आलेख

प्रचण्ड सरकारको अबको कार्यसूची के हो ?

संहार र ध्वस्त गर्नमा मास्टर छन् प्रचण्ड। तर, निर्माण पक्षमा शून्य। ब्रम्हा र विष्णुको जस्तो निर्माण र पालनकर्ता गुणको अभाव छ प्रचण्डमा। अब यो महादेव बाबालाई ब्रम्हा र विष्णुले गर्ने कामको भार दिएपछि नेपालजस्तो हुनुपर्ने हो, ठ्याक्कै त्यस्तै भएको छ अहिले।

प्रचण्ड सरकारको अबको कार्यसूची के हो ?

यस्तो लाग्दैछ, प्रचण्ड सरकारसँग फुर्सदै फुर्सद छ। अथवा यस्तो पनि लाग्दैछ कि, प्रचण्ड सरकार कुहिराको काग भइसकेको छ । अनेक थरीका राजनीतिक दलहरू मिलाएर जोडतोडको सरकार बनाएकोले पनि हुनसक्ला, यो सरकारले कुनै स्पष्ट कार्यदिशा लिएको देखिँदैन।

केही कुरामा बल गर्न खोजेको पनि देखिन्छ जस्तो कि, भ्रष्टाचार विरुद्धको अभियानमा। तर, प्रचण्ड र उनको पार्टी आफैँ यति कुरामा संलग्न छन् कि, सुशासनको मुद्दामा उनी आफैँ हिलोमा जाकिन सक्ने सम्भावना बलियो हुन पुग्छ, यदि थप बल गरियो भने।

त्यसैगरी, उनका सत्ता साझेदार दल पनि हिलोमै फुलेका फूल हुन्। कुर्सीबाट झर्नेबित्तिकै पछारिने भनेको त्यै हिलोमा नै हो । सबै सत्ता साझेदार दलको यही सामूहिक झिँझोका कारण प्रचण्डले गर्न खोजेको सुशासन अभियान अलपत्र पर्न गएको छ। अभ्यासले देखाइसक्यो कि, प्रचण्ड खुद दूधले धोएको हुनुपर्ने अथवा उनका साझेदार दल कम्तिमा सफा पानीले नुहाएको हुनुपर्ने हो सुशासन अभियानको लागि। तर, सबै ठुल्ठूला थैला बोकेर आएपछि यो सुशासन अभियानमा दौड लगाउन असम्भव हुन पुगेको छ।

प्रचण्डको पहिलो प्रयास नै सकसमा परेपछि सरकार बरालिएको देखियो। अब के गर्ने भन्ने सवालमा केही महत्त्वपूर्ण (सिग्निफिकेन्ट) एजेन्डा नदेखिएपछि सरकार दिग्भ्रमित भएको देखिन्छ। मुखिया प्रचण्ड नै हप्ता दिनको घुमघाम गर्न थालेपछि वा दुई-दुई हप्ताको विदेश भ्रमण गर्न थालेपछि सरकारका प्राथमिकता समाप्त भएको हो कि भन्ने प्रश्न खडा भएको छ।

अब दशैं-तिहार मनाउँदा मनाउँदै असोज र कात्तिक पनि सकिने प्रष्टै छ। यसरी चालक प्रचण्डले कसैलाई नबिझाइकन सरकारको आयु लम्ब्याउने दाउ गरिरहेका हुन् कि जस्तो पनि देखिएको छ।

यही बीचमा सरकारको गतिहीनता देखेर बुद्धिजीवीहरूले आलोचना गरे। प्रचण्डले पनि बुद्धिजीवीलाई धारे हात लगाए। सत्ताले आलोचनात्मक चेत भएका समूहलाई मनपराउन छोडेको यो मोदी र सी चिनफिङ कालमा नेपाल मात्र अपवाद हुनसक्दैन। चाहे जतिसुकै निम्छरो होस्, सत्ता त आखिर सत्ता हो। सत्ता र कुर्सीमा त मरेको स्याल पनि जवान शेर बन्छ। प्रचण्ड त आखिर प्रचण्ड हुन्, असलीस्वरूप बाहिर निस्किहाल्छ।

प्रश्न यहींनेर छ। प्रचण्डको असली स्वरूप के हो ? माओवादीको असली पक्ष के हो ? आजसम्मको काम कुरा हेर्दा माओवादी ध्वंशका प्रतीक जस्ता छन् र प्रचण्ड महादेवका संहारक रूप जस्ता । उनले धेरै सही र गलत मूल्य मान्यता भत्काए। अनेक सडेगलेका संरचना पनि भत्काए। संहार र ध्वस्त गर्नमा मास्टर छन् प्रचण्ड। तर, निर्माण पक्षमा शून्य। ब्रम्हा र विष्णुको जस्तो निर्माण र पालनकर्ता गुणको अभाव छ प्रचण्डमा। अब यो महादेव बाबालाई ब्रम्हा र विष्णुले गर्ने कामको भार दिएपछि नेपालजस्तो हुनुपर्ने हो, ठ्याक्कै त्यस्तै भएको छ अहिले।

यसैले जो जुन कामको लागि उस्ताद हो, उसलाई त्यही काम गराउँदा प्रभावकारिता हुन्छ। सुशासनको एजेन्डामा प्रचण्ड स्पष्टत: फेल खाएको देखिन्छ। विकास, निर्माण र समृद्धि प्रचण्डको बुताको कुरा भएन। नेपालको आर्थिक र भू-राजनीतिक सन्तुलन पनि प्रचण्डले दीर्घकालसम्म कायम राख्नसक्ने कुरा भएन। भनेपछि प्रचण्डबाट हुन्छ के त ?

प्रचण्डले ध्वंशकै काम गर्नु राम्रो हुन्छ। यो देशमा ध्वंश गर्न लायकको काम पनि अनगिन्ती छन्। प्रचण्ड सरकारले यो देशका गर्नुपर्ने जति ध्वंश गरिदेओस्, नव निर्माणका काम आफसे आफ हुन्छन्। नव निर्माणका लागि ध्वंश पनि उतिकै जरुरी नै त हुन्छ। यति भयो भने प्रचण्डको तेश्रो प्रधानमन्त्रीयकाल ऐतिहासिक र उपलब्धिमूलक हुनसक्छ।

प्रधानमन्त्री प्रचण्डले गर्नुपर्ने कार्यको सूची यसप्रकार हुनसक्छ।

पहिलो कार्य- प्रचण्ड सरकारले संविधान संशोधनको एजेन्डा लिएर आओस्। संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको एजेन्डामा दलहरूबीच छलफल र बहस गरोस्। यसले गर्दा कांग्रेस र एमाले प्रतिरक्षामा जान बाध्य हुन्छ भने संविधानलाई नै खारेज गर्न चाहने पक्ष भुत्तो हुनपुग्छ।

दोश्रो कार्य- एकात्मक राज्यका अवशेष जिल्ला संरचनालाई पूर्णत: खारेज गरोस् र संघीयतालाई सबल बनाउन थप ऐन कानुन बनाउनमा तदारूकता देखाओस्। यसले पनि माओवादी र प्रचण्डकै एजेन्डालाई बल पुर्‍याउन सक्छ।

तेश्रो कार्य-  सुरक्षा निकायहरूको पुनर्संरचना गर्ने साहस गरोस् जसमा सशस्त्र प्रहरीलाई खारेज गरियोस् र सेनाको संख्यामा कटौती गरियोस्। नेपाल प्रहरी पूर्णत: प्रदेशलाई हस्तान्तरण गर्ने काम गरियोस्।

चौथो  कार्य- राजदरबार हत्याकाण्ड र मदन भण्डारी हत्याकाण्ड छानबिनका लागि सर्वशक्तिमान आयोग बनाइयोस् र शान्ति प्रक्रियाका कामलाई टुंगो लगाइयोस्।

यति काम भयो भने प्रचण्डको यो कार्यकाल सफल बन्ने देखिन्छ। यसै पनि आलोचना, उसै पनि आलोचना। यसै पनि कांग्रेसले कुन बेला गुल्ट्याइदिन्छ ठेगान छैन। कम्तिमा आफ्नो एजेन्डामा पाइन लगाउनसक्ने समय प्रचण्डसँग अझै छ।

यी ३-४ वटा कामहरू यथास्थितिवादी र प्रतिगामी शक्तिका लागि ध्वंशभन्दा कमको कुरा हैन। तर, देशलाई अगाडि बढाउन न्यूनतम यतिको ध्वंश नगरी पनि भएको छैन।

प्रश्न छ, के प्रचण्डले यतिको दुस्साहस गर्लान् ? नगर्ने सम्भावना बलियो छ। कुनै पनि प्रकारको दुस्साहस प्रचण्डले नगर्लान्, तर केही गरे पनि नगरे पनि प्रचण्डको राजनीतिक देह अब गलेर दिनानुदिन विलिन नै हुने हो।

तर, सास र शक्ति हुन्जेल एकपल्ट जोडले हुंकार र दहाड लगाउने सम्भावनालाई पनि इन्कार गर्न सकिन्न। पुरानो दिन, पुरानो एजेन्डा  र पुरानो आधारलाई सम्झेर र जन्मेको नयाँ परिस्थिति जसमा कांग्रेस र एमालेजस्ता शक्तिहरू पनि नरम पर्दै गएका छन्, प्रचण्डले ‘ब्रेक थ्रु’ गर्न सक्छन् र अगाडि बढ्न रोकिरहेका बाधा छिचोल्ने प्रयास गर्न सक्छन्।

अन्यथा कांग्रेसको काँध दुखेर हैरान छ, कुन बेला काँधबाट खसालिदिने हो थाहा छैन। अथवा कांग्रेसले कनिकुथी बोकिरहला, तर जनताको धैर्य कुन बेला फुट्ने हो थाहा छैन। अथवा, कांग्रेस र जनताले सहिरहला, तर भूराजनीति कतिबेला पल्टी खाने हो र प्रचण्ड चारो खाने चित हुने हो थाहा छैन। यो ईहलोकमा ‘कब के हुने हो कवै न जाने! समय छँदै केही कर गुजरना बुद्धिमानी नै होला कि ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved