आलेख

आउनोस्, कुतर्क गरौँ !

आज शक्तिमा हुनेले नियम मिच्दै जाँदा भोलि शक्तिमा आउनेका लागि नियम मिच्ने हिम्मत आउँछ । त्यतिबेला अहिले शक्तिमा हुनेहरूसँग प्रतिकार गर्ने नैतिक शक्ति रहन्न । अहिले त यस्तो देखिन्छ, सबैले एक अर्कालाई कमजोर बनाउने नाममा आफ्नो जीउबाट लङ्गौटी र पेन्टीका धरो पनि फाल्दै गइरहेका छन् ।

आउनोस्, कुतर्क गरौँ !

जसको लाठी उसैको भैंसी । अझ हाम्रो गाउँघरतिर अर्को पनि उखान थियो— ‘जसका छोरा उसको धन, जसका भैंसी उसको वन’ । यी उखानले लाठी या शक्ति हुनेले अर्काको भैंसी पनि आफ्नो बनाउन सक्छ भन्ने सनातन अनुभवको सार खिचेको छ ।

शक्ति हुनेले अरुले भोग चलन गरेको जमिन, जङ्गल खोस्छ। पशुधन मात्र हैन, स्त्री र पुरुष तथा बालबालिकालाई पनि नियन्त्रणमा राख्छ र दास बनाएर कजाउँछ । मानव समाजको विकासको क्रम नै यस्तै छ । युद्धहरू, साम्राज्यवादी लुटखसोटहरू, मान्छेलाई दास-दासी बनाउने धन्दाहरू यही लुटको सनातन परम्पराका रूप हुन् । सभ्यताको विकाससँगै यसमा केही सुधारका प्रयास भए ।

राज्य होस् या राजनीति; जहिले पनि शक्ति हुनेले नहुनेमाथि गर्ने दमनको हतियार हो । सभ्यताको विकासको क्रममा सत्तारुढ शक्ति या वर्गको स्वार्थमा खलल नपर्ने गरी यो दमनको बर्बर रूपलाई परिवर्तन गर्न समाजहरू राजी भएका मात्र हुन् । सामन्तवादबाट पुँजीवादमा फड्को हान्ने क्रममा भएका सामाजिक सम्झौताहरूले एउटा वर्गले अर्को वर्गमाथि गर्ने थिचोमिचोलाई दिएको वैधानिकता र दमनको बर्बर रूपमा ल्याइएका केही परिवर्तनले यसलाई सुकिलो देखाएको भने पक्कै हो । जस्तो कोत पर्व या बयालिस साल पर्व हुनु र संविधान र अन्य संवैधानिक संस्थाहरूको दुरूपयोग गरेर विपक्षीको राजनीतिक हत्या गर्नु काम गर्ने तरिका फरक र परिणाम उही दिने घटनाहरू हुन् ।

अहिले प्यालेष्टाइनमाथि जे भइरहेको छ, जसरी नरसंहारलाई कथित सभ्य पश्चिमी देशहरूले भरथेग गरिरहेका छन्, त्यो जङ्गली बर्बरताकै निरन्तरता हो । तिनको प्रजातन्त्र, तिनको मताधिकार, तिनको मानव अधिकार र तिनले लगाउने विश्वशान्तिको नारा सबै पश्चिमा पुँजीवाद र पुँजीपति वर्गको रक्षाको हतियार मात्र हो । अमेरिकाले अरु देशका पुँजीपति वर्गसँग स्वार्थ बाझिनासाथ आफ्ना पुँजीपति वर्गको पक्षमा जे पनि गरिहाल्छ ।

अहिले अमेरिका जसरी चीनमाथि खुलमखुल्ला (हालै सीएनएनमा फरिद जकारियाको विश्लेषण आएको छ, जसमा उनले कसरी अमेरिकी नीति निर्माताहरू चीनलाई तत्काल घेराबन्दी गर्न र उसको उन्नति रोक्न रोइकराइ गरिहरहेका छन् भन्नेबारे विस्तारमा चर्चा गरेका छन्) हस्तक्षेपको नीति लिएको छ, त्यसले देखाउने पनि आफ्नो देशको पुँजीपतिको श्रेष्ठताको रक्षाका लागि युद्ध भन्ने नै सङ्केत गर्छ । यसमा कतै प्रश्न उठे उनीहरू कथित सभ्यताको सबै स्वेत परिधान उतारेर नाँगै दौडन्छन् । राज्य भनेकै विरोधी वर्गलाई दमन गर्ने हतियार हो भनेर खुलमखुल्ला स्वीकार गरेको त कम्युनिष्टहरूले मात्र हो ।

यस्तो बर्बरताको प्रतिरोध पनि इतिहासपूर्वदेखि हुँदै आएको छ । यतिबेला अमेरिका र यूरोपका विश्वविद्यालय र हाईस्कूलका विद्यार्थीहरूले जसरी प्यालेष्टिनीमाथिको बर्बरता अन्त्यको माग गर्दै आन्दोलन चर्काएका छन्, त्यसले राज्यको दमन निष्कण्टक हुँदैन, प्रतिरोध हुन्छ र राज्यहरू दमनका रूप बदल्न बाध्य हुन्छन् भन्ने सङ्केत गर्दछ ।

इजरायलले पटक-पटक आफ्ना सुरक्षा निकायमाथि हमला गरेपछि इरानले ड्रोन र मिसाइलमार्फत इजरायलमाथि बदला लिने प्रयास गर्‍यो । धेरै क्षति नपुगेको भएपनि यसले इजरायलको एकलौटी चल्दैन भन्ने सन्देश दियो । यमनका हुथीहरूले इजारायली पानीजहाजहरूमाथि गरेको निगरानी र आक्रमणले पनि बर्बर तरिकाले बर्बराताको प्रतिरोध गरिरहेको छ । प्यालेष्टिनीहरूले इजरायलले गरिरहेको हत्या र विध्वंसका बाबजुद गाजामै रहन गरेको सङ्घर्ष र तेलअविवमा दिनदिनै नेतान्याहुविरुद्ध निस्किरहेका जुलुसहरू प्रतिरोधकै अङ्ग हुन् ।

दमन र प्रतिरोधका आफ्ना भाषा हुन्छन् र तिनले विद्यमान न्यारेटिभलाई प्रभावित गरिरहन्छन् । सत्तारुढ वर्गको विचार नै त्यतिबेलाको विचारहरूको अगुवा त हुन्छ तर, यो अन्तिम सत्यका रूपमा कहिल्यै रहन्नन् । यसमा निरन्तर प्रतिरोध हुन्छ र नयाँ शक्तिले विजय पाउनासाथ सत्तारुढ वर्ग पनि र उसको विचारधारा पनि परिवर्तन हुन्छ ।

म प्रवेश गर्न चाहेको प्रसङ्ग भने नेपाली राजनीतिका पछिल्ला घटनाक्रमको विषयमा हो । पछिल्ला केही दिनदेखिका केही घटनालाई आधार बनाउँदा नेपाली राजनीतिमा यतिबेला मुख्य खेलाडीहरू बडे-बडे लाठी लिएर आफ्ना प्रतिपक्षी शक्तिहरूलाई खेद्न र तिनको राजनीतिक पुँजी कब्जा गर्न सक्रिय रहेको सङ्केत गर्छन् । यस क्रममा राजनीतिमा आफैँले परिभाषित गरेका मूल्यहरू, संवैधानिक, कानूनी तथा शास्त्रसम्मत मान्यताहरूलाई तरबारले माकुराको जालो पन्छाउँदाझैँ पन्छाएर यिनीहरू एक अर्काको गर्धन ताकेर सडकमा नाङ्गै दौडिरहेका छन् ।

गएको महिनायताका केही घटना हेरौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षको सहकार्यपछि आफू प्रधानमन्त्री रहेरै नयाँ गठबन्धन बनाए । चौध महिनाका बीचमा यो उनको तेस्रो गठबन्धन थियो र पनि उनी प्रधानमन्त्री रहिरहेका छन् । अर्थातउनी पाल्कीमा बसिरहेका छन् र पाल्की बोक्नेहरू मात्र फेरिइरहेका छन् ।

नयाँ गठबन्धनपछि प्रतिपक्षी बनेको नेपाली कांग्रेस प्रतिपक्षको कुर्सीमा राम्रोसँग नबसीकनै सरकार ढाल्न कुँदिरहेको छ । ऊ प्रतिनिधि सभामा जम्मा १० सिट अर्थात् कूल सिट सङ्ख्याको ३.६३ प्रतिशत रहेको र राष्ट्रिय मान्यता पनि पाउन नसकेको एकीकृत समाजवादी संसदीय दलका नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन र उनीपछि त्योभन्दा दुईसिट मात्रै बढी भएको जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउन दौडिरहेको थियो । उसको सक्रियता उसैका लागि प्रत्युत्पादक भएर तत्कालका लागि ‘ब्रेक’ लागेको छ। तर, लाज पचाएर संसद्को दोस्रो ठूलो दलसँग गठबन्धन गर्न प्रयासरत छ । अर्थात् उसलाई सत्ताबाहिर एकदिन पनि बस्न मञ्जुर छैन ।

कोशी प्रदेशमा केदार कार्कीको सरकार प्रष्ट अल्पमतमा परेको एक महिनाभन्दा बढी भयो । न उनले विश्वासको मत लिन प्रयास गरेका छन्, न मध्यावधिमा जान आँट गरिरहेका छन् । संविधानको मर्मअनुसार कोशीमा नयाँ सरकार बन्नु बनाउनु हुँदैन । त्यहाँ या त केदार कार्कीले कामकाजी संसद् चलाउने वातावरण बनाउनुपर्छ या मध्यावधिमा जानुपर्छ। तर, सङ्घमा सत्तारुढ रहेको गठबन्धन संविधानको भावना मिचेर नयाँ सरकार बनाउन कसिएको छ, यता अल्पमतको मुख्यमन्त्री निर्लज्जतापूर्वक कुर्सीमा बसिरहेका छन् ।

गण्डकीमा झन् अनौठो भएको छ । ६० सदस्यीय प्रदेश सभामा ३० मतले बहुमत पुग्छ भन्ने अनौठो व्याख्या गरेर सत्तारुढ गठबन्धनले प्रदेश सभाको विश्वासको मत प्राप्त गरेको छ । कुनैपनि संसदीय प्रणालीमा संसद्‌मा विद्यमान सङ्ख्याको पचास प्रतिशत र थप एक जना सांसदको समर्थनलाई मात्र सरकार गठन र अविश्वासको प्रस्ताव पास गर्नका लागि बहुमत मानिन्छ । यो आम जनमतको बहुमत भनेको हो । तर, सर्वोच्च अदालतले नै आपत्तिजनक व्याख्या अघि सारेर संसदीय प्रणालीका आधारभूत मान्यताको बर्खिलाप ६० मा ३० पनि बहुमत हो भन्ने कुतर्क अगाडि सारेको छ ।

यता नागरिक उन्मुक्ति पार्टीमा एउटै दलका निरन्तर दुईथरी निर्णयहरू आइरहेका छन् । सुदूरपश्चिममा जम्मा ४ सिट जितेको पार्टीले मुख्यमन्त्रीमा दाबी गरेर हात पारेको छ । अघिल्लो दिन नागरिक उन्मुक्तिको कुनै सदस्यलाई मुख्यमन्त्रीमा समर्थन दिएको व्यक्ति नै भोलिपल्ट नयाँ गठबन्धनबाट आफैँ मुख्यमन्त्री बनेको छ । मुख्यमन्त्री बनाउन समर्थन गरेको एमाले अहिले विश्वासको मत दिन आनाकानी गरिरहेको छ । किन मुख्यमन्त्री बन्न समर्थन गर्नुपरेको हो र अहिले विश्वासको मत दिन किन नहुने हो भन्ने कुरा कतै पनि भनिएको छैन । प्रतिशोधको राजनीतिबाहेक यहाँ पनि कुनै तर्क देखिन्न ।

बागमती प्रदेशमा एकजना प्रदेशसभा सदस्यले मन्त्री नपाएर आफ्नो दल सामेल भएको गठबन्धन सरकारको मुख्यमन्त्रीलाई विश्वासको मत दिन अस्वीकार गरेको र बिनाविभागीय मन्त्री हात पारेको समाचार आयो । पदलोलुपताको यो नग्न चित्र आफैँ ‘ओरिजिनल स्केच’ नभएर दलहरूको केन्द्रीय राजनीतिमा देखिएको चित्रको फोटोकपी मात्र थियो ।

र, पछिल्लोपटक सत्तारुढ गठबन्धनमा उपप्रधानमन्त्रीसहित सामेल भएको जसपा र सत्तारुढ गठबन्धनमा बसेर दुईथान मन्त्री र प्रदेशमा एउटा मुख्यमन्त्री समेत पड्काएको एकीकृत समाजवादीका अध्यक्ष यता सत्ताको भान्सामा मिष्ठान्न भोजन गरिरहने र बत्ती गएको बेला प्रतिपक्षी दलसँग साँठगाँठ गरेर सरकार ढाल्ने दाउमा लागिरहेका देखिए । कमरेड माधवकुमार नेपाल नयाँ दौरा सुरुवाल सिलाएर प्रधानमन्त्रीको शपथका लागि साइत हेर्दै पुरानो गठबन्धनमै बसेर घुर्की लगाइरहे । यसको प्रतिकारमा रातारात उपेन्द्र यादवको पार्टी फुटाइयो र द्रुत गतिमा त्यसले निर्वाचन आयोगबाट मान्यता समेत पायो । यति हुँदा पनि न उपेन्द्र यादवले सरकार छाडेका छन्, न त माधवकुमार नेपालले नै गठबन्धनबाट बाहिरिने निर्णय गरेका छन् ।

आफ्नो बचेखुचेको नैतिक बल पनि ‘सत्ता-अग्निमा होम’ गरिसकेपछि कमसेकम माधवकुमार नेपालले पार्टी संसदीय दलको नेता र उपेन्द्र यादवले उपप्रधानमन्त्रीबाट राजीनामा दिइसक्नुपर्ने हो ।

यी सम्पूर्ण खेल कुनै पनि सभ्य राजनीतिक अभ्यासमा स्वाभाविकरूपमा खेलिएका हैनन् । हरेकका आफ्ना कुतर्क छन् । कुतर्क गरेर शक्तिमा बसिरहनु या सत्ता हासिल गर्नु र लाठी हुनेले अर्काको भैंसी खेदेर आफ्नो गोठमा लैजानु एकै कुरा हुन् । इजरायलले बाँच्न पाउनुपर्छ भनेर गाजामा भइरहेको नरसंहारलाई समर्थन गर्ने अमेरिका र उसका सहयोगी सरकारहरूको मानव अधिकार र प्रजातन्त्रको व्याख्या जस्तै हो यता भइरहेको अभ्यास पनि ।

राजनीतिमा गठबन्धन बन्छन् र भत्कन्छन् । यत्ति त कुनै नयाँ नौलो कुरा भएको हैन । हाम्रो जस्तो मिश्रित निर्वाचन प्रणाली अपनाएको देशमा एउटै दलले बहुमत ल्याउन समस्या पर्ने भएकोले पनि यस प्रकारको गठबन्धन बन्ने भत्कने भइ नै रहन्छ । तर, राजनीतिक नेतृत्वले न्यूनतम नैतिक मापदण्ड पालना गरेको हुनुपर्छ । विद्यमान संविधान र कानूनले निर्दिष्ट गरेका बाटाहरू छन्, त्यसलाई पछ्याउनु पर्छ । राजनीतिशास्त्रले यसप्रकारको राजनीतिक खेलका केही नियमहरूको चर्चा गरेका छन्, तिनको पालना भएन भने शक्तिशालीहरूको अराजकता सिर्जना हुन्छ । यस्तो अराजकता टोले गुण्डाहरूले सिर्जना गर्ने अराजकताकै अर्को रूप हो ।

आज शक्तिमा हुनेले नियम मिच्दै जाँदा भोलि शक्तिमा आउनेका लागि नियम मिच्ने हिम्मत आउँछ । त्यतिबेला अहिले शक्तिमा हुनेहरूसँग प्रतिकार गर्ने नैतिक शक्ति रहन्न । अहिले त यस्तो देखिन्छ, सबैले एक अर्कालाई कमजोर बनाउने नाममा आफ्नो जीउबाट लङ्गौटी र पेन्टीका धरो पनि फाल्दै गइरहेका छन् ।

कतिपय शिवभक्तहरूलाई त आफ्ना भगवान्‌को नाङ्गोपना पनि प्यारो लाग्न सक्छ तर, सबै शिवभक्त हुन्नन् । भएकाले पनि नाङ्गो रूप मन नपराउलान्, उनीहरूसँग त लाज मान्ने गर !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved