मरिण डाइभर्सन सुरुङमार्गको ब्रेक थ्रू गरिँदै, लक्ष्यअनुसार भएनन् अन्य काम

नेपालभ्युज

मरिण डाइभर्सन सुरुङमार्गको ब्रेक थ्रू गरिँदै, लक्ष्यअनुसार भएनन् अन्य काम

काठमाडौं । सुनकोशी मरिण डाइभर्सन सुरुङमार्गको आज ब्रेक थ्रू हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सुरुङमार्गको ब्रेक थ्रू गर्दैछन् । डाइभर्सन आयोजनाको सुरुङ आज वारपार छेडिंन लागेको हो ।

कार्यक्रमका लागि प्रचण्ड हिजै हिजै सिन्धुली पुगिसकेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत सहभागी छन् ।

रामेछाप र सिन्धुलीका संघीय तथा प्रदेश सांसद, राजनीतिक दलका नेताहरु, सरोकार भएका सबै व्यक्तिलाई आमन्त्रण गरिएको आयोजनाले जनाएको छ ।
यो परियोजनालाई आर्थिक गेम चेन्जर परियोजनाको रुपमा हेरिएको छ ।

सुनकोशी–मरिण डाइभर्सनको कुल लम्बाइ १३ दशमलव ३ किलोमिटर छ ।

सुरुङ निर्माण समय २ वर्ष रहेकोमा १९ महिनामै काम सकिन लागेको आयोजना प्रमुख मित्र बरालले बताए । सुरुङको ब्रेक थ्रू भए पनि अन्य काम पूरा गर्न अझै १ वर्ष लाग्ने छ ।

आयोजनाको काम २०७९ असोज २८ गते सुरु भएको थियो । सो आयोजनाले सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत उत्पादन गर्ने र तराईका १ लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

सुरुङको ब्रेक थ्रू हुन लागे पनि बाँध तथा विद्युत गृहको काम लक्ष्यअनुसार हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन सुधार गर्न आयोजनाले पटक पटक निर्देशन दिएको छ । विसं २०८४ असोजमा सो आयोजना पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीलाई मरिण खोलामा लगिनेछ ।

बाग्मती सिञ्चाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिञ्चाइ हुनेछ ।

आयोजनाको सुरुङको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । कम्पनीले ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का पाएको थियो ।

आयोजनाको प्रारम्भिक लागत ४६ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, लागत वृद्धि भएर अहिले ४९ अर्ब ४२ करोड पुगेको बरालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved