अवैध अफिमको मौलाउँदो खेती, नेपालको अफगानिस्तान बन्दै ‘राक्सिराङ्ग’
अफिम उत्पादन ओसारपसारमा प्रतिबन्ध छ । तर, मकवानपुरमा यस्ता गाउँ छन्, जहाँको प्रमुख नगदेबाली नै अफिम हो । बारीका पाटा अफिमका बोटले ढाकिएका छन् । विदेशी व्यापारीले स्थानीय किसानलाई प्रयोग गरेर कसरी अफिम खेती गरिरहेका छन् ? पढ्नुहोस् यो रिपोर्ट ।
राक्सिराङ्ग मकवानपुर । छुट्टै संसारझैँ, पाखै-पाखा, भीरै-भीर । आँखाहरू नथाकी ओल्लोडाँडा र पल्लोडाँडा डुलिरहँदा देखिन्छन्, सेताम्मे फूल ।
पातला वस्तीभित्र स-साना झुपडी घर । घर वरपर बारीको पाटामा सेताम्मे फूलेका अफिमका फूल । त्यसमाथि ठाडेचुरी वनको हरियाली र अझै त्यसमाथि टोपी लगाएझैँ टल्केका सेता हिमाल ।
हिउँदको मौसम खुल्दै गएकाले अफिम फूल पनि खेल्दै छ । छर्लङ्ग देखिन्छन्, उत्तरतिरका सेता हिमाल । पहाडै-पहाडको काल्लाभरी जङ्गली सालका रुख भेटिन्छन् ।
खेतबारीका जग्गामा हार मिलाएर सूर्यमुखीका जत्रै उचाइ भएका बोट भेटिन्छन् । फूल भने फरक किसिमको लाम्चो र चुच्चो । बारीका पाटामा लामो डाँठमाथि भरिला हरिया डल्ला देखिन्छन् । त्योमाथि टाँसिएर फक्रिएको सेताम्मे फूलले वातावरण मनमोहक देखिन्छ ।
त्यही फूलमुनी फलेको फल स्वास्थ्यलाई कति घातक छ । सेताम्मे यो फूल शान्तिको प्रतीक होइन । फूल छुटेर गएपछि बाँकी रहने फलले प्रयोगकर्ता जोकोहीलाई पलपल अशान्त बनाउँछ ।
०००
यो दृश्य हो, मकवानपुरको उत्तरी गाउँ जिर्खेडाँडाको । राक्सिराङ्ग गाउँपालिका- ५ जिर्खेडाँडामा अवस्थित चेपाङ वस्ती अहिले अफिमको फूलले ढाकिएको छ ।
हरिया फाँट र चरिचरनले भरिएको पाखा छिचोल्दै गएपछि पुगिन्छ पातला घरका वस्तीहरूमा । मनहरी खोला किनार हुँदै एक घण्टाको कच्चीबाटो गाडीमा हुइकिँदै उत्तरतर्फको पाखा उकालिएपछि पुगिन्छ राक्सिराङ्ग ।
हिँडेर भने ४ घण्टामा पुगिने २५ सय मिटर उचाइको विकट गाउँ, राक्सिराङ्ग- ५ जिर्खेडाँडाको चेपाङ वस्ती यहीँ हो ।
पछाडि फर्केर हेर्दा देखिन्छ, मनोहरी खोला । पिठ्युँमा घाँस, दाउरा र स्याउलाका भारी बोकेर हिँड्दै गरेका स्थानीयलाई गाडीले उडाएको धुलो छिचोल्न केही समय कुर्नैपर्छ । सडक किनारमा विरलै भेटिने घरमा बज्ने तामाङ भाषाको मीठो लवजले बटुवालाई स्वागत गरिरहेको हुन्छ ।
आँगनमा मानिसहरू जाँड थप्ने, सुकुटी पोल्ने गरिरहेका भेटिन्छन् । मुजा परेका गाला र सेतो दारी-जुँगालाई ताउ मार्दै मुस्कुराउँदै गरेका बुढापाका भेटिन्छन् ।
जिर्खेडाँडाबाट तेर्सैतेर्सो र माथि थाहा नगरपालिका जाने बाटो छ । तर, निकै साँघुरो । जति अघि बढ्दै गयो, उति धेरै अफिमका बारी भेटिन्छ । डोजरले फोडेर बाटो बनाउँदा पहाड कमजोर भइरहेका छन् । कतिपय ठाउँमा पहिरो गएको छन् । मुस्किलले गाडी पार हुन्छ ।
खसियो भने ऐया पनि भन्न नपाउला जस्तो । उबडखाबड उकालो लाग्दै जाँदा सालका पुड्का पोथ्रा र भरिला रुख पात भेटिन्छ । अघि बढ्दै जाँदा भेटिन्छ मोटरबाटो बन्नुभन्दा पहिले पैदलै हिँड्ने गरेका डोरीजस्तै रेखा कोरिएको घोडेटो बाटो ।
खोल्चाखाल्चीमा चट्टाने पहाडमा ढुङ्गाका कापबाट रसाइरहेको पानी, मकै पिँध्ने पानी घट्ट । तेन्ता खोल्ची, खम्सीराङ खोल्ची, लैसीराङ खोल्ची, पेङदुङ खोल्सीहरू पानीका मुख्य स्रोत हुन् ।
यहाँ आउँदा जोकोहीलाई लाग्छ— शिरमा लालुपातेको शिरफूल र नाकमा सेतो स्तुपा र गुम्बाको नाकफुली सजाएर टुसुक्क बसेको छ जिर्खेडाँडा ।
टक्क आँखा अडिन्छन् सेतो हिउँजस्तै टल्कने फूलबारीमा । फूलको सुगन्धले स्वागत गर्छ । किनकि यहाँ अन्नबाली खेतीयोग्य जमिनमा अफिम खेती मौलाएको छ ।
यहाँका बारीका पाटामा लहलाइरहेका छन् अफिमका बेर्नादेखि बोटसम्म । यो समय कतै फक्रिँदो छ त कतै फुल्दै छ । माघ, फागुन र चैतसम्म यहाँ यस्तै देखिन्छ ।
सुन्दर वस्तीमा सेतो फूल, कालो धन्दा
पहाड आफैँमा सुन्दर हुन्छ, अवलोकनका निम्ति । तर, त्यहाँको जीवन कठिन हुन्छ । पहाडसँग संघर्ष गर्ने जीवनको दैनिकी छ, राक्सिराङ्गका बासिन्दामा ।
चेपाङ भाषामा राक्सी भनेको ‘साल’ र राङ्ग भनेको ‘बारी’ वा घारी हो । सालघारी भएकाले यो ठाउँको नाम चेपाङ भाषाबाट राक्सिराङ्गग रहन गएको चेपाङहरू सुनाउँछन् ।
राक्सिराङ्गगका जिर्खेडाँडा बासिन्दाले आफ्नो गरिबी निखार्न कानूनका प्रति निर्ममतापूर्वक बेवास्ता गरेरै लागूऔषध अफिमको खेती गरिरहेका छन् । स्मरणीय छ, नेपालको कानूनले अफिमलगायतका लागूऔषधको खेती गर्दा १० वर्षसम्मको जेल सजाय र दुई लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।
विश्वमा भयावह बन्दै गएको लागूऔषध व्यावसायिक ढङ्गले उत्पादन भइरहेको छ । अफिमको चम्किलो फूलले यो समाजको अँध्यारो पाटो देखाउँछ ।
पहिलेपहिले जिर्खे डाँडाका बासिन्दा बारीका पाटामा कोदो रोप्थे । गाई-वस्तु चराउँथे । तर, अहिले कोदो फल्दैन । मकै रोप्न बाँदरले दिँदैन । अहिले गाउँमा अरू रोजगारी र आयआर्जनको अवसर छैन ।
यसैले बारीमा अफिम फलाइरहेका छन् । जङ्गलभरी चरा कराएको सुनिन्छ । तित्राको तीनतारा र कोकले कुर्लिएको आवाज आउँछ ।
जङ्गलका चरा अफिमका फल खान बारीमा आउँछन् । तिनलाई रोक्न अफिमका बारीमा बुख्याचा राखिएका छन् । कतै पुराना क्यासेटका टल्कने रील टाँगिएका छन् ।
जिर्खेडाँडाको सौन्दर्य अनि विकटतासँगै, हेरिरहूँ लाग्छन् नाङ्गा पहाडमा फूलेका सेता फूल, लहलहाएका हरिया बेर्ना । त्यो गाउँ पहिलोपटक जानेलाई त्यही सुन्दरताको आकर्षणले तनमनलाई जति तान्छ, त्योभन्दा बढी घातक लागूऔषध अफिमको व्यावसायिक खेतीको रहस्यले मथिङ्गल हल्लाउँछ ।
हजारौं रोपनी जमिनमा अफिम
राक्सिराङ्गमा मात्र होइन, कैलाश गाउँपालिकामा सयौं रोपनी जमिनमा अफिम लगाइएको छ । सबैभन्दा बढी राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ मा १ हजार रोपनी भन्दाबढी जमिनमा अफिम लगाइएको छ । कैलाश गाउँपालिकाको वडा नम्बर ७ र ८ मा पनि सयौं रोपनीमा अफिम खेति भइरहेको छ ।
धेरै वर्ष अघिबाट यहाँ घातक लागूऔषध अफिमको खेती सुरू भएको देखिन्छ । कानूनीरूपमा प्रतिबन्धित भए पनि राज्यको न्यून उपस्थितिको फाइदा उठाउँदै खेती भइरहेको जानकार बताउँछन् । अझ कतिपयले त यसमा प्रशासनकै मिलेमतो रहेको ठोकुवा गर्छन् ।
राक्सिराङ्गगका जिर्खेडाँडालगायतका पहाडी वस्तीका अति विकट खेतबारीमा सङ्गठित शैलीमा कसले अफिम खेती गरिरहेको छ ? यसको कारोबारको जालो कहाँसम्म फैलिएको छ ? भनेर राज्यको कुनै निकायलाई पनि अहिलेसम्म पत्तो छैन ।
अफिम खेती भएका अधिकांश स्थान धेरै पर पनि छैनन् । वस्तीमै छन् । कतिपय खेती वस्तीभन्दा एकाध घण्टाको दूरीमा छन् । यो ठाउँमा खेती भएको जग्गा कसको नाममा छ भन्ने विवरण त मालपोतको ढड्डाबाट खुल्ला । तर, सङ्गठितरूपमा यतिका धेरै अफिम खेतीको मुख्य लगानीकर्ता को हो भन्ने धेरैलाई जानकारी हुँदैन ।
अफिम उत्पादनमा एक नम्बर तर, किसान गरिबको गरिबै !
भुइँमान्छेका पीडा भुइँमै हुन्छन् । यहाँ पनि नियति त्यही छ । अफिमको तस्करी गर्नेहरू रातारात धनी बने पनि खेती गर्ने किसान भने निकै गरिब छन् । जिर्खेडाँडाका किसान तस्करको फेला परे ।
कालोधन्दा मानिने सेतोफूल अर्थात् अवैध लागूऔषधको खेतीमा होमिए । दश नङ्ग्रा खियाइरहेका छन्, गलत ठाउँमा । बारीमा आफ्नो जाँगर उमारे, अफिमको ।
उनीहरूको गरिबीको फाइदा उठाउँदै विदेशी व्यापारीले आर्थिक लोभ देखाएर खेती गराएको जानकार बताउँछन् । “जिर्खेडाडाँका बासिन्दा विपन्न समुदायका हुन् । यसैले थोरै पैसा दिए पनि कम मिहिनेतमा बढी नाफा लिन सक्ने भएकाले अफिमजस्ता फसल लगाएका हुन्,” पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआइजी) हेमन्त मल्ल भन्छन् ।
चेपाङहरूको थोरै अन्न अनि वनजंगलबाट कन्दमुल, वनस्पति, फलफूल बटुलेर गुजारा चलिरहेको छ । ६६ प्रतिशतभन्दा बढी परिवारलाई आफ्नो खेतीपातीबाट ६ महिना पनि खान पुग्दैन । अफिम खेती गरिदिएबापत् तस्करले उनीहरूलाई वार्षिक केही हजार रुपैयाँ दिन्छन् ।
एक बिघा जमिनमा २० किलोग्रामसम्म अफिमको गेडा उत्पादन हुन्छ । अफिम प्रतिकिलो डेढलाख रुपैयाँसम्म बिक्री हुन्छ । तर, किसानले भने वर्षभरीमा जम्मा पाँचदश हजार रुपैयाँ मात्र पाउँछन् ।
आर्थिकरूपले कमजोर भएका वर्गलाई लक्षित गरेर किसानलाई जालमा पार्ने प्रपञ्च निकै पहिलेदेखि भएको प्रहरी बताउँछ ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द थपलिया भन्छन्, “विपन्न समुदायका व्यक्तिलाई आर्थिक प्रलोभनमा पारी अफिमको बिउ दिने र त्यसको उत्पादन लग्ने गरेको अनुसन्धानबाट खुल्दै आएका छन् । तर, कसले खेती गर्न लगायो भन्ने ठ्याक्कै खुलेको छैन । प्रहरी अफिम खेती फाँड्न जाँदा गाउँमा मान्छे भेटिँदैनन् ।”
प्रहरी फाँड्न जाँदा गाउँ रित्तो !
यहाँको माटो र हावापानीमा अफिमको बिरुवा राम्रोसँग सप्रिने हुँदा केही गिरोह किसानलाई लक्षित गरेर आर्थिक प्रलोभनमा पारी अफिम खेती लगाउन लागि परेका छन् । कहिलेकाहीँ सडकबाट नजिक पर्ने ठाउँमा अफिम खेती नष्ट गर्न प्रहरी गए पनि कसैलाई पक्राउ गरेको छैन ।
प्रहरी बेलाबखत खेती फाँड्न जान्छ । तर, त्यो बेलामा न युवाहरू भेटिन्छन् । न त त्यो खेती रेखदेख गर्ने को हो भनेर खुल्छ । घरमा बूढाबूढी मात्रै भेटिन्छन् । युवाहरू भागेर जङ्गलतिर लुक्न गइसकेका हुन्छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी थापा भन्छन्, “ठूलो क्षेत्रफलमा अफिम लगाइएको हुन्छ । दुईचार जना प्रहरी गएर फाँड्न सम्भव हुँदैन । दजनौं सङ्ख्यामा प्रहरी जानुपर्छ । प्रहरी गाउँमा आउन थालेको थाहा पाएपछि स्थानीय लुक्छन् । यसैले फडानी मात्र हुन्छ । जग्गा कसको भन्ने पनि खुल्दैन । मान्छे पनि भेटिँदैन ।”
स्थानीय तहका जनप्रतिनिधिले पनि अफिम खेतीबारे बोल्न सक्दैनन् । “जनप्रतिनिधिले प्रहरीलाई साथ दिनुपर्ने हो । त्यसमा खास चासो देखाइएको छैन,” प्रहरी भन्छन् ।
राक्सिराङ्ग ५ का वडाध्यक्ष हरि प्रजा भने आफूहरूले गाउँलेलाई अफिम खेती नगर्न चेतावनी दिए पनि नमानेको बताउँछन् । खेती फाँड्न प्रहरी आउँदा सघाइरहेको उनको भनाइ छ ।
उनी भन्छन्, “स्थानीयले स्वतःस्फूर्त रूपमा खेती गरिरहेका छन् । उनीहरूलाई खेती नगर्नु भनेको मान्दैनन् । बाली फाँड्न प्रहरी आएमा हामीले सघाउँदै आएका छौँ ।”
गतसाल माघ १४ गतेदेखि १६ सम्म प्रहरीले राक्सिराङ्ग र कैलाश गाउँपालिकामा २ दिन लगाएर अफिम खेती नष्ट गरेको थियो । तर, सबै ठाउँमा गरेन ।
राक्सिराङ्ग र कैलाश गाउँपालिकामा लगाइएको १३० बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेर प्रहरी फर्किएको थियो ।
प्रहरीले सबैभन्दा बढी राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर ४, ६ र ७ मा ९५ बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको थियो । कैलाश गाउँपालिकाको वडा नम्बर ७ र ८ मा ३५ बिघामा लगाइएको अफिम नष्ट गरिएको थियो ।
कारोबारीले नै दिन्छन् बिरुवा, लिन आउँछन् चोप
कात्तिकको अन्तिमतिर अफिम खेती सुरू हुन्छ । स-साना दानाको रूपमा फल्ने अफिमको फलबाट चोप निकालिन्छ । चार महिनामा चोप निकाल्न तयार हुन्छ । किसानले खेतमै चोप निकाल्छन् ।
चोप निकाल्ने प्रविधि बोकेर विदेशी कारोबारी खेतमै पुग्छन् । रसायन मिसाएर त्यही चोपबाट सेतो र खैरो हेरोइन उत्पादन हुन्छ । एक बिघा जमिनमा २० किलोग्रामसम्म अफिमको गेडा उत्पादन हुन्छ । अफिम प्रतिकिलो डेढलाख रुपैयाँसम्म खेतमै बिक्री हुने गरेको छ ।
तर, त्यो पैसा किसानले पाउँदैनन् । जसले खेती गर्न लगाएको छ, उसैले पाउँछ । प्रहरीको अनुसन्धानअनुसार नेपाली भूमिमा उब्जनी गरिएको अफिमको चोप महँगोमा किनेर भारत लगिन्छ र त्यसलाई प्रशोधन गरेर सेतो र खैरो हेरोइन बनाइन्छ । उच्च गुणस्तरको प्रशोधित पदार्थ सेतो हेरोइनको रूपमा निस्कन्छ । कमसल पदार्थ खैरो हेरोइनको रूपमा निस्कन्छ ।
बिउ पनि दिने र उत्पादन भएको अफिमको चोप पनि खरिद गरेर लैजाने भनेपछि आफूहरूले खेती गरेको जिर्खेडाँडाका श्यामबहादुर प्रजा बताउँछन् । ‘‘तपाईंहरूसँग खेती गर्नका लागि जमिन छ, हामीसँग राम्रो आम्दानी दिने बिउ छ । तपाईंहरू खेती गर्नुहोस्, उत्पादन हामी किनेर लैजान्छौँ भने । त्यसपछि हामीले लगाएका हौँ,” उनी भन्छन् ।
गाउँलेका अनुसार गत मंसिरमा बिउ दिन भारतीय व्यापारी गाउँ आएका थिए । प्राय: कारोबारी आफैँ आएर अफिमको चोप र गेडा किन्ने गरेका छन् ।
कसैकसैले भने भारतमै मगाउँछन् । जानकार भन्छन्, “लागूऔषधका अन्तर्राष्ट्रिय कारोबारी पछिल्लो समय नेपाललाई अफगानिस्तान बनाउने प्रयासमा छन् । यसको उदाहरण मकवानपुरको राक्सिराङ्ग र कैलाश गाउँपालिकालगायतको अफिम खेती हेरे पुग्छ ।”
उत्पादनको तथ्याङ्क नै छैन
नेपालमा वार्षिक कति अफिम उत्पादन हुन्छ, यकिन तथ्याङ्क छैन । नियन्त्रणका लागि प्रहरीले प्रत्येक वर्ष नष्ट गरेकै आधारमा अनुमानित तथ्याङ्क निकाल्ने गरिन्छ । युनाइटेड नेसन अफिस अफ ड्रग्स एन्ड क्राइमको रिपोर्टअनुसार नेपालमा ४० हेक्टरमा अफिम खेती हुन्छ ।
गतवर्ष नेपाल प्रहरी र सशस्त्र प्रहरीले थुप्रै क्षेत्रफलमा लगाएको अफिम नष्ट गरेका थिए । लागूऔषधको अन्तर्राष्ट्रिय बजारमा नेपाली अफिमको बढ्दो मागसँगै कारोबारीको सक्रियता बढेको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको रिर्पाेट भन्छ— मकवानपुर, रौतहट, सुर्खेत, जाजरकोट, पूर्वीरुकुम, पश्चिमरुकुम र डोटीमा व्यावसायिकरूपमा अफिम खेती बढी हुने गरेको छ ।
अफिम नष्ट गरिएका रिर्पाेटअनुसार तय गरिएको हो । कतिपय जिल्लामा अफिम खेतीसम्म प्रहरी पुग्न सकेको छैन ।
नियन्त्रण कार्य देखाउने दाँत मात्र
अफिम नियन्त्रणका लागि खेती भएको स्थान पत्ता लागेपछि प्रहरी खटाएर फाँड्नु एक मात्र विकल्प बन्दै आएको छ । यद्यपि यो अभियान भने प्रभावकारी बन्न नसकेको प्रहरी अधिकारी स्वयं स्वीकार्छन् ।
नेपालमा अफिम उत्पादन, प्रशोधन, बिक्री-वितरण तथा ओसारपसारमा प्रतिबन्ध छ । लागूऔषध नियन्त्रण ऐनले यस खेती गर्नेलाई बोटको सङ्ख्याका आधारमा सजाय हुने व्यवस्था गरेको छ ।
धुलो वा गेडा निकालेर ओसारपसार वा कारोबार गरेको फेला परे पक्राउ गरेर लागूऔषध ऐनअनुसार कारबाही हुन्छ । तैपनि मकवानपुरको राक्सिराङ्गलगायतमा बारीका पाटाहरू अफिमका बोटले ढाकिएका छन् । यहाँ अफिम खेती गर्नु सामान्य देखिन्छ ।
Facebook Comment
Comment