विकट चेपाङ बस्तीमा पुग्यो बिजुली, विपन्नलाई निःशुल्क मिटर वितरण  

नेपालभ्युज

विकट चेपाङ बस्तीमा पुग्यो बिजुली, विपन्नलाई निःशुल्क मिटर वितरण  

काठमाडौं । अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएको हो । प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ ।

साथै, विद्युत्को पहुँच विस्तारका लागि मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ ।

मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत प्राधिकरणले विपन्न वर्गलाई निः शुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गरिदिँदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको  सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् ।


प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । चितवनको इच्छाकामना गाउँपालिका–१ कालिङमा गरिएको शनिबार गरिएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँपालिकालाई पूर्ण विद्युतीकरण भएको घोषणा गरे ।

साथै, कार्यकारी निर्देशक घिसिङले गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायलाई निःशुल्क मिटर पनि वितरण गरे ।

प्राधिकरणले इच्छाकामना गाउँपालिकाका ७ वटा वडाहरूको विद्युतीकरणका चालू आर्थिक वर्षमा मात्र १५ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले सरकारले उपलब्ध गराएको बजेट, प्राधिकरणले कमाएको नाफा र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमार्फत सहुलियतपूर्ण ऋण लिएर देशलाई पूर्ण विद्युतीकरण गर्ने कार्य भइरहेको बताए ।

विद्युत् खपत बढाउन विद्युतीय चुलोको प्रयोग गरी ग्याँसलाई विस्थापन गर्न उनले आग्रह गर्दै जग्गाधनीपूर्जा नभएका सुकुम्बासीले विद्युत् मिटर लिँदा राख्नु पर्ने एक हजार धरौटी रकम व्यवहारिक नदेखिएकाले यसलाई हटाउन आवश्यक निर्णय गरिने बताए ।

गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिकालाई विभिन्न स्रोतबाट एक वर्षमा प्राप्त हुने बजेटभन्दा बढी रकम प्राधिकरणले इच्छाकामनाको विद्युतीकरणमा विनियोजन गरी काम अगाडि बढाएकाले पूर्ण रूपमा विद्युतीकरण सम्भव भएको बताए ।

अध्यक्ष गुरुङले सकुम्बासीले विद्युत् जडान गर्दा राख्नु पर्ने एक हजार रुपैयाँ धरौटी रकम गाउँपालिकाले राखिदिने व्यवस्था गरिएको उल्लेख गरे ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवालले विद्युत् सुरक्षित रूपमा प्रयोग गर्न र महसुल समयमै तिर्न आग्रह गरे ।

गाउँपालिकाकी उपाध्यक्ष माया सिलवाल र १ नं वार्डका वडाध्यक्ष सन्त बहादुर मगरले पालिकाका बासिन्दाहरू अँध्यारोमा बस्नु पर्ने अवस्थाको अन्त्य भई त्यस क्षेत्रको आर्थिक क्रियाकलाप बढ्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved