दाताबाट सङ्कलित रकम पुग्दैन पीडितसम्म, सचिनका लागि उठेको ८ लाख बाबु र युट्यूबरले अपचलन गरेको आरोप

सचिन चर्चित रहेको बेलामा उनलाई धेरैले प्रयोग गरे । युट्यूबदेखि म्युजिक भिडिओ र गीतहरूले भ्यूज कमाए । पैसा कमाए । तर अहिले सचिन बिरामी हुँदा उपचार पाइहेका छैनन् ।

दाताबाट सङ्कलित रकम पुग्दैन पीडितसम्म, सचिनका लागि उठेको ८ लाख बाबु र युट्यूबरले अपचलन गरेको आरोप

काठमाडौं । समाजसेवा पवित्र कार्य हो, यो संसारभरको मान्यता हो । आफूसँग भएको भौतिक सम्पत्ति अरूको हितका लागि खर्च गर्नु समाजसेवा हो । आफूले मेहनतका साथ गरेको कमाइ समाजका पीडितहरूको नाममा खर्च गर्नु समाजसेवा हो ।

तर, नेपालमा यो बेग्लै शैलीमा मौलाइरहेको छ, त्यो हो— अरूसँग मागेर बाँड्ने । नेपालीहरू मनकारी हुन्छन् । अरूको दुःखमा सहयोग गर्न चाहन्छन्, आफूले श्रम गरेर कमाएको पैसाको केही अंश ती दुःखीसम्म पुर्‍याउन चाहन्छन् । त्यस्तोमा पीडितको नाममा सहयोग सङ्कलन गर्ने चलन छ ।

तर, त्यस कार्यमा कथित सामाजिक अभियन्ता, युट्यूबरलगायत अघि सर्छन् । यसपछि सर्वसाधारणले आफ्नो गाँस काटेर गरेको सहयोग रकम भने पीडितकहाँ जत्तिको त्यत्ति पुग्दैन । बीचमा बसेर सहयोग सङ्कलन गर्ने कथित अभियन्ता भने मोटाउँदै जान्छन् । यसका पछिल्ला उदाहरण हुन्— बालगायक सचिन परियार ।

‘के छ हजुर ?’ भन्दै सामाजिक सञ्जालमार्फत भाइरल भएका थिए सचिन परियार । गुल्मीको सामान्य परिवारमा जन्मिएका सचिनलाई नचिन्ने र नजान्ने कमै होलान् । अनौठो हाउभाउ र मीठो बोलीका कारण भाइरल बनेका बालक सचिन परियार अहिले भने गम्भीर बिरामी छन् ।

पहिल्यैदेखि बिरामी उनको यसअघि पनि उपचारमा धेरै खर्च भइसकेको छ । भाइरल हुनुअघि उनी गाउँमै बस्थे । एक युट्यूबरले भेटेर अन्तर्वार्ता लिएपछि उनी चम्किए । उनमा गीत गाउने कला थियो ।

त्यसपछि काठमाडौं आएका उनले धेरै गीत गाए, नाचे । महानायक राजेश हमालसँग समेत उनले म्युजिक भिडिओ खेले । विभिन्न टेलिभिजन शो अनि सिरियलमा गाए । सबैले उनलाई वाहवाही गरे । तर, उनको त्यो भाइरल चमकधमक धेरै दिन टिकेन ।

भाइरल कन्टेन्ट खोजिहिँड्ने युट्यूबरले अर्कै कन्टेन्ट पाए, सचिनलाई बिर्सिए । अहिले उनी गम्भीर बिरामी छन् । कम्मरमुनीको भाग लगभग चल्दैन ।

बाबु तेजेन्द्र परियारले सचिनलाई हेटौँडामा उपचार गराएर काठमाडौं ल्याएको बताएका छन् । सचिन एक वर्षअघि पनि यस्तै बिरामी परेका थिए । अचानक हातगोडा चल्न छोडेपछि टिचिङ अस्पतालमा उपचार गरिएको थियो ।

‘भेलुबाजे’को नियति : लाखौं कमाएर युट्यूबर लाखापाखा, रोगले थलिँदा छैन सुका

उपचारपश्चात् सुधार भए पनि उनी पूर्ण स्वस्थ थिएनन् । जन्मेदेखि नै उनमा समस्या थियो । अहिले फेरि राम्रोसँग बोल्नसमेत सक्दैनन् । सहजरूपमा हिँड्डुल गर्नसमेत नसक्ने उनलाई उपचारको लागि पैसाको खाँचो छ ।

वर्षदिनअघि त उनी गुल्मीको तम्घासमा सडकमा पैसा माग्दै हिँडेका थिए । अहिले उपचार खर्च नपाएर उस्तै हाल भइसकेको छ ।

बुबा तेजेन्द्रले छोरा सचिनलाई यसैसाता हेटौँडाको आयुर्वेद अस्पतालमा लगेका थिए । त्यहाँबाट फर्किएपछि पनि सचिनको स्वास्थ्यमा सुधार छैन ।

000

सचिन चर्चित रहेको बेलामा उनलाई धेरैले प्रयोग गरे । युट्यूबदेखि म्युजिक भिडिओ र गीतहरूले भ्यूज कमाए । पैसा कमाए । तर अहिले सचिन बिरामी हुँदा उपचार पाइहेका छैनन् ।

सचिनको उपचारमा सहयोग गर्न सामाजिक सञ्जालबाट आह्वान भइरहेको छ । यस्तोमा सचिनलाई उपचारका लागि आफूहरूले दिएको मोटो रकम उनका बुवा तेजेन्द्र र युट्यूबर मिलेर दुरुपयोग गरेको आरोप लागेको छ ।

विभिन्न मनकारी सबै पीडितसम्म पुग्ने अवस्था थिएन । जसको सहारा लिएर रकम पठाइयो, त्यो रकम पुरा नपुगेको र पुगेको रकम पनि सदुपयोग नभएको आरोप छ ।

तर, सामाजिक सञ्जालमा पोस्ट गर्दै युट्यूबर भोजराज थापाले भने सहयोग सचिनकै बाबुले दुरूपयाेग गरेकाे आरोप लगाएका छन् । यता तेजेन्द्रले भने युट्यूबर भोजराजलाई दोष दिइरहेका छन् ।

मान्छेका दु:ख – युट्यूब र टिकटक हेर्ने, पत्रकारलाई गाली गर्ने

यसअघि सचिन बिरामी हुँदा केही युट्यूबरको सक्रियतामा राम्रै सहयोग उठेको थियो । त्यसबेला जम्मा ११ लाख ६७ हजार ४१६ रुपैयाँ उठेको युट्यूबर थापाले बताए ।

तीमध्ये सचिनको उपचारको लागि ३ लाख ५७ हजार ८२४ रुपैयाँ खर्च भएको थियो । बाँकी ८ लाख ९ हजार ५९२ रुपैयाँ बचत भएको थियो । बचत भएको रकम कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलको खातामा राखिदिएका थिए ।

तर, सचिवका बाबु तेजेन्द्रले पैसा मागेर हैरान पारेपछि सचिनकै नाममा बाल बचत खाता खोलेर जम्मा गरिदिएको थापाले बताएका छन् । सचिनका बालबचतको पैसा उनका बुबाले मासेको युट्यूबर थापाको आरोप छ ।

तर, सचिनका बुबा तेजेन्द्र परियारले भने युट्यूबरले पैसा खाइदिएको आरोप लगाएका छन् । भोजराज थापाले लगाएको आरोपका विषयमा तेजेन्द्रसँग प्रश्न गर्दा उनले आपत्ति जनाए । आफ्नो छोराका नाममा पैसा उठाएर युट्यूबरहरूले नै दुरुपयोग गरेको उनको दाबी छ ।

तेजेन्द्र भन्छन्, “त्यसबेला टन्नै पैसा उठेको थियो । तर, मैले इन्द्रेणीबाट ल्याएको चाहिँ पाँच लाख हो । अरू पैसा कहाँ कसले मास्यो मलाई थाहा छैन । आठलाख रुपैयाँ बचेको थियो भन्छन् भने बाँकी तीन लाखको हिसाब उनीहरूले नै देखाउनुपर्छ ।”

छोराको खातामा रहेको केही पैसा अहिले उपचारमा सकिएको तेजेन्द्रको दाबी छ । सोही पैसाले सचिनलाई बचाएर राखेको उनले बताए ।

आफूले छोराको प्रयोग गरेर पैसा नउठाएको र दुरुपयोग नगरेको उनको तर्क छ । तेजेन्द्र भन्छन्, “मैलै छोरो प्रयोग गरेर दाम कमाएको छैन । मेरो छोरा र मलाई युज गरेर युट्यूबरले दाम कमाएका छन् ।”

कलाभन्दा चर्तिकलाको व्यापार: महोत्सवमा पनि भेल्लुबाजेहरूको जगजगी, राष्ट्रिय कलाकार ट्वाँ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved