा विश्वास गर्दैनन्। उनीहरूमा आफ्नै छुट्टै अनुभूति हुन्छ। जसले गर्दा उनीहरूले असामान्य व्यवहार देखाउन थाल्छन्।

पाटन अस्पतालका डा बासु कार्की भन्छन्, ‘‘‘सिजोफ्रेनिया’ कडा खालको मानसिक रोग हो। यसले दीर्घकालसम्म असर गर्छ। कुनै कुरामा पनि ध्यानकेन्द्रित हुन नसक्ने र निर्णय लिन सक्ने क्षमता उनीहरूमा हुँदैन। उनीहरू आफैँलाई थाहा हुँदैन कि मैले के बोलिरहेको छु भन्ने। उनीहरू आफ्नै छुट्टै संसारमा हुन्छन्। उनीहरूसँग दोहोरो कुराकानीको अर्थ नै हुँदैन। किनकि उनीहरूले केही कुरामा पनि ध्यान केन्द्रित गर्न सक्दैनन्।’’

अन्तर्वार्तामा सिजोफ्रेनिया पीडित ती युवतीले पनि आफ्ना निजी जीवन, परिवारलगायतबारे धेरै कुरा बोलेकी छन्। निर्णय लिन सक्ने क्षमता उनमा नभएकाले उनलाई आफूले के गरिरहेको वा बोलिरहेको छु भन्ने कुराको हेक्का हुँदैन।

सिजोफ्रेनिया भएकाहरूसँग कुराकानी गर्न मिल्ने भए पनि मिडियामा सबैले देख्ने गरी सार्वजनिक रुपमा प्रसारण गरिने कन्टेन्टहरूले भने उसलाई असर गर्न सक्ने डा कार्की बताउँछन्। पीडितको मन्जुरीनामा मात्रै लिँदा मानवअधिकारको मूल्यमान्यता उल्लंघन हुने हुँदा परिवारको सदस्यको अनुमति चाहिने उनले बताए। ‘‘सिजोफ्रेनिया भएकाहरूले जे पनि बोल्छन्। जे पनि गर्छन्। न त कुनै अर्थपूर्ण हुन्छ। न त कुनै जानकारी मूलक सूचनामूलक नै। बरु उनीहरूले बर्बराउने निजी जीवनका कुराहरू सार्वजनिक भएमा पछि उनीहरूलाई नै असर गर्न सक्छ।’’

के यस्ता सही छ?

आफ्नो जीवनमा भएका कतिपय घटनाहरू समय क्रममा मानिसले बिर्सन चाहन्छन्। कतिपय कुराहरू अरूसामु सार्वजनिक गर्न चाहँदैनन्। सार्वजनिक गर्दा पछि बेइज्जती हुने डर हुन्छ। तर असामान्य मानिसलाई ती सावधानीबारे हेक्का हुँदैन। तर ती मानसिक समस्यामा रहेकी युवतीको अन्तर्वार्ता लिँदै युट्युबरमार्फत विश्वभर फैलिरहेको छ।

डा. मीना उप्रेती, समाजशास्त्री

बिरामी अवस्थामा बोलेका र गरेका यस्ता क्रियाकलाप पछिसम्म रहन्छन्। उनी पूर्ण स्वस्थ भएपछि उनको स्वाभाविक जीवनमा असर पुर्‍याउन सक्ने समाजशास्त्री डा. मीना उप्रेती बताउँछिन्।

उनी भन्छिन् ‘‘क्षणिक रमाइलोका लागि खिचिएका भिडिओ इन्टरनेटमा पछिसम्म रहन्छन्। त्यो समयमा उनलाई प्रतिष्ठित हुन कति असहज होला? के ती युवतीको भविष्यको जिम्मा युट्युबरले लिन्छन्?’’

जुन सामग्रीले जिन्दगीभर असर पर्न सक्छ भन्नेबारे सोचेको नदेखिएको उनको भनाइ छ। यस्ता भिडिओ राख्नुअघि नैतिक रूपमा सही छ कि छैन सोच्नुपर्ने समाजशास्त्री उप्रेती बताउँछिन्।

कानुनले के भन्छ ?

युट्युबरको यी हर्कतबाट संविधानको धारा २८ मा प्रत्याभूत गरिएको गोपनीयताको हकलाई उल्लंघन भएको देखिन्छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ र मुलुकी देवानी (संहिता) ऐन २०७४ मा यस सम्बन्धमा केही व्यवस्थाहरू गरिएको छ।

जहाँ ‘प्रत्येक व्यक्तिको गोपनीयताको हकलाई सुनिश्चित गर्ने’ भनिएको छ। यस्ता अपराधमा कानूनले तीन वर्षसम्म कैद या ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ।


वैयक्तिक गोपनीयता सम्बन्धी हक २०७५ को व्यवस्था
वैयक्तिक गोपनीयता सम्बन्धी हक २०७५ को व्यवस्था

युट्युबर भन्छन् : हामीले धेरै चर्चा र प्रशंसा पाएपछि आरिसेहरूले आलोचना गरे

आफूहरू पुष्पाको हुर्मत लिन नभई उनलाई परिवारसँग पुनर्मिलन गर्ने नियतले गएको युट्युबरहरू बताउँछन्। परिवारबाट बिछोडिएकाहरूको सन्देश उनीहरूको घर परिवार तथा आफन्तसम्म पुर्‍याउने मिडियाकर्मीको दायित्व भएकाले त्यो पूरा गर्न आफूहरू गएको युट्युबरको दाबी छ। तर, सकारात्मक पक्षको चर्चा नगरी नकारात्मक विषयमा मात्रै चर्चा भएको युट्युबर कमल सरगम बताउँछन्।

कमल सरगम, युट्युबर

आफूहरू इसा फाउन्डेसन नेपालको तर्फबाट सहयोग लिएर गएको र सोही सन्दर्भमा कुराकानी गरेको सरगमले बताए। उनले भने, “हामीले केही सहयोग लिएर गएका थियौँ। संरक्षणकर्ताले आग्रह गरेपछि हामीले हामीले त्यसलाई स्विकार्दै अन्तर्वार्ता लिएका हौँ। हामीले बिरामी पुष्पाको खिल्ली उडाउन होइन, सहयोग गर्न गएका हौँ। डलर कमाउने नियत हो भने सहयोग लिएर किन जान्थ्यौं।’’ बाहिर चर्चा भएजस्तो अन्तर्वार्तामा आफूहरूले ती युवतीलाई भविष्यमा असर पर्ने कुनै कुराकानी र गतिविधि नखिचेको सरगरमले बताए।

आलोचनाको विषय नबन्ने कुरालाई अनावश्यक बखेडा झिकेर विवादमा ल्याइएको अर्को युट्युबर शिशिर भण्डारीको तर्क छ। आफूहरूको अन्तर्वार्तालाई नराम्रो भन्नेहरूमा राम्रो कामको विषयमा भने प्रशंसा गर्नुपर्ने चेत नपलाएको भन्दै उनी आक्रोश पोख्छन्।

‘‘जसले आलोचना गर्छ उसले हामीहरूको नराम्रो कुरा मात्रै खोजेर हिँड्छन्। अनि एकपक्षीय र पूर्वाग्राही टिप्पणी गर्छ। हामीले युट्युबरमा अन्तर्वार्ता राखेकै कारण हामीले धेरैको ज्यान बचाएका छौँ। हात काटिएको, मिर्गौला फेल भएका, क्यान्सर भएका धेरै बिरामीको अन्तर्वार्ता लिएका छौँ। त्यही अन्तर्वार्ता कारणले धेरैको जीवनमा ठूलो रूपान्तरण भएको छ,’’ भण्डारी भन्छन्, ‘‘ती विषयमा चाहिँ कोही किन बोल्दैन? के हामीले मानिसको ज्यानै लिएको जसरी प्रायः आफूलाई मूलधारका र ठुला भन्ने मिडियाहरू किन खनिन्छ? हाम्रो भिडिओ धेरैले हेरे, धेरै भिडिओहरू ट्रेन्डिङमा आयो। सर्वसाधारणले हामीलाई धेरै चर्चा र प्रशंसा भनेर आरिस गरिएको हो। हामीले कुनै गल्ती गरेका छैनौं।’’

शिशिर भण्डारी, युट्युबर

पुष्पाको सन्दर्भमा उनलाई संरक्षण गर्ने संस्था आफैँले बोलाएका कारण हामी अन्तर्वार्ता लिन गएको भन्दै भण्डारीले उनी सामान्य अवस्थामा फर्किएपछि असर पर्ने तथा नितान्त निजी विषयमा कुराकानी नगरिएको दाबी गरे।

उनले भने, ‘‘म त्यहाँ जाँदा बिरामी भनिएकी बहिनी पनि आफै खुलेर कुरा गर्न आइन्। उनले मेरो गीत पनि हेरेकी रहिछन्। मलाई चिनेको भन्दै उनले खुशी मानिन्। तपाईंको गीतमा मलाइ भिडिओ खेल्न मन छ। उनले म नाचेर देखाउँछु है भनिन्। एक जना बिरामी मानिस मसँग कुरा गर्दा खुसी हुन्छ भने म किन पछि हट्ने भनेर मैले कुराकानी गरेको हुँ।’’

स्नेहा आश्रमले गरेको मानवीय सेवाको बारेमा पत्रकारको कलम नचलेको भन्दै युट्युबरभन्दा पनि मानवीय सेवा आश्रमको बदनाम गर्ने षड्यन्त्र स्वरूप आलोचना भएको भण्डारीको आरोप छ।

यस विषयमा बिरामी पुष्पाको अन्तर्वार्ता लिन बोलाउने र बिरामीलाई साथै राखेर अन्तर्वार्ता दिँदै आएकी स्नेहा काख सञ्चालिका श्रीनेहा पोखरेलसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। उनका सहयोगीले भने, “म्याम बिरामी हुनुहुन्छ। अहिले बोल्न सक्ने अवस्थामा हुनुहुन्न।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved