रेशम चौधरीको आग्रह – प्यारी रन्जिता मिल्दा मनैले मिलौं, छुट्टिँदा जग नहँसाएर छुट्टिऔं

'पार्टी विवादबारे २ जनाबीच मात्रै वार्ता गरौं'

नेपालभ्युज

रेशम चौधरीको आग्रह – प्यारी रन्जिता मिल्दा मनैले मिलौं, छुट्टिँदा जग नहँसाएर छुट्टिऔं

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी विवादबारे अध्यक्ष रन्जिता श्रेष्ठसँग कुराकानी गर्ने भएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् चौधरीले पार्टीको समस्याबारे काठमाडौंमा वान अन वान वार्ता गर्न चाहेको बताएका छन् । रन्जिता रेशमकी श्रीमतीसमेत हुन् ।

चौधरीले केही स्वार्थी मान्छे आफ्नो र रन्जिताको सम्बन्ध र पार्टीलाई सिद्ध्याउने खेलमा लागेको आरोप लगाएका छन् । रन्जिता सोझी र अन्जान रहेको भन्दै स्वार्थी मान्छेले त्यसको फाइदा उठाएको उनको भनाई छ ।

‘केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर, तिमीले बुझेनौं,’ रेशमले भनेका छन्, ‘तिमी सोझी र अन्जान छ्यौं तर, मुडी छ्यौं भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए । शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरू सबको पहिचान छ । कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ ।’

केही स्वार्थी समूहले आफूहरूबीचको संवाद रोक्ने प्रयास गरिरहेको चौधरीको भनाइ छ । रेशमले तीन कुराबाट बच्न रन्जितालाई सुझाव दिएका छन् । उनले छोरी, भाउजू र भान्जी भन्नेसँग बच्न उनले सुझाए ।

संरक्षक चौधरीले मिल्दा पनि मनैले मिल्न र छुट्टिँदा पनि जग नहँसाएर छुट्टिन आग्रह गरेका छन् ।

‘जसले तिमिलाई मन्त्रीज्यू भन्छ त्यो चाहिँ तिम्रो असली कार्यकर्ता हो । अहिले म काठमाडौंमा केवल तिमी भेट्ने उद्देश्यले मात्रै आउँदैछु । केवल २ जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ,’ उनले भनेका छन्, ‘मिल्दा पनि मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ । हाम्रा सन्तान इष्टमित्र सबैलाई आहत भएको छ । यसैमा दुवैको भलाई छ र पार्टीको कल्याण पनि ।’

उनले रन्जिताविरूद्ध नभई निर्वाचन आयोगविरूद्ध मुद्दा हालेको समेत बताए । ‘प्यारी रन्जिता, मैले तिमिलाई मुद्दा हालेको होइन,निर्वाचन आयोगलाई हो । अदालतले कारण देखाउ आदेश जारि गर्दा निर्वाचन आयोगको जवाफमा तिमिलाई पनि सोध्ने आदेश गरेको मात्रै हो । तिललाई पहाड बनाउनु हुन्न’ चौधरीले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved