रवि लामिछाने प्रकरणको पटाक्षेप र अन्तर्निहित प्रश्नहरू

आफूलाई ‘पत्रकार’ भन्न नरुचाउने मिडियाकर्मी तथा टिभी एंकर रवि लामिछानेको राजनीतिक जीवनको पहिलो एपिसोड करिब ६ महिनामा पटाक्षेप भएको छ । यति छोटो समयमा यति धेरै चर्चा र सफलता नेपालको राजनीतिमा यसअघि कसैले पाएको थिएन ।

रवि लामिछाने प्रकरणको पटाक्षेप र अन्तर्निहित प्रश्नहरू

काठमाडौं। आफूलाई ‘पत्रकार’ भन्न नरुचाउने मिडियाकर्मी तथा टिभी एंकर रवि लामिछानेको राजनीतिक जीवनको पहिलो एपिसोड करिब ६ महिनामा पटाक्षेप भएको छ । यति छोटो समयमा यति धेरै चर्चा र सफलता नेपालको राजनीतिमा यसअघि कसैले पाएको थिएन । साथै, उत्तिकै जोडदार ढंगले भन्न सकिने कुरा हो कि यति छिटो ओरालो पनि कोही लागेको थिएन ।

छिटो प्रगति गर्नेमा आउने उन्मादले ल्याउन सक्ने दुष्परिणामबारे समाजमा थुप्रै उखान र नीतिश्लोक छन् । कवि शिरोमणि लेखनाथ पौडेलको एउटा चर्चित नीतिश्लोक छ– ‘छोटो बढ्यो भने भारी ढाँचा फूर्ति लगाउँछ, उर्लंदो खहरे हेर, कतिको गडगडाउँछ ।’
‘धान ३ महिनामा काट्न सकिन्छ, साल काट्न सय वर्ष पर्खिनुपर्छ’ भन्ने उखान त्यसै बनेको हैन । सतिसालजस्ता व्यक्तित्व बन्न सभ्यता र इतिहासले सयौं वर्ष नै पर्खिन परेको देखिन्छ।

जर्ज वासिङटन, अब्राहम लिंकन वा फ्राङकलिन डि. रुजबेल्ट, महात्मा गान्धी, जवाहरलाल नेहरु वा सरदार बल्लभ भाइ पटेल, डा. सनयात सेन, माओ चे तुङ, तङ सिआओ पिङ, बीपी कोइराला, मनमोहन अधिकारी वा गणेशमान सिंहजस्ता व्यक्ति लामिछानेजस्तै रातारात बनेका थिएनन्, जसले आफ्नो देश, समाज, सभ्यता र राज्यलाई निश्चित आकार र संस्कार दिए ।

छोटो अवधिमा कुनै राजनीतिक नेतृत्वको उदय हुनुलाई अबको युगमा अन्यथा लिन मिल्दैन । विल क्लिन्टन वा बाराक ओबामा छोटो अवधिमै आएका थिए । न्युजिल्यान्डमा ज्यासिन्डा अर्डन छोटो अवधिमै आइन र शानदार इतिहास बनाएर गइन् । अहिले बेलायतमा ऋषि सुनक छोटो अवधिमै उदाएका छन्।

राजनीतिमा सबैले गान्धी वा मण्डेलाले जस्तै दुख: पाउनुपर्छ, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले जस्तै आफ्नै पार्टी र सहकर्मीबाट धोका र अपमान सहेर मर्नुपर्छ भन्ने छैन । डिजिटल युगमा राजनीति मात्र हैन, सबै चिज द्रुत हुन्छन् । यातायात क्षेत्रमा द्रुत गतिको रेल हुन्छ, सञ्चारमा हुलाकको साटो इमेल हुन्छ । लिथो मेसिनको ठाउँ छरिता कम्प्युटर र डिजिटल अफसेट प्रेसले लिएका छन्।

प्रविधिका कारणले होस वा प्रवृत्तिका कारणले मान्छेका दुुख: घट्नु, कार्यवधि छोटिनु, छोटो अवधिमा धेरै परिणाम आउनुलाई अबको दुनियाँमा राम्रो मान्नु पर्छ । तर, त्यस्ता परिणाम कति दीगो र सार्थक हुन्छन् भन्नेचाहिँ उत्तिकै महत्त्वको कुरा हुन्छ। द्रुतताले दूर्घटना निम्त्याइरहेको छ/छैन भन्नेचाहिँ ध्यान दिन योग्य हुन्छ ।

राजनीतिमा रविको द्रूत प्रगति धेरै नै लोभलाग्दो र आकर्षक थियो । हो पनि, नेपाली जनता र मतदाताबाट उनले जुन स्तर र मात्राको समर्थन पाए त्यो धेरैको कल्पनाभन्दा बाहिरको दुर्लभ हो । पार्टी त यो देशमा धेरैले खोले । कुनै बेला निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या २९४ पुगेको थियो । अहिले १०० भन्दा बढी राजनीतिक दल आयोगमा दर्ता छन् । ४७ दलले त गत निर्वाचनमा भाग नै लिएका थिए ।

यी सबैको अपेक्षा हुँदो हो कि जनता र मतदाताबाट समर्थन हासिल होस् । ती सबैले गलत उद्देश्य र व्यक्तिगत महत्त्वाकांक्षाले मात्रै प्रेरित भएर दल खोलेका थिए भन्न सकिन्न । धेरैको उद्देश्य राम्रो थियो होला । देश र जनताका लागि केही राम्रो गरौं भन्ने नै पनि थियो होला । तर, जनता र मतदाताबाट समर्थन नपाएपछि कसको के लाथ्यो र ?

स्वयं कांग्रेस, कम्युनिस्टजस्ता स्थापित मूलधार भनिएका दलले नै पनि लामो समयको संघर्ष, त्याग र बलिदानबाट जनसमर्थन हासिल गरेका हुुन् । उनीहरूलाई यो स्तरमा आइपुग्न र टिक्न दशकौं लागेको थियो ।

नयाँ दल बनाउने प्रयत्न गर्नेहरू समाजमा राम्रै चिनिएका, मानिएकाहरू पनि थिए । डा. देवेन्द्रराज पाण्डे नेपाली नागरिक समाजमा अद्यापि, एक आदर्श व्यक्तित्व मानिन्छन् । उनको व्यक्तित्व र चरित्रमा खोट लगाउन अहिलेसम्म कसैले सकेको छैन । उनले पनि दल खोलेर चुनाव लडेका थिए कुनै बेला । तर, न चुनाव जित्न सके, न सम्मानजक मत ल्याउन सके न त राजनीतिमा लामो समय टिक्न नै ।

रवीन्द्र मिश्रको ताइँफाइँ सानो थिएन कुनै बेला । उनी नसकेर राप्रपा छिरे । नयाँ शक्ति पार्टी खोलेका पुरानै राजनीतिककर्मी डा. बाबुराम भट्टराई नसकेर आफ्नो माउपार्टी माओवादीमै फर्किँदैछन् । माओवादीले त्यति ठूलो सशस्त्र संघर्ष गर्‍यो तर तीन चुनावदेखि निरन्तर तेस्रो पार्टी भएर खुम्चिनुपरेको छ । त्यति ठूलो मधेस आन्दोलनबाट आएका उपेन्द्र यादवको समूह निरन्तर खस्कँदो छ ।

जनजाति आधारित पार्टी बनाएका गोरेबहादुर खपाङी, एमएस थापा र अशोक कुमार राईसमेतले यो स्तरको सफलता कहिल्यै पाएनन् । तसर्थ सफलता व्यक्तिको कर्म र इच्छाले मात्रै निर्धारण गर्दैन । त्यसका अनेक कारण, ऐतिहासिक संयोग हुन्छन् । यी सबै उदाहरणलाई एक ठाउँमा राखेर हेर्दा रवि लामिछानेको उदय आफैँमा महत्त्वपूर्ण थियो ।

यसले विशेषतः देशमा केही नयाँ गर्न चाहने र युवा पुस्तालाई ठूलो प्रेरणा दिएको थियो । धेरैले उनको उदयलाई सकारात्मक अर्थमा, सतर्कतापूर्वक, शंकाको सुविधासहित हेरेका थिए । स्वयं आज उनले चर्को गाली, निन्दा र घृणा गरेको प्रेस जगतले पनि उनलाई राम्रो स्पेस दिएको थियो । उनले आरोप लगाएजस्तो मिडियाले बिल्कुलै बेवास्ता गरेको हुन्थ्यो त उनी यति धेरै चर्चामा हुन्थेनन् ।

विगत करिब ६ महिना नेपालको राजनीतिमा यस्तो भयो कि नेपाली प्रेस जगतका सबैभन्दा ठूलो ‘न्युज मेकर’ उनी नै बने । लामिछानेको आजको संकट मिडिया उनीप्रति पूर्वाग्रही भएको वा नभएको भन्ने हुँदै हैन । उनको निजी जीवनका अन्य पाटा, जस्तै उनको वैवाहिक जीवन र निजी आचारणले पनि ल्याएको हैन ।

उनको संकट उनको नागरिकता र राहदानी विवादबाट सुरु भएको हो, जसमा सञ्चारजगतको कुनै भूमिका छैन । नागरिकता र राहदानी विवादको प्रश्न कानुनी राज र विधिको शासनसँग जोडिएको हुन्छ भन्ने कुरा उनी र उनका समर्थकलाई थाहा हुनुपर्ने हो । यदि, थाहा थिएन भने त्यो उनकै कमजोरी हो, मिडिया र आम जनताको हैन ।

कानुनी राज्यको विश्वव्यापी मान्यता हो कि कानुनको अज्ञानता कसैका लागि पनि क्षम्य हुँदैन । कानुनी दृष्टिकोणले उनी ठीक ठाउँमा थिएनन् भन्ने कुरा सर्वोच्च अदालतले पुष्टि गरिसक्यो । अदालत आफैँमा पूर्ण र पवित्र संस्था हैन होला, तर त्यसको गरिमा, महत्त्व र भूमिकालाई प्रतिस्थापन गर्न सक्ने अर्को संस्था कम्तीमा आधुनिक लोकतन्त्रमा हुँदैन ।

सरकारी अदालतभन्दा जनताको अदालत ठूलो हो भन्ने तर्क सधै सुनिँदै आएकै कुरा हो, जो कुनै नयाँ हैन । दुई-दुई पटक असंवैधानिक संसद् विघटन गर्दा एमाले अध्यक्ष ओलीले पनि यही तर्क गरेका थिए । लामिछानेका लागि त्यो बाटो अहिले पनि खुला छ, कसैले रोकेको छैन । उनी उपचुनाव लडेर फेरि संसदमा आउन र सरकारमा सामेल हुन स्वतन्त्र छन् । उनको त्यो अधिकार कसैले छिनेको छैन ।

गठबन्धनमा उनी र उनको पार्टीको भूमिका र स्थान सञ्चार जगतले निर्धारण गर्दिने हैन होला । प्रधानमन्त्रीमाथि केही राजनीतिक तथा नैतिक दबाब पर्‍यो होला तर त्यो पनि प्रधानमन्त्रीकै निर्णय हो, मिडियाको हैन ।

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री प्रचण्डले किन लामिछानेलाई गृह मन्त्रालयमा पुन: लिन चाहेनन्, त्यसका अन्तर्यमा भिन्नै कारण छन् । लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री सुरुदेखि नै इच्छुक थिएनन् त्यो एमाले अध्यक्ष ओलीको दबाबको कारणले मात्रै सम्भव भएको थियो ।

अहिले ओली र प्रचण्डकै सम्बन्ध र समीकरण पुनरावलोकन हुन सक्ने सम्भावनाको विन्दूमा पुगेको छ। यति सरल कुरा पनि नबुझेर लामिछानेले आफ्नो पद गुम्नुमा मिडियालाई मात्र जिम्मेवार ठान्दछन् भने त्यो उनकै मुर्खता हो ।

यदि, छामिछाने एक जिम्मेवार र नैतिक राजनीतिकर्मी हुने आकांक्षाबाट उत्प्रेरित थिए भने नाथे एउटा गृहमन्त्रीको पद गुम्दैमा यति धेरै असन्तुलित हुन जरुरी थिएन । राजनीतिमा कसको पद चीरस्थायी हुन्छ ? उनको मात्रै पद गुमेको हो र ? राजनीति गरेको र कुनै न कुनै बेला पद नगुमाएको मान्छे संसारमा को होला ?

तत्कालीन राजा ज्ञानेन्द्र शाहले २४० वर्षको राजतन्त्र नै गुमाए, यसरी ‘रुदै, बर्बराउँदै’  हिँडेनन् । सत्ता र पद गुमेको पीडा, आक्रोश र वेदना त उनको हृदयभरि होला तर कहिल्यै पनि उनी लामिछानेको स्तरमा झरेर बोल्दैनन् ।

राजनीति गर्ने हुँ भन्नेसँग धैर्यता र संयम पनि चाहिन्छ । कुनै व्यक्ति दुई-चार दिनलाई अलिकति लोकप्रिय भयो भन्दैमा कुनै आधुनिक लोकतान्त्रिक राज्यले आफूलाई सेन्सर गर्न सक्दैन, मिल्दैन । रवि लामिछाने लोकतान्त्रिक मूल्य र कानुनी राज्यका सिद्धान्तले कोरेका सीमारेखाभन्दा माथि हुनु पर्ने कुनै प्राधिकार, विशेषाधिकार वा अग्राधिकार प्राप्त व्यक्ति हैनन् । हुने छैनन् । लामिछानेलाई मात्र हैन, यस्तो ‘प्रिभिलेज’ दुनियाँमा कसैलाई पनि हुँदैन।

विभिन्न मिडियाकर्मी र संस्थाको नाम नै लिएर चितवन–२ मा चुनाव लड्न लकार्नुलाई लामिछानेको अशोभनीय अहंकार, अभिमान र ध्वाँस भन्न सकिन्छ । चितवन–२ मा उनले मात्र एकपटक चुनाव जितेका हुन, त्यो पनि पहिलोपटक ।

डडेलधुरामा ७ पटक र झापामा ६ पटक चुनाव जितेका देउवा र ओलीले कम्तीमा यो स्तरको अभिमान देखाएका छैनन् । अभिमान र स्वाभिमानबीच सीमारेखा कोर्न नसक्ने व्यक्ति एक जिम्मेवार राजनीतिज्ञ कहिल्यै हुन सक्दैन । चितवन–२ का मतदाता लामिछानेको जमिन्दारीका रैती वा बँधुवा मजदुर हैनन् । ती संघीय लोकतान्त्रिक गणतन्त्रका सार्वभौम नागरिक हुन् ।

सार्वभौम नागरिकले कुनै एक चुनावमा कुनै उम्मेद्वार वा पार्टीलाई भोट दिनु आफ्नो सार्वभौमसत्ता उसलाई सधैँका लागि सुम्पिन हो भन्ने अर्थ लाग्दैन । आफ्नो अहंकार र पद गुमेको आक्रोशमा चितवन–२ का मतदातालाई जोडेर उनले अर्को गलत काम गरेका छन् ।

जो होस, लामिछाने प्रकारणको पहिलो अध्याय पूरा भएको छ । उनी आफैँले छोटो अवधिमा यसको नाटकीय पटाक्षेप गरेका छन् । तर, यति नै कारणले उनको राजनीतिक जीवन अन्त्य भयो भन्न सकिन्न । त्यस्तो परपीडक अपेक्षा वा चाहना कसैले राख्नु हुँदैन ।

आफ्ना यावत कमजोरीका बाबजुद उनी यही समाजमा सदस्य र उपज हुन् । यदि, राजनीतिमा टिक्नु र केही गर्नु छ भने उनले अर्को अध्याय अलि फरक ढंगले सुरु गर्न जरुरी छ । दोस्रो अध्यायको पटाक्षेप पहिलोजस्तै गरी दु:खद् नहोस् भन्ने उनले हेक्का राख्न जरुरी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved