आलेख

कस्तो हो बङ्गलादेशको आर्थिक उदय ? यो कति तर्कसङ्गत छ ?

वर्तमान बङ्गलादेश अब कुन दिशातर्फ मोडिन्छ भन्ने कुरा अर्थतन्त्र र राजनीतिबीचको अन्तर्क्रियामा भर पर्नेछ । राम्रो हुन्छ कि नराम्रो त्यसको नेतृत्व भने अर्थतन्त्रले हैन, राजनीतिले नै गर्नेछ ।

कस्तो हो बङ्गलादेशको आर्थिक उदय ? यो कति तर्कसङ्गत छ ?

जतिखेर म विश्व बैंक ढाकामा काम गर्थेँ, केन्द्रीय कार्यालयबाट आएका धेरैजसो नयाँले बङ्गलादेशबारे पढ्नुपर्ने सन्दर्भ पुस्तक सोध्ने गर्थे ।

उनीहरू समाज विज्ञानको मूल पक्षलाई समेट्न सक्ने अनुसन्धानमूलक प्रकाशन खोजी गर्थे, जुन फेला पार्न मैले निकै ठूलो सङ्घर्ष गर्नुपर्थ्यो । यद्यपि यस विषयमा केही बङ्गलादेशी र गैरबङ्गलादेशी प्रतिष्ठित समाज विज्ञानशास्त्रीद्वारा लेखिएका उत्कृष्ट आलेख नभएका हैनन् ।

प्रोफेसर रौनक जहाँ र रहमान सोभेनद्वारा सम्पादित तथा हालै प्रकाशित ‘फिप्टी एयर्स अफ बङ्गलादेश : इकोनमी, सोसाइटी, पोलिटिक्स एण्ड कल्चर’ बङ्गलादेशको सामाजिक-आर्थिक परिदृश्यको गहिराइमा डुब्न खोज्नेका लागि मात्र हैन, तिनका लागि पनि हो, जो अहिल्यै यसबारे केही ज्ञान राख्दछन् । तर, स्थापनाको ५० वर्षमा एउटा राष्ट्र कसरी विकसित भयो भन्ने समसामयिक परिप्रेक्ष्य जान्न चाहन्छन् ।

पुस्तकले बङ्गलादेशको ५० वर्षबारे मूर्त शिक्षा दिन्छ । बङ्गलादेशको कथा वर्णन गर्ने आत्मविश्वास भर्छ । कोही बङ्गलादेशबारे केही पढ्न बुझ्न चाहन्छ भने यो पुस्तक उसको आधारभूत सूचीमा हुनु पर्दछ ।

तर, यस आलेखमा भने बङ्गलादेशको आर्थिक विकाससँग सम्बन्धित अध्यायको मात्र समीक्षा गर्न खोजिएको छ । किताबको एउटा अध्यायको शीर्षक छ— एस वी क्यान । यो सन् २००८ मा बराक ओमाबाको चुनावी अभियानको नारा थियो । तर, किताबमा यससँगै एक प्रत्यय लागेको सहशीर्षक पनि छ— बोथः राइज एण्ड स्लिप ।

बङ्गलादेशको उदयको कथाका धेरै संस्करण छन् तर, साझा भाजकका साथ । स्वतन्त्रतापछिको यसका प्रारम्भिक अवस्था अत्यन्तै कमजोर थिए— स्वतन्त्रोत्तर अव्यवस्था, प्राकृतिक प्रकोप, अनिकाल, राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै आयाममा व्यापक र आम निराशा । तर, ५० वर्षको यात्रामा यो मार्गका जमिनी तह निकै फरक भइसकेका छन् ।

बङ्गलादेश वास्तविक प्रतिव्यक्ति आय धेरै गुणाले बढाउन सफल भयो । करिब २४ वर्षअघि जन्मेको छिमेकी राष्ट्र भारतको नजिक पुग्नसक्ने अर्थतन्त्र बनायो । यसले गरिबी न्यूनीकरणको परिघटनालाई कुनै पनि धरातलीय यथार्थ आधरित पर्यवेक्षकले कहिल्यै नसोचेको स्तरमा घटायो ।

नोवेल पुरस्कार विजेता अमत्र्य सेनालाई प्रभावित पार्न सक्ने गरी मानवीय विकास गर्‍यो । सेनले आफ्नो जीवन यसैको अनुसन्धान गरेर बिताए । बङ्गलादेशबारे लेखिने निबन्धको पहिलो वाक्य ‘बङ्गलादेशमा कृषिप्रधान अर्थतन्त्र छ’ हुन्थ्यो । आज उद्योग र व्यापारको विकासले यो वाक्य कसैले लेख्दैन ।

बङ्गलादेशको विकासले कार्यसम्पादन क्षमताले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व बैंकले न्यून आय भएको देशबाट न्यून मध्यम आय भएको देशमा वर्गीकरण गरेको छ । अल्पविकसित देशहरूको समूहबाट स्तरोन्नतिका लागि चाहिने तीनवटै मापदण्ड पुर्‍याएको छ ।

यो कसरी भयो त ?

रिजवानुल इस्लामको अध्याय ‘बङ्गलादेशी विकासको ५० वर्षको अनुभवः रोजगारी र श्रम परिप्रेक्ष्यमा’ ले बङ्गलादेशको सबैभन्दा पर्याप्त स्रोत चाहे उद्योगमा होस् वा कृषिमा श्रम शक्तिको सघन सदुपयोग भएको बताउँछ । यसले रोजगार आन्दोलन, श्रम उत्पादकत्व र वास्तविक ज्याला बृद्धिलाई एकै दिशामा रेखाङ्कित गर्‍यो ।

बैदेशिक रोजगारीको बृद्धिले श्रम बजारको माग र पूर्तिलाई मासु र मसलाको सम्बन्धजस्तो बनायो । रिजवानुल इस्लाम यो निष्कर्षमा पुग्दछन् कि बङ्गलादेश अतिरिक्त श्रमको उपयोग गरेर बृद्धि लाभांश सदुपयोग गर्न सक्षम भयो ।

शहीद अख्तर मोहम्मदको अध्याय ‘नीतिगत कारबाही, बजार प्रतिक्रिया र बङ्गलादेशको आर्थिक बृद्धि’ ले यो बताउँछ कि बृद्धिशील र समन्वयात्मक आविष्कारहरूले विस्तारै तर, सुनिश्चितरूपमा परिवर्तनलाई प्रज्वलित गर्‍यो ।

सन् १९८० को दशकका कृषि सामग्री बजार, ग्रामीण पूर्वाधार र बिजुली सुधार तथा सन् १९९० को दशकका व्यापार, लगानी र वित्तीय सुधार नवाविष्कारलाई प्रज्वलित गर्न एक ठाउँ भए । यसको प्रभाव उच्च जनसङ्ख्या घनत्वको कारणले मापन गर्न सजिलो थियो ।

यी नवाविष्कारले कृषि फार्म अभ्यास, सिँचाइ, ग्रामीण सडक, कपडा, मोबाइल फोन तथा वित्तीय सेवाजस्ता थुप्रै क्षेत्रमा ‘सर्वाङ्गिक तालमेलको पुनउत्पार्दन’ गरिरहे । नीतिगत कारबाहीहरूको स्वाभाविक प्रभाव वा त्रुटिगत परिणाम दुबैले बजार-सम्परीक्षणको एक बृद्धिगत प्रारूप आकारित गर्‍यो ।

तसर्थ, यो अध्यायको निष्कर्षमा भनिएको छ—बङ्गलादेशको उन्नति न विरोधाभास हो, न चमत्कार हो । बरु बजार र सार्वजनिक नीतिमा एक उद्यमशील भावनाको नतिजा हो ।

यो भावना कसले दियो त ?

हुसेन जिल्लुर रहमानको अध्याय ‘मध्यम आय सपनाको लोकतान्त्रिकरण’ ले भन्छ— सन् १९७१ को मुक्तियुद्ध र स्वतन्त्रताले आम नागरिकको मानसिकतामा अपेक्षा र प्रतिस्पर्धा उत्पन्न गरेको थियो । यी आकांक्षाले सामाजिक तथा आर्थिक सीमा पार गरे ।

कृषि, तयारी पोशाक, साना तथा मझौला उद्योग, व्यापार, बैकिङ्ग, दूरसञ्चार, मिडिया र बसाइँसराइमा एक फूर्तिलो निजी क्षेत्र फस्टायो । यसमा ‘पिरामिडको तल्लो तह’देखि ‘शीर्ष आलिङ्गन’ सम्मका धेरै तह समावेश छन् ।

विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण, सहश्राब्दी विकास लक्ष्य, ग्रामीण विस्तार, महिला सशक्तीकरण र सामाजिक सुरक्षाको वरिपरि ‘विकास उद्यमशीलताको आकस्मिक गठबन्धन’ निर्माण भयो । यसले सामूहिक लक्ष्यका लागि सामूहिक कार्यलाई समानान्तररूपमा समन्वियत गर्‍यो ।

स्थानीय तथा राष्ट्रियस्तरको राजनीतिक प्रतिस्पर्धाले राजनीतिक नवीकरणको एक स्तरलाई सुनिश्चित गर्‍यो । यो औपचारिक जवाफदेहिताको योग्यतालाई प्रमाणित गर्ने अरु उत्तरदायित्व प्रणालीको प्राथमिक स्रोत बन्यो ।

उदय सिक्काको एउटा पाटो मात्र हो । एमएम आकासको अध्याय ‘असमानता र मानव विकास’ ले अर्को पाटोको केन्द्र भागमा रहेको ‘ठूलो हात्ती’ फेला पर्दछ । त्यो हो, सबैका लागि समान अवसरको अधुरो संवैधानिक आश्वासन ।

आर्थिक असमानताले निरपेक्ष गरिबी र असमानता विरोधी आन्दोलनको सीमा व्यक्त गर्दछ, जहाँ एक प्रारम्भिक तहको सिँढी चढेपछि त्यसभन्दा अघि बढ्ने सङ्केतलाई ठाउँ दिँदैन ।

रिजवानुल इस्लाम बङ्गलादेशी अर्थतन्त्रमा श्रम उत्पादकता बृद्धि र वास्तविक ज्याला बृद्धिबीचको सम्बन्ध टुटेको टिप्पणी गर्दछन् । उनको ठहर छ— तीव्र औधोगिक बृद्धि भए पनि कमजोर ज्याला भुक्तानी, आधारभूत सुरक्षा र श्रमिकहरूको जीवनप्रतिको बेवास्ता कायमै छ ।

एमएम आकासको ठहरमा रोजगारदाता र कमदारबीच असमान सौदाबाजी शक्तिको कारण बृद्धिमा श्रमिकको अंश घट्दै गएको छ । बङ्गलादेशी सरकारका मालिक रिझाउने दमनकारी श्रम कानून र नीतिको कारण सौदाबाजीको शक्ति असन्तुलन भएको छ । फलतः श्रम उत्पादकत्व बृद्धिसँगै वास्तविक ज्याला बढ्न सकेको छैन । यसरी साझा समृद्धि साझा भ्रममा परिणत भएको छ ।

असमानता भविष्यको चक्रीय धितो बनेको छ । इफ्तिखार इकवालको अध्याय ‘विश्व प्रणाली र हरित बृद्धिबीचको बङ्गलादेश’ ‘अत्याधिक माछा मार्ने झुपटपट्टीवाला’ हरूको लागि ‘कफीको गन्ध’सरह हो । द्रुतगतिमा माटोको पोषकतत्व पुनर्सृजना शक्ति ह्रास, जैविक विविधताको नोक्सानी, समुन्द्र तटीय तथा नदी किनारीय कटान, जमिन तथा भूमिगत जलसतहको कमी र वायु प्रदूषण बङ्गलादेशको प्राकृतिक पुँजी विघटनका मुख्य प्रक्रिया हुन् ।

वातावरण प्रेरित नाजुकताहरूले बाह्य बसाइँसराइ, जीविकोपार्जनमा अवरोध र अव्यवस्थित शहरीकण निम्त्याए । इकवाल भन्छन्— जलवायू परिवर्तनको सवालले बङ्गलादेशका अरु सबै वातावरणीय नीतिका सवाललाई पार गरेको वा समेटेको छ ।

सेलिम रेहानको अध्याय ‘बङ्गलादेशको आर्थिक रूपान्तरणमा संस्थागत चुनौतीहरू’ ले भन्छ कि ‘संस्थाहरूको गुणस्तरलाई बेवास्ता गरेर असमानताको भित्री र अन्तर्पुस्ता सम्बन्ध’ बुझ्न सकिँदैन । लोकतन्त्र, मानव अधिकार, व्यावसायिक वातावरण तथा भूमि व्यवस्थापनमा बङ्गलादेशका संस्था विश्वव्यापी श्रेणीकरणमा कमजोर हालत र तल्लो तहमा छन् ।

विशेषगरी राजनीतिक संस्थाहरूमार्फत विकासलाई जोड दिने आधुनिकीकरणका सिद्धान्त बङ्गलादेशी परिक्षणमा सफल भएका छैनन् । समाजिक तथा आर्थिक परिणाम सुधार भएका छन् । तर, तिनले संस्थागत विकास गर्न सकेका छैनन् ।

बङ्गलादेशी विकासमा कुनै अपवाद छैन । संस्थागत विकासको पश्चगामी प्रवृतिका बीच पनि बङ्गलादेशले कुल ग्रार्हस्थ प्रतिव्यक्ति आयमा विशिष्ट देशको प्रतिनिधित्व गर्दछ । तर, प्रश्न यो हैन कि बङ्गलादेशले कमजोर संस्थागत प्रक्रियाका बीच पनि आर्थिक प्रगति गर्‍यो, बरु यो हो कि किन संस्थागत प्रक्रिया र वाताबरणबाटै आर्थिक रूपान्तरणलाई निरन्तरता दिन सकेन ।

मुस्ताफिजुर रहमानको अध्याय ‘दोहोरो संक्रमणमा बङ्गलादेश’ मध्य आय मार्गमा व्यापार र वित्तीय अशान्तिको ध्वजा देखाउँछ । थुप्रै एशियाली र ल्याटिन अमेरिकी दिग्गजहरूले कार्यमूलक संस्थाहरूसँग तर्कसङ्गत विकासको गतिलाई कायम राख्न सङ्घर्ष गरेका छन् । बङ्गलादेशले भने मध्यम आयवर्गको पासोमा निन्द्रित गतिको सङ्केत गर्दछ ।

अल्पविकसित देशबाट स्तरोन्नतिको नतिजा अज्ञात छ । सामाजिक भौतिक पूर्वाधार, प्राविधिक स्तरोन्नति, निर्यात विविधीकरण र अन्य क्षेत्रमा थुप्रै खाडल छन् । अन्तर्राष्ट्रिय समर्थन उपाय, विश्व व्यापार सङ्गठनको विशेष र फरक व्यवहार, उच्च ब्याजदर, कडा वित्तीय शर्तलाई यथोचित ढङ्गले मिलाइएका छैनन् । यी किनारामा अधुरो बसेका छन् ।

स्तरोन्नतिपछिको अज्ञातपनलाई पूर्ति गर्न बोत्सवाना, मालदिभ्स, केभ भर्डे, समाओ, इक्वेटोरियल गिनी र भानुआटुका स्तरोन्नति अघिका सन्दर्भ र स्तरोन्नतिपछिका अनुभव सीमित छन् । जनसङ्ख्या र जिडिपी आकारबाट हेर्दा बङ्गलादेश अल्पविकसित देशको समूहबाट स्तरोन्नतिको पहिलो ठूलो परिक्षण देश हो ।

के बङ्गलादेशको प्रचलित राजनीतिक-आर्थिक सम्बन्ध जोखिम समायोजनका लागि नवाविष्कार र लगानी प्रक्रिया नवीकरण गर्न मिल्ने प्रकारको छ ? विद्यमान स्थितिले आशालाई प्रेरित गर्दैन । मुस्ताफिजुर रहमानको चेतावनी छ— बङ्गलादेशको अर्थराजनीतिक उत्प्रेरणा जो सन् १९९० को दशकको लामो सैन्य शासनको अवधिमा सृजित थियो, सायद त्यसले आफ्नो कोर्स पूरा गरिसक्यो ।

अल्पतन्त्री शक्तिहरू आर्थिक र राजनीतिक क्षेत्रमा एकअर्कासँग गहिरो गरी गाँसिएका हुन्छन् । तिनले संर्किण सम्भ्रान्तवाद र स्वसेवा गर्ने प्रकारको मध्यम आयका लागि वैधता खोजी गर्दछन् ।

विकास र विनास, ध्वंस र सृजनाबीचको सम्बन्ध बिरलै स्वचालित, संयमित र अपरिहार्य हुन्छ । प्राकृतिक पुँजी, वनस्पति र जीवजन्तुको अन्धधुन्ध विनाशबाट यो प्रष्ट हुन्छ कि सार्वजनिक नीतिहरूले बाह्यतालाई आन्तरिकीकरण गरेका छैनन् । विकासको लागतका रूपमा आउने सृजनशील विनाशको सामाजिक मूल्य कसले भुक्तान गर्दछ भन्ने प्रश्न छँदैछ ।

हुसेन जिल्लुर रहमान ‘दुई अन्तर्क्रियात्मक विपरीतता-अनिश्चितता र स्थायीत्वको एक नयाँ सामान्यता’ देख्दछन् । स्थायीत्व कायम गर्नुपर्ने राजनीतिक शासनको प्रकृतिले नै अनिश्चितता बढाउन सक्ने उनको अनुमान छ । विकल्पमा अनिश्चितताको व्यवस्थापन एक प्रमुख रणनीति हुन सक्दछ । किनकि अनिश्चितता राजनीतिमा सधैँ उपयोगी हुन्छ ।

जे होस्, वर्तमान बङ्गलादेश अब कुन दिशातर्फ मोडिन्छ भन्ने कुरा अर्थतन्त्र र राजनीतिबीचको अन्तर्क्रियामा भर पर्नेछ । राम्रो हुन्छ कि नराम्रो त्यसको नेतृत्व भने अर्थतन्त्रले हैन, राजनीतिले नै गर्नेछ ।

(द वायरबाट अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved