स्मृति–शेष

बिलाए नेपाली वाङ्मयका बहुमूल्य मणि

अन्ततः जोशीको दुःखद निधनमा यति भन्नु मनासिब होला– उनी नेपाली भाषा, साहित्य, संस्कृति, पुरातात्त्विकलगायत क्षेत्रका एक विशिष्ट र बहुमूल्य मणि थिए। दीर्घ जीवनपथमा चलिरहेकै बेला त्यो मणि हामी सबैबाट बिलाउन पुग्यो। भौतिक रूपमा बिलाए पनि त्यो मणि, सिर्जनात्मक रूपमा भने आफ्ना चम्किला सिर्जनाहरूमार्फत बाँचिरहने छन्, जुगौं–जुगसम्म।

बिलाए नेपाली वाङ्मयका बहुमूल्य मणि

एक प्रखर सांस्कृतिक अध्येता–लेखकका नाताले प्रातः स्मरणीय सत्यमोहन जोशी जहाँ पुगे पनि संस्कृति–पुरातत्त्वको गहन खोज एवं अनुसन्धान कर्ममा तन्मयतापूर्वक लाग्ने गर्थे। यो उनका निम्ति जीवनभरिको ‘असल व्यसन’ रह्यो। नेपालभित्रका सुगमदेखि दुर्गम भेगहरूमा पुग्दाखेरि मात्र होइन, अन्य मुलुकहरूमा जाँदासमेत उनको अभिरुचिको विषयभित्र त्यस मुलुकका सांस्कृतिक–पुरातात्त्विक विषयको खोज–अनुसन्धान र लेखन नै हुन्थ्यो। कर्णाली प्रदेशमा जाँदा कर्णालीको लोकसंस्कृतिको अध्ययन–लेखन होस् वा चीन जाँदा आदि–कला शिल्पी अरनिकोको खोज एवं लेखनकै सन्दर्भ होस्, जहाँ पुगे पनि संस्कृति र पुरातत्त्वको खोज–अनुसन्धानलाई नै उनले सर्वोपरि ठाने।

सन् १९४९ को एउटा सन्दर्भ। लोकसंस्कृति र वाङ्मय क्षेत्रमा पूर्णतः होमिनुअघि उनी जनगणना कार्यमा समेत जुटेका थिए। त्यतिबेला नेपालमा पहिलो पटक जनगणना भएको थियो, जुन गणना अन्तर्राष्ट्रिय मापनअनुरूपको थियो। यातायात सुगमताका हिसाबले शून्य प्रायः रहेको तत्कालीन समयको भौगोलिक विकटतालाई नजरअन्दाज गर्दै उनीलगायतकाले देशका हरेक भूभागमा पुगेर जनगणना गरे। पछि भने उनी लोकसाहित्य, संस्कृति, पुरातत्त्वजस्ता विषयतिर मोडिए र बाँचुन्जेल यिनै क्षेत्रका अध्ययन, अन्वेषण, अनुसन्धान, लेखन र उन्नयनमा समर्पित रहे।

कुनै पनि राष्ट्रको धड्कनलाई निरन्तर प्रवाहमान तुल्याइराख्ने आधार लोकसाहित्य र संस्कृति नै हो। कुनै द्विविधा छैन, यसमा। यो यथार्थसँग परिचित उनले विक्रमाब्द दसको दशकमै ‘हाम्रो लोकसंस्कृति’ नामक वृहत् ग्रन्थ लेखे। जुन ग्रन्थले उनलाई २०१४ सालमा मदन पुरस्कारसमेत दिलायो। मदन पुरस्कारमा ‘ह्याट्रिक’ गर्ने एक्लो अध्येता–लेखक उनले त्यसपछि २०१७ सालमा ‘नेपाली राष्ट्रिय मुद्रा’ र २०२८ सालमा ‘कर्णाली लोकसंस्कृति’ लेखेर सोही पुरस्कार पाए। मदन पुरस्कार प्राप्त पछिल्लो कृति भने उनीसहित पाँच जना अध्येता–लेखकको सहलेखनमा प्रकाशित भएको हो।

संस्कृति र पुरातात्त्विक क्षेत्रमा बढ्दो रुचिसँगै २०१६ सालमा उनले पुरातत्त्व तथा संस्कृति विभागको निर्देशकको जिम्मेवारी पाए। यो पदीय जिम्मेवारी उनका निम्ति अकस्मात् रूपमा हात लागे पनि उनका निम्ति भने आफ्नो रुचिको क्षेत्रमा अझै निखार ल्याउने अवसरसमेत थियो र बन्यो पनि। विभागको निर्देशक रहँदा उनले केही महत्त्वपूर्ण कार्यसम्पादनमा अग्रसरता देखाए। जसको फलस्वरूप राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान), भक्तपुरको राष्ट्रिय चित्रकला संग्रहालय, पाटनको पुरातात्त्विक बगैँचा र तौलिहवाको पुरातात्त्विक संग्रहालय स्थापना भए।

पुरातत्त्व तथा संस्कृति विभागको निर्देशकको जिम्मेवारी प्राप्ति उनका निम्ति आकस्मिक र चकित तुल्याउने विषय त थियो नै। उनले लेखेका छन्, ‘सरकारले त्यस नयाँ विभागको पहिलो डाइरेक्टरको पदमा मलाई नियुक्त गर्दा मलाई सपना हो कि बिपना झैँ भएको थियो। किनभने त्यतिबेला म जनगणना गर्ने सङ्ख्या विभाग अड्डामा एक जना राजपत्र अनंकित तल्लो तहको जागिरे थिएँ। एकैचोटि पुरातत्त्व र संस्कृति विभागमा विभागीय प्रमुखको डाइरेक्टर पदमा राजपत्राङ्कित प्रथम श्रेणीको पदमा कसरी नियुक्त हुन गयो, त्यस बेला स्वयं मैले बुझ्न नसकेको कुरा थियो।’

एकैचोटि प्रथम श्रेणीमा पुगेपछि उनले सोचे, अरू कुनै सत्यमोहन जोशी हुनुपर्छ। तर सो पदमा कसैलाई पनि बहाली नगरेको थाहा पाएपछि बुझ्नका निम्ति उनी सो विभागमा गए। तत्कालीन शिक्षा मन्त्री परशुनारायण चौधरी स्वदेश बाहिर रहेका हुँदा सो मन्त्रालयका जिम्मेवारी सम्हालेका गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई भेटेर भने, ‘मन्त्रीज्यू, मैले निर्वाह गर्नुपर्ने उत्तरदायित्व केके हुन् ?’

 

उपाध्यायले हाँस्दै भनेछन्, ‘हाम्रो लोकसंस्कृति नामक ग्रन्थ लेखेर मदन पुरस्कार पाउने तपाईँ नै होइन ? जानुस्, आफ्नो जिम्मेवारी सम्हाल्नुस्।’

 

उपाध्यायले हाँस्दै भनेछन्, ‘हाम्रो लोकसंस्कृति नामक ग्रन्थ लेखेर मदन पुरस्कार पाउने तपाईँ नै होइन ? जानुस्, आफ्नो जिम्मेवारी सम्हाल्नुस्।’

सो विभागमा रहेर उनी धेरै कार्य गर्न चाहन्थे। अफसोच नै मान्नुपर्छ, २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी शक्ति–सत्ता आफूमा खिचेपछि पुरातत्त्व तथा संस्कृति विभागबाट उनी हठात् रूपमा हट्नुपर्‍यो। त्यसपछि उनको गन्तव्य बन्यो– जनवादी गणतान्त्रिक मुलुक चीन। चीनमा पेकिङ ब्रोडकास्टिङ इन्स्टिच्युटमा प्राध्यापन कार्यमा रहँदा केही उदाहरणीय कार्य गरे उनले। जसमा स्मरणीय रह्यो, प्रख्यात कलाकार अरनिकोबारे अनुसन्धान र लेखन। ‘नेपाली कलाकार अरनिको’ नामक जीवनी प्रकाशित गरे।

चीनमा छँदा अरू अनुसन्धान र लेखनमा पनि सक्रिय रहे। त्यही समयताका उनले माओ त्से तुङका कविताहरू पनि अनुवाद गरे, जुन पछि नेपाली भाषामा समेत प्रकाशित भयो। साथै, चीनमा रहँदा ४० जना चिनियाँ विद्यार्थीलाई नेपाली भाषा सिकाएर नेपाली भाषाप्रतिको मोहलाई उनले जीवन्त तुल्याउन प्रयत्न गरे।

चार वर्षको चीन बसाइँलाई उपलब्धिमूलक बनाएर स्वदेश फर्किएका उनले २०२६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान (एकेडेमी) मा सह–सदस्यको जिम्मेवारी पाए। सह–सदस्यको जिम्मेवारी पाएपछि उनी काठमाडौँमा कुँजिएर बस्न चाहेनन्। एकेडेमीका तत्कालीन कुलपति केदारमान व्यथितसँग उनले नेपाली भाषाको व्युत्पत्तिको थलो सिँजा उपत्यका (जुम्ला) मा गएर खोज–अनुसन्धान गर्ने इच्छा व्यक्त गरे। जोशीलगायत चार जना अध्येताहरूले पाँच महिना लगाएर कर्णालीको लोकसंस्कृतिमाथि विशद् अध्ययन गरे, जुन पछि ‘कर्णालीको लोकसंस्कृति’ नामक पाँच खण्डीय कृतिका रूपमा बाहिर आए।

एकेडेमीको अर्को कार्यकालमा अर्थात् २०३१ सालमा उनी सदस्य–सचिवमा नियुक्त भए। एकेडेमीको प्रशासनिक जिम्मेवारीमा पुगेपछि पनि उनको सिर्जन–संसार खुम्चिएन। बरु नयाँ विधा नाट्य लेखनतिर प्रवृत्त भए। त्यो समय उनले ‘दैलाको बत्ती’, ‘फर्केर हेर्दा’, ‘जब घाम लाग्छ’, ‘सपना ब्युँझन्छ’ जस्ता कालजयी नाटक लेखे।

उनी एकेडेमीको सदस्य–सचिवमा रहँदाखेरि नै ‘गाईजात्रा हास्यव्यङ्ग्य महोत्सव’ को सुरुवात भयो। यो २०३४ सालको कुरा थियो। राष्ट्रिय जीवनका साथै समाजभित्र व्याप्त विसङ्गतिमाथि कटाक्ष गर्ने हेतुले थालनी गरिएको हास्यव्यङ्ग्य महोत्सवले राज्यको माथिल्लो ओहदामा रहेकाहरूमा निकै हलचल ल्याएको प्रसङ्ग नाट्यकर्मी प्रचण्ड मल्लले आफ्नो एक आलेखमा उल्लेख गरेका छन्। मल्लले लेखेका छन्, ‘अञ्चलाधीश तथा तात्कालिक गृहमन्त्रीले कडा स्वरमा फोन गरी हास्यव्यङ्ग्य कार्यक्रम मञ्चन तुरुन्त बन्द गर्न लगाउनुस् नत्र त्यसको सम्पूर्ण जिम्मेवारी तपाईँले व्यहोर्नु पर्नेछ भनी धम्की दिए। तर उनी दृढ भई कार्यक्रम बन्द नगरी यसबाट हुनसक्ने जस, अपजस, राम्रो नराम्रो सबै जिम्मेवारी लिई अगाडि बढे। यो उनको आफ्नो संस्कृतिमाथिको प्रगाढ मायाको द्योतक थियो।’

‘अञ्चलाधीश तथा तात्कालिक गृहमन्त्रीले कडा स्वरमा फोन गरी हास्यव्यङ्ग्य कार्यक्रम मञ्चन तुरुन्त बन्द गर्न लगाउनुस् नत्र त्यसको सम्पूर्ण जिम्मेवारी तपाईँले व्यहोर्नु पर्नेछ भनी धम्की दिए। तर उनी दृढ भई कार्यक्रम बन्द नगरी यसबाट हुनसक्ने जस, अपजस, राम्रो नराम्रो सबै जिम्मेवारी लिई अगाडि बढे। ’

हरेक परिवर्तनका साक्षी

कतिपयमा परिवर्तनलाई तत्काल आत्मसात् गर्ने स्वभाव हुँदैन। कुनै नयाँ परिवर्तनपछि पनि यथास्थितिमै रमाइरहने प्रवृत्ति हुन्छ अधिकांशमा। २००७ सालको प्रजातन्त्र प्राप्तिको क्रान्तिदेखि २०६२÷०६३ को जनआन्दोलनसम्मका साक्षी रहेका जोशीले भने समाज र राष्ट्रलाई उँभो लगाउने परिवर्तनलाई सदैव आत्मसात् गर्दै आए।

परिवर्तनप्रति उनमा देखिने आत्मसातको एक झलक राजर्षि जनकसम्बन्धी एउटा आलेखमा लेखेका छन्, ‘तदुपरान्त रामायणकालीन र महाभारतकालीन ती लामा कालखण्डहरू पार गर्दै आजको विन्दुमा आइ पुग्दासम्ममा विश्वमा कैयन् उथलपुथलहरू भइसके। हाम्रै राष्ट्र नेपालमा पनि २०६२÷०६३ को जनआन्दोलनले अकल्पनीय परिवर्तन ल्याइ दियो। फलतः राजतन्त्रको पतनपछि सङ्घीय लोकतन्त्रात्मक गणतन्त्रको जन्म भएको छ। नयाँ युगको प्रवेशमा, नयाँ नेपाल राष्ट्रको सिर्जनामा, नयाँ संविधान निर्माण गर्ने तरखरमा आज हाम्रो राष्ट्र व्यस्त छ।’

उनी बौद्ध दर्शनको गहन अध्येतासमेत थिए। बौद्ध दर्शनमा गहन अभिरुचि राख्ने जोशीले करिब ६ दशकसम्म लुम्बिनी धर्मोदय सभामा रहेर काम गरे। बुद्धको जन्मभूमिको विकासलाई वर्तमान स्वरूपमा ल्याउन अरू थुप्रै विद्धतजनहरूको भूमिका रहेजस्तै जोशीको भूमिका पनि कम देखिँदैन।

दैनिक जीवनमा बौद्ध दर्शनको प्रभावबारे बुझेका जोशीले सो दर्शनको गहन अध्ययनपश्चात् आफूलाई बौद्ध धर्म र दर्शनको प्रवर्द्धनमा लगाएका थिए।

दैनिक जीवनमा बौद्ध दर्शनको प्रभावबारे बुझेका जोशीले सो दर्शनको गहन अध्ययनपश्चात् आफूलाई बौद्ध धर्म र दर्शनको प्रवर्द्धनमा लगाएका थिए।

बहुआयामिक व्यक्तित्वले भरिभराउ सत्यमोहन विशाल ग्रन्थ हुन्, जसलाई छिचोल्न कठिन मिहिनेत र परिश्रमको जरुरत पर्दछ। लोकसाहित्य, संस्कृति, पुरातत्त्व, नाट्य लेखनदेखि मिहिन अन्वेषण र लेखनमा समेत उनी उत्तिकै दत्तचित्तपूर्वक लाग्दथे। ‘नेपाली लोकगीतमा विभिन्न चरीको स्थान’ शीर्षकको एउटा लेखमा उनी लेख्छन्, ‘नेपाली लोकगीतमा प्रकृतिको काखमा हुर्केका, सुख दुःखसँग खेलेका स्वतन्त्रतामा स्वच्छन्द डुब्ने उड्ने विभिन्न चरीहरू सम्बन्धित हुँदै देखा पर्नु पनि अनौठो कुरा होइन, यसैले प्रचुर मात्रामा किसिम किमिका नेपाली चरीहरूले नेपाली लोकगीतको कलरवलाई अविरल गति प्रभावमा झंकारित गरी राखेको हामी पाउँछौँ।’

अन्ततः जोशीको दुःखद निधनमा यति भन्नु मनासिब होला– उनी नेपाली भाषा, साहित्य, संस्कृति, पुरातात्त्विकलगायत क्षेत्रका एक विशिष्ट र बहुमूल्य मणि थिए। दीर्घ जीवनपथमा चलिरहेकै बेला त्यो मणि हामी सबैबाट बिलाउन पुग्यो। भौतिक रूपमा बिलाए पनि त्यो मणि, सिर्जनात्मक रूपमा भने आफ्ना चम्किला सिर्जनाहरूमार्फत बाँचिरहने छन्, जुगौं–जुगसम्म।

नोबेल साहित्य पुरस्कार विजेता महान् कवि रवीन्द्रनाथ ठाकुरका यी काव्य–पङ्क्तिसहित एक इमानदार, कर्तव्यनिष्ठ, क्रियाशील र सार्थक जीवन बाँचेका जोशीप्रति भावभीनी श्रद्धा अर्चन।
‘तुम्हे काल नही ले जा सकता था
जब काल तुम्हारे सामने याचना के लिए आया
तब तुमने उसकी झोली मे अपना जीवन दान कर दिया।’
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved