आलेख

सन्दर्भ लेनिन जयन्ती : अप्रिल २२ र नेपालमा साम्यवादी राजनीति

अक्टोबर क्रान्तिबाट प्रभावित भएरै चीनमा माओले राष्ट्रिय मुक्ति आन्दोलनलाई समाजवादी या साम्यवादी क्रान्तिसँग जोडेर चिनियाँ मोडलको जनवादी क्रान्तिको बाटो विकास गरेका थिए । तिनै चिनियाँ नेताका विचारहरूबाट लामो समय नेपालका कम्युनिष्टहरू दीक्षित भएका थिए ।

सन्दर्भ लेनिन जयन्ती : अप्रिल २२ र नेपालमा साम्यवादी राजनीति

अप्रिल २२ ले नेपालको राजनीतिक सन्दर्भमा एकै नामसँग जोडिएका दुईवटा महत्त्वपूर्ण अर्थ राख्ने गरेको छ । साम्यवादका एकजना प्रखर प्रचारक, मार्क्सका अनुयायी र भाष्यकार, रणनीतिज्ञ तथा पहिलो समाजवादी क्रान्ति (अक्टोबर क्रान्ति) का मुख्य नेता भ्लादिमिर इल्यिच लेनिनको जन्म यही मितिमा भएको थियो ।

लेनिन जसका विचारले उनीपछिको विश्व साम्यवादी आन्दोलनलाई निर्देशित गरेको थियो । जसले साम्राज्यवादी चरणको पुँजीवादको चरित्र निरूपण गरेका थिए । पुँजीवादी उदारवादसँगको संसर्गबाट समाजवादी क्रान्ति गर्न सकिँदैन भनेर काउत्स्की, दोस्रो अन्तर्राष्ट्रियका नेताहरू र मेन्सेवीकहरूसँग सम्झौताहीन बहस गरेका थिए ।

क्रान्तिमा सर्वहारा वर्गको हात बाँधिने खतरा कताबाट छ भन्ने कुरालाई रौँचिरा व्याख्या गरेका थिए । लेनिन, जसले श्रमजीवी वर्गलाई मुक्तिको बाटो देखाएका थिए । जसले साम्यवाद प्राप्तिको प्रारम्भिक चरणको समाजको परिकल्पना र त्यसको व्यावहारिक पुष्टिको अभ्यास थालेका थिए ।

राज्य र क्रान्ति, मार्क्सवादका तीन स्रोत र तिन सङ्घटक अङ्ग, साम्राज्यवाद पुँजीवादको चरम अवस्था, के गर्ने, दुई पाइला पछाडि एक पाइला अगाडिजस्ता उत्कृष्ट रचनाबाट साम्यवादी आन्दोलनलाई योगदान दिएका थिए । सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत सीमित पुँजीवादी अर्थतन्त्रको विकासको अवसर दिने नयाँ आर्थिक नीति मस्यौदा गरेका थिए ।

तिनै लेनिनको यस वर्ष निधनको शतवार्षिकी परेको छ, जो अप्रिल २२, १८७० मा जन्मेर जनवरी २१, १९२४ मा बितेका थिए । नेपालको राजनीतिलाई बितेका कम्तिमा ७५ वर्षदेखि लेनिनका विचारले धेरै हदसम्म प्रभावित गरिरहेका छन् । यो किन पनि भने विकसित पुँजीवादी मुलुकमा सर्वहारा क्रान्ति पहिले हुनेछ भन्ने मार्क्स एङ्गेल्सका परिकल्पनाविपरीत पिछडिएका पूर्वीय देशमा पनि समाजवादी क्रान्ति सम्भव छ भन्ने प्रस्थापना लेनिनकै थियो ।

अक्टोबर क्रान्तिबाट प्रभावित भएरै चीनमा माओले राष्ट्रिय मुक्ति आन्दोलनलाई समाजवादी या साम्यवादी क्रान्तिसँग जोडेर चिनियाँ मोडलको जनवादी क्रान्तिको बाटो विकास गरेका थिए । तिनै चिनियाँ नेताका विचारहरूबाट लामो समय नेपालका कम्युनिष्टहरू दीक्षित भएका थिए ।

पुष्पलाल श्रेष्ठ, झापाली कम्युनिष्टहरू सिपी मैनाली या मोहनचन्द्र अधिकारीहरू, मोहनविक्रम, निर्मल लामाहरू र पछि मोहन वैद्य, प्रचण्डहरूको मुख्य राजनीतिक स्कूल माओबाट प्रभावित थियो । विश्व कम्युनिष्ट आन्दोलनमा अक्टोबर क्रान्ति र त्यसका विचारहरूको जुन स्कूल छ, त्यो नै चीन, भियतनाम, क्यूवा, पेरु, नेपाल सबैतीरका कम्युनिष्टहरूको मुख्य धारा हो । यसलाई लेनिनिष्ट परम्परा भनेर बुझिन्छ ।

सामन्तवाद र साम्राज्यवादले एकैपटक थिलथिलो पारेको अर्थराजनीतिक परिस्थितिका देशका लागि लेनिनको त्यही विचारको निरन्तरता माओबाट आएको हुनाले उनलाई बढी चिनियो । सांस्कृतिक क्रान्तिपछि कतिपय पार्टीहरूले आफ्नो नामको पछाडि माओको नाम समेत जोडेर माओवादी भन्न थालेका थिए ।

२०५२ सालमा नेकपा (माओवादी) ले थालेको सशस्त्र विद्रोह लेनिनवादी स्कूल परम्पराकै नयाँ कडी थियो, त्यसको सुरुको रणनीतिक चालचाहिँ माओको दीर्घकालीन जनयुद्धको सिद्धान्तमा आधारित थियो । अहिले नेपालको राजनीतिमा जे-जति कम्युनिष्ट राजनीतिको प्रभाव छ, त्यसको स्रोत लेनिन र उनका शिष्य माओ च तोङ हुन् । धेरै नेताहरूले क्रान्तिमा लाग्ने प्रेरणा पनि लेनिन र माओबाटै लिएका थिए ।

लेनिनसँगै जोडिएको र नेपालको साम्यवादी राजनीतिका लागि महत्त्वपूर्ण मिति पनि अप्रिल २२ नै रहेको छ । सन् १९४९ को अप्रिल २२ मा कलकत्तामा कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । लेनिनका विचार र अक्टोबर क्रान्तिको प्रभाव देशभित्र त्योभन्दा दुई दशक पहिलेबाटै प्रवेश गरेको भएपनि त्यसको सङ्गठित रूप यही २२ अप्रिलमा देखा परेको थियो ।

नारायण विलाश जोशी, नरबहादुर कर्माचार्य , निरञ्जन गोविन्द वैद्य र मोतीदेवि श्रेष्ठसमेत पाँचजना संस्थापक रहेको नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए, जसले कम्युनिष्ट पार्टीको घोषणपत्रलाई नेपालीमा अनुवाद गरेका थिए । नेकपाको पहिलो अपिल लेखेका थिए ।

यस वर्ष उक्त पार्टी स्थापनाको ७६औं वर्ष चलिरहेको छ । नेपालमा विधिवत् कम्युनिष्ट राजनीतिक सङ्गठनले प्रवेश पाएको ७६ वर्ष पूरा भएको छ ।  यस सन्दर्भमा नेकपा (एमाले) ले विशेष कार्यक्रम गरेको छ । पार्टी बाहिरबाट पनि देशैभर विभिन्न कार्यक्रम आयोजना भएका छन् ।

काठमाडौंमा बनेको एउटा यस्तै (गैह्रसरकारी) समितिमा यो टिप्पणीकार पनि सामेल छ । २२ र २३ अप्रिलमा भारत, चीन र बङ्गलादेशबाट आउने लेनिनवादका अध्येतासहित एउटा गोष्ठी काठमाडौंमा आयोजना हुँदैछ ।

प्रस्तुत आलेखमा नेपालमा कम्युनिष्ट पार्टीका यी ७५ वर्षको सामान्य समीक्षासहित वर्तमान नेपालको कम्युनिष्ट राजनीतिको अवस्थाबारे छोटो अवलोकन गरिनेछ ।

नेपाली कम्युनिष्टका केही प्रवृति

कम्युनिष्ट पार्टी स्थापना हुँदा कमरेड पुष्पलाल मुख्यतः चीनको कम्युनिष्ट पार्टी र माओका विचारबाट प्रभावित भएको देखिन्छ । खासगरी नेपाली क्रान्तिको बाटो र नेपाली समाजको चरित्र निरूपणमा पुष्पलालले माओका शिक्षा ग्रहण गरेको पाइन्छ । उनले नेपाली समाजलाई अर्ध-औपनिवेशिक र अर्ध सामन्ती समाज भनेर गरेको व्याख्या धेरै हदसम्म चिनियाँ विश्लेषणको नक्कल जस्तो लाग्छ ।

समाज विश्लेषणको त्यही परिणामका आधारमा उनले नेपालले नौलो जनवादी क्रान्तिको बाटो लिनुपर्ने तर्क अगाडि सारेका छन् । किसान र मजदुरलाई मुख्य क्रान्तिकारी शक्ति मानेका छन् ।

तर, उनको राजनीतिमा अर्को विरोधाभास पनि छ । उनले २०१७ पछि निरन्तर बुर्जुवा वर्गसँग मिलेर संयुक्त सङ्घर्ष गर्ने नारा दिइरहे र त्यसकै पछि लागिरहे । हेर्दा सही नै जस्तो लाग्छ, तथापि २०३६ र २०४६ को आन्दोलनले त्यसलाई पुष्टि पनि गरेको मान्न सकिन्छ ।

उनले कांग्रेससँग मिलेर गर्ने भनेको संयुक्त जनआन्दोलनमा किसान मजदुर वर्गको हात त्यतिबेला मात्र बाँधिने जोखिम हुँदैनथ्यो, जतिबेला मजदुर किसान वर्गको पार्टीको प्रभाव पर्याप्त फैलिँदैनथ्यो । २०३६ को आन्दोलनको सम्पूर्णजस्तो जस बीपी कोइराला नेतृत्वको बुर्जुवा शक्तिलाई गएको थियो भन्ने कुराले नै यसलाई प्रमाणित गर्थ्यो ।

०४६ सालको आन्दोलनका बेला सडकमा निर्णायक उपस्थिति र सक्रियता हुँदा पनि कम्युनिष्टहरूले भन्दा कांग्रेसले नै अर्थात् बुर्जुवा वर्गले नै उक्त आन्दोलनको उपलब्धिमा नियन्त्रण गरेको थियो । ०४७ को अन्तरिम सरकार, संविधान र ०४८ को निर्वाचन परिणामले त्यसलाई पुष्टि गरेको थियो ।

०६३ को आन्दोलन माओवादी विद्रोहको जगमा भएकाले त्यसपछि केही समय कम्युनिष्टहरूले नेपालको राजनीतिक कार्यसूची तय गरेका थिए । तर, कम्युनिष्ट राजनीति, खासगरी माओवादी राजनीतिमा देखा परेको विचलन र विघटनको प्रक्रियाले त्यो पनि विस्तारै खोसिँदै गयो ।

पुष्पलाल पछि मनमोहन अधिकारी र केशरजङ्ग रायमाझीले एकीकृत कम्युनिष्ट पार्टीको नेतृत्व गरेका थिए । यी दुवै नेता मूलतः वैचारिक दृष्टिले मलुवा खालका थिए । पछि गएर रायमाझी त सामन्त वर्गसँग सम्झौता गरे र दरबारका विश्वासपात्र बने ।

तर, मनमोहन र रायमाझीको समयमा पुष्पलालहरू पनि नेतृत्वमा भएको बेला नै नेपाल कम्युनिष्ट पार्टीले तत्कालीन संसदीय निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो । यस्तो सहभागितालाई कुनै उपयोग या कार्यनीतिक प्रश्नका रूपमा गतिलो व्याख्या पनि गरिएको थिएन । यो सहभागिताले बर्जुवा संसदीय राजनीतिका मुख्य सिद्धान्तहरूलाई स्वीकार गर्थ्यो । अर्थात् खुला प्रेस, पार्टी स्वतन्त्रता र नागरिक अधिकारहरूको स्वीकारोक्ति। योचाहिँ लेनिनका परम्पराभन्दा भिन्न थियो । लेनिन बुर्जुवा संसद्‌वादविरुद्ध थिए, बुर्जुवा वर्गसँगको संसर्गका विपक्षमा थिए । रुसी संसद् डुमामा उनको दलको सहभागितालाई कार्यनीतिक प्रश्नका रूपमा व्याख्या गरेका थिए ।

रायमाझी मनमोहन समूहको उक्त नीतिकै निरन्तरताका रूपमा उक्त विचारले अन्ततः मदन भण्डारीको नेतृत्वमा नेकपा एमालेको समयमा जनताको बहुदलीय जनवादका नाममा सैद्धान्तिक आवरण भेट्टायो । आजका मुख्य धाराका सबै कम्युनिष्ट पार्टी (नेकपा एमाले, नेकपा माओवादी र एकीकृत समाजवादी) नेकपाले विसं २०१२ देखि २०१७ मा लिएको नीति र पछि एमालेले जबजका नाममा सैद्धान्तिकीकरण गरेको विचारबाटै सञ्चालित छन् ।

अर्को विरोधाभासचाहिँ के छ भने नेकपाका सबैजसो घटकले कमसेकम २०६५ सम्म निरन्तर पुष्पलालले व्याख्या गरेअनुरूपको नेपाली समाजको अर्थराजनीतिक चरित्रलाई हुबहु स्वीकार गरिरहे । तिनलाई लाग्यो, नेपाली समाज अर्ध सामन्ती र अर्ध-औपनिवेशिक चरित्रको छ । मजदुर किसान नेतृत्वमा जनवादी क्रान्ति (मदन भण्डारी पछि एमालेको साहित्यमा बहुदलीय जनवादी क्रान्ति) ले मात्र नेपाली समाजको चरित्र बदल्न सक्छ ।

पुष्पलाललाई गद्दार भन्ने गरेका मोहनविक्रम सिंहले पनि पुष्पलालको आरम्भिक व्याख्यालाई पच्छ्याइरहे, अझै छाडेका छैनन् । झापा विद्रोह र नेकपा मालेको विकास र विस्तार माओवादी राजनीतिक विचारकै आधारमा भएको हो । पछि माओवादीले थालेको सशस्त्र विद्रोहको जगमा पनि कम्युनिष्ट आन्दोलनको माओवादी धारा नै मुख्य आधारका रूपमा रहेको थियो । यसरी लेनिन र लेनिनको जन्मजयन्ती सन्दर्भले नेपालको कम्युनिष्ट आन्दोलन यसको राजनीतिक विकासक्रम र वैचारिक शिक्षाको ऐतिहासिक पक्षलाई अर्थ दिन्छन् ।

वर्तमान अवस्था

“अमेरिकादेखि स्विट्जरल्याण्ड, फ्रान्सदेखि बेलायत या नर्वे जुनसुकै संसदीय देशलाई हेर, ती देशहरूमा राज्यको वास्तविक निर्णय पर्दा पछाडि सम्पन्न हुन्छन्, त्यसैलाई विभागहरू, चान्सलरहरू र आम कर्मचारीले कार्यान्वयन गर्छन् । संसद्को मुख्य काम त सर्वसाधारणलाई मुर्ख बनाउन गफ गर्ने भूमिकामा मात्र हुन्छ ।” (लेनिन, राज्य र क्रान्ति)

अहिले नेपालका जे-जति कम्युनिष्ट घटकहरू छन्, तिनको नारा र नेतृत्वको अनुहार फरक भएपनि मुख्यतया दुईवटा धारामा यो विभाजित छ । एउटा संसदीय कम्युनिष्ट धारा छ, जो वर्तमान संविधान निर्माता पनि हो र यही संविधानमातहत हुने आवधिक निर्वाचनमा सहभागी भएर सुधार गर्दै जाँदा नेपालमा समाजवाद ल्याउन सकिन्छ भन्ने व्याख्या गर्छ ।

राज्य सञ्चालनको अवसर पाउँदा लिइने नीति र ल्याइने कार्यक्रमहरूमा केही लोकप्रियतावादी पक्षलाई छाड्दा यिनीहरू सबै बुर्जुवा वर्गका सेवकका रूपमा देखा पर्छन् । बुर्जुवा वर्गलाई दिइने त्यस्तो सेवा पनि भ्रष्टाचार र कमिसनमा आधारित लेनदेनको विषय बन्ने गरेकाले बुर्जुवा वर्ग र कम्युनिष्ट नेताहरूको साँठगाँठ बलियोसँग जोडिएको छ ।

मजदुर किसान वर्गको साथ पहिले नै छाडिसकेकोले यसलाई आफ्नो भविष्यप्रति चिन्ता छ । झण्डा र नाममा लेनिनवादी भएपनि यी दलहरू मुख्यतः बुर्जुवा उदारवादी खेमाका देब्रे ढल्कुवाहरू मात्र हुन् ।

नेताहरूको दैनिक कार्यकलाप, जीवनशैली, ईश्वरीय शक्ति र सामन्तवादी परम्पराका मूल्य प्रणालीप्रतिको झुकावले यी दललाई साम्यवादी या लेनिनवादी भन्न गाह्रो छ । यसमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसमेतका दलहरू पर्छन् ।

अर्को धारा कुनै प्रष्ट आकार नभएको रुढीग्रस्त कम्युनिष्टहरूको छरिएको समूहबाट बनेको छ । मोहन वैद्य, मोहनविक्रम सिंह, विप्लव, आहुतिसँगै अन्य विभिन्न अध्ययन समूह यसमा पर्छन् ।

अहिले नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । विगत १८ वर्षयता झन्डै १४ वर्ष यिनीहरूकै नेतृत्वमा सरकार छ । प्रचण्ड, ओली, झलनाथ, माधव, बाबुरामसमेत पाँचजना कम्युनिष्ट पार्टीका प्रधानमन्त्री देशले पाएको छ । तर, यी सरकारहरूले २०४८ मा तत्कालीन नेपाली कांग्रेसको सरकारले थालेको उदारवादी आर्थिक नीतिभन्दा भिन्न नयाँ र प्रभावकारी नीति लिन सकेको देखिएन । न उदारवादी सुधारलाई नै गतिशील बनाइयो ।

यसैगरी राज्य सञ्चालनमा चरम अवसरवादको अभ्यास यी दलहरूले देखाउँदै र गर्दै आएका छन् । हुँदाहुँदा तल्लो तहका कार्यकर्तादेखि माथिल्लो तहसम्म पनि आफ्नो वैयक्तिक लाभ-हानि र पोजिसनलाई दलमा आबद्धताको मुख्य शर्त बनाउने संस्कृतिले बढावा पाएको छ । पछिल्लो पटक एमाले-माओवादी गठबन्धनपछि प्रदेशहरूमा देखिएको राजनीतिक अभ्यास त्यसैको निम्छरो उदाहरण हो ।

यसरी हेर्दा नेपालको साम्यवादी आन्दोलन र लेनिनवादी राजनीतिक धाराको भविष्य सङ्कटमा रहेको जस्तो देखिन आउँछ ।

पार्टी स्थापना दिवस र लेनिन जयन्तीका सन्दर्भमा नेपालका कम्युनिष्टहरू र लेनिनवादीहरूलाई वैचारिक अध्ययन र बहसमा सामेल हुने सद्बुद्धिका लागि हार्दिक शुभकामना ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved