आलेख

पुटिन- रुसका सम्भावित पाँच भविष्य

रुसमा आन्तरिक अराजकता, घरेलु विद्रोह र विघटनको ऐतिहासिक विरासत क्रियाशील छ । आन्तरिक नियन्त्रण क्षमता कमजोर हुँदै गएर रुस विशृङ्खलित हुन सक्दछ । सन् १९९१ मा सोभियत सङ्घ यसरी नै १५ वटा देशमा टुक्रिएको थियो । रुस सोभियत सङ्घजस्तो विघठित हुन त सक्दैन तर, आन्तरिक विद्रोहको प्रक्रिया सघन हुन सक्दछ ।

पुटिन- रुसका सम्भावित पाँच भविष्य

हमासले इजरायलमाथि आक्रमण गरेको दिन गत अक्बटोर ७ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ७१ वर्ष पुगेका थिए । आफ्नो ‘जन्मदिन उपहार’का रूपमा उनले यूक्रेनमाथिको आक्रामकतालाई नयाँ मोड दिए ।

अझ रोचक कुरा त के भने अक्टोबर महिनाको अन्त्यतिर उनको विदेश मन्त्रालयले हमासको एक प्रतिनिधिमण्डललाई मस्को बोलाएको थियो । सायद उनी हमासलाई उत्प्रेरणा दिन चाहन्थे ।

मार्चमा हुने निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै उनले भनेका थिए— सबै अग्रमोर्चामा हाम्रो सशस्त्र बलले स्थिति सुधार गर्दैछ ।

चुनावअघि विपक्षी नेता अलेक्सेई नाभाल्नीको जेलमा मृत्यु भयो । तर, त्यसले उनलाई कुनै फरक परेन ।

पुटिन नयाँ जारजस्तो प्रस्तुत हुन खोज्दछन् । तर, वास्तविक जारले आफ्नो निरन्तरताको चिन्ता गर्नुपर्ने थिएन । आफ्नो शासनकालमा सत्ता सुदृढ गर्दा मात्र पनि पुग्थ्यो । पुटिनलाई भने त्यो गर्नुपर्छ । तसर्थ, बेलाबेला चुनावको नाटक गर्नुपर्दछ ।

सन् २०३० सम्म अब उनी सत्तामा रहन निश्चिन्त छन् । त्यतिन्जेल उनी ७८ वर्षमा प्रवेश गर्नेछन् । रुसको औसत आयु ६७ वर्ष छ । ६० वर्ष पुगेको रुसीले ८० वर्षसम्म बाँच्ने आशा गर्न सक्दछ ।

पुटिनको शासनकालसँग तुलनीय रुसमा अब थोरै उदाहरण बाँकी छन् । पुटिनले अब त्यो श्रेणी लिनेछन्, जस्तो कि स्टालिन थिए । तर, पनि स्टालिनले मर्नैपर्‍यो ।

पुटिनका अग्रज बोरिस यल्तसिन त्यस्तो दुर्लभ जार हुन चाहेनन् । उनले सत्ता उत्तराधिकारका लागि सहज मार्ग प्रशस्त गरिदिए । उनमा दीर्घकालीन स्वास्थ्य समस्या थियो । तर, विपक्षीलाई सत्ता दिँदा जेल जानुपर्ने भय थियो । तसर्थ, सन् १९९९ मा उनले पुटिनलाई सत्ता दिए । सन् २००७ मा एक स्वतन्त्र नागरिकका रूपमा उनको ७६ वर्षको उमेरमा निधन भयो ।

उत्तराधिकारलाई आफ्ना संरक्षकको नियम पालना गर्नुपर्ने बाध्यता हुन्छ । बोरिस यल्तसिनको दुई कार्यकालको नियमको पालना गर्दै पुटिनले सन् २००८ मा राष्ट्रपतिबाट छोटो विश्राम लिए । तर, शक्ति छोड्न सकेनन्, प्रधानमन्त्रीको रूपमा सत्तामै बसे । सन् २०१२ मा तेस्रो कार्यकालका लागि फिर्ता आए । अहिलेसम्म छँदैछन् । उनका लागि कथित विधायिकाले दुई कार्यकालको प्रावधान हटाउन संविधान संशोधन गरिदियो ।

स्टालिन पनि सत्तामा बनिरहने सवालमा यस्तै थिए । उनले उत्तराधिकारको सामना गर्न सर्वथा अस्वीकार गरे । अन्ततः उनलाई भीषण हृदयघात भयो । उनी आफ्नै पिसाबमा लत्पतिएर मरे । त्यतिन्जेलसम्म पनि कसैलाई अनुमान थिएन कि स्टालिनको उत्तराधिकार को हो ?

पुटिन स्टालिन हैनन् । स्टालिनमा एक जर्जियाली तानाशाहमा हुनुपर्ने सबै गुण थिए । उनले अनिकाल, श्रम कैद, दमन, जबर्जस्ती, मृत्युदणड र युद्धबाट मान्छेको ज्यान लिन र महाशक्ति निर्माण गर्न जानेका थिए । तैपनि कतिपय कुरा तुलनीय छन् । पुटिनले लाखौंका लागि युद्ध-मृत्यु छनोटको बाटो खोलेका छन् यूक्रेन मोर्चामार्फत ।

स्टालिनको अभावमा उनले बनाएको व्यवस्था र पार्टी संस्थागत तवरले बाँच्न नसक्ने भएको थियो । तथापि सन् १९९१ सम्म टिक्यो । त्यसको विघटन नै पुटिनको सत्ता सुदृढीकरणको अवसर बन्यो । सोभियत सङ्घ नढलेको भए न यल्तसिन आउँथे न पुटिनले उत्तराधिकार पाउँथे । तर, सन् १९९१ को परिवर्तनले पनि रुसको लोकतान्त्रिक भविष्य सुनिश्चित गर्न सकेन ।

उन्नाइसौं शताब्दीका एक प्रसिद्ध रुसी व्यङ्ग्यकार थिए, मिखाइल साल्तिकोभ । उनले आफ्नो देशबारे भनेका थिए— यहाँ ५/१० वर्षका बीचमा धेरै परिवर्तन हुन्छन् तर, २०० वर्षमा केही पनि परिवर्तन हुँदैन ।

स्टालिनजस्तै पुटिन पनि अवश्य जानेछन् कुनै दिन । त्यो परिवर्तन अवश्य हुनेछ । तर, फेरि अर्को निरंकुशता सुदृढ हुन सक्नेछ । र, केही पनि परिवर्तन हुने छैन । पुटिनपछि वा अर्को दशकको रुस कस्तो हुन्छ ? कसैले भन्न सक्दैन । तैपनि रुसका लागि सम्भावित ५ भविष्यको अनुमान गर्न सकिन्छ ।

फ्रान्सजस्तो रुस

फ्रान्स राजतन्त्र, नोकरशाही र क्रान्तिले भरिएको देश थियो । यहाँ बारम्बार राजा गए, सम्राट आए र गणतन्त्र आयो । फ्रान्सले बारम्बार ठूला-ठूला साम्राज्य बनायो र गुमायो । नेपोलियनले मात्रै हैन, फ्रान्सका सबैजसो शासकले छिमेकी देशलाई धम्की दिए ।

यसका बाबजुद फ्रान्स आज एक गौरव गर्नयोग्य देश बनेको छ । यसको भाषा संसारका धेरै देशमा बोलिन्छ । ६० प्रतिशतभन्दा बढी फ्रेन्चभाषी फ्रान्सबाहिर छन् ।

रुसको पनि ऐतिहासिक विरासत फ्रान्सकोजस्तै राजतन्त्रात्मक, पदसोपानीय र निरङ्कुश नै हो । रुसी क्रान्तिहरू फ्रान्सेली क्रान्तिभन्दा अझ बढी क्रूर र ध्वंसात्मक हुन्छन् । रुस पनि फ्रान्सजस्तै लोकतान्त्रिक भविष्यमा फर्किन र एक गौरवशाली राष्ट्र बन्न सक्दछ । सन् १९९१ मा रुसले लोकतान्त्रिक संविधानको बाटो समात्न खोजेको थियो ।

पुनर्बन्द रुस

सन् १९७० को दशकमा रुस उदार, लोकतान्त्रिक र खुला समाजतर्फ सङ्क्रमित हुँदै जाने कल्पना गरिन्थ्यो । तर, प्रकारान्तरले फेरि नयाँ रहस्यवाद, आक्रोश, क्रोध, तनाव र निरङ्कुशतातिर गयो । पुटिनपछि रुसमा फेरि अर्को कुनै अधिनायकवादी राष्ट्रवादी नेताको उदय हुन सक्दछ ।

उसले रुसी बर्बादीको सबै दोष यूक्रेन र पश्चिमा शक्तिमाथि थोपर्नेछ । र, भन्नेछ कि त्यसको बदला लिन अझ भीषण युद्ध आवश्यक छ ।

दुईवटा आधारबाट यस्तो शासक आउन सक्दछ । एक, पुटिनकै विरासत र उत्तराधिकारबाट । दुई, पुटिनको निधनपछि रिक्तताबाट उदाएर ।

संरक्षकत्वप्राप्त रुस

हुन सक्दछ कि रुसले चीनसँगको सम्बन्धलाई अझ सुदृढ बनाउनेछ । र, चीनबाट एक प्रकारको सुरक्षा प्रत्याभूति र संरक्षण प्राप्त गर्नेछ । पुटिन-सी युगमा यी दुई देशबीचको सम्बन्ध विगतमा भन्दा फरक ढङ्गले विकसित भइरहेको हुँदा यो सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

माओ युगमा चीन-अमेरिका सम्बन्ध राम्रो थिएन तर, चीन रुससँगका सम्बन्धबाट खासै लाभान्वित र खुसी पनि थिएन । तथापि अमेरिकासँगको शत्रुतामा चीनले सोभियत सङ्घबाट संरक्षकत्वको अनुभव गर्दथ्यो ।

तङ स्याओ फेङले यो प्रक्रिया उल्टाएर चीनलाई अमेरिकाको नजिक ल्याएका थिए । यसबाट चीनको आर्थिक विकास र गरिबी निवारणमा धेरै ठूलो फाइदा भयो ।

अहिले पुटिन र सी असाध्यै नजिकका मित्र बनेका छन् । यिनीहरू बीच ४२ पटक भेटघाट र कुराकानी भएको छ । दुवैले अमेरिका र पश्चिमविरोधी भावना उपयोग गरिरहेका छन् । सन् २०१३ यता यी दुई देशबीच एक बृहत् रणनीतिक सम्झौता क्रियाशील छ ।

तर, रुस-चीन सम्बन्ध आज हिजोको भन्दा उल्टो हुनेछ । हिजो चीनले सोभियत सङ्घबाट संरक्षणको अनुभूति गर्दथ्यो भने अब रुसले चीनबाट संरक्षकत्वको लाभ लिनेछ । रुसका आर्थिक तथा रणनीतिक सङ्कट हल गर्न मद्दत गरेर चीनले रुसका राजनीतिक सङ्कटलाई कमजोर पारिदिनेछ ।

तर, यो बिर्सन सकिन्न कि राष्ट्रपति सी पनि अजरअमर छैनन्, नश्वर नै हुन् । पुटिन-सी मित्रताको लाभ त्यसपछिका दिनमा रुसलाई भइरहन्छ भन्न सकिन्न ।

उत्तर कोरियाजस्तो रुस

रुस चीनसँग गहिरो गरी निर्भर हुँदै गएमा उत्तर कोरियाजस्तो स्थितिमा पुग्न सक्दछ । पुटिन र सीपछिका उत्तराधिकारले उनीहरूकै नीतिलाई कायम राखेर चल्न सक्नेछन् ।

कोरिया युद्धमा चीनले उत्तर कोरियालाई जोगाएको थियो । फलतः उत्तर कोरिया सधैँलाई चीन निर्भर हुँदै गयो । त्योबेला माओको एक भनाइ लोकप्रिय थियो— ओठ गए भने दाँत चिसा हुन्छन् ।

अर्थात् उनले कोरियालाई दाँतरूपी चीनलाई चिसो हुनबाट जोगाउने ओठ मानेका थिए । आणविक हतियार विवाद समस्याका बाबजुद बेइजिङले प्योङयोङमाथिको संरक्षकत्व अहिलेसम्म कायम राखेको छ ।

त्यसो त रुस र उत्तर कोरियाको स्थिति एउटै हैन । रुस उत्तर कोरियाभन्दा १४२ गुणा ठूलो छ । उत्तर कोरियाको शासन व्यवस्था किम वंशको उत्तराधिकारमा आधारित भएको हुँदा रुसको जस्तो उत्तराधिकारको समस्या छैन ।

उत्तर कोरियासँग चीनको सन १९६१ देखि नै यसका लागि औपचारिक सन्धिसमेत छ । चीनले उत्तर कोरियालाई जस्तै त्यो बेला सोभियत सङ्घले पूर्वी जर्मनीलाई संरक्षकत्व दिएको थियो ।

यी भिन्नताका बाबजुद रुस ‘एक विशाल उत्तर कोरिया’ हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । रुस उत्तर कोरियाजस्तो हुनुको अर्थ चीनसँगको गहिरो निर्भरताको कारण बाँकी विश्वबाट एक्लिँदै जानु पनि हो ।

अराजक रुस

रुसी भविष्यको पाँचौँ र अन्तिम सम्भावना भने अराजकता हो । पुटिनविरोधी बढ्दो भावना र चुनौती रोक्न आन्तरिक उपद्रवको सहारा लिन सकिन्छ । तर, यस्तो अराजकताले स्वयम् रुसलाई नै शिकार बनाउन सक्दछ ।

रुसमा आन्तरिक अराजकता, घरेलु विद्रोह र विघटनको ऐतिहासिक विरासत क्रियाशील छ । आन्तरिक नियन्त्रण क्षमता कमजोर हुँदै गएर रुस विशृङ्खलित हुन सक्दछ । सन् १९९१ मा सोभियत सङ्घ यसरी नै १५ वटा देशमा टुक्रिएको थियो । रुस सोभियत सङ्घजस्तो विघठित हुन त सक्दैन तर, आन्तरिक विद्रोहको प्रक्रिया सघन हुन सक्दछ ।

(फरेन अफेयर्सबाट संक्षेपीकरणसहित अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved