संगीत

बलरामको व्यस्त बाँसुरी

उनको नामसँगै जोडिएर आउँछ– एक प्रखर बाँसुरी–वादक। यतिले मात्रै उनको परिचयको सिङ्गो क्षितिज उघ्रिँदैन। उनी राम्रा गायक पनि हुन्। भन्छन्, ‘मैले आधुनिक र लोक गरी करिब पाँच सयभन्दा बढी गीत गाएको छु। तर रहर पुर्‍याउन मात्र गाएको जस्तो भयो।’

बलरामको व्यस्त बाँसुरी

‘हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ…।’

(गोपालप्रसाद रिमाल, ‘आमाको सपना’ बाट।)
विक्रमाब्द २००० सालमा आधुनिक कवि रिमालले कालजयी कविता ‘आमाको सपना’ लेख्दा यी मीठा पंक्ति लेखेका थिए, ‘तर त्यो मीठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ…।’

राणाकालीन समयको आखिरी वर्षहरूमा रिमालद्वारा रचित यी पंक्तिको गहन भावभूमि आफ्नै ठाउँमा छ। तत्कालीन समयमा मीठो गीतले बाँसुरी नबनाए पनि प्रख्यात बाँसुरी–वादक बलराम समाल भने बाँसुरीबाटै कैयौँ गीत–संगीतलाई सुमधुर बनाउन अहोरात्र जुटिरहेका छन्।

रिमालले भौतिक देह त्याग गरेको ठ्याक्कै दुई वर्ष पहिला २०२८ कार्तिकमा जन्मिएका समालले बाँसुरी–मोहलाई सपक्कै अँठ्याएका छन् आजपर्यन्त। सानैदेखि बाँसुरीका प्वालहरूमा अभ्यस्त उनका औँलाहरू जीवनको आधा शताब्दी कटिसक्दा पनि उत्तिकै प्रवाहमान छन्। रोकिने कुनै संकेत देखिँदैन।

 

माईदेखि थालिएको यात्रा

जीवनमा धेरै उतारचढाव झेलेका समाल पूर्वी नेपालको इलामजस्तो सुन्दर पहाडी भूमिमा जन्मिए। स्थानीय प्राकृतिक माहौलले नै उनलाई संगीततिर प्रवृत्त तुल्यायो। त्यस्तै सात–आठ वर्षका हुँदा उनको हातमा बाँसुरी परिसकेको थियो। गाउँकै नातामा भिनाजु पर्नेले ‘होममेड’ बाँसुरी बनाएर सुरिलो स्वर निकालेको सुनेपछि उनलाई पनि बाँसुरीले तान्यो, एकाएक।

भन्छन्, ‘आफूले बनाउनुभएको बाँसुरी उहाँले मलाई पनि दिनुहुन्थ्यो, मैले त्यही बाँसुरीबाट नै आफ्नो साङ्गीतिक यात्राको थालनी गरेँ।’ अझ, रेडियो नेपालबाट प्रसारण हुने गीतहरूमा बाँसुरीको धुन सुनेपछि त झनै लठ्ठ। सोच्थे उनी, ‘मैले पनि यसरी नै बाँसुरी बजाउन पाए…।’

यस्तो सपना देखेको करिब दुई दशक नकट्दै उनले अर्ध–व्यावसायिक रूपमा बाँसुरी बजाउन थालिसकेका थिए।
नजिकको बजार पर्थ्यो, झापाको शनिश्चरे। शनिश्चरे बजारमा हरेक हप्ता हाट लाग्थ्यो। हाटमा बाँसुरी बेच्न ल्याइन्थ्यो। उनले पहिलो पटक त्यही बजारमा किने, एउटा आकर्षक बाँसुरी। त्यति बेला किनेको बाँसुरीको मोल सम्झना छैन उनलाई अहिले। तर, उनले जीवनमा ६ हजार पर्नेसम्मको बाँसुरीमार्फत धेरै गीतमा धुन भरेका छन्। भन्छन्, ‘त्यो बेस बाँसुरी हो। बाँसचाहिँ भारतबाट ल्याइन्छ र बुद्ध लामा भाइले बनाउँछन्। प्रायः सेन्टिमेन्टल गीत र रागहरूमा बजाइने त्यो बाँसुरी बजाउन धेरै गाह्रो पनि छ।’

२०४६ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्ने सपना बुन्दै काठमाडौँ छिरे उनी। बस्थे थानकोटमा। थानकोटकै मंगलोदय बहुमुखी क्याम्पसमा अध्ययन गर्न थाले। बाँसुरी–मोह भने झनै बढ्दै गयो। त्यो कलेजमा उनीसँगै अहिलेका चर्चित हास्यकलाकार दीपकराज गिरी र दमन रुपाखेतीले पनि अध्ययन गर्थे। दमनका बुबा श्रीहरि रुपाखेतीले नेपाली विषय अध्यापन गर्थे, त्यति बेला।

काठमाडौँ भित्रिएपछि पनि इलामदेखि सँगालेका दुइटा रहरलाई उनले मुर्झाउन दिएका थिएनन्– गीत गाउने र बाँसुरी बजाउने। संयोग कस्तो प¥यो भने संगीत–गुरु धनबहादुर नेपालीकै घरमा उनको डेरा थियो। भन्छन्, ‘उहाँसँगको संगत र स्वराभ्यासले मलाई संगीत क्षेत्रमा अघि बढ्न सघाउ पुर्‍यायो।’

तत्कालीन समय नेपालका प्रसिद्ध बाँसुरी–वादक कोको हुन् भन्ने उनलाई थाहा थिएन। काठमाडौँ छिरेपछि बल्ल थाहा पाए त्यो समयका बाँसुरी वादकहरूका नाम। उनीहरू थिए– आइसिंह लामा, सुशील विश्वकर्मा, प्रेम लामा औतारीलगायत।

तत्कालीन समय काठमाडौँमा सीमित स्टुडियो मात्र थिए। उनी केही स्टुडियोमा परीक्षा दिन गए– सिम्फोनी, म्युजिक नेपाल र रेडियो नेपाल। रेडियो नेपालबाट एउटा चर्चित कार्यक्रम प्रसारण हुन्थ्यो– ‘चौतारी’। सञ्चालक– पाण्डव सुनुवार। एकदिन सुनुवारले उनीसँग केही प्रश्नका साथै ‘ट्रायल’ पनि लिए, बाँसुरीको। सुनुवारले भने, ‘हुन्छ, मेरो कार्यक्रममा आएर बजाऊ।’

‘चौतारी’ मा उनले ४–५ वटा कार्यक्रममा बजाए तर निःशुल्क। त्यही समयताका थरेन्द्र बरालले बानेश्वरमा स्टुडियो खोलेका रहेछन्। एकदिन उनले एउटा पत्रिकामा नजर पुर्‍याउँदा बाँसुरी–वादकको आवश्यकताको विज्ञापन देखे। भन्छन्, ‘त्यो बेला ट्रयाकको चलन थिएन, प्रत्यक्ष रूपमा नै बजाउनुपर्थ्यो।’

थरेन्द्रले भने, ‘बजाउन सकिन्छ भने भोलिदेखि आउनू।’ उनले बाँसुरी बजाउन थाले, एउटा गीतमा ५० रुपियाँ लिने गरी। भन्छन्, ‘म पूर्वमा हुर्केको हुँदा पूर्वेली गीतहरू नै त्यो स्टुडियोमा बढी रेकर्डिङ हुन्थे र त्यहीअनुसारका नोटेसनहरूमा बजाउन थालेँ।’

उनी भन्छन्, ‘महिनामा १५–१६ वटासम्म गीतमा बजाउँथे। ७–८ सय रुपियाँ कमाइ हुन्थ्यो।’ पछि उनले रेडियोमा ५० रुपियाँका दरले टेक–बेसिसमा बजाउन थाले। तर, रेडियो नेपालमा भने कहिले कुनै वाद्यवादक नआउने, कहिले गाउनेहरूले राम्ररी गाउन नसक्ने र कहिले सार्वजनिक बिदामा बन्द हुने। रेडियो नेपालमा उनले सोचेजस्तो भएन।

 

त्यही समयताका उनीलगायतको सक्रियतामा खुल्यो– सुर व्याण्ड। ब्यान्डहरू खुल्ने समय न थियो, त्यति बेला। नेपथ्य, कन्दरा, मध्याह्न, कर्मा, द एक्स। विमल बुढाथोकीले नेतृत्व गरेको सुर ब्यान्डमा उनीसँगै थिए– अरू सङ्गीतकर्मीहरू पनि। रवि लामिछानेको उद्घोषण र दीपकराज गिरीको हास्यप्रतिभाले सो व्याण्डलाई निकै चम्काएको थियो, त्यो समय।

 

ग्यालेक्सीको गुन

२०५१–०५२ सालतिर ग्यालेक्सी पब्लिक स्कुलको ‘क्रेज’ नै अर्कै थियो। उनी बाँसुरी–शिक्षकका रूपमा छिरे, त्यो स्कुलमा। राम्रै तलब सुविधा लिनेगरी। प्रसिद्ध संगीतकर्मी शिलाबहादुर मोक्तान की–बोर्ड सिकाउँथे। प्रसिद्ध गायिका कुन्ती मोक्तानले सिकाउँथिन्, भोकल। र, एड्रिन प्रधानले ड्रम। त्यो स्कुलमा म्युजिक शिक्षकहरू मात्रै १८–१९ जना थिए।

भन्छन्, ‘ग्यालेक्सीमा बाँसुरी सिकाउन थालेपछि भने बल्ल मलाई यो विधामा केही गर्न सक्छु भन्ने आँट आयो। आर्थिक रूपमा पनि राम्रो हुँदै गयो।’

संगीतसर्जक शिलाबहादुर मोक्तान त्यो समय म्युजिक नेपालमा पनि संगीत–संयोजन गर्थे। एउटै स्कुलमा म्युजिक अध्यापन गर्ने दुवै जना। भन्छन्, ‘मेरो प्रतिभा देखेर उहाँले मलाई म्युजिक नेपालमा पनि मौका दिनुभयो।’ अरू स्टुडियोहरूले पनि उनको प्रतिभालाई बिस्तारै चिन्न थाले।

त्यही समयताका उनीलगायतको सक्रियतामा खुल्यो– सुर व्याण्ड। ब्यान्डहरू खुल्ने समय न थियो, त्यति बेला। नेपथ्य, कन्दरा, मध्याह्न, कर्मा, द एक्स। विमल बुढाथोकीले नेतृत्व गरेको सुर ब्यान्डमा उनीसँगै थिए– अरू सङ्गीतकर्मीहरू पनि। रवि लामिछानेको उद्घोषण र दीपकराज गिरीको हास्यप्रतिभाले सो व्याण्डलाई निकै चम्काएको थियो, त्यो समय। भन्छन्, ‘सुर ब्यान्डले नेपालका सबै गायक–गायिकासँग काम ग¥यो। रामकृष्ण ढकालदेखि खेम गुरुङसम्मका कार्यक्रममा हामीले सहभागिता जनायौँ।’

तत्कालीन समय नेपालका पाँच वटै विकास क्षेत्र र पूर्वोत्तर भारतका विभिन्न ठाउँमा सो ब्यान्डले आफ्नो प्रस्तुति दियो। २०५४–०५५ सालदेखि यो ब्यान्डले आफ्नो गतिशीलता बढाएको थियो।

हेर्नु परेन पछाडि

२०५४ पछि उनले आर्थिक सफलता पनि बटुल्दै गए। त्यसयताका वर्षहरूमा उनले आर्थिक रूपमा पछाडि फर्केर हेर्नु परेन। भन्छन्, ‘बाँसुरी वादनमा म यति व्यस्त हुन थालेँ, ग्यालेक्सी स्कुल नै छाड्नुपर्‍यो। शिलाबहादुर दाइजस्तो पुरानो एरेन्जरले बोलाउन थाल्नुभएपछि नयाँहरूले त बोलाउने नै भए। त्यसपछि म झनै व्यस्त हुन थालेँ।’

दुई दशकअघिसम्म काठमाडौँमा स्टुडियोहरू बग्रेल्ती नै थिए, करिब ६५ वटाजति। यसलाई ‘गफ’ नमानौँ, उनी भन्छन्, ‘मैले ती सबै स्टुडियोमा पुगेर बाँसुरी बजाएको छु। दिनहुँ त नभनौँ तर सबै स्टुडियोमा पुगेर मैले बाँसुरी बजाएको छु।’

कति व्यस्त ! हरेक दिन १०–१२ स्टुडियोमा पुग्थे उनी। भन्छन्, ‘सजिलो पिस छ भने एउटा गीतमा मैले १५–२० मिनेटमा बाँसुरीको धुन भर्थेँ। स्टुडियोमा जान र आउन भने समय लाग्थ्यो।’

त्यो बेला एउटा गीतलाई बाँसुरीको धुनले सजाएबापत उनले पाउँथे– ३ सय रुपियाँ। १० वटा स्टुडियोमा पुगेर बजाउँदा करिब ३ हजार रुपियाँ। महिनामा ९० हजारजति त कमाइ नै। भन्छन्, ‘त्यो समयमा हरेक दिन ३ हजार कमाउनु निकै ठुलो कुरा मानिन्थ्यो।’

हुन पनि बाँसुरी–वादकहरू सीमित थिए, त्यो बेला। स्टुडियोहरूमा पुगेर बजाउनेमा उनीबाहेक जेबी लामा मात्र थिए। सुशील विश्वकर्मा रेडियो नेपालमा मात्र बजाउँथे। प्रेम राना औतारी आफ्नो ब्यान्डमा मात्र बजाउँथे। आइसिंह लामा रेडियो नेपालमा, त्यो पनि लोकगीतमा मात्र बजाउँथे। भन्छन्, ‘त्यो समय बाहिर बजाउने जेवी दाइ र म मात्र थियौँ।’

 

स्टुडियोतिर तनमन

बाँसुरीले उनलाई पहिचान दिइसकेकै थियो। मन मानेन त्यतिले मात्रै। अनामनगरमा खोले– निषाद स्टुडियो। करिब दुई दशकअघि नै। भन्छन्, ‘स्टुडियो खोलेपछि बाँसुरीको टेक घट्दै गयो। स्टुडियो खोलेपछि म एरेन्जतिर व्यस्त हुन थालेँ। आफ्नै स्टुडियो भएपछि अरूका स्टुडियोमा गएर बाँसुरी बजाउने समय पनि दिन सकिएन।’

अरू स्टुडियो–सञ्चालकहरूले के पनि सोच्न थाले भने, ‘बलरामले आफ्नै स्टुडियो खोले, हामीले बोलायौँ भने अरू क्लाइन्टसँग उसको चिनजान हुन्छ, उसले आफ्नै स्टुडियोमा हाम्रा क्लाइन्टहरूलाई तान्लान् कि ?’

निषाद जन्मिएपछिको अवस्था कस्तो रह्यो ? आइतबार अपराह्न ढुंगेधारास्थित अर्किड क्याफेमा गफिँदै गर्दा मैले उनलाई सोधेँ, यो प्रश्न। उनले भने, सहज भावमा, ‘ओहो ! स्टुडियो त यति चल्यो कि, मलाई डेट मिलाउनै गाह्रो पर्थ्यो। बोर्डमा समय–तालिका तोकेर रेकर्डिङको काम गर्थ्यौँ।’
बिहान उठेदेखि बेलुकी अवेरसम्म स्टुडियो प्याक। दुई जना प्राविधिक निरन्तर खट्थे। बाँसुरी बजाउँदा र स्टुडियो चलाउँदाका आम्दानी भने उस्तै–उस्तै हुन्थे। भन्छन्, ‘स्टुडियो सुरु गरेपछि प्याकेजमा काम लिँदाचाहिँ फाइदा नै हुन्थ्यो। एरेन्जर म आफैँ थिएँ, स्टुडियो पनि आफ्नै। प्राविधिक र वाद्यवादकलाई मात्र पारिश्रमिक दिए पुग्थ्यो। फाइदा नहुने कुरै भएन।’

१७–१८ हजार गीतमा बाँसुरी

रेकर्ड त राखेका छैनन् तर उनले अहिलेसम्म करिब १७–१८ हजार गीतलाई आफ्नो प्रिय बाँसुरीको धुनले सजाइसकेका छन्।
दुई दशकअघि दरबारमार्गमा थियो– ‘स्टुडियो–२०००’।

उनी एक बिहानै त्यो स्टुडियोमा पुगे। भन्छन्, ‘कर्णदासको एउटा गीतमा बाँसुरी बजाउनुपर्ने रहेछ, मलाई त थाहा पनि थिएन। मैले उनको गीतमा बाँसुरीको धुन भरेँ।’
त्यो गीत थियो, ‘बिस्तारै छायो…।’

त्यो बेला दिनभरि १० वटाजति गीतमा बाँसुरी बजाएर उनले ३ हजार रुपियाँ कमाउँथे। त्यो गीतमा भने बाँसुरी बजाएबापत उनलाई ३ हजार रुपियाँ दिइयो। अहिले पनि चकित भावमा भन्छन्, ‘एउटै गीतमा त्यति ठुलो रकम पाउँदा मैले आफूलाई राम्रै सम्मान गरेकोजस्तो ठानेँ।’
साठीको दशकको आखिरीतिर नेपालयले सुरु गर्‍यो– पलेँटी शृङ्खला।

नेपाली साङ्गीतिक जीवनका ‘धरोहर’ हरूलाई मञ्च दिइने सो शृङ्खलामा समालले प्रारम्भदेखि नै बाँसुरी बजाए। इटहरीमा चार वर्ष बस्दा त्यो क्रम टुटे पनि काठमाडौँ फर्किएपछि जोडिए फेरि पलेँटीमा।

फत्तेमान, गणेश रसिक–हिरण्य भोजपुरे, बद्री–दुर्गा खरेल, शान्ति ठटाललगायत थुप्रै अग्रज प्रतिभाका गीतलाई उनले बाँसुरीमार्फत सजधज तुल्याए। भन्छन्, ‘इटहरीबाट फर्केर पनि बाँसुरी बजाएँ। त्यसपछि त पलेँटी नै बन्द भयो।’

अम्बर गुरुङसँगको सहकार्य तनावरहित

बाँसुरी–वादनबाट उनले धेरै नै सन्तुष्टि पाए। उनको ठम्याइ छ, ‘सबभन्दा ठुलो सन्तुष्टि त नेपालका केही प्रसिद्ध संगीतसर्जक र गायकका गीतहरूमा बाँसुरी बजाउन पाउनु हो।’ भन्छन् पनि, ‘मैले गोपाल योञ्जनको गीतमा पनि बाँसुरी बजाएँ, योजति ठुलो सन्तुष्टि अरू केही लाग्दैन मलाई। सेनाको कार्यक्रममा योञ्जनले संगीत संयोजन गर्नुहुँदा बाँसुरी बजाउने अवसर पाएको थिएँ।’

अम्बर गुरुङको त एल्बमदेखि धेरै कार्यक्रमहरूमा उनले बाँसुरी बजाए। भन्छन्, ‘फत्तेमान दाइसँग त कति हिँडियो, हिँडियो। दीप दाइ (श्रेष्ठ) सँग त अहिले पनि हिँडिरहेको छु। शान्ति ठटाल, कुमार सुब्बा, दावा ग्याल्मो, डेजी बराइली, योगेश्वर अमात्यको कार्यक्रममा पनि बाँसुरी बजाएको छु।’

अनेक गायक–गायिकासँग बाँसुरी–सहकार्य गर्दा कोसँग बढी सहजता महसुस हुन्थ्यो त ? सहजै भन्छन् उनी, ‘अम्बर गुरुङ दाइसँग। उहाँको गीतमा बजाउँदा उहाँका पिसहरू साह्रै सामान्य हुन्थे। उहाँसँगको कार्यक्रममा बजाउँदा केही बिग्रिएला भन्ने तनाव पटक्कै हुँदैनथ्यो।’ साथै, रामकृष्ण ढकालको कार्यक्रममा हिँड्दाखेरि बाँसुरी बजाउँदाको आनन्द उनी अहिले पनि स्मरण गर्छन्।

बाँसुरी बजाउने क्रममा उनी जर्मनी दुई पटक र हङकङ दुई पटक पुगे। गायकको रूपमा चाहिँ हङकङ तीन पटक पुगे। भारत त भइहाल्यो। स्वदेशका पनि थुप्रै ठाउँमा पुगेका छन्। खासगरी, सुर ब्यान्डले देशव्यापी कार्यक्रम लिएर हिँड्दा उनले पनि देशका कुनाकाप्चाका संगीतप्रेमीहरूलाई आफ्नो धुनले लट्ठ्याउने मौका पाए।

राष्ट्रिय गानमा बाँसुरी नै गायब

लुकेको एउटा पाटो।
२०६२–०६३ को जनआन्दोलनको सफलता र त्यसको केही वर्षपछि स्थापित गणतन्त्रले राष्ट्र र समाजका हरेक क्षेत्रमा परिवर्तनको आभास दिलाउने उद्देश्यसहित नयाँ राष्ट्रिय गानको लागि आव्हान गरियो।

राष्ट्रिय गानका निम्ति व्याकुल माइलाको शब्द चयन भएपछि संगीत भर्ने जिम्मा पाए, वरिष्ठ संगीतसर्जक अम्बर गुरुङले। राष्ट्रिय गानको संगीत–संयोजन भने गुरुङका कान्छा सुपुत्र शरद गुरुङले गरेका थिए।

वरिष्ठ संगीतसर्जक गुरुङलाई संगीत–सिर्जनाको जिम्मेवारी आएपछि सुपुत्र शरदले समाललाई राष्ट्रिय गानमा बाँसुरीको धुन भर्न ‘अह्राए’। राष्ट्रिय गानमा बाँसुरीको धुन भर्न उनी खिचापोखरीस्थित ‘२००० स्टुडियो’ मा पुगे। राष्ट्रिय गानमा धुन भर्ने भनिएपछि गहन जिम्मेवारी बोध महसुस हुने नै भयो। त्यही स्टुडियोमा गान रेकर्डिङ भयो।

उनले पनि जमेरै धुन भरे, राष्ट्रिय गान न जो प¥यो ! गौरव र नाम दुवै हिसाबले। राष्ट्रिय गानको एरेन्ज गर्दा यति झकिझकाउ बनाइएको थियो कि– त्यसमा धिमे बाजा, सारङ्गी, बाँसुरी अर्थात् नेपालका मौलिक लोकबाजाहरू सबैका धुन समेटिएका थिए।
जब राष्ट्रिय गीत तयार भएर आयो, न धिमे छ, न सारङ्गी न त बाँसुरी नै। सबै गायब।

राष्ट्रिय गान सार्वजनिक हुने दिन अनामनगरस्थित आफ्नै स्टुडियो निषादमा उनले केही साथीहरूलाई बटुलेर भने, ‘राष्ट्रिय गानमा मैले पनि बाँसुरीको धुन दिएको छु, आज प्रसारण हुन्छ, सुन्नुपर्छ है।’

उनीसहित सबै आगन्तुक उत्सुकतापूर्वक राष्ट्रिय गान सुन्न बसे। बज्यो राष्ट्रिय गान। न बाँसुरीको धुन, न धिमे बाजाको नै। गान सुनेपछि अरू साथीहरू उनलाई हेर्दै हाँस्न थाले। एकजनाले भनी पनि हाले, ‘हैन, तपाईँको बाँसुरीको धुन पनि छ भन्या हैन, के हो यस्तो ?’
उनले अपमान महसुस गरे। तत्काल शरद गुरुङलाई फोन गरे, ५–६ पटकमा बल्लतल्ल उठाए। उनले सोधे, ‘हैन, मैले बजाएको बाँसुरीको त धुन त राष्ट्रिय गानमा छैन त, के भयो ?’

शरदले भने, ‘सप्पै बाजा हटाउन लगाए नि भाइ।’
राष्ट्रिय गानमा आफूले बजाएको बाँसुरीको धुन हटे पनि उनको पारिश्रमिक भने गुमेन। भन्छन्, ‘मैले २ हजार रुपियाँ रोयल्टी भने पाएँ।’
राष्ट्रिय भावना समेट्ने धुनहरू सबै कटाएर राष्ट्रिय गानलाई विरुप तुल्याइएको उनको मूल्याङ्कन छ। भन्छन्, ‘सबै नेपाली मौलिक बाजाहरूका धुन कटाएर मादल मात्रै बजाइयो।’

गायन पनि सक्रिय

उनको नामसँगै जोडिएर आउँछ– एक प्रखर बाँसुरी–वादक। यतिले मात्रै उनको परिचयको सिङ्गो क्षितिज उघ्रिँदैन। उनी राम्रा गायक पनि हुन्। भन्छन्, ‘मैले आधुनिक र लोक गरी करिब पाँच सयभन्दा बढी गीत गाएको छु। तर रहर पुर्‍याउन मात्र गाएको जस्तो भयो।’

गायक नवीन खड्काले अरूण उपत्यकाका लोकसुसेलीहरूलाई बाहिर ल्याउन भरमग्दुर प्रयास गरे। अरूण उपत्यकाका लोकगीतहरूका सबै शृङ्खलामा उनले स्वर दिएका छन्। जसमा ‘वारी तुवाँलो, पारी तुवाँलो…’, ‘सिमल बारुलै…’ लगायत गीत चर्चित भए।

पछिल्लो समय गायन कम र एरेञ्ज र म्युजिक कम्पोजमा बढी समय दिइरहेका छन्। बाँसुरी वादन नि ? उनी भन्छन्, ‘पहिलाजस्तो धेरै स्टुडियोमा चहारेर बजाउन छाडेँ, अहिले १०–१२ स्टुडियोमा भने नियमित रूपमा जान्छु।’

यी त भइहाले। सभ्यता, क्रिस्टल, शिशुमिलन, बालविकास र रिलायन्स पब्लिक गरी पाँच वटा स्कुलमा उनले म्युजिक सिकाउँदै आएका छन्।

 

राम्रो कमाइधमाई र आरामदायी जीवन बितिरहेको थियो। तर काठमाडौँको भड्किलो माहोलको सिकार भए उनी। त्यसको परिणाम भयावह भएर निस्कियो। बस्न सकेनन् काठमाडौँमा। जीवनको नयाँ अर्थ पहिल्याउने अभिलाषा बोकेर पूर्वको इटहरीतिर लागे– २०७१ सालतिर।

 

दाजु–भाइ एउटै कर्ममा

प्रख्यात गायक जगदीश समाल उनका सहोदर भाइ। संगीत क्षेत्रमा जगदीशलाई डोर्‍याउन उनकै हात रह्यो। त्यति बेला उनले काठमाडौँको संघर्षशील जीवनको एक तह पार गरिसकेका थिए। त्यही बेला नै गाउँबाट काठमाडौँ आएका एक जना शुभचिन्तकले भने, ‘जगदीशले पनि राम्रो गाउँछ नि। तेरोभन्दा त राम्रो स्वर छ।’

उनी भन्छन्, ‘मेरो सामु उसले गीत गाउँदैनथ्यो, लजाउँथ्यो। एक पटक गाउँ जाँदा उसले कुटमिरोको रुखमा चढेर घाँस झार्दै गरेको बेला गीत गाएको सुनेँ र त्यसपछि उसको प्रतिभाको मलाई जानकारी भयो।’

त्यो बेला गीत गाएरै काठमाडौँमा बाँच्न सकिने अवस्था थिएन। उनले सोचे, ‘गजल–रेस्टुरेन्टहरूमा गाउन लगाउन पाए त काठमाडौँमा सजिलै पालिन सक्छ।’ हुन पनि त्यो बेला उनले पनि रात्रिकालीन समयमा कान्तिपुर, मनाङ, थियटर, हार्थुङलगायत होटेल र रेस्टुरेन्टहरूमा गजल गाउँथे। अति नै व्यस्त समय थियो। दिनभरि विभिन्न स्टुडियोहरूमा पुगेर बाँसुरी बजाउने र रात्रिमा भने गजल गाउने।

जगदीशलाई काठमाडौँ झिकाएपछि दुई महिनासम्म कोठामै हारमोनियम राखिदिएर गजल अभ्यास गर्न लगाए। त्यसपछि गजल गायनमा पोख्त भए र केही रेस्टुरेन्टमा उनले तुरुन्तै काम पनि पाए। भन्छन्, ‘उसले गजल गाउँदा हिन्दीको उच्चारण मिल्दैनथ्यो, दुई महिनासम्म अभ्यास गर्दा त्यो पनि सच्चाए।’ काठमाडौँमा टिक्ने वातावरण बनेपछि उनले आधुनिक र गजल गायनमा प्रसिद्धि पाए।
००

जीवन सधैँ एउटै गति र लयमा कहाँ प्रवाहमान हुन्छ र ? भएन उनको पनि। राम्रो कमाइधमाई र आरामदायी जीवन बितिरहेको थियो। तर काठमाडौँको भड्किलो माहोलको सिकार भए उनी। त्यसको परिणाम भयावह भएर निस्कियो। बस्न सकेनन् काठमाडौँमा। जीवनको नयाँ अर्थ पहिल्याउने अभिलाषा बोकेर पूर्वको इटहरीतिर लागे– २०७१ सालतिर।

इटहरीमा पनि आफूले सिकेको कर्म नै गरे। एउटा संगीत पाठशाला र स्टुडियोमार्फत् सिकेको सीप र ज्ञानलाई अघि बढाए। पाथीभरा संगीत विद्यालय र निषाद स्टुडियो सञ्चालनमा ल्याएर व्यस्त रहे। भन्छन्, ‘त्यो समय पूर्वका स्कुलहरूमा म्युजिक टिचर राख्ने चलन थिएन। मैले त्यो चलनको वातावरण बनाएँ।’ त्यसपछि अरू स्कुलहरूमा पनि म्युजिक टिचर राख्न थालियो।

करिब तीन वर्षसम्म इटहरीलाई कर्मक्षेत्र बनाएपछि उनलाई काठमाडौँको मोह र माहोलले फेरि तान्यो। फर्किए काठमाडौँतिरै। इटहरीतिर ‘पलायन’ हुनुपूर्व काठमाडौँमा उनको रजगज नै थियो। अनामनगरमा चल्तीको निषाद स्टुडियो र बाँसुरी–वादनमा भ्याई नभ्याई। तर सबै छाडेर हिँड्नुपर्‍यो, इटहरीतिर। उनले आफ्नै सहकर्मीलाई निषाद जिम्मा लगाए।

यसो नियाल्दाखेरि ग्रिक मिथोलोजीमा उल्लेखित फिनिक्स पन्छीको जस्तै देखिन्छ उनको जीवन पनि। खरानी भइसकेका थिए, जीवनको एउटा कालखण्डमा उनी। तर त्यही खरानी पुनः ब्युँझेर पन्छीकै रूप लिई पूर्ववत् अवस्थामै फर्किएका छन् अहिले। विगतको गल्तीप्रति ग्लानीबोध गर्न कुनै संकोच मान्दैनन् उनी।

निश्चय नै, संगीत क्षेत्रमा पाइला टेक्दा भोगेका उकाली–ओरालीका दुरुह बाटाहरूसँग पुरै परिचित छन् उनी। तर संगीत क्षेत्रमा लागेकामा कुनै दुःखमनाउ छैन उनलाई। जीवनका प्रारम्भिक दिनहरूमा यति मात्रै सोचेका थिए– केही गीत गाउने र बाँसुरी बजाउने औसर आए बजाउने। आफूले सोचेभन्दा धेरै सफलता पाएको अनुभूत गरेका उनी भन्छन्, ‘आफ्नो क्षेत्र र कर्मप्रति म धेरै सन्तुष्ट छु।’
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved