कला–जगत्

पेन्टिङमा सांस्कृतिक जीवनको खोजी

प्रख्यात भारतीय कलासर्जक तैयव मेहताले ‘महिषासुर’ लाई अनेक विम्बमा उभ्याएजस्तै चित्रकारले पनि देवीदेवताका वाहनलाई त्यसरी नै उतार्ने ध्येय अँगालेका छन्। भन्छन्, ‘नाम छोपिदिने हो भने कुनै विदेशी कलाकारले बनाएका चित्र र नेपालीले बनाएको चित्रमा समानता देखिन्छ। त्यसलाई मेटाउन मैले नेपाली संस्कृतिमा आधारित चित्र शृङ्खला बनाउने सोच बनाएको हुँ।’

पेन्टिङमा सांस्कृतिक जीवनको खोजी

जीवन–यात्राको साढे सात दशकमा हिँड्दैछन्, वरिष्ठ कलासर्जक मदन चित्रकार। थुप्रै बिसौनीहरू पार गर्दै उपल्लो देउरालीमा पुगिसक्दा पनि थकानको कुनै संकेत देखिँदैन उनमा। उमेर ढल्किँदै गएर के भो र ! उनी चित्रकलामा नयाँ–नयाँ प्रयोग र शिल्प पोख्न तल्लीन देखिन्छन् सदैव।

पछिल्लो समय सिर्जना आर्ट कलेजमा अध्यापनमा समय दिएका उनले केही समयपूर्व अध्यापन कार्य छाडे। भन्छन्, ‘अब त उमेर पनि ढल्किँदै गयो। नयाँ पुस्ताले ज्ञान बाँडुन् भन्ने लाग्यो।’ अध्यापन पेसाबाट टाढिए पनि सुस्ताएका भने छैनन्। चित्रकलामा नयाँ प्रयोग र शैलीलाई पछ्याउन लागिपरेकै छन्।

काठमाडौँको भित्री सहर असनस्थित बासस्थलमा बिहान उठेदेखि बेलुकीसम्मै उनी सिर्जनकर्ममा रमाइरहन्छन्।
हिन्दू धर्म र संस्कृति समृद्ध हुँदाहुँदै पनि अतिरञ्जित मिथकको टेकोमा उभिएका छन्। धर्मले सिर्जना गरेका अनेक देवीदेवताका वाहनस्वरुप अनेक मिथकीय जीवजन्तुहरू छन्।

जस्तैः लक्ष्मीको वाहन हाँस र शिवको वाहन साँढे। यी मिथकाधारित जीवजन्तुहरूले नेपाली कलामा भने जीवन्त रूप नपाइरहेको महसुस गरे उनले। केही समययता उनी तिनै वाहनरूपी जीवजन्तुलाई क्यानभासमा जीवन्त तुल्याउन अहोरात्र खटिइरहेका छन्।

प्रख्यात भारतीय कलासर्जक तैयव मेहताले ‘महिषासुर’ लाई अनेक विम्बमा उभ्याएजस्तै चित्रकारले पनि देवीदेवताका वाहनलाई त्यसरी नै उतार्ने ध्येय अँगालेका छन्। भन्छन्, ‘नाम छोपिदिने हो भने कुनै विदेशी कलाकारले बनाएका चित्र र नेपालीले बनाएको चित्रमा समानता देखिन्छ। त्यसलाई मेटाउन मैले नेपाली संस्कृतिमा आधारित चित्र शृङ्खला बनाउने सोच बनाएको हुँ।’

चित्रकारिता विरासतमै पाए उनले। बुबा तेजबहादुर चित्रकार प्रख्यात चित्रशिल्पी। राणाकालीन समयमै आधुनिक कलामा स्नातक गरेका तेजबहादुरलाई ‘आधुनिक कलाका पहिलो स्नातक’ मानिन्छ। तत्कालीन समय नेपालमा चित्रकलासम्बन्धी अध्ययन गर्ने कुनै शिक्षालय थिएनन्। त्यही भएर तेजबहादुरले कलकत्ताबाट स्नातक गरे।

त्यो बेला युरोपले आधुनिक चित्रकलाको नेतृत्व लिइरहेको थियो। प्रभाव विस्तार हुँदै थियो, छिमेकी भारतमा पनि। कलकत्तामा पढेका तेजबहादुरको अध्ययन र चित्रकलामा त्यसकै छाप प¥यो, सघन रुपमा। उनीभन्दा पूर्ववर्ती पुस्ताका कलासर्जकहरू केवल धर्ममा आधारित पौवा चित्रमा मात्र दख्खल राख्थे। चित्रकार भन्छन्, ‘कलालाई धर्मको संसारबाट मानव कलामा उतार्ने कार्यमा मेरा पिताजीले उल्लेख्य भूमिका खेल्नुभयो।’

घरायसी वातावरण पूरै चित्रकलामय। अमर चित्रकारजस्ता मूर्धन्य शिल्पी उनका पिताकहाँ चित्रकला सिक्न आइरहन्थे। घरमा कलासर्जकहरूको बाक्लो जमघट हुँदा र पिताले पनि शिष्यहरूलाई स्नेहपूर्वक चित्रकलाको संसारबारे परिचित गराइरहँदा उनलाई पनि बिस्तारै तान्दै लग्यो, यो विधाले।

 

सानैदेखि प्रभावित

घरायसी वातावरण पूरै चित्रकलामय। अमर चित्रकारजस्ता मूर्धन्य शिल्पी उनका पिताकहाँ चित्रकला सिक्न आइरहन्थे। घरमा कलासर्जकहरूको बाक्लो जमघट हुँदा र पिताले पनि शिष्यहरूलाई स्नेहपूर्वक चित्रकलाको संसारबारे परिचित गराइरहँदा उनलाई पनि बिस्तारै तान्दै लग्यो, यो विधाले।

परिवारको इच्छा भने उनलाई चित्रकलाको विशाल मैदानमा प्रवेश गराउने थिएन। अरू नै विषय अर्थात् विज्ञान विषय लिएर अध्ययन गरोस् भन्ने चाहना थियो पिताको। नभन्दै पिताको चाहनालाई शिरोधार्य गर्दै उनले विज्ञान विषय लिई अध्ययन गर्न थाले। उच्च अध्ययनको क्रममा विज्ञान विषय लिए पनि उनले अपेक्षाकृत रुपमा सफलता भने पाउन सकेनन्।

त्यसपछि पछ्याए, पिताकै पद्चिह्न। सन् १९६२/०६३ तिर ललितकलासम्बन्धी अध्ययन गर्न सोझिए, बम्बैको जे.जे. स्कुल अफ आर्ट कलेजतिर। उनी सँगै गएका थिए– अघिल्लो पुस्ताका चर्चित कलासर्जकहरू शशि शाह, वत्सगोपाल वैद्य, रामानन्द जोशी पनि। समकालीन भारतीय चित्रकलामा स्थापित अचेलका बम्बैबासी लक्ष्मण श्रेष्ठ भने उनीभन्दा कनिष्ठ हुन्। भन्छन्, ‘हामी सबै बम्बैमा पढेर नेपाल फर्कियौँ, लक्ष्मण भने उतै बसेर संघर्ष गर्न थाले र उनी उतै स्थापितसमेत भए।’

त्यसो त बम्बै गएर चित्रकला सिक्ने हुट्हुटी उनमा यति तीव्र थियो कि, तत्कालीन समय १६ वर्ष नपुगी भारतमा चित्रकला विषय पढ्न पाइँदैनथ्यो। उनी भने उमेर ढाँटेर मुम्बई गए।

जे.जे. स्कुल अफ आर्टमा चार विषयमा अध्ययन हुन्थ्यो– पेन्टिङ, ग्राफिक्स आर्ट, आर्किटेक्चर र प्रिन्टिङ। भन्छन्, ‘मेरा पिताजीले नेपाली कलामा नयाँ आयाम ल्याएको हुँदा मलाई पनि नयाँ आयाम भित्र्याउन रहर लाग्यो र बम्बैमा कलाका विभिन्न आयामहरू देखेँ र त्यसलाई पछ्याएँ।’

बम्बैबाट ग्राफिक कम्युनिकेशनमा स्नातक गरेका उनलाई अध्ययनको सुरुवाती दिनहरूमा नयाँ र आधुनिक बम्बैमा भिज्न केही समय लाग्यो नै। छात्रवृत्ति पाएर अध्ययन गर्न गएका उनीलगायत विद्यार्थीले छात्रवृत्तिस्वरुप २ सय रुपियाँ मात्र पाउँथे। एक पटक भने भारतका तत्कालीन राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनले छात्रवृत्ति रकम कम भएको ठानेर ५० रुपियाँ बढाइदिन निर्देशन दिए। भन्छन्, ‘हामीले सीमित रकममा जीवन चलाएर पढ्नुपर्थ्यो।’

स्नातक तह सिध्याएपछि उनी बम्बैकै एउटा संस्थामा ‘जागिरे’ भए। करिब ६ महिनाजति काम गरेपछि काठमाडौँ फर्किने रकम जोहो भयो र उनी देशभित्रै आफूले सिकेको ज्ञान र सिपलाई सदुपयोग गर्ने संकल्प बोकेर फर्किए। भन्ने बित्तिकै कहाँ काम पाइन्थ्यो र ! डेढ वर्ष त्यत्तिकै रल्लिएर बसे। आफूले अध्ययन गरेको विषयअनुरूपको काम पनि पाउनु पर्यो !

डेढ वर्षको निरर्थक बसाइपछि उनले प्रचार तथा प्रसार मन्त्रालय मातहतको प्रचार विभागमा काम पाए। तर ज्यालादारीमा। तत्कालीन सञ्चार मन्त्री वेदानन्द झाको कृपाले। कस्तो रमाइलो भयो भने, तत्कालीन मन्त्री झालाई भेट्न उनी मन्त्रालयमा पुगे, एकदिन। मन्त्री झाले एउटा पुस्तक लेखेका रहेछन् र त्यसको आवरणकला सिँगार्ने मानिस खोजिरहेका छन्। चित्रकारले आफूले अध्ययन गरेको विषयदेखि जागिरसम्मका कुरा राखेपछि झाले तत्काल भने, ‘मलाई एउटा पुस्तकको आवरण बनाइदिनुस् न।’

भन्छन्, ‘मैले २–३ दिनको समय लिएर मन्त्रीले भनेको पुस्तकको आवरण बनाइदिएँ। त्यसपछि बल्ल मैले ज्यालादारीमा काम पाएँ।’
त्यो समय प्रचार विभागमा उत्तम नेपाली र दुर्गाप्रसाद श्रेष्ठ पनि कार्यरत थिए। नेपालीले जीवनभर चित्रकलालाई नै अपनाए। दुर्गाप्रसादले भने ‘उदय’ नामक साहित्यिक पत्रिका निकाले लामो समय। भन्छन्, ‘मेरो इलुस्टे«सन राम्रो थियो र मेरो कामलाई सबैले मन पराउँथे।’

प्रचार विभागमा उनको दरबन्दी थिएन, ज्यालादारीमा काम गरिरहेका थिए। मासिक ४ सय ७५ रुपियाँ तलब भए पनि एक वर्षसम्मको त तलब नै पाएनन् उनले। पछि उनी बिमारी परे र विभागबाट एकमुष्ट १६–१७ महिनाकै तलब आयो। भन्छन्, ‘त्यति धेरै रकम एकै पटक आएपछि मैले सुन किन्ने निर्णय गरेँ र करिब १०–१२ तोला नै सुन किनेँ।’

केही समय जनकशिक्षामा

२०२६ सालको कुरा। जनक शिक्षा सामग्री केन्द्रमा कार्यरत केशव दवाडीले जागिर छाडेका रहेछन् र रहेछ त्यो ठाउँ खाली। उनी जनकशिक्षामा आबद्ध भए र बाल पुस्तकहरूमा चित्र कोर्न थाले।

उनले जनकशिक्षामा आफ्नो सिप पोख्न थालेको दुई वर्षपछि नै नयाँ शिक्षा योजना लागु भयो, २०२८ सालमा। त्यही बेला उनले कार्टुनाइज शैलीका चित्र बनाउन थाले। भन्छन्, ‘कार्टुनाइज शैलीको चित्र बनाउन मैले नै थालनी गरेको हुँ। त्यसअघि नेपालमा त्यस्तो शैली भित्रिएकै थिएन।’

समाजभित्रका अनेक पात्रहरूलाई उनले कार्टुनमा उतार्न थाले। मिस्टर सिंह, मिस्टर गुरुङलाई पाइलट बनाएर कार्टुनमा उतारे। भन्छन्, ‘समाजका विभिन्न पात्रहरूलाई उभ्याउँदा रमाइलो लाग्थ्यो।’

करिब नौ वर्ष जनकशिक्षामा कार्यरत रहेपछि उनले त्यो संस्था छाडे। अरू केही कारण थिएन, उक्त संस्था कम्पनीमा जाने भएपछि छाडेका थिए।

जनक शिक्षापछि उनको पाइला पर्यो, पर्यटन विभागतिर। विभागको काम के नै हुन्थ्यो र ! त्यति बेला पर्यटकहरूलाई नेपाल चिनाउन कमसल खाले न्युज पेपरमा जिंक ब्लक बनाएर पशुपतिनाथको चित्र राखेर प्रचार सामग्रीहरू तयार पारिन्थ्यो। उनलाई कमसल कागजमा प्रचार सामग्रीहरू छापिएको मन परिरहेको थिएन। भन्छन्, ‘मैले चिल्लो कागजमा प्रचार सामग्रीहरू छाप्नुपर्छ भन्ने कुरा उठाएँ तर कमिसनको लोभले कमसल कागजमा मात्रै छापिन्थ्यो।’

निराश भइसकेका थिए उनी, पर्यटन विभागको काम देखेर। पछि भने नयाँ विभागीय प्रमुख आए र उनीसामु उनले आफ्नो कुरा राखे। कमिसनको चक्करमा लागेकाहरू उनीविरुद्ध खनिन थाले। एक पटक त उनको नामै मुछेर टेलिभिजन हराएको खबर व्यापक तुल्याए। ‘मदन चित्रकारको कोठाबाट टेलिभिजन हरायो, यो उनकै काम हो’ समेत भन्न थाले विरोधीहरूले।

दशरथ रङ्गशालामा थियो विभागको कार्यालय। टेलिभिजन थियो उनकै कोठामा। र, एकदिन हरायो। जापानबाट ल्याइएको २२ इञ्चको टेलिभिजन हराएपछि खैलाबैला मच्चिनु स्वाभाविकै थियो। पछि चोर फेला परेपछि उनीविरुद्ध प्रचारबाजी गर्ने कमिसनखोरहरूको मुखमा ताल्चा लाग्यो।

२०५३ सालसम्म उनी पर्यटन विभागमा रहे। भन्छन्, ‘नेपालको पर्यटन क्षेत्रका प्रचार सामग्रीहरूको जग राख्ने काम मैले गरेँ।’

दशरथ रङ्गशालामा थियो विभागको कार्यालय। टेलिभिजन थियो उनकै कोठामा। र, एकदिन हरायो। जापानबाट ल्याइएको २२ इञ्चको टेलिभिजन हराएपछि खैलाबैला मच्चिनु स्वाभाविकै थियो। पछि चोर फेला परेपछि उनीविरुद्ध प्रचारबाजी गर्ने कमिसनखोरहरूको मुखमा ताल्चा लाग्यो।

जागिरले अल्मलायो चित्रकलालाई

जागिरे जीवनमा सधैँ व्यस्त रहनुपर्दा उनले आफ्नो सिर्जनशील धरातललाई नाप्न पाएनन्। सधैँ कार्यालय र घरबीचको दौडधुप। मन–मस्तिष्क कुनै राम्रो आर्ट सिर्जना गर्नेतिर डोरिएन। भन्छन्, ‘जागिरे जीवनबाट अवकाश पाएको भोलिपल्टदेखि नै मैले चित्रकलालाई निरन्तरता दिएँ र आर्टसम्बन्धी लेख र अनुभवहरूसमेत लेख्न थालेँ।’

उनको चित्रकलामा घनीभूत रुपमा आउँछन्– सांस्कृतिक जीवनका अनेक आयामहरू। उनले एउटा चित्रको शीर्षक दिएका छन्, ‘अ ओरिजेन अफ फिसेज’। नेवार समुदायका हरेक पूजामा अष्टमंगलको पूजा हुन्छ र हरेक मन्दिरहरूमा अष्टमंगललाई झुन्ड्याइएका हुन्छन्। भन्छन्, ‘यसलाई मैले संस्कृतिको एउटा विम्बको रुपमा उभ्याएको हुँ।’

संस्कृतिको उत्तम पक्षलाई अंगीकार गर्ने एउटा कुरा। कतिपय संस्कृतिसँगै अन्धविश्वास पनि जोडिएर आएका हुन्छन्। ‘अव्यक्त’ शीर्षकको अर्को चित्रमा उनले नेवार समुदायभित्रको एउटा अन्धविश्वासलाई उजागर गर्ने प्रयत्न गरेका छन्। भन्छन्, ‘नेवारहरूले रातो र सेतो धागो लगाउँछन्। त्यस्तो धागो किन लगाइन्छ भन्ने कुरा धेरैलाई थाहा नै छैन। त्यो वस्त्र हो वा प्रतीक हो ? यो कुरामा अनभिज्ञ हुँदाहुँदै पनि अन्धविश्वासपूर्ण तरिकाले लगाउने गरेका छन्।’

प्रदर्शनीमा पनि सक्रिय

एकजना कलासर्जकको कला–यात्रामा प्रदर्शनीले अत्यन्तै गहन अर्थ राख्छ। किनभने प्रदर्शनी त्यस्ता कलासर्जकहरूको कला आमजनमा पुग्ने माध्यम पनि हो।

२०३२ सालमा उनको पहिलो प्रदर्शनी भयो। उनले २१ वटा कला–सिर्जनाहरू राखेका थिए। उनको ‘स्तुपाज’ शीर्षकको चित्र अरू चित्रभन्दा केही महँगो थियो– ठ्याक्कै चार सय रुपियाँ। र, कम मूल्यको थियो, दुई सय रुपियाँको।

काठमाडौँ उपत्यकाका सांस्कृतिक धरोहरहरूलाई कलामा उतारेका उनले त्यो बेला कीर्तिपुर, सूर्यविनायक, दत्तात्रेय, मञ्जुश्री, हलचोकका चित्रहरू प्रदर्शनीमा राखेका थिए। प्रथम प्रदर्शनीमा उनले अपार सफलता पाए। २१ थानै चित्र बिक्री भए। भन्छन्, ‘एक्जिविसनमा राखिएका चित्रहरू बिक्री भएपछि मैले नबेच्ने भनेर घरमा राखेका चित्रहरूसमेत बेच्नुपर्‍यो। मेरो सफलता देखेर अरू चित्रकारहरू पनि हौसिन पुगे।’

करिब आधा शताब्दीअघि चार सयको मूल्य टाँगेर प्रदर्शनीको थालनी गरेका उनले पछिल्लो समय एउटा चित्रको मूल्य राखे– ८० हजार। भन्छन्, ‘नेपाली चित्रको मूल्य औसत नै छ। मैले ३ वटा चित्र २ लाख रुपियाँसम्ममा बेचेको छु।’

कला सिर्जनाबाहेक नेपाली कलासम्बन्धी पुस्तक पनि लेखेका छन् उनले। ‘नेपाली पेन्टिङ ; थ्रो द एज’ उनको प्रसिद्ध कृति हो। भन्छन्, ‘मैले यो किताब लेख्न पूरै चार वर्ष लगाएँ।’

हामीकहाँ आधुनिक चित्रकलाको जग बसाल्ने श्रेय उनलाई पनि जान्छ। नेपाली कलालाई परम्परागत ओढारबाट निकालेर आधुनिकताको खुला परिवेशमा उतार्ने केही कलासर्जकमा उनको पनि भूमिका रहेकोमा कुनै सन्देह छैन।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved