आलेख

‘नागरिक नेटवर्क’ के हो ? यसले के काम गर्छ ?

नागरिक नेटवर्कले उमेदवारलाई आर्थिक तथा प्रचारप्रसारको बोझ उठाउनुपर्ने बाध्यताबाट मुक्त गर्नु पर्दछ । नेटवर्कले पैसाको प्रयोगले कसरी चुनाव विकृत भएको छ ? लोकतन्त्रलाई उक्त पैसाले कसरी अपहरण गरेको छ ? भन्ने कुरा बुझाउनु पर्छ ।

‘नागरिक नेटवर्क’ के हो ? यसले के काम गर्छ ?

यो लेख ‘स्थानीय तहको गैरदलीयकरण किन र कसरी ?’को देश्रो खण्ड हो । अघिल्लो लेखमा गैरदलीयकरण आवश्यक पर्नुका ६ वटा कारणमाथि छलफल गरिएको थियो । ती हुन्, प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्न, क्षमतावान् र उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिन, दलीय विभाजनकारी राजनीतिलाई कम गर्न, सीमित मानवीय श्रोतको व्यवस्थापन गर्न, गिरोहको सिण्डिकेट तोड्न र भ्रष्टाचार नियन्त्रण गर्न । उक्त लेखमा गैरदलीयकरण कसरी गर्ने ? भन्ने प्रश्नमाथि पनि केही छलफल गरिएको छ । थप छलफलका लागि यो लेख लेखिएको हो ।

गैरदलीयकरणको मुद्दालाई स्थापित गर्न आन्दोलन जरुरी छ । तर, उक्त आन्दोलन पार्टीको नेतृत्वमा होइन, नागरिकको नेतृत्वमा । पहिलाको जस्तो जिन्दावाद, मुर्दावाद र टायर बाल्ने नभएर सोच र काममा । प्रथमतः यो मुद्दालाई स्थापित गर्न चाहने नागरिक एक ठाउँमा उभिन आवश्यक छ । त्यसरी सङ्गठित भएर काम गर्नका लागि नागरिक नेटवर्कको मोडल उपयुक्त हुन्छ । यो लेख नागरिक नेटवर्कको गठन कसरी गर्ने र त्यसका लागि कस्ता कार्यक्रम बनाउने भन्ने विषयमा केन्द्रित छ ।

अघिल्लो लेखले केही बहस सिर्जना गरेको छ । धेरैलाई यो मुद्दा मन परेको पनि छ । तर, दलको झोला बिसाएर नागरिक हुन त्यत्ति सजिलोचाहिँ छैन । दलीय सिण्डिकेटको धम्की र रोजीरोटीको जोहो गर्न उनीहरूमा रहेको निर्भरताले राम्रो लागे पनि तर्किनुपर्ने बाध्यता छ । यद्यपि, दलै नचाहिने कस्तो लोकतन्त्र होला ? विचारविहीन भीड आएर झनै भद्रगोल बनाउने पो हो कि ? नेटवर्कमा भएका नागरिकका लागि कुनै नैतिक बन्धन हुन्छ कि हुँदैन ? नागरिक स्तरबाट नै आन्दोलन उठ्नुपर्ने भएकाले गाह्रो पो हुन्छ कि ? भन्ने जस्ता जायज प्रश्नहरूसमेत उठेका छन् ।

लेखको मुख्य विषयमा प्रवेश गर्नुभन्दा पहिला उक्त प्रश्नमाथि छोटोमा केही राख्न चाहन्छु ।

दलका लागि लोकतन्त्र र लोकतन्त्रका लागि दल अपरिहार्य हुँदैनन् । उदाहरणका लागि हाम्रा छिमेकी चीन र बङ्गलादेशमा जस्तै दल हुने लोकतन्त्र नहुने हुन सक्छ । अनि नेपालमा जस्तै दलहरू हुने तर, लोकतन्त्र विकृत भएर दलालतन्त्रमा बदलिएको पनि हुन सक्छ । त्यसकारण दल हुँदैमा लोकतन्त्रको ग्यारेण्टी हुँदैन । साथै दल नहुँदैमा लोकतन्त्र छैन भन्ने पनि हुँदैन । यस्तो लोकतन्त्र प्राचीन दक्षिण एशिया र ग्रीकमा थियो । पछिल्लो समय सन् १९९२ मा भारतीय संविधानको ७३ औं संशोधन गरी पञ्चायती राजको व्यवस्था गरिएको छ । त्यसअनुसार स्थानीय सरकार दलबाट होइन, ‘ग्राम सभा’बाट बन्ने व्यवस्था छ ।

वास्तवमा दलविहिन लोकतन्त्र उन्नत लोकतन्त्र हो । किनकि यो जनता आफ्नो अधिकार र कर्तव्यप्रति जागरुक भएको अवस्था हो । यस अवस्थामा नागरिकलाई लोकतन्त्रको अभ्यास गर्न दल चाहिँदैन । यहाँ के मात्रै भन्न खोजिएको हो भने दल नभए पनि लोकतन्त्र हुन सक्छ र दल भएर पनि लोकतन्त्र नहुन सक्छ । हो, दुवै पनि सहअस्तित्वमा रहन सक्छन् । यद्यपि, दल हुने बेलासम्म त्यो प्रत्यक्ष लोकतन्त्र हुन सक्दैन । अर्थात् पूर्ण लोकतन्त्र हुन सक्दैन । सबै वस्तुस्थितिलाई ध्यानमा राख्दा अहिलेको व्यावहारिक मुद्दा भनेको स्थानीय तहमा गैरदलीय प्रत्यक्ष लोकतन्त्र हो, केन्द्रमा होइन । अहिले स्थानीय तहलाई दलीय राजनीतिबाट मुक्त गर्न सम्भव छ भने यही मुद्दालाई संविधान संशोधनमार्फत स्थापित गर्न केन्द्रमा दल जरुरी छ । प्रत्यक्ष लोकतन्त्रको अभ्यास देशभर गर्न संरचना ठूलो र अव्यावहारिक हुन्छ ।

दलीय स्वार्थको हस्तक्षेपले केन्द्रदेखि स्थानीय तहसम्मका धेरै सरकार भद्रगोल छन् । यी चलेको हर्दा अझै बिग्रिने ठाउँ छ र ? जस्तो लाग्छ । संविधानको मर्मनुसार स्थानीय तह स्वायत्त भए पनि यथेष्ठ अधिकार दिइएको छैन । यद्यपि, यो तहमा चाहिँ अवसर पनि छ । स्वतन्त्ररूपमा गएका केही जनप्रतिनिधिका काम हेर्दा गैरदलीय लोकतन्त्रले सुधार गर्ने देखिन्छ । हो, यसरी चुनिएको नेतृत्वमा केही चुनौती अवश्य देखिएका छन् । तिनलाई व्यवस्थापन गर्न प्राईमरी अथवा क-कसको व्यवस्था हुनुपर्छ । प्रतिनिधि मन नपरे फिर्ता बोलाउन पाउने व्यवस्था गर्न सकिन्छ ।

माथि प्राईमरी र क-कसबीचमा ‘अथवा’ राख्नुको मतलब विशिष्ठ छ । विश्वमा अभ्यास भएका यी विधिको हुबहु वा ‘कपिपेस्ट्’ गर्न नमिल्ने भएकाले उनीहरूको ‘टेम्प्लेट’ (खाका) ल्याएर यहाँ हुँदैन । हाम्रो लागि मौलिक खाकाको विकास गर्नुपर्ने छ । त्यसैले यी दुवैबाट सिकेर नयाँ ‘नागरिक प्राईमरी’ को अवधारणा विकास गर्नुपर्छ । साथै यो विश्व परिस्थिति, नागरिकको आवश्यकता र नेपालको संविधानको मर्मअनुकूल हुनुपर्छ । नागरिक प्राईमरीको बहस त्यसैका लागि हो । यसबारे थप कुरा भविष्यमा लेखिने छ । यो लेखमा भने नागरिक नेटवर्कबारे विमर्श गरौँ ।

नागरिक नेटवर्क के हो ?

नागरिक नेटवर्क स्थानीय तहमा प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्नुपर्छ भन्ने मुद्दामा सहमत आत्मविश्वासी नागरिकहरूको साझा मञ्च हो । यस नेटवर्कमा कुनै पद वा पदाधिकारी हुँदैन । सबै नागरिकको समान हैसियत हुन्छ । कुनै मुद्दामा कसैले जिम्मेवारी लिनुपर्‍यो भने उक्त निर्णय विज्ञता र रुचिका आधारमा गरिन्छ । सकेसम्म छलफलबाटै टुङ्ग्याइन्छ । चुनाव गर्नुपर्ने अवस्थामा समर्थन र विरोधको मतदान खुला हुन्छ । यो मोडलमा अनौपचारिकता बढी र औपचारिकता कम हुन्छ ।

नागरिक नेटवर्कमा दलमा आबद्ध भएका नभएका सबै सदस्य सहभागी हुन सक्छन् । तर, ती स्थानीय तहको गैरदलीयकरणको एक मुद्दामा चाहिँ सहमत हुनुपर्छ । दलको अप्रत्यक्ष समर्थन लिएर पनि व्यक्ति नागरिक प्राईमरीमा सहभागी हुन सक्छ । वास्तवमा नागरिक नेटवर्क मुद्दामा केन्द्रित भएर छलफल गर्न सबैका लागि खुला फोरम हो । नेटवर्कमा आबद्ध नागरिकले सबै मुद्दामा आफ्नो मत राख्न सक्छन् । संविधान संशोधन र अन्य जुनसुकै राजनीतिक मुद्दामा छलफल गर्नका लागि यो नेटवर्क खुला हुन्छ ।

यस नेटवर्कको तत्कालीन उद्देश्य नागरिक प्राईमरीको व्यवस्था गर्ने हो भने दीर्घकालीन उद्देश्य संविधान संशोधन गरी स्थानीय तहमा प्रत्यक्ष लोकतन्त्रको अभ्यास सुनिश्चित गर्ने हो । आन्दोलनलाई प्रभावकारी बनाउन पहिले नेटवर्क र नेटवर्कमा आबद्ध नागरिकको क्षमता वृद्धि गर्नुपर्छ । त्यसका लागि निश्चित कार्यक्रम चाहिन्छ । यस सन्दर्भमा यहाँ प्रमुख चार काम प्रस्ताव गरिएको छ ।

पहिलो, नागरिक नेटवर्कले थिकट्याङ्क वा ‘प्रबुद्ध मञ्च’को रूपमा काम गर्नु पर्दछ । स्थानीय स्तरमा उठेका विषय मात्रै होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति, अर्थनीति, वातावरणीय सङ्कटलगायतका विषयमा सक्दो र भ्याउँदो छलफल गर्न सकिन्छ । छलफललाई व्यवस्थित बनाउन सहमतिका आधारमा प्रत्येक पन्ध्र दिन वा महिनामा निश्चित विषयको निश्चित व्यक्ति वा समूहलाई जिम्मेवारी दिन सकिन्छ । बाहिरबाट जानाकारलाई निम्ता गरेर र प्रविधिमार्फत जोडेर छलफललाई थप सहज र प्रभावकारी बनाउने अवसर छ ।

प्रबुद्ध मञ्चले उच्च लोकतान्त्रिक संस्कार प्रदर्शन गर्नु पर्दछ । नेटवर्कमा जोडिएका सबैको आत्मसम्मान शब्दमा मात्रै होइन, व्यहारमा हुनु पर्दछ । छलफलमा कसरी बस्ने ? समयको समान वितरण छ कि छैन ? उठेका प्रश्नलाई गम्भीररूपमा सम्बोधन गर्ने प्रयास भएको छ कि छैन ? यस्ता राजनीतिक संस्कारसँग जोडिएका विषयले ठूलो महत्त्व राख्छन् । सामूहिक पढाइ, लेखाइ, तर्क-वितर्क तथा अन्य अनुसन्धान र बहसका विषयलाई यस नेटवर्कमार्फत अगाडि बढाउनु पर्छ । वास्तवमा यो प्रबुद्ध मञ्चका रूपमा नागरिक नेटवर्कले गर्ने काम भनेको स्थानीय तहमा आवश्यक नीति तथा नियम बनाउनका लागि विशेष पहल र प्रस्ताव गर्ने हो । नीतिगत सुधारका लागि सहयोगी हुने हो ।

दोश्रो, नागरिक नेटवर्कले समाजमा योगदान गर्न चाहने नागरिकलाई निःशर्त सहयोग गर्दछ । यद्यपि, राजनीति महत्त्वपूर्ण भएकाले यसलाई विशेष ध्यानमा राखी काम गर्नुपर्ने हुन्छ । जस्तै, समाजमा धेरै नागरिक छन्, जो देश विकासमा योगदान दिन चाहन्छन् । तर, उनीहरूका लागि उपयुक्त फोरम छैन । दल गिरोहका कब्जामा भएकाले उक्त वातावरण दिन सकिरहेका छैनन् । पालिका जनप्रतिनिधि भएर काम गर्न इच्छुक नागरिकलाई यो नेटवर्कले सहयोग गर्नु पर्दछ । वास्तवमा प्राईमरीमार्फत आफ्नो उमेदवारीलाई अगाडि बढाउन चाहने नागरिकका लागि उत्प्रेरकको काम गर्न यो नेटवर्क जरुरी परेको हो ।

नागरिक नेटवर्कले उमेदवारलाई आर्थिक तथा प्रचारप्रसारको बोझ उठाउनुपर्ने बाध्यताबाट मुक्त गर्नु पर्दछ । नेटवर्कले पैसाको प्रयोगले कसरी चुनाव विकृत भएको छ ? लोकतन्त्रलाई उक्त पैसाले कसरी अपहरण गरेको छ ? भन्ने कुरा बुझाउनु पर्छ । त्यसका साथसाथै मतलाई बिक्री गर्नु भनेको आफ्नै भविष्यलाई बिक्री गर्नु हो भन्नेलगायतका कुरामा चेतना जगाउन काम गर्नु पर्दछ । उमेदवारलाई मुद्दामा केन्द्रित भएर कामका लागि तयारी तथा क्षमता वृद्धि गर्ने अवसर दिनु पर्छ । चुनावमा हुने खर्चलाई घटाउन र पारदर्शी बनाउनका लागि नेटवर्कमा जोडिएका नागरिकले पहल लिन जरुरी छ । खासगरी राजनीतिक महत्वाकाङ्क्षा नभएका तर, राजनीति सुधार गर्नुपर्छ भनेर स्वयम्‌सेवा गर्न चाहने नागरिकको नेतृत्वमा यो कामलाई अगाडि बढाइनु उपयुक्त हुन्छ । अर्थात्, त्यस्तै व्यक्तिले नागरिक प्राईमरीको संयोजन गर्दा उत्तम हुन्छ ।

अहिले हुने खर्च कार्यकर्ता पाल्न र टिकट तथा भोट किन्नमा भएको हो । नागरिक प्राईमरीमार्फत उमेदवार चुनिने अवस्था भए यी खर्चका शीर्षक नै हुँदैनन् । प्रविधिको प्रयोग गरी प्रचार प्रसारलाई पनि सस्तो बनाउन सकिन्छ । पुरानो ढर्राको पर्चा तथा झण्डा छाप्न जरुरी हुँदैन । आफ्नो वडा वा टोलमा नागरिकले आफैँ पहल लिएर प्रचारको काम गर्न सक्छन् । आवश्यक पर्ने सानो खर्च नागरिक स्तरबाट नै जोहो गर्न सकिन्छ ।

तेश्रो, नागरिक नेटवर्कले मोडलहरूको विकास गर्नु पर्दछ । नेटवर्कमा जोडिएका नागरिक विभिन्न पेशा तथा व्यवसायमा हुन्छन् । खासगरी शिक्षा, स्वास्थ्य तथा कृषिजस्ता सार्वजानिक जिवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका नागरिकलाई सामूहिक सहयोग गर्नु प्रभावकारी हुन्छ । यसरी सबैको सोच र हातेमालोले ती संस्थालाई सफल बनाउन सकिन्छ । ती संस्थालाई मोडलका रूपमा विकास गरी नागरिक प्राईमरीबाट जाने उमेदवारलाई प्रेरित गर्न सकिन्छ । उदाहरणका लागि एकजना सदस्य स्कूलको प्रमुख हुनसक्छ । उक्त स्कूलको सुधार गरी नमूना विकास गर्न सकिन्छ । कृषि फार्मदेखि अस्पतालसम्म चलाएका नागरिकलाई त्यही प्रकारको सहयोग गर्न सकिन्छ ।

नागरिक नेटवर्कको अर्को महत्त्वपूर्ण काम हो, स्थानीय तहमा भएका विकृतिका विरुद्ध आवाज उठाउने । भ्रष्टाचार र अनियमितता व्याप्त छ । सिहंदरबारको भ्रष्टाचार गाउँ-गाउँ पुर्‍याउने काम भयो भन्ने गुनासा सर्वत्र सुनिन्छन् । यस्तो अवस्थामा नागरिक नेटवर्कले पालिकामा के भएको छ ? बजेट कति छ ? कहाँ कसरी खर्च भएको छ ? अस्पताल, स्कूल, बाटोघाटोको अवस्था के छ ? यस्ता विषयमा सूचना सङ्कलन गर्ने, सार्वजनिक गर्ने र नीतिगतरूपमा समाधान निकाल्ने काम गर्नु पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved