आलेख

प्रचण्डले तेश्रो कार्यकालमा के पाए, के गुमाए ?

प्रचण्डसँग ठूलो अवसर थियो सुन्दर सपना सजाउने, एउटा नयाँ लक्ष्य निर्धारण गर्ने । खासगरी सही अर्थको समाजवादी केन्द्र निर्माण गरेर । तर, प्रचण्डले हतपतमा लतपतको काम गरे । केही फटाहाहरूको सङ्गतमा लागेर टुटे-फुटेको टिनका खाली डब्बा जोरजाम गरे, लतरपतरमा समाजवादी केन्द्रको साईनबोर्ड तयार पारे र जनतालाई यही हो तिम्रो भविष्यको सपना भनेर देखाए ।

प्रचण्डले तेश्रो कार्यकालमा के पाए, के गुमाए ?

पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहिलो र दोश्रो प्रधानमन्त्रित्वकाल ९/९ महिनाको थियो । तेश्रो पदावधिले ९ महिना पार गरी सकेको छ । यस मानेमा प्रचण्डको यो तेश्रो टेन्यूर (पदावधि) सबैभन्दा सफल टेन्यूर भन्न सकिन्छ । सत्ताभोगको अवधिलाई मात्रै मानक मान्ने हो भने प्रचण्ड सफल बन्न पुगेको मान्न सकिन्छ ।

तर, सफलताको मानक सत्ताभोगको अवधि हैन । असल मानक परिणाम हो । मनमोहन अधिकारीले पनि ९ महिना नै सरकार चलाए तर, उनले परिणाम दिए । आज पनि हामी बृद्धभत्ता र ‘आफ्नो गाउँ आफैँ बनाउँ’ जस्ता कामहरूको लागि उनलाई सम्झन्छौँ ।

प्रचण्डको पहिलो प्रधानमन्त्रित्वकाल नै पनि परिणाममूलक भयो । उनका अर्थमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रमा रूपान्तरणकारी परिणाम ल्याए । त्यसलाई प्रगतिको एउटा मानक नै मानियो । अरू अनेक रूपान्तरणकारी पहलको लागि पनि प्रचण्डको पहिलो प्रधानमन्त्रित्वकाल सम्झनायोग्य छ ।

प्रचण्डले दोश्रो प्रधानमन्त्रित्वकालमा पनि सविधान २०७२ पछिको पहिलो चुनाव गरेर निकासको बाटो (आईसब्रेक) गरेकाले पनि आशिंक सफल नै मान्न सकिएला । तर, यो तेश्रो पदावधिकालमा के गरे भन्ने प्रश्न टड्कारोरूपमा उठेको छ ।

वास्तवमा प्रचण्ड यो तेश्रो पदावधिकालमा नराम्ररी चुकेका छन् । संसदीय खेलमा ‘कांग्रेस-एमालेले बिरालोले मुसा खेलाए जसरी मलाई खेलाए, अब म खेला देखाउँछु’ भन्ने मदारी भावनाको सिकार बन्न पुगेका देखिए प्रचण्ड । र, कांग्रेस एमालेको संसदीय बाटोमै लागेर प्रचण्डले आफ्नो सम्पूर्ण सम्भावनाको समापन गरिदिए ।

र, यससँगै राज्य र समाजको रूपान्तरणकारी पहल जुन उनको हातमा थियो, त्यसलाई उनले फुत्काइदिएका छन् । यससँगै यो पहल अब नयाँ दल वा नयाँ भनिने समूह वा नयाँ नामका शक्तिहरूकोमा पुगेको देखिन्छ । आफूसँग भएको कुरा फुत्केकोमा प्रचण्ड आत्तिएका पनि देखिन्छन् । र, त्यसैले पुराना सबैलाई जम्मा पारेर नयाँहरूलाई गाली गर्न पुगेका छन् । यो कुराको असर चुनाव २०८४ मा पक्का देखिने छाँटकाँट छ ।

जनताको मानसपटलमा राजनीतिक मुद्दा अहिलेलाई मुल्तबीमा देखिन्छ । खासगरी संविधान २०७२ जारी भएपछि र त्यसको संशोधन भएपछि । सबैको अहम् तुष्ट भएको छ तत्कालको लागि। जनताले वर्तमानमा सुशासन चाहेको छ भने भविष्यको लागि सुन्दर सपना ।

प्रचण्डसँग ठूलो अवसर थियो सुन्दर सपना सजाउने, एउटा नयाँ लक्ष्य निर्धारण गर्ने । खासगरी सही अर्थको समाजवादी केन्द्र निर्माण गरेर । तर, प्रचण्डले हतपतमा लतपतको काम गरे । केही फटाहाहरूको सङ्गतमा लागेर टुटे-फुटेको टिनका खाली डब्बा जोरजाम गरे, लतरपतरमा समाजवादी केन्द्रको साईनबोर्ड तयार पारे र जनतालाई यही हो तिम्रो भविष्यको सपना भनेर देखाए ।

जनताले तत्कालै यो फर्जी समाजवादी केन्द्र हो भनिहाले । त्यसमा हाडमांस मात्र भरियो, प्राण प्रतिष्ठा नै गरिएन । अब यो समाजवादी केन्द्रको निर्जिव शरीरलाई प्रचण्डले महादेवले पार्वतीको मृत शरीर ढोगेसरी ढोगिरहेका छन् । अब जब प्रचण्डको सत्ता न्यानोको उल्टो गन्ती (काउण्टडाउन) सुरू भएको छ, प्रचण्डले सडक तताउने कुरा गर्न थालेका छन् ।

प्रचण्ड यो पाली कांग्रेस-एमालेले तयार गरेको पीचमा क्रिकेट खेल्न गए । सुरूमा केही चौका छक्का पनि हाने । तर, अब सस्तैमा सधैका लागि आउट हुने सम्भावना प्रबल छ । फिल्डिङको सजावट यस्तो कि मानौँ कि जहाँबाट पनि प्रचण्ड क्याचआउट हुने देखिन्छ । टिकटक प्रतिबन्ध गरोस् कि भारतीय तरकारीमा विषादी परीक्षण, प्रचण्डको लागि बच्ने ठाउँ बाँकी छैन । पूर्ण घेराबन्दीमा छन् उनी ।

अब इतिहास दोहोरिन पनि सम्भव छैन । ज्ञानेन्द्र शाहले पेल्न थालेपछि आफ्नै कस्टडी (नियन्त्रण) मा राखेका डा. बाबुराम भट्टराईलाई दूत पठाएर सहज स्थिति ल्याउने जमाना पनि रहेन अब । यता खाली डब्बाहरूको सङ्गतमा प्रचण्ड आफैँ पनि रित्तिएको अवस्था हो । बैरीहरूले घेरा हाली आरामले प्रचण्डको शिकार गर्लान् जस्तो छ ।

तर, चिन्ता बैरीहरूको दुर्नियतको हैन, चिन्ता काल नै पल्किएकोमा छ । उता नरेन्द्र भाइ मोदी पनि सङ्कटमा छन् । जति हातखुट्टा चलाए पनि पाँच राज्यको चुनावमा हार्दैछन् र तरबार सिधै टाउकामाथि आइपुगेको छ । यस्तोमा सनातन देवी देउताहरूलाई खुसी पार्न बलि चाहिन्छ । खुदा न खास्ता बलिको रूपमा नेपालको व्यवस्था र प्रचण्डको सरकार नचढोस् । शुभ शुभ बोलौँ, सबैको जय होस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved