साहित्य

पाण्डुलिपि अलपत्र- सालिक सर्वत्र

स्रष्टा–सर्जकहरूको सालिक निर्माण गर्नुलाई अन्यथा ठान्न मिल्दैन। तर, सालिक निर्माणसँगै ती स्रष्टाहरूका पाण्डुलिपि अलपत्र छन् कि वा आम पाठकबीच आइपुगेका छैनन् कि ? यो पक्षतिर भने कम प्रयत्न भएको हो कि भन्न आभास हुन्छ।

पाण्डुलिपि अलपत्र- सालिक सर्वत्र

काठमाडौँ उपत्यकाको पूर्वी–उत्तरी भेगका साहित्य, कला, संस्कृति क्षेत्रका अनुरागीहरू प्रातःस्मरणीय रमेश विकलप्रति धेरै आदर र अनुराग राख्छन्।

नेपाली साहित्य, मूलतः आख्यान विधामा शिखर स्थान बनाएका विकलका कालजयी रचना पढेर हुर्किएका हुन्, अहिलेका पुस्ता। पूर्ववर्ती र वर्तमान दुवै पुस्ताका निम्ति आजपर्यन्त प्रिय छन्, विकल।

दशकयता विकलको साहित्यिक योगदानलाई अक्षुण्ण राख्ने हेतुस्वरुप त्यो भेगमा तीन वटा सालिक स्थापित भए। दुइटा विकलको एक्लै र एउटा महाकवि लक्ष्मीप्रसाद देवकोटा र त्यही भेगका अर्का प्रखर व्यङ्ग्य–साधक एवं नेपाली व्यङ्ग्य–साहित्यका धरोहर भैरव अर्यालसहित।

आरुबारीस्थित पुर्ख्यौली घरको प्राङ्गणमा विकलको पूर्ण कदको सालिक स्थापित छ। नजिकैको बेंसीगाउँस्थित नेपाल मेडिकल कलेज जाने बाटोको एउटा चोकलाई ‘रमेश विकल चोक’ नामकरण मात्र गरिएको छैन र त्यो ठाउँमा पनि उनको एउटा सालिक राखिएको छ। कागेश्वरी–मनोहरा नगरपालिकाको आलापोटमा उनीसहित महाकवि देवकोटा र भैरव अर्यालको सालिक स्थापित छ।

स्रष्टा-सर्जकहरूको सालिक परिवारका सदस्यहरूको पहल र साहित्य अनुरागीहरूको प्रयत्नमा स्थापित हुनु सुखद् पक्ष हो। भाषा, साहित्य, वाङ्मयसेवीहरूलाई सम्मान गर्ने यो एउटा राम्रो काइदा पनि हो। कुनै समाजले वाङ्मयसेवीहरूलाई कसरी स्मरण गरेका छन् भन्ने यो उत्तम दृष्टान्त पनि हो।

स्रष्टा–सर्जकहरूको सालिक निर्माण गर्नुलाई अन्यथा ठान्न मिल्दैन। तर, सालिक निर्माणसँगै ती स्रष्टाहरूका पाण्डुलिपि अलपत्र छन् कि वा आम पाठकबीच आइपुगेका छैनन् कि ? यो पक्षतिर भने कम प्रयत्न भएको हो कि भन्न आभास हुन्छ।

स्रष्टा-सर्जकहरूको सालिक परिवारका सदस्यहरूको पहल र साहित्य अनुरागीहरूको प्रयत्नमा स्थापित हुनु सुखद् पक्ष हो। भाषा, साहित्य, वाङ्मयसेवीहरूलाई सम्मान गर्ने यो एउटा राम्रो काइदा पनि हो। कुनै समाजले वाङ्मयसेवीहरूलाई कसरी स्मरण गरेका छन् भन्ने यो उत्तम दृष्टान्त पनि हो।

स्रष्टा विकलकै कुरा गर्दा उनले कम्तीमा पनि पाँच दर्जन साहित्य कृति नेपाली समाजलाई सुम्पिइसकेका छन्। २०१८ सालमै कथाकृति ‘नयाँ सडकको गीत’ लाई पाण्डुलिपि अवस्थामै मदन पुरस्कार दिइएको थियो।

मदन पुरस्कार पाउने चार कथाकृतिमध्ये विकलको सो कृति पहिलो हो। सन् २००८ मा दिवङ्गत भएका विकलका ४ वटा अप्रकाशित कृति उनको निधनपछि पारिवारिक प्रयत्नमा प्रकाशित भए। उनका सुपुत्र कथाकार विजय चालिसेका अनुसार कथा, व्यङ्ग्य, नाटक, बालकथासमेत गरी अझै नौ वटाजति कृतिका पाण्डुलिपि छन्।

चालिसे भन्छन्, ‘हास्यव्यंग्यको सँगालो प्रकाशन गर्ने भनी माणिकरत्नजी (माणिकरत्न शाक्य) ले लैजानुभएको छ, अरू कृति प्रकाशनका लागि प्रकाशकहरूलाई भनिरहेका छौँ तर प्रकाशकहरूको कम चासो रहेको पाइरहेका छौँ।’

पुर्ख्यौली घरमा रहेको पूर्ण कदको सालिक बनाउन १२ लाख खर्च लागेको सुपुत्र चालिसेको भनाइ छ। त्यत्तिकै छन्, पाण्डुलिपिहरू पनि। सो भेगका साहित्य अनुरागीहरूले सालिक बनाउने चासो त देखाए तर पाण्डुलिपिलाई बाहिर ल्याउने विषयमा भने अधिकांशको चासो गएन। चालिसे भन्छन्, ‘बुबाको अप्रकाशित किताब प्रकाशन गर्न प्रयत्नरत छौँ र अर्को महत्त्वपूर्ण कुराचाहिँ उहाँका सम्पूर्ण रचनाहरूको ग्रन्थावली निकाल्ने योजनामा पनि रहेका छौँ हामी।’

बितेको भदौको तेस्रो साता मकवानपुरका साहित्य–सर्जक एवं अनुरागीहरूको पहलमा हेटौँडामा ठडिए– प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष एवं साहित्यकार श्यामप्रसाद शर्माको प्रतिमा। शर्माको नाममा स्थापित स्मृति प्रतिष्ठानले हेटौँडास्थित गुम्बाडाँडामा शर्माको सालिक स्थापना गर्नुका साथै स्मृतिपार्क पनि बनाएको छ। कुनै स्रष्टाको नाममा स्मृतिपार्कसँगै प्रतिमा बनाइएका विरलै घटनामध्ये यसलाई एउटा मान्न सकिन्छ। अझ प्रगतिशील वृत्तमा त झनै कम छन्।

बागमती प्रदेश सरकारले १५ लाख छुट्टाइदिएपछि प्रतिष्ठानको पहलमा शर्माको नाममा स्मृतिपार्क र उनको अर्धकदको सालिक बनाइएको प्रतिष्ठानका सचिव सुवास खनाल बताउँछन्। एक कट्ठा जग्गामा निर्मित पार्क र सालिक स्थापना गरेर अग्रज स्रष्टाप्रति सम्मान जनाउनु सकारात्मक पक्ष हो।

मकवानपुरको माटोमा जन्मिएका शर्माप्रति आफ्नो जन्मभूमिका साहित्य अनुरागीहरूले गरेको योजति ठुलो सम्मान अरू के हुन सक्छ ? यो निकै सकारात्मक पाटो त हुँदै हो। शर्माको साहित्यिक योगदानलाई सदा चिरस्थायी राख्न सालिक निर्माण गर्नु वा स्मृतिपार्क स्थापना गर्नु एउटा स्रष्टाप्रतिको साँचो र उच्च सम्मान पनि हो।

यति सकारात्मक कार्यप्रति साधुवाद अर्पण गर्दागर्दै पनि एउटा प्रश्न भने शर्माका अनुयायीहरूसामु उठाउनुपर्ने देखिन्छ। त्यो हो– शर्माका सिर्जनाहरू नयाँ पुस्ताका पहुँचमा पुगेका छन् कि छैनन् ? जीवनकालमा शर्माले आफ्ना रचनाहरू कुनै ठुला कृतिका रुपमा र अधिकांशचाहिँ पुस्तिकाका रुपमा निकाले।

सर्वसाधारण पाठकहरूले पनि किन्न सकुँन भन्ने उद्देश्यले पुस्तिका आकारका थुप्रै पुस्तक प्रकाशित भए। पछिल्लो समय भने शर्माका पुस्तक-पुस्तिकाहरू बजारमा कमै पाइन्छन्। अझ नितान्त पछिल्लो पुस्ताले त शर्माको नाम सुने पनि उनका रचनाहरूसँग प्रत्याक्षानुभूति गर्न पाएका छैनन् भन्ने अनुमान लगाउन सकिन्छ।

यति हुँदाहुँदै पनि मकवानपुरका स्रष्टाहरूले भने शर्माको साहित्यिक योगदानलाई मेटिन नदिन केही उल्लेख्य कार्यहरू भने गरेका छन्। खासगरी, प्रतिष्ठानको पहलमा शर्माको कालजयी निबन्धकृति ‘तँ, तिमी, तपाईँ, हजुर’ का साथै अरू ६ वटा पुस्तक प्रकाशित भइसकेका छन्।

पछिल्लो समय शर्माको स्मृतिग्रन्थ पनि निस्किएको छ। हेटौँडा उपमहानगरपालिकालाई गुहारेपछि हेटौँडा बसपार्कको दक्षिणतिर अवस्थित टोनी हेगन पार्कनजिकै पौने आठ धुर जग्गासमेत प्राप्त भएको छ। प्रतिष्ठानका सचिव खनाल भन्छन्, ‘हामीले त्यो जग्गामा भवन निर्माण गरेर शर्माको स्मृतिलाई जीवन्त राख्न मार्क्सवादी अध्ययन केन्द्र बनाउने योजना बनाएका छौँ।’

शर्माकी सुपुत्री सम्झना शर्माका अनुसार नियमित रुपमा डायरी लेख्ने शर्माका केही डायरी भने छन्। शर्मा भन्छिन्, ‘बुबाको डायरी हेर्दा २०६९ असारसम्म लेखेका केही डायरी छन्। त्यसपछि बुबाले लेख्नु भएजस्तो मलाई लाग्दैन।’

अग्रज स्रष्टा रमेश विकलको सम्पूर्ण रचनाको ग्रन्थावली प्रकाशन गर्ने योजनामा परिवारका सदस्यहरूका साथै साहित्य अनुरागीहरू रहेका बेला शर्माको पनि सम्पूर्ण रचनाको ग्रन्थावली निकाल्नेतिर पहल गर्न नसकिने होइन। खनालले भने, ‘रचनावली प्रकाशन गर्नेतिर चाहिँ प्रतिष्ठानले कुनै सोच राखेको छैन।’ तर अरू संस्थाको ध्यान नगए पनि प्रगतिशील लेखक संघले चासो र तत्परता लिने हो भने आफ्नो संस्थापक अध्यक्षको सम्पूर्ण रचनालाई जोरजार पारेर ग्रन्थावलीका रुपमा ल्याउन सक्छ।

लामो समय अल्जाइमर्सले गाँजेर २०७४ सालमा निधन हुनुअघि विभिन्न साहित्यिक संघसंस्थाहरूको तत्परतामा उनको भव्य अभिनन्दन गरिएको विदितै छ। शर्माको अभिनन्दनमा देशका सबैजसो प्रगतिशील साहित्यिक-सांस्कृतिक संघसंस्थाहरूको संलग्नता थियो। संलग्नता थियो– नेपाल प्रज्ञा–प्रतिष्ठानको पनि। त्यसयता भने न उनका अप्रकाशित रचनाहरूको खोजी हुन सक्यो, न त उनका सिर्जनाहरूलाई व्यवस्थित रुपमा बाहिर ल्याउनेतिर यथेष्ट चासो नै !

‘मकवानीवाला’ जस्तो शक्तिशाली महाकाव्यका सर्जक उमानाथ शास्त्री ‘सिन्धुलीय’ को सालिक उनकै नाममा स्थापित प्रतिष्ठानको प्राङ्गणमा राखियो, बितेको जेठतिर। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शास्त्रीको सालिक अनावरण गरे। स्रष्टा एवं सिन्धुली भेगका नामी शिक्षक शास्त्रीले अध्यापन गरेको कमला हाई स्कुलको २०३१ सालका एसएलसी व्याची विद्यार्थीहरूले रकम उठाएर उनको प्रतिमा निर्माणमा योगदान गरेका थिए।

एकजना गुरुलाई आफ्ना शिष्यहरूले सम्मान गर्नु सर्वथा उचित र सह्राहनीय कार्य हो। तर, तिनै शिष्यहरूले ‘शास्त्री गुरु’ का साहित्यिक रचनाहरूको अवस्था के छ ? भन्नेतिर ध्यान दिएको भए धेरै जाती हुन्थ्यो।

शास्त्रीको कान्छा सुपुत्र प्रोल्लास सिन्धुलीय भन्छन्, ‘बुबाका केही पाण्डुलिपि छन्। त्यसमा कुनै पाण्डुलिपि अपुरा छन्। एउटा कवितासंग्रह र एउटा झ्याउरे संग्रहका साथै १७ वटा निबन्धको एउटा संग्रह नै अप्रकाशित छन्।’ सिन्धुलीयको भनाइमा उनका शिष्यहरूले आफ्ना गुरुको सम्मानमा त्यो सालिक स्थापना गरेका हुन्।

एउटा अर्को प्रसङ्ग। नेपाली साहित्यका आधुनिक कवि गोपालप्रसाद रिमालको सालिक बनाएर उनको साहित्यिक योगदानलाई सम्झिनेहरू पनि नभएका होइनन्। साहित्य–कला–संस्कृति क्षेत्रका प्रतिभाहरूलाई स्मरण गर्ने सन्दर्भमा सदैव अग्रपंक्तिमा उभिँदै आएको छ, हेटौँडा। हेटौँडास्थित वनस्खण्डीमा रिमालको सालिक स्थापित छ।

सालिकलाई पढ्न सकिँदैन। हेरेर एउटा सम्मानभाव वा बोध मात्र अभिव्यक्त गर्न सकिन्छ। तर शब्दलाई भने सहजै पढ्न सकिन्छ। कुनै स्रष्टाका परिवारका सदस्यहरू वा साहित्यानुरागीहरूले आफ्ना अनुज–स्रष्टाको सालिक राख्नुका साथसाथै उनीहरूका पाण्डुलिपिहरूका के कस्तो अवस्था छ र त्यसलाई प्रकाशन गर्नतिर पहल गर्नु आवश्यक छ भन्ने कुरा बोध गर्ने हो भने ‘पाण्डुलिपि अलपत्र: सालिक सर्वत्र’ को भाष्यलाई सहजै मेटाउन सकिन्छ।

हेटौँडाबाहेक रिमालको सालिक अन्यत्र राखिएका छैनन्। रिमालको परिवारका सदस्यहरूको समेत पहलमा तत्कालीन समयमा नाट्यसंस्था ‘गुरुकुल’ को काठमाडौँ, मैतीदेवीस्थित प्राङ्गणमा रिमालको सालिक राखिएको थियो। रिमालका माइला सुपुत्र मदन रिमाल भन्छन्, ‘तर गुरुकुल स्थानान्तर भएसँगै त्यो सालिक के भयो, हामीलाई समेत थाहा छैन।’

एउटाबाहेक अरू रिमालका सालिकहरू नबने पनि उनको परिवारका सदस्यहरूले ‘गोपालप्रसाद रिमाल समग्र रचनावली’ को प्रकाशनका लागि तयारी भने अघि बढाएका छन्। रिमालका माइला सुपुत्र मदनले आफ्ना दिवङ्गत पिताको सम्पूर्ण रचनाहरूलाई एउटै ग्रन्थावलीमा ल्याउन तत्परता देखाएका छन्। यो काम अहिले प्रारम्भिक चरणमै छ।

पछिल्लो समय श्यामप्रसादलाई स्मरण गरेको हेटौँडाका स्रष्टा-साहित्यानुरागीहरूले उनीसँगै रिमाल र पारिजातलाई पनि उत्तिकै सम्मान गरेका छन्। हेटौँडामै पारिजातको पनि सालिक राखिएको छ। खुसीको कुरा के छ भने, पारिजातका रचनाहरू भने पाण्डुलिपि अवस्थामै छैनन्। सिक्किमको निर्माण प्रकाशनले दुई दशकअघि नै उनका सम्पूर्ण रचनाहरूको ग्रन्थावली निकालेर ठुलो सम्मान अर्पण गरेको थियो।

सालिकलाई पढ्न सकिँदैन। हेरेर एउटा सम्मानभाव वा बोध मात्र अभिव्यक्त गर्न सकिन्छ। तर शब्दलाई भने सहजै पढ्न सकिन्छ। कुनै स्रष्टाका परिवारका सदस्यहरू वा साहित्यानुरागीहरूले आफ्ना अनुज–स्रष्टाको सालिक राख्नुका साथसाथै उनीहरूका पाण्डुलिपिहरूका के कस्तो अवस्था छ र त्यसलाई प्रकाशन गर्नतिर पहल गर्नु आवश्यक छ भन्ने कुरा बोध गर्ने हो भने ‘पाण्डुलिपि अलपत्र: सालिक सर्वत्र’ को भाष्यलाई सहजै मेटाउन सकिन्छ।

अबका दिनमा नेपाली व्यङ्ग्य साहित्यको ‘टेक्स्टबुक’ मानिने ‘जयभुँडी’ लेख्ने भैरव अर्यालको एउटा चर्चित व्यंग्यको शीर्षकलाई सापटी लिएर भन्नु नपरोस्, ‘जय सालिक !’
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved