आलेख

समकालीन विश्वमा अमेरिकी भूमिकाको आधार

कुनै देशले आफूलाई शक्ति राष्ट्र ठान्दैमा त्यसले कुनै ठूलो अर्थ राख्दैन । महत्त्वपूर्ण कुरा त्यो शक्तिले जनतालाई के दियो भन्ने हो । जनताले यो सोध्छन् कि तिमी शक्तिशाली हौला तर, तिम्रो शक्तिले हामीलाई के फाइदा छ ?

समकालीन विश्वमा अमेरिकी भूमिकाको आधार

दोस्रो विश्वयुद्धपछि अमेरिका विश्वको एक महत्त्वपूर्ण आर्थिक तथा सैन्य महाशक्तिका रूपमा उदायो । ठीक त्यही समयदेखि अमेरिकाले विधिमा आधारित उदार विश्व व्यवस्था स्थापित गर्‍यो । आज त्यो विश्व व्यवस्था संसारभरि सम्परिक्षित र संकटग्रस्तजस्तो देखिन्छ ।

आज अमेरिकी जनता अमेरिका संलग्न युद्धहरूप्रति बेवास्तापूर्ण वा आफ्नो देशको विश्व भूमिकालाई लिएर विभाजित देखिन्छन्। अमेरिका त्यस्तो राष्ट्र थियो, जसले नयाँ शताब्दिलाई थुप्रै भ्रंशरेखा र विभाजनबीच अभिवादन गरेको थियो ।

यसका अपेक्षा र सरोकार फरक-फरक दिशातिर तानिँदै थिए । यो त्यस्तो राष्ट्र थियो कि नयाँ शताब्दिमा कस्तो विश्व भूमिका गर्न चाहन्छ भन्नेबारे आफैँ अस्पष्ट थियो ।

यति हुँदाहुँदै पनि अमेरिका विद्यमान विश्व व्यवस्थाको सबैभन्दा बढी लाभ उठाउने राष्ट्र थियो, तर यो विश्व व्यवस्थालाई कायम राख्न पर्ने उत्तरदायित्व भने निर्वाह गरिरहेको थिएन ।

दोस्रो विश्वयुद्धताका अमेरिकी भूमिकालाई लिएर गरिने आलोचना सत्य थिएनन् । युद्ध अमेरिकाको चाहना पनि थिएन र अमेरिका धेरै पछि मात्र यो युद्धमा जोडिएको थियो । युद्धमा अमेरिकी संलग्नताले विश्वलाई नयाँ ढंगले आकारित गर्न सहयोग नै गर्‍यो ।

अन्यथा आजको लोकतान्त्रिक जर्मनी र जापान नहुन सक्थे । उनीहरूले लिएको बाटोबाट विश्वलाई झन् धेरै नोक्सानी हुन सक्दथ्यो । त्यही समयमा अमेरिकाले नेटो बनायो । त्यसले विश्वशान्तिका लागि योगदान नै गरेको थियो ।

दोस्रो विश्व युद्धमा गरेको भूमिकाले होस् वा त्यसपछिको शीत युद्धमा-अमेरिका विश्वको एक नेतृत्वदायी राष्ट्र बन्यो भन्ने कुरामा कुनै शंका छैन ।

तर, यस बीचको अमेरिकी भूमिकालाई महाशक्तिका रूपमा उदाएको उपलब्धि मात्र मान्न मिल्दैन । अमेरिका जतिसुकै शक्तिशाली हुँदा पनि यसले लोकतान्त्रिक विश्वको अपेक्षालाई खण्डित गरेको छैन ।

अमेरिकाको समस्या विशेषतः ती राष्ट्रसँग हुने गरेको छ, जहाँ लोकतन्त्र र मानव अधिकारको समस्या थियो र छ ।
अमेरिकाको वैश्विक मूल्य के हो भनेर कसैले झुक्किन पर्दैन । त्यो एकदमै प्रष्ट छ, त्यो उदार लोकतन्त्र नै हो ।

हो, अमेरिकाले धेरै देशका सरकारलाई दबाब दिएको छ । तर, कस्ता सरकारलाई दिएको छ त ? त्यस्ता सरकारलाई मात्र दिएको छ, जो मूलतः जनताबाट निर्वाचित छैनन् ।

तिनले कुनै न कुनै प्रकारले निरंकुश शक्तिको अभ्यास गर्दछन् । सत्ता वा सरकारलाई नै परम शक्ति मान्दछन् । सामान्यतः निरंकुश सरकार नै अमेरिकाविरोधी हुने गरेका छन् । विगत शताब्दिको अनुभव यही हो ।

अमेरिकाको उदय हुनुभन्दा अघि ब्रिटिस साम्राज्य र युरोपका अरु राष्ट्रको विश्वमा के कस्तो दबदबा थियो भन्ने बिर्सन सकिँदैन । अमेरिकाले त्यस्तो प्रकारको वर्चश्व र आधिपत्य कुनै पनि राष्ट्रमा गरेको छैन ।

कुनै पनि देशका जनता लोकतन्त्र चाहन्छन् भने त्यस्तो चाहना नगर भनेर अमेरिकाले भन्न सक्दैन । भन्न मिल्दैन । जस्तो कि चीन र रुसले गर्दछन् । राष्ट्रहरू भनेका पनि मान्छेहरू नै हुन् । मान्छेहरू स्वार्थी छैनन् म भन्दिन । अमेरिकीहरू पनि स्वार्थी होलान् तर अरुको तुलनामा कति स्वार्थी छन्, धेरै कि थोरै भन्ने हो ।

ठीक छ– साना र शक्तिहीन राष्ट्रसँग अमेरिकी महाशक्तिसँग जोडिने कि नजोडिने भन्ने मात्रै छनोट भएको भए त्यो एउटा कुरा हुन्थ्यो । तर, के त्यस्तो अवसर छ त ? के त्यस्ता देश अमेरिकाबाट टाढा हुँदा रुस वा चीनसँग नजिक नभइकन रहन सक्लान् ? या संयुक्त राष्ट्र संघले मात्र त्यो आवश्यकतालाई पूरा गर्न सक्ला ?

मलाई लाग्छ–अमेरिकी जनता यतिखेर समकालीन विश्वमा आफ्नो देशले कस्तो भूमिका गर्नु पर्दछ भन्ने विषयमा खासै मतलब राख्दैनन् । अब अमेरिकाले कस्तो विश्व व्यवस्था अपनाउनुपर्दछ वा कस्तो विश्व व्यवस्थाबाट अमेरिकालाई फाइदा भन्ने बहस त्यति प्रखर छैन ।

अमेरिकीहरू स्वतन्त्र व्यापार र राम्रा जागिरको पक्षमा छन् भन्ने सजिलै बुझिन्छ । उनीहरूलाई यति थाहा छ कि यी चिज निरंकुशता र अधिनायकवादभन्दा लोकतन्त्र र उदारवादले नै बढी सुनिश्चित गर्न सक्दछ ।

युक्रेनमा अमेरिकी सहयोग कुनै युद्धका लागि हैन, रुसी आक्रमणको प्रतिरोध र वर्चश्ववादी सरकारको विरोधका लागि मात्र हो । रुस युक्रेनबाट फर्कियोस्, रुसमा लोकतन्त्र राम्रो होस्, अमेरिकाले युक्रेन र रुसमा केही पनि गर्दैन ।

जस्तो कि, हिजो पनि हामी जर्मनीसँग आफैँ लड्न गएका हैनौं । नाजी जर्मनीको विश्व साम्राज्यवादी नीतिको बाध्यताले त्यहाँ जानुपरेको थियो । लोकतन्त्रको विश्वव्यापी समर्थन गर्नु र वर्चश्ववादी आक्रमणको विरोध गर्नु अमेरिकाको नैतिक बाध्यता बन्छ ।

अमेरिका आफैँ एक क्रान्तिबाट जन्मेको राष्ट्र हो र त्यो क्रान्तिको जगमा स्वतन्त्रता र लोकतन्त्र थियो भन्ने कुरा अमेरिकीका घर-घरमा थाहा छ । ययार्थमा अमेरिका एक क्रान्तिकारी राष्ट्र हो ।

शीतयुद्धकालमा साम्यवादको जो विश्वव्यापी जोखिम थियो, त्यसको प्रतिरोध नगरेको भए आज विश्व कस्तो हुन्थ्यो होला । लोकतन्त्र यही रूपमा हुन्थ्यो होला ? कि सर्वहारा राज्यको नाममा विश्वभरि अधिनायकवादी शासन हुन्थे होला ?

नाजी जर्मनीले यहुदीहरूको जे-जस्तो दमन गर्‍यो के त्यसलाई रोक्न जरुरी थिएन ? लोकतन्त्रमाथि जोखिम हुँदा अमेरिका नाजीवाद विरुद्ध पनि लडेको छ र साम्यवाद विरुद्ध पनि । यो प्रतिरोधले कति धेरै लोकतन्त्रको रक्षा गर्‍यो होला ?

नाजीहरू दोस्रो विश्वयुद्धमा नै पराजित भए । सन् १९९० को दशकमा सोभियत संघ पनि गयो । त्यसको भू-मण्डलीकरणको युग आयो । त्यसपछि, रुस र चीन नयाँ चुनौतीका रूपमा अघि आए । आज युरोपमा रुस र एसियामा चीन हिजोको जर्मनीको भूमिकामा छन् ।

कुनै देशले आफूलाई शक्ति राष्ट्र ठान्दैमा त्यसले कुनै ठूलो अर्थ राख्दैन । महत्त्वपूर्ण कुरा त्यो शक्तिले जनतालाई के दियो भन्ने हो । जनताले यो सोध्छन् कि तिमी शक्तिशाली हौला तर, तिम्रो शक्तिले हामीलाई के फाइदा छ ?
इरान वा अफगानिस्तानजस्ता देशको कुरा त्यही हो । त्यहाँ जनताको तहमा उनीहरूलाई फाइदा हुने गरी काम भएन । त्यहाँ अतिवादी शक्तिले फाइदा उठाए ।

हिजोका अधिकांश शक्ति राष्ट्रले आफ्नो भूभाग विस्तार गर्ने योजना बनाएका हुन्थे । भूगोल र भू-राजनीति निक्कै ठूलो मुद्दा थियो । अमेरिकाको हकमा यो लागू हुँदैन । अमेरिकाले कसैको भूभाग छिन्ने, त्यहाँ उपनिवेश वा साम्रज्य कायम गर्ने, भूभाग विस्तार गर्ने योजना बनाएको छैन । अमेरिकाले यस्तो योजना बनाउनै सक्दैन । त्यस्तो सोच राख्ने अधिकार नै राख्दैन । किनकि, यो उपनिवेशवाद विरुद्ध लडेर जन्मेको क्रान्तिकारी राष्ट्र हो ।

अमेरिकी जनता सामुको प्रश्न समकालीन विश्वमा आफ्नो भूमिकाको प्रश्न मात्र हो, भूभाग विस्तारको प्रश्न हुँदै हैन । अमेरिकाको सवाल विश्व सन्दर्भमा लोकतन्त्र के हुन्छ भन्ने मात्र हो । अमेरिकाको अर्को शर्त शान्तिपूर्ण विश्व हो ।
हिजो नाजी जर्मन र साम्राज्यवादी जापान जे-जति बलिया थिए, आज चीन त्यति बलियो छ जस्तो लाग्दैन ।

तसर्थ, अमेरिका र चीन सम्बन्ध बिल्कुलै हिजोको जर्मनी, जापान र सोभियत संघको जस्तो पनि हैन । एसियामा भारत र चीन दुवै देश उदीयमान छन् । प्रगति गर्ने उनीहरूको प्रयास र अधिकारलाई हामीले सम्मान गर्नु पर्दछ ।

व्यापार, प्रविधि र जलवायु परिवर्तनजस्ता मुद्दामा अमेरिका र चीन सहकार्यमा पनि छन् । तर, चीनले लोकतन्त्र र विश्वशान्तिको प्रश्नमा अमेरिकालाई बेवास्ता गरेर अघि बढ्न सकिन्छ भन्ने सोच्न हुन्न । त्यस्तो सोच उसकै लागि पनि राम्रो हुँदैन ।

राष्ट्रपति जो बाइडेनको जो चरित्र छ, चीनले यसलाई एक अवसरका रूपमा लिन सक्दछ । दुवै देशबीच राम्रो सम्बन्ध बनाउने अवसरका लागि राष्ट्रपति बाइडेन उचित पात्र हुन सक्दछन् । कतिपयले चीनले समानान्तर विश्व व्यवस्था बनाउन सक्दछ भन्छन् । त्यो सम्भव छ जस्तो लाग्दैन । यो कुरामा चीन आफैँ होसियार हुनुपर्दछ ।

यो विश्व व्यवस्थामा अमेरिकाका उत्तरदायित्व पनि धेरै छन् । लोकतन्त्र र शान्तिका अतिरिक्त अमेरिकाले बढीभन्दा बढी समतामूलक विश्वको पक्षमा समेत योगदान गर्न सक्नुपर्दछ ।

(कागन द वासिङगटन पोस्टका स्तम्भकार हुन् । उनी अघिल्लो महिना नेपाल आएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डका पति हुन् । अमेरिकी सरकारको विदेश नीतिमा कागनको बौद्धिक हस्तक्षेप हुन सक्ने ठानिन्छ । यही सन्दर्भमा अमेरिकी धारणा बुझ्न सहज हुने अपेक्षासहित वासिङटन पोस्टसँगको उनको एक भिडियो अन्तर्वार्ता सम्पादन गरिएको हो )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved