सहकारी पीडित भन्छन् – जीबी राई अहिलेसम्म पक्राउ नपर्नुमा गम्भीर शंका छ

नेपालभ्युज

सहकारी पीडित भन्छन्  – जीबी राई अहिलेसम्म पक्राउ नपर्नुमा गम्भीर शंका छ
फाइल तस्वीर

चितवन । पैसा फिर्ता नपाएका सहकारी संस्थाका बचतकर्ताले फरार सञ्चालक जीबी राई पक्राउ नपरेको भन्दै गृहमन्त्री रवि लामिछानेप्रति असन्तुष्ट हुन थालेका छन् । उनीहरुले चितवनका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापन पत्र बुझाउँदै प्रश्न उठाएका हुन् ।

सहारा बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउ नगर्न सरकारले तदारुकता नदेखाएको आरोप लगाएका छन् । शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा भनिएको छ, ‘सहाराका फरार सञ्चालकहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको लामो समय भए पनि उनीहरू किन पक्राउ परेनन्, कतै यसमा उच्च पदस्थ व्यक्तिहरू त सम्मिलित छैनन् ? गम्भीर शंकाको वातावरण बनेको छ ।’

चितवन सहारामा ८५ करोड रुपैयाँको हाराहारीमा बचत रकम संकलन भएको र सहकारीको नियमविपरीत रकम व्यक्ति तथा निजी फर्महरूमा बिनाधितो स्थानान्तरण गरेको ज्ञापनपत्रमा जनाइएको छ ।

जीबी राई सञ्चालक रहेको गोरखा मिडिया प्रालिको नाममा चितवन सहाराबाट १२ करोड रूपैयाँ लगेको प्रहरी अनुसन्धानले देखाएको छ । गोरखा मिडियाले ग्यालेक्सी टिभी सञ्चालन गर्दछ । हालका गृहमन्त्री तथा चितवन–२ का सांसदसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने कुनै बेला सोही टीभीमा कार्यरत थिए ।

संघर्ष समितिका संयोजक रहेका शालिकराम दुवाडीले प्रहरीले उक्त सहकारीको कार्यालयबाट आवश्यक सम्पूर्ण कागजहरू नियन्त्रणमा लिएको तर अन्य कुनै कारबाही अगाडि नबढाएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved