सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

नेपालभ्युज

सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

काठमाडौं । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

कमेडी शैलीमा निर्माण भएको फिल्मको ट्रेलरमा कमेडीले नै प्राथमिकता पाएको छ ।

ट्रेलरमा सहकारीको ठगी विषय पनि समेटिएको छ । यसले फिल्ममा सहकारीको ठगीको विषय पनि रहेको अनुमान लगाउन सकिन्छ ।

ट्रेलरमा फिल्मका मुख्य कलाकार नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनीता थापाले नै प्राथमिकता पाएका छन् ।

फिल्ममा दुई तीनवटा थिमबाट निर्माण भएको निर्देशक सिमोस सुनुवारले बताए । ‘अहिले टिकटक जेनरेशनले गर्दा एक मिनेटको भिडियोमा पूर्ण कथा खोज्ने दर्शक छन् ।
त्यसैले  एउटै थिममा २, ३ घण्टा तन्काउनुभन्दा पनि एउटै थिम भित्र साना–साना ३ वटा कथा समेत भन्ने प्रयास फिल्ममा गरेको छु’,सुनुवारले भने ।
फिल्ममा फेन्ससिप, रोमान्स र सामाजिक विषय समेत रहेको निर्देशन सुनुवारले खुलाए । ‘फिल्म पूर्ण मनोरञ्जनात्मक हिसाबले निर्माण भएको छ । दर्शकले रुचाउने अपेक्षा छ’ उनले थपे ।

अभिनेत्री नीतिले फिल्ममा डेब्यु अवसरका लागि निर्माण युनिटलाई धन्यवाद दिएकी छिन् ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा  निर्माता नवीन मानन्धर तथा निर्देशक सुरज सुनुवार हुन् ।
सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायाङ्कन रहेको छ भने सम्पादक मित्र डी गुरुङ हुन् ।

अनमोल गुरुङको संगीत रहेको फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ ।

फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राईलगायतका कलाकारहरूको अभिनय छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved