केका आधारमा भोट दिन्छन् भारतीय मतदाता ? यस्ता हुन्छन् मुख्य पाँच कारण

भारतीय जनता केका आधारमा भोट दिन्छन्, यसलाई पहिचान गर्ने कुनै सिधा-सरल मापदण्ड निर्धारण गर्न लगभग असम्भव हुन्छ । यति हुँदाहुँदै पनि १.४ अर्बको विशाल जनसङ्ख्या र विविधतापूर्ण देशको मतदानका केही सुत्र भने देखिन्छन् ।

केका आधारमा भोट दिन्छन् भारतीय मतदाता ? यस्ता हुन्छन् मुख्य पाँच कारण

भारतमा अहिले चुनाव चल्दैछ । चुनावी मौसम चरम अवस्थामा छ । जुन ४ मा आउने परिणामप्रति सबैमा तीव्र उत्सुकता छ ।

चुनावको परिणाम कस्तो आउला ? यो थाहा पाउन भारतीय मतदाताको मनलाई विश्लेषण गर्नु पर्ने हुन्छ । भारतीय मतदाताको मनमा यतिखेर के छ होला ?

भारतका जनता जटिल हुन्छन् । यसो हुनुका कारण छन् । यहाँ भाषा, धर्म, संस्कृति, विचारधारा र आस्थाको विविधता छ ।

यही कारणले भारतीय जनता केका आधारमा भोट दिन्छन्, यसलाई पहिचान गर्ने कुनै सिधा-सरल मापदण्ड निर्धारण गर्न लगभग असम्भव हुन्छ । यति हुँदाहुँदै पनि १.४ अर्बको विशाल जनसङ्ख्या र विविधतापूर्ण देशको मतदानका केही सुत्र भने देखिन्छन् ।

ती मापदण्ड मुख्यगरी निम्नअनुसार हुन सक्दछन् ।

पहिलो— स्थिर मतदाता । भारतीय परिवारको एक ठूलो अंश ऐतिहासिकरूपमा सधैँ कुनै न कुनै पार्टीसँग जोडिएको हुन्छ । र, उनीहरूले त्यही पार्टीलाई भोट दिन्छन् । यसो हुनुको कारण पार्टीको विचारधारा, नेतृत्व र पुस्तागत झुकाव मुख्य कारण हुन सक्दछ ।

यस्ता मतदातालाई कुनै मतलब हुँदैन कि उम्मेदवार को छ वा कसको घोषणापत्रमा के लेखेको छ । यस्ता मतदातालाई कसैले बदल्न सक्दैन । यिनलाई बदल्ने जस्तै अभियान चलाए पनि बेकार हुन्छ, कुनै फाइदा हुँदैन, समय र मेहनत मात्र खेर जान्छ । जति गरे पनि यस्ता मतदाताले मन बदल्दैनन् ।

यसका बाबजुद दलहरूले यस्ता मतदातालाई हल्कारूपमा लिन सक्दैनन् । दलहरू यस्ता मतदाताको न्यूनतम् अपेक्षाअनुरूपको भइरहनुपर्ने हुन्छ । त्यसैले भन्ने गरिन्छ कि आफ्नो समर्थक-आधारलाई रिसाउने बनाउनु हुँदैन ।

दोस्रो— एक बलियो नेताको खोजी हो । लोकसभा निर्वाचन प्रधानमन्त्री चयनको माध्यम हो । तसर्थ, यो चुनावमा प्रधानमन्त्रीका लागि एक निश्चित अनुहारले ठूलो अर्थ राख्दछ । नि:सन्देह, अनुहार नै पर्याप्त हुँदैन । अनुहारले एक व्यक्तित्वको प्रतिनिधित्व गर्दछ । उसमा केही अपेक्षित गुण पनि हुनु पर्दछ । भारतीय मतदाताले अक्सर खोज्ने गुण हो, बलियोपन ।

भारतीय जनता र सायद संसारभरकै जनता बलियो नेता मन पराउँछन् । कस्तो नेतालाई बलियो भन्ने त ? यसको अनुमान ठोस र साहसिक निर्णय लिनसक्ने उसको क्षमतालाई मानिन्छ ।

भारत दशकौंसम्म सुस्त कार्यान्वयन प्रक्रियाबाट गुज्रिएको देश हो । देशको शीर्ष नेतृत्वमा विश्लेषण क्षमताको अभाव पनि भारतले सामना गर्‍यो । यी कारणले गर्दा भारतमा एक बलियो नेताप्रतिको चाहना अझ धेरै बढेको छ ।

यस्तो नेताको अर्थ, ऊ आफ्नो विचारधारा र पहिचानमा कति बलियोगरी उभिने क्षमता प्रदर्शन गर्दछ भन्ने पनि हो । भलै कि सबै नागरिक र विशेषगरी बुद्धीजीवीलाई उसको यस्तो अडान मन नपर्न सक्दछ ।

एक बलियो नेताले सुरक्षा व्यवस्था बनाइ राख्ने भावना दिन्छ । सुरक्षित महसुस गराउँछ । सुरक्षाको अनुभूति अक्सर अरु कुनै दोस्रो चिजभन्दा धेरै महत्त्वपूर्ण सावित हुँदै आएको छ ।

तेस्रो— जनसम्पर्क वा जनतासँग जोडिएर रहने क्षमता हो । भारतीय मतदाता विचारधारा र नेताको बलियोपन मात्र हेर्दैनन्, नेता जनतासँग नजिकबाट जोडिएको मन पराउँछन् । जनता यो चाहन्छन् कि नेता बलियो पनि होस् तर, जनस्तरमै आएर काम गर्ने पनि होस् । जनताको पहुँचभित्र होस् ।

मतदाता त्यस्तो व्यक्ति खोजिरहेका हुन्छन्, जो उनीहरूसँग आएर चाडपर्व मनाउन सकोस् । सँगै खाना खान वा उसकै पारामा गफ गर्न सकोस् । बलियोपन र जनसम्पर्कको संयुक्त अभ्यासले एक ठूलो हिस्सा मतदातालाई खिच्न सफलता हासिल गर्दछ ।

चौथो— पहिचानको आधारमा भोट दिने मतदाता हुन्छन् । यस हिस्साका मतदाताले निश्चित जाति र धर्मका आधारमा भोट दिन्छन । यसो गर्नुपर्ने उसका निश्चित बाध्यता वा कारण हुन्छन् । विशेषगरी सीमान्तकृत, बञ्चित वा अल्पसङ्ख्यक तप्काका मतदाताले यसो गर्दछन् ।

यस्ता मतदाताका लागि बलियोपनको अर्थ त्यतिखेर मात्र लाग्दछ, जब नेता आफ्नै जाति वा धर्मको हुन्छ । कुनै दल यो मापदण्डलाई पूरा गर्न सक्षम हुन्छ ।

पाँचौँ— प्रकारमा नीतिलाई आधार बनाएर भोट दिने मतदाता पर्दछन् । यस्ता मतदातालाई लक्षित गरी दलहरूले सकेसम्म राम्रा घोषणापत्र बनाउँछन् । यस प्रकारका मतदाताले नीति तथा कार्यक्रम हेर्दछन् । प्रशासनिक कुशलताको सम्भावनालाई हेर्दछन् । यस्ता मतदातालाई लोककल्याणकारी योजना, अनुदान र नि:शुल्क वस्तु तथा सेवाको आश्वासनले प्रभावित गर्दछ ।

साथै यसभित्र महङ्गीको स्थिति, कर नीति, आधारभूत ढाँचा, रोजगारी, शिक्षा तथा स्वास्थ्य सेवासँग सम्बन्धित सरकारका निर्णय हुन सक्दछन् ।

यस प्रकारका मतदाता ‘स्वीङ’ हुुने सम्भावना धेरै हुन्छ । तसर्थ, दलहरूले आफ्ना घोषणा पत्रलाई सकेसम्म राम्रो बनाउने प्रयत्न गर्नु पर्दछ । घोषणा पत्रमा विभिन्न आकर्षक योजना र कार्यक्रम प्रस्तुत गरिन्छन् । सत्तारुढ दलले आफनो सरकारले गरेका राम्रा कामको रिपोर्ट कार्ड मतदाताका सामु राख्दछन् ।

यस्ता मतदाताको अनुपात सानो सङ्ख्यामा हुन सक्दछ । तर, ‘स्वीङ’ गर्ने कारणले निर्वाचन परिणामलाई प्रभावित गर्ने क्षमता राख्दछन् ।

निर्वाचन भारतीय लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो । यसपटकको चुनाव उत्सव सुरु भइसकेको छ ।

(भास्कर हिन्दीबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved