आलेख

अमेरिकी लोकतन्त्र र ट्रम्पवादबीच छैन मेल तर, किन पाउँछन् ट्रम्पले समर्थन ?

ट्रम्पले अमेरिकी प्रणालीप्रति सृजना गरिरहेको जोखिमका बाबजुद धेरै मान्छेको उनलाई समर्थन गर्ने चाहनालाई कसरी बुझ्ने ? कसरी व्याख्या गर्ने ? यसभित्र केही गहिरा र आधारभूत कुरा छन् ।

अमेरिकी लोकतन्त्र र ट्रम्पवादबीच छैन मेल तर, किन पाउँछन् ट्रम्पले समर्थन ?

त्यस्ता धेरै मतदाता अहिले पनि छन्, जो डोनाल्ड ट्रम्पबाट अमेरिकी उदार लोकतन्त्रलाई कुनै जोखिम देख्दैनन् वा अहिलेसम्म त्यस्तो जोखिम नदेखेको दाबी गर्दछन् ।  ट्रम्पले प्रत्येक दिन आफैँ चिन्ता गर्नुपर्ने कारण दिइरहेका हुन्छन् । तर, मानिस यी कारणलाई पनि छनोट गरिरहेका छैनन्, जुन हामीलाई लाग्छ कि पर्याप्त हुनुपर्ने हो।

ट्रम्पले अमेरिकी प्रणालीप्रति सृजना गरिरहेको जोखिमका बाबजुद धेरै मान्छेको उनलाई समर्थन गर्ने चाहनालाई कसरी बुझ्ने ? कसरी व्याख्या गर्ने ? यसभित्र केही गहिरा र आधारभूत कुरा छन् ।

अमेरिकाका संस्थापक यसबारे चिन्तित थिए । पछि अब्राहम लिंकनले त चेतावनी नै दिएका थिए । तिनमा अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा व्यक्त क्रान्तिकारी उदार सिद्धान्तप्रतिको जनसमर्थन सधैँ कायम नहोला भन्ने डर थियो । तिनलाई लाग्थ्यो कि स्वतन्त्रता र समानताको मूल्य प्रणालीलाई स्वार्थी चाहनाले कमजोर बनाउन सक्दछ ।

जेम्स मेडिसनले त यसो पनि भनेका थिए कि यदि जनतामा नै स्वतन्त्रताको घोषणापत्रप्रति प्रतिबद्धता रहेन भने हाम्रो प्रणाली र सरकार टिक्न सक्दैन । यद्यपि उनी ठान्थे कि जनताले स्वतन्त्रतालाई माया गर्नु पर्दछ, आफ्नो स्वार्थका लागि मात्र हैन, मान्छे हुनुको आदर्शका लागि । आज धेरै अमेरिकी यो मार्गमा छैनन् । उनीहरूलाई संस्थापकले के भने स्वतन्त्रताको घोषणापत्रमा के छ, प्रणाली जीवित छ वा छैन भन्ने कुरामा कुनै मतलब छैन । उनीहरू ट्रम्पलाई यसर्थ विश्वास गर्दैछन् कि उनले उनीहरूमाथिको ‘शासन’ भनिएको चिजलाई उखेलेर फ्याँक्न खोज्दैछन् ।

उनीहरू यो बुझ्न चाहिरहेका छैनन् कि यो ‘शासन’ भनिएको चिज संस्थापकहरूले विश्वव्यापी समानता र प्राकृतिक अधिकारको सिद्धान्तमा आधारित भएर बनाएको एक अद्धितीय राजनीतिक प्रणाली हो । जस्तो कि बेन्जामिन फ्रांकलिनले भनेका थिए— यो एक गणतन्त्र हो, यदि तपाईं कायम राख्न सक्नु हुन्छ भने ।

के आज हामी गणतन्त्र कायम नराख्ने दिशातर्फ जान खोज्दैछौँ ? यदि हाम्रो गणतन्त्र स्वस्थ हुन्थ्यो भने ट्रम्प र उनका अनुयायीले संस्थापकले निर्माण गरेको उदार लोकतन्त्रको प्रणाली हटाउन खोजेको हो कि भन्ने बहस गर्नु पर्थेन ।

सन् २०२१ जनवरी ६ मा क्यापिटोल हिलमाथि आक्रमण गर्नुको ट्रम्पको उद्देश्य के थियो होला ? संसद्लाई निर्वाचन परिणाम अस्वीकार गर्न बाध्य पार्नु वा प्रहरीको नाक भाँच्नु ? जस्तो कि एक ५६ वर्षीया मिचिगन महिलाले त्यो दिन भनेकी थिइन्— हामी यहाँ चोर्न आएका हैनौँ । हामी यहाँ कुनै नोक्सान गर्न, बिगार्न आएका हैनौँ । हामी सरकार ढाल्न मात्र आएका हौँ ।

यसपटक पनि ट्रम्प त्यही भन्दैछन्— उनले हारे भने भोट धाँधली भएको मानिनेछ ।

यसपटक पनि उनले जनवरी ६ को दुर्घटना निम्त्याउन सक्दछन् । ट्रम्प हिजो पनि ‘हारेँ भने निर्वाचन परिणाम स्वीकार गर्दिनँ, यहाँ रक्तपात हुन्छ’ भन्थे । आज पनि त्यही भन्दैछन् । यसबाट प्रष्ट हुन्छ कि उनी संविधान, प्रणाली र लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्दैनन् । यसरी ट्रम्प अमेरिकी इतिहासको एक अनौठो उम्मेदवार बनेका छन् । अमेरिकी जनताले ट्रम्पलाई समर्थन नगर्नका लागि यी कारण पर्याप्त हुनुपर्ने हो । लोकतन्त्रमाथि यस्तो खुल्ला चुनौती आजसम्म कसैले दिएको थिएन ।

हाम्रा संस्थापकलाई थाहा थियो कि यो रोगको कुनै उपाय छैन । यसलाई रोक्नु अदालतको क्षमताभित्र पर्दैन । जब कुनै डेमागगले मतदाताको निष्ठा कब्जा गर्दछ, त्यसले प्रणाली भत्काउन सक्दछ । यही कारण हो कि उनीहरूले कांग्रेसलाई महाअभियोगको अधिकार दिएका थिए । सन् २०२० मा कांग्रेसले यो अधिकार प्रयोग गर्ने अवसर पाएको पनि थियो तर, रिपब्लिकन सिनेटरले संस्थापकहरूले कल्पना गरेको यो अधिकार प्रयोग गर्न सकेनन् । फलतः संस्थापकको भय आज दुस्वप्न बन्न खोज्दैछ ।

ट्रम्पको समस्या यो हैन कि उनी सत्ता कब्जा गर्न चाहन्छन् । बरु यो हो कि कानून र संविधानलाई उनी आफ्नो परिवार र व्यवसायको स्वार्थमा प्रयोग गर्न चाहन्छन् । उनले जिते भने कानून र न्यायको दुरुपयोग गर्नेछन् । यो कुरा सबैजसो अमेरिकीलाई थाहा छ । फेरि उनले यति धेरै भोट किन पाइरहेका छन् ? कारण यही हो कि उनका समर्थक मतदाता पनि प्रणाली ध्वस्त भएको हेर्न चाहन्छन् । यो कुनै नयाँ मनोदशा हैन, यो हाम्रो गणतन्त्र जत्तिकै पुरानो प्रवृति हो ।

इतिहासकारले अधिकांश अमेरिकी उदार परम्पराबारेमा लेखे तर, सुरुदेखि नै यहाँ अनुदार परम्परा पनि थियो भन्ने हामीले बिर्सियौँ । धेरै अमेरिकी त्यस्ता पनि थिए, जो उदार, धर्मनिरपेक्ष, समानताको सिद्धान्तमा आधारित स्वतन्त्रताको घोषणापत्र र अधिकारपत्र अघिको अनुदार, पदसोपानीय, परम्परावादी विश्वास प्रणाली जोगाउन चाहन्थे । संस्थापकहरूले गणतन्त्रलाई उदार क्रान्तिकारी शिद्धान्तको श्रृंखलामा ढालेका थिए । उनीहरूले त्यहीअनुसारको सरकारको कल्पना गरे । त्यसको आधार थियो— सबै मानिस समानरूपमा जन्मेका हुन् । सबै मानिसको प्राकृतिक अधिकार उस्तै हुन्छ । सरकार ती अधिकारको सम्मान र सुरक्षा गर्न अनुबन्धित छ ।

ती अधिकार धार्मिक विश्वासबाट आएका हैनन् । ती अधिकार क्रिश्चियानिटी, ईश्वर, श्रीपेच वा संविधानले दिएको हैन । ती मान्छेमा स्वस्पष्ट र अन्तर्निहित हुन्छन् । यो नै उदारवादको केन्द्रीय सिद्धान्त हो । अमेरिकी स्वतन्त्रताको क्रान्तिभन्दा अघि यस्तो सिद्धान्तमा आधारित सरकार संसारमा कहीँ पनि थिएन । तसर्थ, मानव जातिको एक ठूलो संख्यालाई प्राकृतिक अधिकारको सिद्धान्त पत्याउनै गाह्रो पर्थ्यो । क्रिश्चियन, प्रोटेस्टेन्ट, क्याथोलिक, यहुदी, इस्लाम, हिन्दू, बौद्ध सबैका लागि यो अनौठो कुरा थियो ।

मान्छे भगवान्‌को नजरमा समान हुन सक्थे तर, राज्य, सरकार र धार्मिक संस्थाको प्रणालीमा हैन । यी कुनै पनि संस्था समान अधिकारको सिद्धान्तमा आधारित थिएनन् । यहाँसम्म कि बेलायती लोकतन्त्र र प्रणाली पनि यो सिद्धान्तमा आधारित थिएन । त्यो राजतन्त्र नामको कुलिनतन्त्र, श्रीपेच र प्रजाबीचको सम्झौतामा आधरित थियो । बेलायतमा कयौं मान्यता शताब्दीऔंदेखि सुधार हुँदै आएका थिए तर, ती समान प्राकृतिक अधिकारको सिद्धान्तमा बनेका थिएनन् ।

संस्थापकहरूलाई थाहा थियो कि यी विचार बिल्कुल क्रान्तिकारी हुन् । त्यसका लागि नयाँ प्रकारको सोच्ने र काम गर्ने तरिका चाहिन्छ । उनीहरूलाई यो पनि थाहा थियो कि अठारौं शताब्दीको अमेरिकी समाज उनीहरूले स्थापित गर्न खोजेका क्रान्तिकारी सिद्धान्तअनुरूप छैन । उनीहरूलाई यो थाहा थियो कि दासप्रथा स्वतन्त्रताको घोषणाविपरीत छ । चाहेर पनि उनीहरूले त्यसलाई त्यतिबेलै हटाउन सकेनन् । यो कामना गरे कि कुनै दिन यसको स्वाभाविक मृत्यु हुनेछ । उनीहरूलाई थाहा थियो कि समाजमा प्रभावशाली चर्चहरू स्वतन्त्रताको घोषणाविपरीत छन् । १८ औं र १९ औं शताब्दीभरि कयौं राज्यले धार्मिक औपचारिकता कायम राखे ।

अर्थात् संक्षेपमा भन्दा उनीहरूलाई थाहा थियो कि धेरै अमेरिकी उदारवादी क्रान्तिको सिद्धान्तमा विश्वास गर्दैनन् । स्वतन्त्रताको घोषणापत्रका एक हस्ताक्षरकर्ता बेन्जामिन रुसले त्यतिखेरै भनेका थिए— हामीले हाम्रो सरकारको रूप परिवर्तन गर्‍यौँ तर, हाम्रा विचार, सिद्धान्त र आचरण क्रान्तिसँग समायोजित हुन बाँकी नै छन् ।

संस्थापकले स्वतन्त्रताको घोषणापत्रका सिद्धान्त मान्न नागरिकलाई बाध्य गरेनन् । बरु यो मान्यता राखे कि स्वतन्त्रताको घोषणापत्रमा विश्वास गर्ने न गर्ने दुवै खाले अमेरिकी नागरिक हुन सक्दछन् । धेरैले यसका सिद्धान्तमा विश्वास गरेनन् पनि । दक्षिणका दासप्रथा समर्थक नेताले भनेका थिए कि यो ‘सबैभन्दा झुटो र घातक’ घोषणापत्र हो । उनीहरूले विश्वास गर्ने लोकतन्त्र श्वेत सर्वोच्चतामा आधरित थियो । सन् १८६० को विद्रोह त्यसैको परिणाम थियो । उनीहरूले विद्रोह गरेर अमेरिकी गणतन्त्रको सिद्धान्त र प्रणालीबाट बाहिर निस्कन खोजेका थिए ।

त्यो विद्रोह कहिल्यै आफैँ समाप्त भएको हैन । त्यसलाई दबाइएको, कमजोर बनाइएको हो । त्यो अहिले पनि भित्रभित्रै छ । ती सैन्य कारबाहीमा पराजित त भए तर, संविधान र उदार लोकतन्त्रका सिद्धान्तप्रतिको तिनको शत्रुताभाव कहिल्यै सकिएन । आज पनि अमेरिकीको एक हिस्सा त्यो दक्षिणी मानसिकताबाट बाहिर निस्केको छैन । उदारवादविरोधी भावना श्वेत नश्लसँग मात्र जोडिएको छैन । एंग्लो सेक्सन प्रोटेस्टेन्टहरूको एक हिस्साले अहिले पनि अमेरिकालाई प्रोटेस्टेन्ट राष्ट्र हो भन्ने कुरामा जोड दिन्छ । तिनका नजरमा क्याथोलिक क्रिश्चियन पनि समान हैनन्, उनीहरूलाई समान अधिकार दिनु हुँदैन ।

दक्षिणमा मात्र हैन, दक्षिणबाहिर पनि यहुदीविरोधी, क्याथोलिकविरोधी, अश्वेतविरोधी भावना फष्टाएको छ । क्रिश्चियन राष्ट्रवादको भावना र आन्दोलन अमेरिकी इतिहासमा सधै प्रबल थियो । अर्थात् संस्थापकले उदारवाद अमेरिकी समाजमा स्थापित छ भनेर यसका सिद्धान्त अवलम्बन गरेका हैनन्, स्थापित गर्न आवश्यक छ र विस्तार हुँदै जानेछ भन्ने आशााले अवलम्बन गरेका हुन् । जस्तो कि अब्राहम लिंकन भन्थे— यसको प्रभाव फैलिँदैछ । सबै स्थान र रङ्गका मान्छेलाई जीवनको मूल्य र आनन्द दिँदैछ ।

अमेरिकी अनुदारवादी आन्दोलनको आधार सधैँ श्वेत नश्ल र इसाई धर्म हो । अक्सर यी दुवै सँगै हुन्छन् । तिनलाई लाग्छ कि उदारवादी प्रणाली र सरकारले सधैँ अल्पसङ्ख्यक विशेषतः अश्वेतलाई फाइदा पुर्‍याएको छ ।

श्वेत मानिसका लागि स्वतन्त्रताको अर्थ समानता हैन, सर्वोच्चताको स्वतन्त्रता हो । तिनलाई भित्र मनमा के लाग्छ भने धार्मिक समानता र अल्पसङ्ख्यकको अधिकारको कुरा गर्नेहरूले प्रकारान्तरले श्वेतमाथि दमन गर्दैछन् । इसाई धर्मलाई सङ्कुचन गर्दैछन् । अमेरिका विस्तारै आप्रवासी र तिनका सन्तानको हातमा जाँदैछ । यस्तो सोच राख्ने कतिपयले त पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामालाई समेत खाँटी अमेरिकी मान्दैनन् ।

ट्रम्पका समर्थक, अनुयायी र मतदातामा यही भावना बलियो छ । उनीहरू आफूलाई देशभक्त ठान्दछन् । तर, देश र देशभक्तिको उनीहरूको जुन परिभाषा छ, त्यो संस्थापकले अमेरिका बन्दै गर्दा नै अस्वीकार गरेको हो । अमेरिका एक क्रान्तिकारी राष्ट्र हो, यो रुढीवादी राष्ट्रवादको सोचमा अल्झेर बस्न सक्दैन । तर, कन्जर्भेटिभहरू इजरायलजस्तै बाइबलमा उल्लेखित ‘भगवान्‌को अधिराज्य’ को कल्पनामा हुन्छन् ।

उनीहरूका लागि ट्रम्प प्रतिक्रान्तिका एक आधारभूत साधन हुन् । ट्रम्पका समर्थक ब्लादिमिर लेनिनको ‘अगुवा दस्ता’ सिद्धान्तबाट प्रभावित छन् । लेनिन भेनगार्डमार्फत क्रान्ति गर्न चाहन्थे । ट्रम्पवादीहरू प्रतिक्रान्ति गर्न चाहन्छन् । अनुदारवादी चिन्तकहरूको सोच नै यही हो कि उदारवादी प्रणालीलाई बदल्न चुनावमात्र पर्याप्त हुँदैन, त्यसका लागि केही न केही हिंसा, गैरसंवैधानिक तथा गैरकानूनी क्रियाकलाप चाहिन्छ । अनुदारवादीले ट्रम्पका रूपमा एक भेनगार्ड पाएका हुन् ।

अनुदारवादीहरूको आप्रवासनविरोधी सोच पनि नयाँ हैन । सन् १९६० को दशकमा यो सोच झनै बलियो थियो । अब प्रश्न उठ्छ कि डोनाल्ट ट्रम्प यो परियोजनामा किन जोडिए ? किन उनले यो जोखिम उठाउने आँट गरे ? के उनी आफैँ अनुदारवादी हुन् ? के उनी श्वेत सर्वोच्चता र क्रिश्चियन राष्ट्रवादमा विश्वास गर्दछन् ? के उनी संस्थापकहरू र उनीहरूको उदारवादी सिद्धान्तलाई घृणा गर्दछन् ?

यी कुनै सत्य हैनन् । यसको उत्तर हो ‘कर्पोरेट अमेरिका’ ।

कर्पोरेट अमेरिका र यसका आर्थिक नेताहरूलाई यो सत्य राम्रो थाहा छ कि आर्थिक नीतिमा ट्रम्पसँग विमति राख्नुपर्ने केही छैन । ट्रम्पको विरोध गर्नुपर्ने आर्थिक कारण छैन । ट्रम्पका श्वेत श्रमिक वर्गीय अनुयायी धेरै तलबभत्ता हैन सांस्कृतिक राष्ट्रवाद खोज्दैछन् र ट्रम्पको उदयको कारण तिनलाई धेरै भुक्तानी गर्नु पर्दैन । ट्रम्पले अझै पनि व्यावसायिक मुनाफालाई व्यावधान गर्ने कर कटौती र सङ्घीय नियम हटाउन सक्दछन् ।

हामीलाई रिपब्लिकन पार्टीको ‘इकोसिष्टम’ थाहा छ । पार्टीभित्रबाट ट्रम्पको विरोध हुन सक्दैन । भए पनि निक्कै कम हुन्छ । ट्रम्पको विरोधमा भएका अधिकांशले पार्टी छोडिसकेका छन् । भएका पनि आ-आफ्नो कार्यकाल पूरा गरेर बाहिरिने तरखरमा छन् । बाँकीले पार्टीभित्र ट्रम्पको फलामे अनुशासनलाई स्वीकार गरेका छन् । उनीहरूको स्वार्थ ट्रम्पको सफलतासँग जोडिएको छ ।

ती औसत मतदाता जो हिजो जर्ज डब्लु बुस, जोन म्याकेन, मिट रोमनीको समयमा खुसीले रिपब्लिकन पार्टीलाई मतदान गर्थे, के यिनले यी भिन्नता बुझ्दैनन् ? वा बुझेर पनि किन बेवास्ता गर्दछन् त ? तिनमा क्रिश्चियन राष्ट्रवादको भावना नहुन सक्दछ तर, ट्रम्पको विजयमा उनीहरूको पनि स्वार्थ जोडिएको हुन सक्दछ । तिनमा श्वेत अमेरिकन हुनुको भावना भने छ, जसले अनुदारवादी हुनलाई आधार दिन्छ । यिनमा शासनलाई उखेलेर फाल्ने वा त्यस्ता प्रयत्नको विरुद्धमा उभिने दुवै भावना नहुन सक्दछ ।

लाजमर्दो कुरा कहाँनेर छ भने आज धेरै गोरा अमेरिकीले आफ्ना संस्थापकले स्वीकार गरेको पूर्ण समान सदस्यको स्थिति र स्वतन्त्रताको आनन्द बिर्सेका छन् । धेरै गोराहरूले यो बिर्सेका छन् कि उनीहरूको पुर्खाको इतिहास अमेरिकी धर्तीमा यूरोपेली आप्रवासनसँग जोडिएको छ । धेरै क्याथोलिकले यो बिर्सेका छन् कि कुनै समय अमेरिकामा सबैभन्दा धेरै घृणा गरिने समूह यही थियो ।

यो स्मरण गरौँ कि संस्थापकमध्येकै एक जोहन जेय क्याथोलिकलाई नागरिकताबाटै पूर्णत बञ्चित गर्न चाहन्थे । आजका धेरै जसो गोरा अमेरिकी कुनै बेला आप्रवासी समूहका रूपमा घृणा गरिएका मान्छे हुन् । त्यही उदारवादले उनीहरूलाई उदारवाद विरोधीको शिकार हुनबाट बचाएको थियो, जसलाई उनीहरू आज आफैँ भोट हालेर सत्तामा फिर्ता ल्याउन खोज्दैछन् ।

तिनले हिजो आफूलाई चाहिएको बेला उदारवाद रोजे, त्यसको सिँढी चढेर आजको सफलता र गन्तव्यमा पुगे । आज त्यसैलाई त्याग्न खोज्दैछन् । उदारवादले दिएका कानून र संस्थाबाट समानता प्राप्त गरिसकेपछि उनीहरूमा उदारवादप्रतिको चाह घटेको छ ।

सन् १९८१ मा स्वतन्त्रता युद्ध समाप्त हुनु दुई वर्ष अघि थोमस जेफर्सनले भविष्यवाणी गरेका थिए कि युद्ध समाप्त भएपछि हामी फेरि— पहाडको तल जानेछौँ । अधिकार र अनुरागपूर्ण चासोलाई बिर्सेर मान्छे पैसा कमाउने अभिप्रायले सामान्य जीवनमा फर्किने छन् ।

आधा शताब्दीपछि अब्राहम लिंकनले भनेका थिए— क्रान्तिका मौलिक भावना अमेरिकालाई सामान्य स्वार्थमा मात्र बाँच्न दिएर समयसँगै मरे । स्वतन्त्रताको मन्दिरका स्तम्भहरू भत्किए ।

त्यसको करिब दुई दशकपछि देश गृहयुद्धमा फस्यो ।

यो वर्ष यदि अमेरिकी शासन प्रणाली असफल भयो भने संस्थापकले स्थापित गरेका संस्थाहरूको कारणले हुने छैन । त्यो नयाँ प्रविधिको विकास र संवैधानिक त्रुटिको कारणले पनि हुने छैन । कुनै पनि शासन प्रणालीले दृढनिश्चय तानाशाहबाट आफूलाई जोगाउन सक्दैन । यो काम जनताले मात्र गर्न सक्दछन् ।

(द वासिङगटन पोष्टबाट संक्षेपीकरणसहित अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved