एक महिनामा ९० हजार विदेशी पर्यटक नेपाल भित्रिए 

नेपालभ्युज

एक महिनामा ९० हजार विदेशी पर्यटक नेपाल भित्रिए 

काठमाडौं । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार सात सय तीन जना विदेशी पर्यटक नेपाल आएका थिए । कोभिड–१९ महामारी पूर्व ७८ हजार तीन सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। उनले भने, ‘समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ । तुलनात्मक रूपमा भारत र अमेरिकाबाट धेरै सङ्ख्यामा पर्यटक भित्रिए पनि चीनबाट अपेक्षित रूपमा पर्यटक बढेका छैनन् ।’

विगतका महिनामा झैँ यो पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार दुई सय ८८ जना पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट आठ हजार तीन सय ८१ जना पर्यटक नेपाल आएका छन् । संयुक्त राज्य अमेरिकाबाट आठ हजार पाँच सय २७ पर्यटक नेपाल भित्रिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved