व्यक्तिवृत्तः

ती श्रीराम बाजे, यी कागे डन

उनी अचेल भने ‘कथाले मागेअनुसार’ कागे डनका रुपमा हाजिर भएका छन्। बिल्कुलै फरक रुपरङ्गमा। र त, चुनावमा उठेका ‘कागे डन’ले चुनाव चिह्न पाएका छन्– ‘बन्दुक’। साँच्चै ‘बन्दुक’ बोकेर घर–घरमा भोट माग्दै हिँड्दा मतदाताहरूमा कस्तो मनोविज्ञान देखिएला ? अवश्य नै, यो वर्तमान राजनीतिको कटु यथार्थ हो।

ती श्रीराम बाजे, यी कागे डन

बिते नित्य ३७ वर्ष। नेपालीहरूका औसत आयुभन्दा करीब आधा। औसत आयुको आधा समयावधि त निर्देशक/कलाकर्मी सुवास गजुरेलले टेलिशृंखलाहरूमै आफूलाई व्यस्त तुल्याए। हरेक साता दुइटा टेलिशृंखलामा देख्न पाइन्छ, उनलाई। ‘भुन्टी’ र ‘उल्टोसुल्टो’मा। ‘भुन्टी’मा एउटा असल र समझदार अभिभावकका रुपमा र ‘उल्टोसुल्टो’मा भने पूरै डन। त्यसमा उनी समाजलाई उल्टो दिशातिर डोर्‍याउन खोज्ने पात्रका रुपमा उभिएका छन्। केही दशकअघि चर्चित टेलिशृंखला ‘देवी’मा श्रीराम बाजेको रुपमा उदाएका उनी अचेल भने ‘कागे डन’का रुपमा चर्चित छन्। नेपाली समाज वा राजनीति बिस्तारै डन–अधिनस्थ/आधिक्य हुँदै गरेको यथार्थ उनको कला–कौशलमा झल्किन्छन्, प्रत्यक्षतः।

‘भुन्टी’ सामाजिक विषयवस्तुमा आधारित छ। पछिल्लो समय ग्रामीण जनजीवन सूचना, सञ्चार र यातायातको सञ्जालका कारण समृद्ध बन्दै गइरहेको छ। चेतनाको लहर कुनै सामुन्द्रिक आँधीभन्दा कम देखिँदैन। ग्रामीण क्षेत्रका अनेक समस्यालाई उठान गरिएको छ, यो टेलिशृंखलामा। गजुरेल भन्छन्, ‘भुन्टीमा मैले बाबुको भूमिका निर्वाह गरिरहेको छु भने उल्टोसुल्टोमा चाहिँ गुण्डाको भूमिका निर्वाह गरिरहेको छु।’

हामीकहाँ निर्मित प्रायः टेलिशृंखलाहरूले सामाजिक र पारिवारिक विषयवस्तुलाई नै प्राथमिकतामा राख्दै आएका छन्। उनी अभिनित टेलिशृंखलाहरू पनि यिनै विषयवस्तुका वृत्त वरिपरि घुम्दै आएका छन्। भन्छन्, ‘सामाजिक र पारिवारिक जीवनका समस्याहरूलाई नै उठान गरिएका टेलिशृंखलाहरू बनिरहेका छन् र त्यसले चेतनामूलक सन्देश दिनसमेत चाहेका छन्।’

‘भुन्टी’ युट्युब च्यानलबाट प्रसारण भइरहेको छ अचेल। ‘उल्टोसुल्टो’ चाहिँ नेपाल टेलिभिजन र युट्युब च्यानल दुवैबाट। भन्छन्, ‘युट्युबले धेरै सजिलो तुल्याइदिएको छ हामीलाई। चर्चित टेलिशृंखलाहरू प्रायः युट्युब च्यानलबाटै आउने गरेका छन्।’

३७ वर्षको टेलिशृंखला यात्रामा उनले करीब अढाई सयजतिमा आफ्नो अभिनय–क्षमता देखाइसकेका छन्। टेलिशृंखलामा पाइला राख्नुअघि भने उनले रोजेका थिए, रङ्गमञ्च। २०४१ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि टेलिशृंखलाहरू निर्माणको लहर नै चल्न थाले। त्यही क्रममा २०४२ सालतिर निर्देशक रमेश बुढाथोकीले उनलाई एउटा टेलिशृंखलाका लागि ‘अफर’ गरे। टेलिशृंखलाको नाम थियो– ‘बाँच्न बिर्सेको छैन’। त्यसयता उनी अभिनय संसारमै रमाइरहेका छन्।

निर्देशनतिर पनि दत्तचित्त

गजुरेलले अहिलेसम्म चार ओटा ठूलो पर्दाको फिल्मको निर्देशन गरे। क्रमशः बसाइँ, मजदुर,माया बैगुनी र को होला मेरी मायालु। यी बाहेक केही लघु–चलचित्रका पनि निर्माण/निर्देशन गरिसकेका छन्। फिल्महरूमा पनि खेलेका छन् उनले। संख्या नै तोक्ने हो भने ५०–६० पुगिसके।

कुनै पनि चलचित्र निर्माण/निर्देशन गर्न लाग्दा उनको ध्यान सदैव जान्छ– उत्कृष्ट कृतिहरूमा। केही समयपूर्व उनको ध्यान तान्यो– कथाकार भागीरथी श्रेष्ठको एउटा कथाले। नाम थियो– ‘मातृत्व’। भन्छन्, ‘अहिले म यही कथामा आधारित लघु–चलचित्र निर्देशन गर्ने तयारीमा छु।’

समाज अनेक समस्या झेलेर बाँचेको छ। अनेक पेसा, व्यवसाय गरेर जीवन निर्वाहका सूत्र पहिल्याउँदै बसेका पात्रहरू पनि छन्, यही समाजभित्रै। पछिल्लो पटक उनले अभिनय गरेको लघु–चलचित्र ‘भाउ’ भने काठमाडौंमा कवाडी पेसा अपनाएर जीविकोपार्जन गर्दै आएका श्रमिकहरूको समस्या केलाउन केन्द्रित छ।

उनले केही स्रष्टाका उत्कृष्ट सिर्जनामाथि पनि लघु–चलचित्र निर्देशन गरे। जसमा जनयुद्धकालीन विम्ब झल्किने खगेन्द्र संग्रौलाको ‘हरेरामकी आमा’ र विवश वस्तीको ‘यसरी नै आरु फुल्छ’ले निकै प्रशंसा बटुले। यसबाहेक रमेश विकलको ‘मधुमालतीको कथा’का साथै अरू स्रष्टाका सिर्जनामाथि पनि उनले निर्देशकीय शिल्प देखाइसकेका छन्।

मधेशी चरित्रमै मग्न

नेपाली कलावृत्तमा उनको नाम उच्चारण हुनेबित्तिकै मधेशी चरित्रको विम्ब सामुन्नेमा आइहाल्छ। सुवास गजुरेल अर्थात् मधेशी चरित्रलाई न्याय गर्नसक्ने कलाकर्मी। पहाडे समुदायको बाहुल्य भएको धनुषाको महेन्द्रनगरबाट केही भित्री भूभाग इच्छापुरमा जन्मिए उनी, २०१८ सालमा। सोही वर्ष उनका सपरिवार सिन्धुलीको खुर्कोट, बाराहाबाट बसाइँ सरेका थिए, मधेशमा। पूर्व–पश्चिम राजमार्गको रेखांकन भएकै वर्ष। बसाइँ सरेकै वर्ष जन्मिएका थिए उनी।

इच्छापुरमा बसेनन् धेरै वर्ष। एकाध वर्ष बसेपछि चुरेको काखनजिकै रातु नदीको किनारमा अवस्थित लालगढमा आए, सबै जना। पूर्व–पश्चिम राजमार्गको व्यस्त बजार लालगढ नै उनको कलायात्राको प्रस्थान–थलो बन्यो, अन्ततः।

लालगढ। नामजस्तै ‘लाल’ अर्थात् वामपन्थीहरूको गढ नै थियो, तत्कालीन समयमा। उनले विद्यालय तहको अध्ययन गर्न थालेदेखि नै सामाजिक समस्या र विकृतिमाथि बज्र प्रहार गर्ने खालका नाटकहरूमा अभिनय गर्न थाले। खासगरी, दसैँजस्ता पर्वहरूमा गाउँमा प्रहसन हुन्थे र त्यस्ता प्रहसनमा उनको सक्रिय सहभागिता रहन्थ्यो। तत्कालीन समय नाटक वा नृत्य प्रदर्शनमा महिला कलाकारको सहभागिता वर्जितजस्तै थियो। भन्छन्, ‘सानो छँदा मैले महिलाको भेषभूषा पहिरेर नृत्यसमेत गरेँ।’

उनको कलाको जग त्यही थलोमा नै बसालियो। लालगढको उष्ण जमिनमा। सामाजिक चेतना प्रवाहका निम्ति पुस्तकालय स्थापनाका साथै सांस्कृतिक जागरणमा समेत उनले भूमिका निभाए।

मधेश र पहाडको मिलनविन्दुमा हुर्किएका र मधेशी समाजलाई राम्ररी बुझेका उनलाई अभिनय क्षेत्रमा आधिकारिक खुट्किला टेक्ने–टेक्ने बेला निर्देशक रमेश बुढाथोकीले एउटा टेलिशृंखलामा मधेशी चरित्रमा अभिनय गर्न प्रस्ताव गरे। उनले सहजै स्वीकारे। टेलिशृंखलाको नाम ‘राप’ थियो। खेले उनले रामविलासको भूमिका लिएर।

मधेशी चरित्रलाई आत्मसात गर्न सक्ने खुबी उनमा देखेपछि डा.  ध्रुवचन्द्र गौतमले तराईकै परिवेशमा लेखेका कथावस्तुमा आधारित अर्को टेलिशृंखलामा पनि उनले भूमिका पाए। त्यस टेलिशृंखलामा उनले शिक्षकको भूमिका निर्वाह गरे। भन्छन्, ‘तत्कालीन समय टेलिशृंखलाहरूमा खेल्ने तराई मूलका कलाकारहरू थिएनन् र मैले नै त्यस्तो भूमिका निभाउने अवसर पाएँ।’

एक–दुई टेलिशृंखलामा मधेशी चरित्र निर्वाह गरेपछि त उनलाई सोही चरित्रमा खेलाउनेहरूको ताँती नै लाग्न थाल्यो। भन्छन्, ‘पछि त मलाई मधेशी चरित्रमा नै खेलाउन सबैले सहज मान्न थाले।’

पछिल्लो समय मधेशी चरित्र निर्वाह गर्ने धेरै कलाकार आइसकेका छन्। त्यसमा मधेशी समुदायकै कलाकारहरू पनि छन्। उनी भने मधेशी समुदायका कलाकारहरूको उपस्थिति नरहेका बेला मधेशी चरित्रमा उत्रिएका थिए।

टेलिशृंखलामा जम्नुअघि उनले रङ्गमञ्चमा कला–कौशल देखाइसकेका थिए। लालगढबाट विद्यालय तहको अध्ययन सिध्याएपछि उच्च अध्ययनका निम्ति काठमाडौं आए, २०३७ सालको जनमतसंग्रहलगत्तै। भर्ना भए, नेपाल ल क्याम्पसमा। कानूनका विद्यार्थी उनी। कानून क्षेत्रमा लागेका भए अहिले अधिवक्ता वा न्यायाधीश भइसक्थे होलान्। तर लागे कलाकर्मतिर। अदालतको बेञ्चमा बसेर बहस गर्न वा फैसला सुनाउनभन्दा सामाजिक जनजीवनका अनेक मुद्दाहरूमाथि बहस गर्नतिर आफूलाई उद्यत तुल्याए। कहिले डबलीमा उत्रिएर, कहिले ठूला–साना पर्दाहरूमा देखिएर। आजपर्यन्त निरन्तर छ यस्तो बहसको उपक्रम।

२०३७ सालमा काठमाडौं भित्रिएका उनले कानूनको अध्ययनसँगै कलाकर्मलाई पनि पछ्याइरहे। भन्छन्, ‘कानून पढे पनि रुचि भने कलामै थियो मेरो। काठमाडौं आएपछि कलाकर्ममा जम्ने धेरै आधार बने।’

कानूनको अध्ययनसँगै उनले अभिनयको तालिम पनि लिँदै गए। त्यही समय केही संघसंस्थाले नाटकका लागि आह्वान गरेपछि उनले अभिनयका साथै नाट्य निर्देशनतिर पनि आफूलाई केन्द्रित तुल्याउँदै लगे।

काठमाडौंमा खेलेको पहिलो नाटक थियो– ‘सत्य वचन’। निर्देशन गरेका थिए, कुमार दर्शनले। नेपाल कलाकार संघ नामक संस्थाले त्यति बेला नाटक अभिनयसम्बन्धी तालिम पनि दिन्थ्यो। उनले प्रख्यात निर्देशक मुकुन्दकिशोर भट्टराईबाट अभिनय कला सिक्ने मौका पाए, त्यस्तै ४–५ महीनाजति। त्यसपछि उनले कलाक्षेत्रबाट अन्यत्र ध्यान मोड्न चाहेनन्।

‘देवी’को श्रीराम बाजे

उनले अभिनय यात्रा थाल्दा सिनेमाहरू कमै बन्थे। तर टेलिशृंखलाहरू भने संख्यात्मक रुपमा धेरै बन्थे र टेलिशृंखलामार्फत् हरेकका घरघरमा पुग्नुका साथै चिनारी पनि बन्थ्यो। भन्छन्, ‘टेलिशृंखलाको लोकप्रियताका कारण त्यसप्रति आकर्षण बढ्यो र त्यसयता अहिलेसम्म निरन्तर रुपमा खेल्दै आइरहेको छु।’

खेल्न त उनले अढाई सयको हाराहारीका टेलिफिल्म खेलिसकेका छन्। प्रसिद्धि दिलायो, ‘देवी’ले। लामो एपिसोडमा निर्मित ‘देवी’मा उनले श्रीराम बाजेको भूमिकामा अभिनय गरेका थिए। भन्छन्, ‘यो टेलिशृंखला निकै लोकप्रिय भयो। मलाई अहिले पनि श्रीराम बाजेकै रुपमा चिन्छन्।’

वर्तमानका टेलिशृंखलाहरू ‘राम्रै’ भएको उनको निचोड छ। तर पहिला–पहिलाका जस्तो आकर्षणमा भने कमी आउँदै गरेको ठान्छन्। भन्छन्, ‘पहिला एक–दुइटा टेलिशृंखला बन्थे र दर्शकहरूले अरूमाध्यम नभएका हुँदा खुबै मन पराउँथे। अब भने दर्शकहरूका निम्ति पनि हेर्नेमाध्यम धेरै भए। किनभने टेलिभिजन र युट्युब च्यानलहरू धेरै खुलिसके र धेरै सिरियलहरू बन्न थाले।’

सिरियल खेलेर बाँच्नै गाह्रो

विकसित मुलुकहरूमा एउटा–दुइटा टेलिसिरियलमा अभिनय गर्दा कलाकारहरूको आर्थिक अवस्थाले चुली नै टेक्छ। उनीहरूका निम्ति सुविधासम्पन्न जीवनशैली बिताउने आधार तय हुन्छ। छिमेकी मुलुक भारतकै टेलिभिजन च्यानलहरूबाट प्रसारण हुने टेलिसिरियलमा पनि अभिनय गर्ने कलाकारहरूको आर्थिक स्थिति मजबुत छ। तिनीहरूले करोडौंको बंगलामा आराम गर्ने र महँगा कारमा सयर गर्ने हैसियत राख्छन्।

गजुरेलको चाहिँ ? आर्थिक रुपमा खासै चित्त बुझाउने ठाउँ छैन। भन्छन्, ‘एउटा एपिसोडमा खेलेबापत केही हजार पाइन्छन्। त्यतिले काठमाडौंमा कसरी टिक्न सकिन्छ र ? धेरै गाह्रो छ। जसले निर्माण गरेको हो, उनीहरूलाई केही फाइदा त होला तर हामीजस्ता कलाकारलाई खासै केही छैन।’

आत्मसन्तुष्टिले नै उनलाई कलाक्षेत्रमा टिकाइरहेको छ, आजपर्यन्त। भन्छन्, ‘पारिश्रमिकको नाममा नितान्त थोरै रकम लिएर केही हुँदैन। मैले कलाक्षेत्रको निरन्तरताको रुपमामात्र लिएको छु। पहिलादेखि यही क्षेत्रमा लागियो, हराउनु भएन भन्ने ठानेरमात्र अभिनय गर्दै आएको छु।’

न कुनै जागिर, न काठमाडौंमा घर। तर पनि उनले अनेक असहजतालाई चिर्दै अभिनय कर्ममा आफूलाई लीन तुल्याइरहेका छन्, दशकौंयता। कुनै समय उनले दुई ठाउँमा जागिर पनि गरे तर अल्पकाल। एउटा, स्थानीय विकास मन्त्रालयमा ज्यालादारीमा र अर्को, नारायणी अञ्चल सिँचाइ विकास समितिमा। भन्छन्, ‘नाटकमा अभिनय गर्न विभिन्न ठाउँमा पुग्नुपर्ने भएको हुँदा जागिरलाई निरन्तरता दिन सकिएन।’

हुन पनि, कतिपय कार्यालय–प्रमुखले ‘यो कलाकार हो, यसलाई अभिनयका लागि पनि समय दिनुपर्छ’ भन्थे। कुनै कार्यालय–प्रमुखले भने निकै च्यापेर भन्थे, ‘कार्यालयमा १०–५ सम्म त बस्नुपर्‍यो नि !’ यिनै कारण उनले जागिरलाई निरन्तरता दिन सकेनन्।

‘हामीजस्तामानिसलाई घरभाडा तिरेर जीवनयापन गर्न एकदमै गाह्रो छ।’ काठमाडौं आएदेखि नै भाडामा सपरिवार बस्दै आएका उनले आफ्नो पीडा व्यक्त गर्दै भने। हुन पनि, पुरानो बानेश्वरस्थित एउटै घरमा उनी बितेको २७ वर्षदेखि भाडामा बस्दै आएका छन्। त्यो पनि एउटै कोठामा। फ्ल्याटमा बस्नेसमेत हैसियत बनेको छैन उनको अहिलेसम्म।

निश्चय नै, एक कलाकर्मीले जुनसुकै चरित्रलाई पनि अँगाल्नुपर्छ। समाजका अनेक चरित्र। यो वा त्यो भन्ने छुट हुँदैन। कुनै बेला सानो पर्दामा श्रीराम बाजेको प्रभावशाली भूमिकामा उभिएका उनी अचेल भने ‘कथालेमागेअनुसार’ कागे डनका रुपमा हाजिर भएका छन्। बिल्कुलै फरक रुपरङ्गमा। र त, चुनावमा उठेका ‘कागे डन’ले चुनाव चिह्न पाएका छन्– ‘बन्दुक’। साँच्चै ‘बन्दुक’ बोकेर घर–घरमा भोटमाग्दै हिँड्दा मतदाताहरूमा कस्तो मनोविज्ञान देखिएला ? अवश्य नै, यो वर्तमान राजनीतिको कटु यथार्थ हो।


Comment

One thought on “ती श्रीराम बाजे, यी कागे डन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved