काठमाडौं । विश्वप्रसिद्ध कान्स सिनेमा महोत्सवमा सहभागी हुन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह फ्रान्स गएका छन् ।
उनी गएराति तीन दिनका लागि फ्रान्स प्रस्थान गरेका हुन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा मेयर साह फ्रान्स गएको महानगरले जनाएको छ ।
कान्समा आयोजना हुने विविध कार्यक्रममा उनको सहभागिता रहन बताइएकोे छ । महोत्सवको रेडकार्पेट र प्रिमियरमा मेयर साह सहभागी हुनेछन् ।
बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरिएको छ । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी काठमाडौंलाई ‘सिनेमाको रचनात्मक सहर’को रुपमा गत वर्ष सूचीकृत गरेको थियो ।
७७ औं कान्स महोत्सव मे १४ देखि २५ सम्म आयोजना हुँदैछ । कान्समा यस वर्ष नेपालमा छायांकन भएको सिनेमा ‘द सेमलेस’ र नेपाली भाषाको सिनेमा ‘तारा अ लस्ट स्टार’ छनोट भएका छन् ।
Facebook Comment
Comment