आलेख

जर्जिया मेलोनीको नेतृत्वमा यूरोपेली चरम दक्षिणपन्थको बढ्दो दबदबा

यूरोपेली राजनीतिमा अहिलेसम्म क्रिश्चियन डेमोक्र्याट्स र समाजवादीहरूको गठबन्धनको ठूलो भूमिका थियो । जुनको चुनावपछि यो गठबन्धन समाप्त हुने आशा दक्षिणपन्थी शक्तिहरूले गरेका छन् । त्यसो भएमा दक्षिणपन्थीहरूको भूमिका शीर्ष स्थानमा उक्लिएर आउनेछ ।

जर्जिया मेलोनीको नेतृत्वमा यूरोपेली चरम दक्षिणपन्थको बढ्दो दबदबा

मतदानको दिन सोच्नुपर्ने एउटा मात्रै प्रश्न छ— तपाईं कस्तो यूरोप चाहनुहुन्छ ? इस्लामीकरण भएको यूरोप कि यूरोपेली यूरोप ?

जुनमा यूरोपेली संसद्को चुनाव हुँदैछ । त्यो चुनावका लागि यो कडा छनोट प्रस्तुत गरेकी हुन्—  मारिओन मारेचलले ।

मारिओन मारेचल फ्रान्सेली चरम दक्षिणपन्थकी उदाउँदो नक्षत्र हुन् । उनले आफ्नो पार्टी अभियानको सुरुवातमा यस्तो अभिव्यक्ति दिएकी हुन् ।

उक्त एक आक्रोशित भाषणमा उनले भनिन्— थुप्रै विदेशी शक्ति र इस्लामिक सङ्गठनले अराजक आप्रवासनको लाभ उठाउँदै अस्थिरताको प्रयास गर्दैछन् । हाम्रा युवालाई भड्काउने, देशद्रोही जासुसी संयन्त्र बनाउने, घातक जिहादी सैन्य भर्ती गर्ने काम गर्दैछन् ।

उनी आफ्नो भाषणबाट एलजीबीटी अभियन्ता, कट्टरपन्थी वातावरणवादी र पश्चिमा विचारधारा विरोधीद्वारा यूरोपेली परियोजनालाई अपहरण गर्ने प्रयत्न भएको चिन्ता गर्ने वक्ताको पङ्क्तिमा थपिन पुगिन् ।

यति ठूलो सर्वनाशको क्रोधका बाबजुद उनले यूरोपेली यूनियन छोड्न भने आह्वान गरिनन् । मारिओन मारेचलको रिकन्वेष्ट पार्टीले यूरोपली अभिजात वर्गमाथि इसाईलाई प्रतिस्थापन गरी इस्लामीकरण गर्न खोजेको विषाक्त आरोप लगाउँछ । साथै, यूरोपेली सत्ताको मार्गमा आफ्नो स्थानको खोजी पनि गर्दछ ।

आज यूरोप महादेशभर उनका जस्ता अतिदक्षिणपन्थी पार्टीहरूको उद्देश्य यूरोपेली सङ्घबाट बाहिर निस्कनु हैन, बरु यसमाथिको कब्जा बढाउनु हो । यस परियोजनाका लागि उनीहरूसँग एक आदर्श प्रारूप छन्, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी ।

मेलोनी यूरोपेली दक्षिणपन्थका लागि पहिल्यै उपलब्ध प्रेरणा हुन् । इटालीको दक्षिणपन्थी गठबन्धन प्रमुखका रूपमा उनी एलजीबीटी समूह, आप्रवासी उद्धारकर्ता सङ्गठन र सार्वजनिक प्रसारण संस्थामाथि कडा निगरानी राख्दछिन्, चर्को प्रतिक्रिया दिन्छिन् । उनले आफ्नो कार्यकारी अधिकार विस्तारका लागि संविधान संशोधनको प्रयास जारी राखेकी छन् ।

तर, उनी आफ्नै महादेशमा आफ्नै कामले आफूलाई अलग गर्दैछिन् । आप्रवासन तथा जलवायु परिवर्तन सम्झौताको अथक विरोध तथा नाटो र यूक्रेनी प्रतिरक्षाप्रति प्रतिबद्धता व्यक्त गर्ने कट्टर एटलान्टिकवादको संयोजन गर्दै उनी यूरोपको एक प्रमुख राजनीतिक शक्ति बन्न पुगेकी छन् ।

यसो भन्न सकिन्छ कि इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी यूरोपेली चरम दक्षिणपन्थको नेतृत्व गरिरहेकी छन् ।

सन् २०२२ को अक्टोबरमा मेलोनी इटालीको सत्तामा आइन् । त्यसपछि उनले प्रयोजनवादी दृष्टिकोण अवलम्बन गरिन् । यूरोपेली सङ्घप्रतिका पहिलेका आलोचना परित्याग गरिन् । उनको यो नीतिले धेरैलाई प्रभावित गर्‍यो । ब्रसेल्समा उनले कुशल कूटनीतिका लागि प्रतिष्ठा हासिल गरिन् ।

यूक्रेनलाई सहयोग गर्ने सन्दर्भमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्वानलाई यूरोपेली सङ्घमा थप भिटो प्रयोगबाट बाहिर निकाल्ने कुरा गरेपछि मेलोनीलाई ‘अर्वान ह्वीस्परर’ को संज्ञा दिइयो ।

भिक्टर अर्वानको मन परिवर्तन लागतहीन भने थिएन । त्यसका लागि यूरोपेली आयोगले रोकिराखेको १०.२ बिलियन यूरो उनको सरकारलाई निकाशा गरेको थियो । १०.८ बिलियन यूरोको निलम्बित कोष पनि फुक्का गरेको थियो । तर, अर्वानमाथि विजय हासिल गर्न मेलोनीको भूमिका झनै पेचिलो थियो ।

उनको यस्तो कूटनीतिक सफलतालाई कतिपयले मेलोनी कुनै राजनीतिक लाइनमा पङ्क्तिबद्ध हैन, ‘एजेण्डा सेटिङ’ मा काम गरिरहेकी छन् भन्ने निष्कर्षमा पुर्‍याएको छ । फरिद जकारियाको एक सीएनएन रिपोर्ट इटालीमा व्यापकरूपमा हेरियो, जसमा ‘यूरोपमा मेलोनीका क्षण’ को जयगान गरिएको थियो । उक्त रिपोर्टमा उनको भूमिकालाई पूर्वजर्मन चान्सलर एङ्गेला मार्केलको भूमिकासँग तुलना गरिएको थियो ।

आर्थिक नीतिबारेका दाबी अतिरञ्जित थिए । इटालीको अर्थतन्त्र यद्यपि बढ्दै गएको छ तर, नयाँ क्षेत्रमा फैलिरहेको छैन । तर, यो तुलना योग्यताहीन पनि हैन । आज धेरैजसो क्षेत्रमा ब्रसेल्सलाई रोमले निर्देशन दिइरहेको छ ।

एक त मेलोनी अधिनायकवादी उत्तर अफ्रिकी देशहरूको सीमामा ‘ब्लक पुलिसिङ’ लाई थप ‘आउटसोर्सिङ’ गर्ने योजना अगाडि बढाउँदै छन् । गत वर्ष उनी भूमध्यसागर पारबाट हुने आप्रवासन रोक्ने सम्झौता गर्न ट्युनिसिया गएकी थिइन् । गत महिना उनले इजिप्टमा ठीक त्यही काम गरिन् ।

दुवै भ्रमणमा उनलाई यूरोपेली सङ्घका उच्च अधिकारी र आयोगकी अध्यक्ष उर्सुला वोन डरलेनले साथ दिएका थिए । जनवरीमा अध्यक्ष वोन डरलेनले यूरोपेली सङ्घ-अफ्रिका सम्बन्धबारे फराकिलो दृष्टिकोणका लागि मेलोनीलाई शुभेच्छा दिएकी थिइन् । इटलीले आप्रवासीहरू कहिल्यै पहिलो स्थानमा नआउने सुनिश्चित गर्ने नियमहरू बनाउन काम गरिरहेको छ ।

मेलोनी हरित सङ्क्रमणको बाटोमा काँडा बनेर उभिएकी छन् । उनी यूरोपेली हरित सम्झौता, वातावरणीय कानून र जलवायु कट्टरतावादको उपहास गर्दैछन् । उनी हरित नीतिलाई रोक्ने वा सुस्त पार्ने प्रयत्नमा छन् । फेब्रुअरीमा उनी क्षतिग्रस्त महादेशीय इकोसिष्टम पुनर्स्थापना कानूनविरुद्धको मतदानको केन्द्रबिन्दु बनेकी थिइन् ।

यस्तो मतदानमा यूरोपका दक्षिणपन्थी पार्टी मेलोनीसँगै उभिएका थिए । ब्रसेल्समा यस्ता समूहलाई यूरोपियन पिपुल्स पार्टी भनिन्छ । यसभित्र जर्मनीको क्रिश्चियन डेमोक्र्याटिक पार्टी सबैभन्दा ठूलो समूह हो । यस समूहमा मेलोनी समावेश हुँदा यो झनै बलियो हुन्छ । यसले पहिलेदेखि दक्षिणपन्थी ब्लकको मौसम मापन गर्दै आएको छ ।

यस ब्लकले त्यस्ता प्रतिबद्धता प्रस्ताव गर्दछ, जसले किसानका मागमाथि आक्रमण गर्दछ । किसानले भर्खरै यूरोपभर प्रदर्शन गरेका छन् । केही असन्तुष्ट दक्षिणपन्थी सांसदको समर्थनमा किसानसँग सम्बन्धित कानून पारित भयो तर, दक्षिणपन्थी नेताहरू नयाँ इन्जिन कार प्रतिबन्धलाई भट्काउने प्रक्रियामा सहकार्य गर्ने विषयमा आशावादी छन् ।

जुनमा हुने यूरोपेली चुनावमा चरम दक्षिणपन्थी शक्तिहरू कम्तिमा ५० प्रतिशत सिट जित्ने बाटोमा अग्रसर रहेको सर्वेक्षणले देखाएका छन् । यूरोपेली राजनीतिमा अहिलेसम्म क्रिश्चियन डेमोक्र्याट्स र समाजवादीहरूको गठबन्धनको ठूलो भूमिका थियो । जुनको चुनावपछि यो गठबन्धन समाप्त हुने आशा दक्षिणपन्थी शक्तिहरूले गरेका छन् । त्यसो भएमा दक्षिणपन्थीहरूको भूमिका शीर्ष स्थानमा उक्लिएर आउनेछ ।

तर, व्यवहारमा यस्तो सहकार्य निकै गाह्रो हुनेछ । चरम् दक्षिणपन्थी नेताहरू भन्छन् कि उनीहरू यूरोपपरस्त, नेटोपरस्त, युक्रेनपरस्त र विधिको शासनपरस्त पार्टीहरूसँग मात्र गठबन्धन गर्नेछन् । कम्तिमा यूरोपको स्थितिले अहिले नै यस्तो अति दक्षिणपन्थी गठबन्धनलाई अस्वीकार गर्दछ । तर, यसले मेलोनीको राजनीतिलाई भने अङ्गालो मार्ने अवसर दिन्छ ।

मेलोनीको उदाहरणलाई पछ्याउँदै कट्टर दक्षिणपन्थी शक्तिहरू यूरोपभर फेरि जुर्मुराउँदै छन् । फ्रान्समा मेरिन लि पेनको नेशनल र्‍यालीले त्यही काम गर्दैछ । त्यसमा सामेल शीर्ष व्यक्तित्वहरू उनीहरूको पूर्वनेटो आलोचक सोचबाट फिर्ता हुँदैछन् । जर्मनीसँगको अस्पष्ट विकल्पबाट आफूलाई टाढा बनाउँदै छन् ।

यूरोपेली मामिलामा हङ्गेरीका भिक्टर अर्वानलाई ‘कालो भेडो’ भनिन्थ्यो । तर, उनी पनि अब एक्लो र एकहोरोपनबाट बाहिर निस्कन खोज्दैछन् । जुलाईबाट हङ्गेरीले ब्लकको अध्यक्षता गर्न थाल्नेछ । अर्वानले यो प्रष्ट गरेका छन् कि जूनको चुनावपछि उनी मेलोनीले नेतृत्व गर्ने सुधारवादी तथा सम्वर्द्धनवादी गठबन्धनमा सामेल हुनेछन् ।

रुसप्रति अर्वानको नरम नीतिको कारण केही व्यावधान त अवश्य हुनेछ तर, गठबन्धनले अर्वानलाई कथित स्वागत गर्ने सम्भावना रहन्छ ।

मेलोनीको इटालियन ब्रदर्श पार्टी र पोल्याण्डको ल एण्ड जस्टिस पार्टीको वर्चस्व रहेको समूह यूरोपेली चरम दक्षिणपन्थीहरूको घर मात्र हैन । यसभित्र पहिचानवादी र लोकतन्त्रवादी समूह पनि छन् । यसभित्र फ्रान्सको नेशनल र्‍याली र इटालीको लिग पार्टी पनि पर्दछन् ।

तर, दुईभिन्न समूहबीचको सम्बन्ध सधै सामन्जस्यतापूर्ण हुन्छ भन्ने छैन । मार्चमा मेरिन लि पेनले मेलोनीलाई यूरोपेली आयोगको अध्यक्षमा उर्सुला वोन डरलेनलाई पुनर्निर्वाचित गर्ने योजना बनाएको कडा आरोप लगाएकी थिइन् । लिग पार्टीका नेता माटियो साल्भिनीले मध्यमार्गीले दक्षिणपन्थीसँग सहकार्य गर्न अस्वीकार गर्नुपर्नेमा जोड दिएका थिए ।

तर, सर्वेक्षण भन्छन् कि यी दुई समूहले मात्रै कम्तिमा एक चौथाइ सिट जित्नेछन् । उच्च पदहरू कसले लिन्छ यसै भन्न नसकिए पनि चरम दक्षिणपन्थीहरूको दबदबा भने रहनेछ ।

दक्षिणपन्थीहरूको सोच हिजो यूरोपेली सङ्घ भत्काउनु थियो । तर, आज उनीहरू सङ्घभित्रै आफ्नो वर्चस्व बनाउन र छाप छोड्नतिर लागेका छन् ।

मारिओन मारेचलले प्राविधिक प्रकारको ‘आयोग संस्करणवादी यूरोप’ को साटो ‘सभ्यता यूरोप’ को कुरा गर्नुको अर्थ त्यही हो । र, सुश्री जर्जिया मेलोनी कम्तीमा आफ्नो तर्फबाट दुवै समूह सँगै जान सक्नेमा विश्वस्त देखिन्छिन् ।

(न्यूओर्क टाइम्सबाट अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved